असार महात्म्य

१. असार महिना नेपालीहरुका लागि महत्वपूर्ण महिना हो। यो महिना एक दृष्टिले मात्र महत्वको भएको होइन। धार्मिक, सामाजिक, राजनीतिक, विकास निर्माणदेखि व्यापारिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ। यो महिना हाम्रो आर्थिक वर्षको आखिरी महिना भएकोले यसलाई आर्थिक फल पाउने महिना पनि भन्ने गरिन्छ।

२. केही वर्षदेखि यस महिनालाई विकासे महिना पनि भन्ने गरिएको छ। विगत ११ महिनादेखि गर्न नसकेको विकास निर्माणका काम यो महिनामा गर्ने भएकोले यसलाई विकासे महिना भन्ने गरिएको हो। यसलाई विकासे महिना नबनाउन धेरै सरकारले धेरै प्रतिज्ञा गरे, प्रतिबद्धता गरे। तर सकेका छैनन्।

३. यो महिनामा सरकारको विकास निर्माण द्रूततर गतिले हुने भएकोले त्यो विकासको नाम असारे विकास भन्ने गरिएको छ। असारे विकासको यो विशेषता रहेको छ कि यसबेला गरिएको विकास टिकाउ हुँदैन। यो विकास टिकाउ हुँदैन भन्ने मन्त्रीदेखि प्रधानमन्त्री सबैलाई थाहा छ, तर उनीहरुले असारे विकास गरेकै हुन्छन्। यसपटक पनि भयो।

४. असारे विकास नहोस् भनेर बजेट जेष्ठ १५ मा प्रस्तुत गर्ने गरियो। आफू दोषमुक्त हुन आफ्नो दोष कुवेर माथि थोपारेर त्यस्तो गरियो। बजेट १५ जेष्ठमा प्रस्तुत गर्ने गरेर पनि असारे विकासको प्रवृत्ति हटेन। परिवर्तनका सम्वाहक भनेर भन्ने सरकारले पनि त्यही प्रवृत्ति दोहोर्‍याए।

५. त्यो कुरा मात्र दोहोर्‍याएको होइन, मन्त्रालयमा रहेको रकम पनि यो सरकारले उदारतापूर्वक आफ्ना पक्षधरहरुलाई वितरण गर्‍यो। मामाको धन फूपूको श्राद्ध भने झैं गरेर। यस्तो काममा सरकारका मन्त्रीहरु किन लज्जित हुँदैनन्। त्यो बुझि नसक्नु भएको छ। जति पैसा बाड्न सक्यो उति त्यो मन्त्री राम्रो भन्ने पनि गरिन्छ।

६. ठेकेदारहरुका लागि यो महिना सुनको फुल पार्ने कुखुरा जस्तै हो। त्यसमा पनि यसपटक ठेकेदारहरुलाई कर्डाई गरिएको बेला काम जसरी हुन्छ गर्नुपर्ने र गरेको काम सिद्धाउनु पर्ने बेला हो। उनीहरुको आफ्नो काम राम्ररी सिद्धाए । जुन कुरा उनीहरुको बिल हेरे प्रष्ट हुन्छ।

७. व्यापारीहरुको लागि पनि यो राम्रो महिना हो । बजेट पेश भएको केही दिनदेखि दैनिक उपभोग्य सामानहरुको भाउ आकासियो। नाफा खानेलाई पनि यो महिना खूब र्ऊबर रह्यो। बाढी पहिरोले पनि पुरुषार्थ देखायो भने सरकार र डा. के.सी.ले पनि आफ्नो आफ्नो शक्ति प्रदर्शन गरेका छन्। यी सबैका कारणले गर्दा असार महात्म्य हाम्रो ठूलो छ, महान छ।