होशियार ∕ मानव तस्करी र बेचबिखनमा पर्नुहोला

मानव तस्करी र बेचबिखन सम्बन्धी मुद्दा अहिलेको अत्यन्त जल्दोबल्दो मुद्दा बनिरहेको छ। यो नेपालको मात्र नभएर विश्वकै गम्भीर समस्याको रूपमा स्थापित भइसकेको छ। राष्ट्रसंघीय लागूऔषध र अपराध कार्यालयका अनुसार मानव बेचबिखन भनेको शोषण गर्ने उद्देश्य, ठग्ने वा फकाएर, अबैध वा बल प्रयोग गरेर वा धम्कीको माध्यमबाट व्यक्तिहरूद्वारा गरिने व्यापारलाई बुझिन्छ।

मानव ओसार बेचबिखन तथा ओसारपसार -नियन्त्रण) ऐन २०६४ दफा ४ को उपदफा १ मा कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून बमोजिम बाहेक मानिसको अ· झिक्ने र वेश्यागमन गर्ने मध्ये कुनै पनि कार्यलाई मानव बेचबिखन र ओसार पसार गरेको मानिनेछ भनेर प्रष्ट खुलाएको छ।

त्यसै गरी सोही दफाको उपदफा २ ले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, बेश्याबृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्काई, जालसाज गरी, प्रपञ्च मिलाइ, जर्बजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाकधम्की, दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुर्टाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा  वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्यलाई मानव ओसार पसार गरेको मानिनेछ भनेर परिभाषित गरेको छ।

मानव बेचबिखन तथा ओसार पसार ऐनका अनुसार यो अपराधमा संलग्न व्यक्तिको कुनै लिङ्ग, उमेर, जात वा सीमाहरूलाई जान्दैन। मानिसले मानिसलाई दास बनाउने र वस्तुसरह खरिदबिक्री गर्ने कार्य धेरै पहिलेदेखि प्रचलनमा रहेको र अहिले यो प्रचलनले यो विश्वमा धेरै नराम्रोसँग जरा गाडेको छ। अहिले मानव बेचबिखन आर्थिक कारोबारका दृष्टिले लागूऔषध र हतियार बिक्रीपछिको तेस्रो ठूलो व्यापारका रूपमा विकसित भएको अर्थविदहरूको अनुमान छ।

मानव बेचबिखन कसैको स्वतन्त्र इच्छा बिरुद्ध दास बनाई वा झुक्याइ वस्तुसरह बेचबिखन गर्ने कार्य हो। खास गरी महिला तथा बालबालिका यसको शिकार हुने गरेका छन्। गरिब, अशिक्षित, विभिन्न कारणले आर्थिक अभावमा पिल्सिएका, भुकम्प पीडित, शरणार्थी, बालबालिका, महिला आदि अन्जानमै बिक्री हुने गरेका छन्। उनीहरू बेश्याबृत्ति, बँधुवा मजदुर, बालश्रम शोषणको लागि तस्करहरूको साङ्लोमा बाँधिन पुग्छन्।

यता केही शिक्षित, राम्रो र आकर्षक रोजगारको लागि भौंतारिएका, विदेश मात्रै विकसित भएको, जाबो नेपालमा केही नभएको हुँदा त्यहाँ जुन तरहले पनि जानुपर्छ र पैसा कमाइ धनी बन्नुपर्छ भन्ने भ्रममा बाँचेका अधिकांश ठेट्ना युवा युवती कम परिश्रममा आकर्षक आम्दानी हुने काम दिलाइदिने, आफूले रोजेको काम वा पेश गर्न पाइने, विवाह गर्ने जस्ता प्रलोभनमा मानव तस्करको फन्दामा परेका छन्।

आफ्नो चाहना र इच्छाले नै त्यस्ता मनोवृत्ति भएका मानिसको सञ्जालमा जाने उनीहरूको लागि बेचबिखन कसैको व्यक्तिगत इच्छाविपरित भन्दा राम्रो अवसर, आकर्षक कमाइ र सफल भविष्यको लागि विकसित देश जाँदा पाएको दुःखको रूपमा लिने गर्छन्। आफ्नो रहरले तस्करको कहरमा परेका अधिकांश महिला तथा युवा तस्करको डरलाग्दो साङ्गलोमा परेपछि बल्ल होश खुल्छ अनि सरकार गुहार्न पुग्छन्।

मानव ओसारपसार तथा बेचबिखन अन्तराष्ट्रिय समस्या भइसकेको र नेपाल पनि त्यस समस्याबाट मुक्त हुनुको साटो अझ ठूलो साङ्लोमा परेको महसुस भई सरकार, विभिन्न संघसंस्था निरन्तर रूपमा लागिपर्दा पनि यस्तो प्रकारको बर्जित कार्य रोकिइ जनताको जनधनको सुरक्षा हुनुको साटो नयाँ नयाँ को मानव बेचबिखनको लागि नयाँ-नयाँ तरिका र बाटोको प्रयोग गर्दै नेपाली नागरिकको व्यापार गर्ने तस्करीको सञ्जाल संसारैभरि फैलिएको छ भन्दै अखण्ड भण्डारीले कान्तिपुरमा लेखेका छन्, ‘लैजाने देश औकात अनुसारका छन्। औकातै अनुसारका दलाल छन्। ठूलालाई ठूलैले ठग्छन्। सानालाई ठग्ने अलि सानै हुन्छन्। हुनेखाने अमेरिका र युरोप जाने नाममा ठगिइरहेका छन्। त्यस भन्दा अलि तलका जापान र कोरियाका नाममा। निम्न मध्यमवर्गीय खाडीमा फसेका छन्। गरिबहरू भारतमा बेचिएका छन्।’ (कान्तिपुर, भदौ ५, २०७२)

स्रोतहरूका अनुसार यति बेला सबैभन्दा ठूलो तस्करी अमेरिका लैजाने नाममा भइरहेको र त्यसका लागि काठमाडौंबाट भारत, दुर्बई, कतार, हङकङ, सिंगापुर, थाइल्यान्डमध्ये कुनै एकलाई ट्रान्जिट बनाउने गरेका छन्। सिंगापुर, हङकङ वा थाइल्यान्डबाट प्रायः बोलिभिया उडाउने गर्छन्। दुर्बई वा कतार ट्रान्जिट त्यस्ताले रोज्छन्, जसले ब्राजिल लैजान्छन्। उनले अमेरिकी विदेश मन्त्रालयको टीआईपी रिपोर्टले प्रकाशित गरेको यस्तो तथ्यलाई भण्डारीले आफ्नो समाचारको आधार बनाएका छन्। उनका अनुसार भारत हुँदै जानुको अर्थ अफ्रिकाको बाटो अलमल्याउँदै लैजानु भन्ने बुझे हुन्छ। काशी जानु कुतिको बाटो हुँदै भने जस्तै अमेरिका अफ्रिकाको बाटोबाट लैजान सम्भवै छन्।

तर नेपाल यस्तो देश हो जहाँका नागरिक विदेश जान पाए वैतरणी नदी सजिलै तर्न सकिन्छ भन्ने भ्रममा छन्। ठूला-साना सबैमा यही भोक छ। गाउँ खाली पारेर लर्को लागेको लाग्यै छ। टीआईपी रिपोर्टका आधारमा उनले लेखेका छन्, ‘नेपाल नै यस्तो देश हो जहाँबाट संसारका प्राय देशमा मानव तस्करी हुन्छन्। तस्करी हुनेमा महिला र बालबालिका बढी छन्।’ अमेरिकी विदेश मन्त्रालयको रिपोर्ट अनुसार ‘जबरजस्ती श्रम र यौन कार्यका लागि ओसारपसार हुने स्रोत, ट्रान्जिट र गन्तव्य मुलुकमा नेपाल पर्छ।

नेपाली महिला र बालिबालिको नेपालभित्रै, भारत, मध्यपूर्व, एसिया र अफ्रिकामा देहव्यापारका लागि तस्करी हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘नेपाली पुरुष, महिला र बालबालिका ती देशका साथै अमेरिकासम्म निर्माण, उद्योग, घरेलु काम, विस्फोटक पदार्थ एवं मनोरञ्जन क्षेत्रमा जबरजस्ती काममा लाउन पु‍र्‍याइन्छन्।’

पहिले पहिले भारतका देह व्यापार स्थलहरूमा वर्षका २० हजारको हाराहारीमा नेपाली किशोरीहरू पुर्‍याइने गरेकोमा हाल त्यो चिनको तिब्बत, मलेशिया, साउदी अरब, कतार लगायतका खाडी मुलुक र पछिल्ला वर्षहरूमा अफ्रिकाका विभिन्न मुलुकहरूमा नेपाली किशोरीहरू पुर्‍याइन थालेका कुरा समाचार र अध्ययनहरूले देखाएका छन्। कम आम्दानी हुनेहरू, जातीय अल्पसङ्ख्यक, अशिक्षित वा शिक्षाको स्तर न्यून भएकाहरू, शरणार्थीहरू, अवैध बसाइसराइ गर्नेहरू, घरबाट भागेका बालबालिकाहरू, पिछडिएको समुदायका बालबालिका र सदस्यहरू, छिटो विवाह गर्ने महिलाहरू, घर फर्किन नचाहने महिलाहरू, विधवाहरू तथा परित्यक्त छोरीहरू मानव ओसारपसार गर्नेहरूका लक्षित समूहहरू हुन्।

काठमाण्डौको डान्सबारमा काम गर्ने अधिकांश युवतीहरू अहिले धेरै मानव ओसारपसार र बेचबिखनका शिकार बनिरहेका समाचार आइरहँदा कोरिया र चिनमा विवाहको नाममा व्यापार हुने युवतीहरूको सङ्ख्या पनि कम छैन। नेपाली दलालहरूले दक्षिण अफ्रिका, केन्या, युगान्डा, तान्जानिया, नाइजेरिया लगायतका मुलुकमा डिमाण्ड अनुसार नेपाली युवतीहरूको तस्करी गर्ने गरेका र तान्जानियाको दारेसलाम, केन्याको नैरोबी र मोम्बसामा नेपाली युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको कुरा पनि अनुसन्धानबाट प्राप्त भएको कुरा प्रतिमा बास्कोटाको लेखमा उल्लेख छ। उनका अनुसार तान्जानियाको दारेसलाममा भारतीयले सञ्चालन गरेका आधा दर्जन बारमा नेपाली युवती मुजुरा डान्स गर्छन्। -चैत्र २७, २०७१)

नेपालीहरू फकाउन सजिला हुँदा ओसारपसार र बेचबिखनको शिकार हुने गरेको तथ्य उल्लेख गर्दै अखण्ड भण्डारीले नामै नसुनेका, युद्धग्रस्त र अत्यन्त निर्धन मुलुकमा जान पनि नेपालीले जोखिम मोलिरहेका डरलाग्दा कुराहरू उल्लेख गरेका छन्। यहाँबाट एउटा कामको लागि भनेर लाने अनि उहाँ घरेलु कामदार, डान्सबारमा नाच्ने र पालोपालो सहवास गर्ने जस्ता काम गर्न विवश छन्।

वैदेशिक रोजगार विभाग, अध्यागमन, परराष्ट्र, दूतावास, प्रहरी आआफ्नो तालमा चल्नु, सम्बन्धित निकायहरूका बीचमा आपसी समन्वय नहुनु, कानून पनि गतिलो नहुनु, यत्रतत्र छरिनु, कडा कुनै नहुनु, एउटा कानून एउटा निकायले च्याप्नु, अर्को कानून अर्को निकायल च्याप्ने, मानव बेचबिखन र ओसारपसारजस्ता जघन्य अपराधमा टुक्राटुक्री ऐनले धान्न नसक्नु, माथिबाट आवश्यक सहयोग भन्दा विदेश जाने भाग्यले जुराएको अवसर नरोक्नु बरु छाडिदिनु भन्ने जस्ता मौखिक निर्देशन मानव बेचबिखन र ओसारपसारजस्ता जघन्य अपराध न्यून गर्न नसकिएको हो। ठूलो र प्रभावकारी ऐन नभएको अवस्थामा मानव तस्करीमा संगठित गिरोह सफल भइरहेको छ। ठूला शक्तिको साथ सहयोग र आशीवाद भएकाले रोक्न सजिलो नभएकाले जोगिने सबैभन्दा राम्रो उपाय सर्वसाधारण आफैं सचेत हुनु हो भनेका थिए।

मानव ओसारपसार रोक्ने आवश्यक अत्याधुनिक उपकरणहरू सहितको पूर्वाधार चाहिन्छ। त्यसको लागि हाम्रो अध्यागमनको प्रविधि, ढिलासुस्ती र हेलचेक्राइँ बदलिनु अपरिहार्य छ। गाउँ गाउँ र वस्ती वस्तीमा बस्ने नेपालीहरूलाई मानव ओसारपसार र बेचविखनमा लाग्ने गिरोहका गतिविधि राम्ररी नियाल्न र तिनका आश्वासनका पछि लाग्नु हुँदैन। पढेर विदेशै गएमात्र आफ्नो लक्ष्य पूरा हुन्छ भन्ने हाम्रा युवामा भएको भूतसवारलाई रोक्न विशेष युवालक्षित कार्यक्रमहरू ल्याउनु पर्दछ, सही परामर्शको थालनी गर्नुपर्दछ। उनीहरूलाई यहीं बस्न उत्प्रेरित गर्ने मात्र होइन जानै चाहे आधिकारिक निकायमार्फत जान आग्रह गर्नुपर्दछ।

विद्यालयमा नै मानव ओसारपसार र बेचबिखन बिरुद्धका विषयहरु समावेश गरि सावधानी र होशियारी अपनाउन लाग्नुपर्दछ। साथै विमानस्थलमा गिरोहका सेटिङ मिलाउन कर्मचारीहरुलाई हप्ता हप्तामा फेरबदल गर्ने, तस्करहरूले गर्ने विभिन्न प्रकारको सेटिङ अन्त गर्न सरकारको उच्च निकाय नै सकृय रूपमा लाग्नु पर्दछ।

मानव ओसारपसारमा संलग्न गिरोहलाई नियन्त्रणमा लिन अन्तराष्ट्रिय प्रतिवद्धता र सहकार्य अपरिहार्य छ। अन्तराष्ट्रिय प्रहरी संगठनको सकृयता र नेपालमा प्रचलित ऐन बमोजिम कडा भन्दा कडा कारबाही गर्ने मात्र होइन पीडितलाई शारीरिक वा मानसिक उपचार गराउन, सामाजिक रूपमा पुनस्र्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउनको लागि नेपाल सरकारले आवश्यकता अनुसार पुनस्र्थापना केन्द्र स्थापना गर्ने र आर्थिक आय आर्जनको अवसरहरू उपलब्ध गराउनु पर्दछ।

बेचबिखनमा परेका व्यक्तिहरुलाई मानव ओसारपसार र बेचबिखनका सामाजिक सचेतना जगाउन सरकारले आकर्षक कार्यक्रमहरू ल्याउनु पर्दछ। आम सञ्चार माध्यम, अनलाइन, सामाजिक सञ्जालमार्फत मानव ओसारपसार र बेचबिखनका गिरोहका लक्षित समुहहरूलाई सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ। सबै भन्दा महत्वपूर्ण तथ्य त राजनीतिक नेतृत्वको यसको सफलताको लागि प्रतिवद्धता र सार्थक सकृयता अपरिहार्य हुन्छ।

- वामदेव पौड्याल