अपहरण र बलात्कार ठूलो चुनौती

१. काठमाडौंमा ११ वर्षीय स्कूले विद्यार्थी निशान खड्काको अपहरणपछि निर्ममतापूर्वक गरिएको हत्याको घटनाले सबैलाई स्तब्ध पारेको छ। अपहरणकारीहरुले विद्यार्थीको अपहरण गरेपछि उनकी आमा चमेली खड्कालाई फोन गरी ४० लाख रुपैयाँ फिरौती मागेका थिए। आमा चमेली खड्काले त्यो कुरा तुरुन्त प्रहरीलाई खबर गरेकी थिइन्। तैपनि अपहरित बालकको सकुशल उद्वार गर्न सकिएन।

२. अपहरित बालककी आमा चमेली खड्का काँडाघारीमा चिया पसल राखेर जीविकोपार्जन गरिरहेकी छिन् भने उनका श्रीमान् रोजगारीको लागि मलेशिया गएका छन्। अपहरणकारीहरु चमेलीको चिया पसलमा चिया खान आउने गर्दथे। चिनजान भएकै मानिसहरुबाटै त्यो अपहरण र हत्याको घटना भएको अनुमान प्रहरीको रहेको छ ।

३. देशमा केही समय यता हत्याका घटना बढेका छन्। केहीको अपहरण पछि हत्या गरिएको छ भने कतिपय युवतीको बलात्कार पछि हत्या गर्ने गरिएको छ। यस्ता घटना जिल्लाहरुमा मात्र होइन, सुरक्षाको कडा निगरानीमा रहेको मानिने काठमाडौंमा पनि बराबर हुने गरेको छ।

४. २०७४ श्रावण ५ गते पाँचवर्षीय बालक विशाल चौधरी क्षेत्रपाटी स्थित स्कूलको गेटबाटै अपहरण गरिएको थियो। प्रहरीले उनको सकुशल उद्वार गरेका थिए। तर त्यस अघि शुभम् शाह, विवेक शर्मा, श्याम सुन्दर अग्रवाल लगायतका अपहरित बालकहरुको अपहरण पछि हत्या भएको थियो।

५. धेरै किशोरीहरु बलात्कारको शिकार भएका छन्। तर उनीहरु सबैको केश बाहिर आउैँदैनन्। केही बाहिर आउँछन्, तर त्यसलाई पनि भित्रभित्रै मिलाउने गरिन्छ। बलात्कार पछि हत्या गरिएका घटना पनि उत्तिकै छन्। यस्तो अपराध बढ्दै जानु सभ्य समाजको कलंकहो।

६. सरकार देशमा शान्ति सुरक्षाको स्थिति राम्रो रहेको बनाउँछ। गृहमन्त्रीले आफ्नो पालामा सुरक्षा संयन्त्र बलियो गरिएको बराबर बताउने गरेका छन्। तर समाजमा अपराधका घटना बढ्दै गएको छ। त्यसमा पनि बलात्कार, अपहरण र हत्याका घटना ज्यादै बढेको छ।

७. यो बलात्कार, अपहरण र हत्याका घटना प्रहरी प्रशासनको लागि ठूलो चुनौती भएका छन्। अपहरणमा परेका बालकको सकुशल उद्वार गर्न नसक्दा त्यसको दोष प्रहरी प्रशासनलाई जाने गरेको छ। त्यो एक संवेदनशील विषय हो। त्यो विषय अत्यन्त खतरनाक हुने भएकोले प्रहरीले पनि उत्तिकै सजगता अपनाउनु पर्दछ।