अनुगमनको धम्की

१. अनुगमन एक साधारण शब्द हो। अनुगमन गर्नु भनेको पनि एक साधारण कुरा हो। कुनै काम कुराको अनुगमन गर्नु भनेको त्यो काम कुरा ठीक छ छैन, त्यो हेर्र्नु र ठीक नभए त्यसलाई ठीकठाक पार्नु हो। अनुगमन गर्नु भनेको त्यस काम कुराको परिमार्जन गर्नु र त्यसको लागि सुझाव दिनु पनि हो।

२. केही समयदेखि हाम्रो देशमा अनुगमन गर्ने भन्ने शब्द धेरै सुनिन थालेको छ। खास गरेर सरकारी सम्बन्धित टोलीले बजार अनुगमन गर्न थालेपछि यो शब्द प्रचलित भएको हो। बजार अुनगमन हुन थालेपछि एकातिर यसले केही सकारात्मक परिणाम दिन थालेको छ भने अकोर्तिर यसले केही डर र त्रासको वातावरण पनि ल्याएको छ।

३. सरकारी टोली अनुगमनमा आएको समाचारले बजार बन्द भएको पनि सुनिएकै हो। अनुगमन टोलीले केही भन्ने पनि सुन्ने गरिएको छ। कतिपय पसलेले टोली आफूकोमा आउँदैन भन्ने पनि गर्दछन्। अनुगमन टोलीमा संलग्न हुने उपभोक्ता संघको आजीवन पदाधिकारीको अनुहारले पनि गजबको प्रभाव पार्दछ।

४. संघसंस्थाको काम प्रगतिबारे गरिने अनुगमन एउटा सीमित आकार-प्रकारमा हुन्छ भने बजार अनुगमन कार्यले ठूलो परिवेश ओगटेको छ। अहिले यो शब्द यति प्रचलित भएको छ कि जहाँ पनि अनुगमन हुने र जसको कार्यको पनि अनुगमन गर्ने प्रचलन बढ्दै गएको छ। यसले एउटा रौद्र रुप ग्रहण गर्दैछ।

५. के.पी. ओली प्रधानमन्त्री भएपछि उद्योगी, व्यापारीको कार्यको मात्र अनुगमन होइन, सरकारका सचिवहरुको कार्यको समेत अनुगमन हुने जनाइएको छ। अझ त्यो भन्दा माथि मन्त्रीहरुको कार्य प्रगतिको समेत अनुगमन गरिने भएको छ। ती सबैको अनुगमन गर्नु साधारण कुरा होइन।

६. त्यो अनुगमन साधारण भाषामा आएको पनि छैन। त्यसले एउटा धम्कीको भाषा ग्रहण गर्दैछ। जहाँ धम्की हुन्छ, त्यहाँ डर, त्रास र भयको वातावरण सिर्जना हुन्छ। मन्त्री र सचिवहरु पनि त्यस्तो अवस्थामा रहनु साधारण कुरा होइन। यहाँ अथाह किसिमले अनौठो वातावरणको सिर्जना हुन गएको आभास हुँदैछ।

७. अनुगमन व्यापक रुपमा हुन गइरहेको छ। यतिसम्म कि काठमाडौंको खाल्टो, हिलो र धुलाम्मे बाटोमा पनि अनुगमन हुँदैछ। अनुगमनको घोषणा भएर पनि र अल्टिमेटम दिएर पनि त्यहाँ सुधार भने भएको छैन। अनुगमनको धम्की भने बढ्दै गएको छ।