हाम्रो पोखरा, बनाउँ राम्रो पोखरा

नेपालको ४ नम्बर प्रदेशको केन्द्रविन्दु कास्की जिल्लाको अधिकांश भू-भाग ओगटेको पोखरा लेखनाथ महानगरपालिका, जसको पूर्वमा मादी र रूपा गाउँपालिका, उत्तरमा मादी र माछापुच्छ्रे गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वत र स्याङजा जिल्ला, दक्षिणमा स्याङङजा र तनहुँ जिल्ला सिमाना भएको ४६४.२४ वर्ग कि.मी. क्षेत्रफल ओगटेको भू-भागमा ४,१४,१४१ मानिसहरू बसोबास गर्दछन्। यस महानगरपालिकालाई ३३ वडामा विभाजन गरिएको छ जसमा पोखरा लेखनाथको समथर भू-भागको अलवा योसँग जोडिएका पहाडी वेल्टहरू पनि यस महानगरपालिकामा पर्दछन्।

यस महानगरपालिकाको पहाडी वेल्टमा बसोबास गर्ने अधिकांश मानिसहरूका छोराहरू कमाउनका लागि विदेश कोरिया, कतार, अरब, मलेसिया लगायतका देशहरुमा जाने र तिनका श्रीमतीहरू छोराछोरी पढाउने निहुँमा बजारमा बसोबास गर्ने मानिसहरूको सङ्ख्या उल्लेखनीय छ। जसका कारण गाउँमा उमेर ढल्केका बुढाबुढी र बजार झर्ने हैसियत नभएका केटाकेटीहरू बस्ने गर्दछन्। गाउँका खेतीयोग्य जमिनहरू दिन प्रतिदिन बाँझो रहने क्रम बढ्दो छ। बजारमा झरेका महिलाहरूको ठूलो सङ्ख्या कामको अभावमा कुकर्ममा लागेको कारणले तिनीहरूका बच्चाहरूले अपेक्षा गरेअनुसारको पर्ढाई अगाडि बढाउन सकेका छैनन्। बजारमा भएका स्थानीय बासिन्दाहरूले पनि उनीहरूका छोराछोरी नेपालमा बसेर उच्च शिक्षा हासिल गरी यही केही उत्पादनमूलक काम, जागिर, व्यवसाय गरेको पाइँदैन। उनीहरू पनि आफ्ना छोराछोरी विदेशतिर जस्तैः अमेरिका, अस्ट्रेलिया, युरोप, क्यानडा, जापान आदि देशतिर जाँदा आफ्नो र आफ्नो परिवारको मान, प्रतिष्ठा, इज्जत, गौरव, शान बढेको महसुस गर्ने चलन बढी छ। जसले गर्दा बजारमा स्थानीय बासिन्दाका पनि घरमा निस्क्रिय जनशक्ति बसोबास गर्ने र उत्पादन गर्न सक्ने जनशक्ति विदेशतिर पलायन भएको अवस्था छ। पोखरा र पोखरा वरिपरि रहेर उच्च शिक्षा हासिल गरेको दक्ष जनशक्ति पनि नेपालमा भएको राजनैतिक अस्थिरता, विकासमा स्थिरता, कमिसन, भ्रष्टाचार, अत्याचार, धनवाद, डनवाद जस्ता कुप्रथासँग असन्तुष्ट हुँदै विदेश गएका छन्। २०६२।०६३ सालको आन्दोलनपछि पोखरा र लेखनाथका खेतीयोग्य जमिनलाई प्लटिङ गरी घडेरीको रूपमा बेचबिखन गर्ने, दाजुभाई, इष्टमित्र, साथीभाइका बीचमा पनि दलाल र कमिसनको चलखेलको सामाजिक संस्कृतिमा विकृति ल्याएको वर्तमान अवस्थामा यथावत छ। अकोर्तिर सरकारी काममा सरकारी कार्यालयका केही कर्मचारहरूमा ढिलासुस्ती, व्यक्तिगत स्वार्थ, घुस, भ्रष्टाचारमा लिप्त भएको पाइन्छ। यस्तो परिवेशमा यही रहेका इमान्दार, मिहिनेती, परिश्रम गर्ने, चरित्रवान, देशभक्त उच्च जनशक्तिमा वितृष्णा पैदा गरेकोले उनीहरूले गर्नसक्ने कामहरू जस्तै जागिर, व्यवसाय, व्यापार पनि गर्न सक्ने जति नभएको पाइन्छ।

पोखरा लेखनाथ महानगरपालिका भएको यस्तो अवस्थालाई अन्त्य गर्नको लागि यहाँ रहेका राजनैतिककर्मीहरू, सामाजिक कार्यकर्ताहरू, व्यापारीहरू, उत्पादनकर्ताहरू, शिक्षण पेशामा कार्यरत शिक्षकहरू, स्वास्थ्यकर्मीहरू, सरकारी एवं गैर सरकारी जागिरेहरू निर्माण व्यवसायीहरू, इन्जिनियरहरू सम्पूर्णले घुस, कमिसन, भ्रष्टाचारको भित्री मनबाटै विरोध गरी सबल, सक्षम, पारिश्रमिक सेवामुखी, उत्पादनमुखी, सिर्जनशील, सस्क्रिय, स्क्रियाशील एवं सहयोगी वातावरणको निर्माण गर्नु वर्तमानको आवश्यकता हो।

चार लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने यस महानगरपालिकाका जनतालाई अति आवश्यक खाद्यान्न, तरकारी, फलफूल, सागसब्जी, माछा, मासु, अण्डा, दुध आदि बाहिरबाट धेरै मात्रामा निर्यात गर्नुपर्ने अवस्था छ। यस्तो अति आवश्यक वस्तुहरूको पनि परनिर्भरताको वास्तविक अवस्थालाई विस्तृत रूपमा अध्ययन गरी पोखरा लेखनाथ महानगरपालिकाको दक्षिणमा रहेको सुरौदी खोलाको पानीलाई बाँध बनाएर वा लिफ्टीङ गरेर खम्पुरदेखि पियुरीदोभानसम्मको लगभग ५००० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा आधुनिक तरिकाबाट व्यावसायिक तरकारी खेती, पशुपालन, अन्नबाली उत्पादन गर्ने उक्त जमिनलाई १ वर्षमा कम्तीमा ३ खेती उत्पादन गर्ने रणनीति ल्याउनु आवश्यक छ। त्यस्तैगरी यस महानगरपालिकाको पूर्व, उत्तर, पश्चिम भागमा रहेको खेतीयोग्य जमिनहरूलाई बाँझो राख्नुको सट्टा कृषि विशेषज्ञको सहयोगमा तरकारी खेती, फलफूल खेती, खाद्यान्न बाली सम्भव भएसम्म १ वर्षमा ३ खेती उत्पादन रणनीति अपनाउनु आवश्यक छ। त्यस्ता ठाउँको व्यापक सम्भाव्यता अध्ययन गरी २००० रोपनी बढी जग्गा भएको ठाउँमा ठूलो खालका तरकारी वा बेमौसमी फलफूल खेती गरी अन्यत्रबाट पोखरा आएका स्वदेशी वा विदेशीहरूले अवलोकन गर्ने खालका र्फमहरू तयार पार्न सक्नुपर्दछ। त्यस्तै सिँचाई असुविधा भएको वर्षमा २ वा ३ खेती गर्न अयोग्य खालको जमिनमा व्यावसायिक जस्तै अन्यत्रबाट आएका पर्यटनलाई अवलोकन गर्न केन्द्रविन्दु बन्ने खालका कम्तीमा २००० भन्दा बढी गाई भएको र्फम, २००० भन्दा बढी भैँसी भएको र्फम, ५०० भन्दा बढी अष्ट्रिज भएको र्फम, १०,००० भन्दा बढी बाख्रा पालन भएको र्फम, १,००,००० भन्दा बढी कुखुरा भएको र्फम, पानी भएको ठाउँमा १०० रोपनी बढी जग्गामा माछापालन गर्ने तीव्र इच्छाशक्ति भएको कार्ययोजना तयार पार्न सकेको खण्डमा विदेश भएका दाजुभाईहरूलाई व्यावसायिक रूपमा आधुनिक कृषि प्रणालीमा रोजगार दिने वातावरण बनाउन सकिन्छ।

निम्न वर्गीय परिवारका छोराहरू विदेशतिर गई उनीहरूका परिवार बजारमा निस्क्रिय जीवन बिताउने प्रथाको अन्त्य गर्नको लागि ती जनशक्तिलाई विदेश गएर कमाए बराबरको कमाई यही परिवारसँग सँगै बसी कमाउने वातावरण तयार पार्नु पर्दछ। उनीहरूलाई व्यावसायिक तरकारी वा फलफूल खेती उत्पादन गर्दा आवश्यक लगानी, त्यसको लागि मल बिउ, बजार व्यवस्थापन, यातायातको सुविधा, पानी बत्तीको सुविधा, तरकारी क्षतिपूर्र्तिको व्यवस्था मिलाउनु पर्दछ। कृषि पेशामा उत्पादन गरेको आधारमा सेवा सुविधा प्रदान गरी एक सम्मानीय व्यवस्थित व्यावसायिक कृषि पेशा बनाउन आवश्यक छ। यहाँ रहेका दक्ष, शिक्षित उच्च कमाइ भएका, राजनैतिक, व्यापारी सम्पूर्णलाई कृषि पेशाको उच्च सम्मान गर्दै त्यो जनशक्तिलाई सम्भव भएसम्म आफूलाई अवाश्यक पर्ने अर्गानिक तरकारी खेती आफैँ उत्पादन गर्ने, कम्तीमा १ हप्तामा ५।६ घण्टा जुनसुकै पेशामा भएको भए पनि कृषि पेशामा लाग्ने खालको वातावरण बनाउन पर्ने आवश्यक देखिन्छ। आफैँ कृषि उत्पादन कार्य गरी कृषि र्फममा रोजगार गरेका मानिसहरूलाई पनि राज्यबाट सम्मान पाउने खालको वातावरण तयार पार्नुपर्दछ। रोजगारको निम्ति विदेश गएका जनशक्ति एवं तिनको परिवारलाई सक्दो उत्पादनमूलक काममा प्रयोग गरी ती मानिसको साथमा यस महानगरपालिका सम्पूर्णको जीवन स्तर बढाउने सोचको सुक्ष्म अध्ययन सहितको योजना बनाउनु आवश्यक छ।

वर्तमान समयमा अभिभावक एवं शैक्षिक संस्थाहरूले शिक्षा क्षेत्रमा लगानी गरिएको अनुपातमा दक्ष, सिपमूलक, सामाजिक, सिर्जनशील, सहयोगी जनशक्ति उत्पादन गर्न सकेका छैनन्। यस्तो परिवेश आउनमा समाज एवं शिक्षण संस्थाको बराबर दायित्व छ। घर परिवारमा आफ्ना छोराछोरी वा बाबुनानीहरूलाई बाबुआमाको जीवनी मार्गर्दर्शक बनाउन पर्दछ। यदि अभिभावकहरूले आफ्नो घरमा भएका सम्पूर्ण सदस्यहरू एक आपसमा सहयोग गर्ने, केटाकेटीहरूलाई पढ्न उत्प्रेरणा जगाउने, भ्रष्टाचार अनियमितता गरेर समाजमा धन सम्पत्ति कमाएका व्यक्तिहरूलाई भन्दा जीवनमा मेहनत गरी शैक्षिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा, पारिवारिक रूपमा सक्षम भएका व्यक्तिहरूको जीवनीबाट आफ्ना छोराछोरीलाई शिक्षा लिने अवसरहरू मिलाइदिने। उनीहरूलाई पढ्न लेख्नको साथमा उनीहरूको उमेर अनुसार गर्न सक्ने खालका कामहरू पनि सिकाउने, समस्याको समाधान खोज्ने खालको वातावरण बनाउने, अरुको जिन्दगीलाई रिस, डाह, विरोध गर्ने, कुरा काट्ने, अपमान गर्ने संस्कारको अन्त्य गर्ने, अभिभावकहरूले छोराछोरीसँगै बसेर शिक्षा प्रदान गर्ने, नयाँ काम शुरुवात गर्न प्रेरणा प्रदान गर्ने, सिर्जनशील बनाउन सहयोगी खालका किताबहरू पढ्ने बानी बसाल्ने। बेलाबखतमा देशमा बसेर गर्न सक्ने सम्भावनाहरू छोराछोरीसँगै बसेर छलफल गर्ने, त्यस्ता गोष्ठी, सेमिनारमा छोराछोरी अभिभावक सबैले सँगै भाग लिने संस्कारको विकास गर्नुपर्दछ। अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई इष्टमित्र, नातागोता, छिमेकीहरू सँगै बसेर सामाजिक कार्यहरू गर्न उत्प्रेरणा जगाउनु पर्दछ। हाम्रो घर, परिवार, समाज नै एउटा असल जीवनप्रति आशावादी, स्क्रियाशील, सहयोगी, सिपमूलक, शिक्षित, सिर्जनशील दक्ष जनशक्ति उत्पादन गर्ने प्रेरण मिल्ने वातावरण तयार पार्नुपर्दछ।

त्यसै गरेर सरकारी वा निजी रूपमा सञ्चालित शिक्षण संस्थाहरूमा कार्यरत कर्मचारी, शिक्षकहरूको जीवनी पनि शिक्षाका लागि प्रेरणा दिन सक्ने खालका जनशक्ति छनोट गर्नुपर्दछ। शिक्षण पेसामा लागेका शिक्षक शिक्षिकाहरूले पनि अध्ययनशील, सिर्जनशील आफ्नो पेसालाई सम्मान गर्ने बानीको विकास गर्दै आफूहरूले पढाएको विषयवस्तुलाई जिन्दगीको हरेक पाइलामा प्रयोग गर्न प्रेरणा प्रदान गर्नसक्नु पर्दछ। विद्यार्थीहरूलाई अध्ययनशील, आशावादी, स्क्रियाशील, सिर्जनशील, व्यावहारिक ज्ञानहरूले भरिएका जनशक्ति उत्पादन गर्न भरपदो प्रयास गर्नु पर्दछ। ती संस्थाहरूले एउटा तहको अध्ययन पूरा गरी सकेपछि उनीहरूले जिन्दगीमा गर्नसक्ने कार्यको सम्भावना नै सम्भावना देख्न सक्ने, आफैँमा केही न केही गर्नसक्ने उत्प्रेरणा भएका जनशक्ति उत्पादन गर्नु पर्दछ। जस्तै कृषि पेसामा सम्भावना देखेको, बैङ्किङ क्षेत्रमा सम्भावना देखेको, टुरिजममा सम्भावना देखेको, फरेस्टीमा सम्भावना देखेको, इन्जिनियरमा सम्भावना देखेको, उत्पादन क्षेत्रमा सम्भावना देखेको, स्वास्थ्य क्षेत्रमा सम्भावना देखेको, समाज र संस्कारलाई परिवर्तन गर्न सक्ने बनाउन पर्दछ। अबको ५ वर्षमा पोखरालाई नेपालका अन्य भू-भाग एवं विश्वले नै शिक्षा लिनु जानुपर्ने स्थान पोखरा हो भन्ने खालको शिक्षा प्रदान गर्नु अहिलेका शिक्षण संस्थाहरूको दायित्व हो।

पोखरा प्रकृतिले वरदान दिएको ठाउँ हो। यसमा भएका तालहरूको वरिपरिको वातावरण सफा, सुन्दर, व्यवस्थित, फोहरको उचित व्यवस्थापन, चौतर्फी चाक्ला बाटाहरू भएका सुन्दर, सफा होटलहरूको निर्माण गर्न आवश्यक छ। फेवातालको वरिपरि मात्र होइन कि बेगनास ताल, रूपा ताल वरिपरि पनि व्यवस्थित आकर्षक, सभ्य सुन्दर, संसारका होटलहरू निर्माण गर्नुपर्ने आवश्यक छ। त्यसको अलवा पोखरा, पोखरामा भएका प्राकृतिक सम्पदाहरू, उत्तरतिर भएका हिमालहरू सबैलाई सजिलै देख्न सक्ने ठाउँको छनोट गरी ठूला पार्कको निर्माण गर्नु, पिकनिक स्पोटहरू बनाउनु, फुलबारीहरूको निर्माण गर्नु, खेलकुद मैदानहरूको निर्माण गर्नु, मानव निर्मित पोखराको सम्झना हुने खालको केही नयाँ चिजको निर्माण गर्नु अहिलेको आवश्यकता देखिन्छ।

पोखराका बाटाहरू चौडा पक्की गुणस्तरीय बनाउने, पोखराभरि उच्च क्षमताको वाईफाई प्रिm गर्नु, शुद्ध प्रशस्त खानेपानीको सुविधा, बिजुलीको लोडसेडिङ मुक्त शहरको विकास गर्नुपर्दछ। अब इन्जिनियर सहयोगमा भौगोलिक अवस्थाको विस्तृत अध्ययन गरी निर्माण व्यवसायको सहयोगमा ११।१२ रेक्टरको भूकम्पले पनि असर गर्न नसक्ने, ५००० भन्दा पनि बढी मानिसहरू बसोबास गर्न मिल्ने खालका २०।२५ तले आधुनिक आवासगृह निर्माण गर्नुपर्दछ। त्यस्ता आवास गृहमा सबै खालका सुविधासम्पन्न भएका कम्तीमा अबको ५ वर्षमा १०।१५ वटा अपार्टमेन्टहरूको निर्माण गर्ने सोच राख्नुपर्दछ। स्वास्थ्य एवं मठ, मन्दिर सहितका सुविधा सम्पन्न कम्तीमा ५००० मानिसहरू अट्ने खालका वृद्धाश्रमहरूको निर्माण गर्नुपर्दछ। त्यस्ता ठाउँमा नियमित स्वास्थ्य चेकअप गर्न मिल्ने वातावरण सिर्जना गर्नुपर्दछ।

२० वर्षपछि हुन गएको स्थानीय चुनावमा यहाँ रहेका पार्टीहरूको यस महानगरपालिकाको मेयर, उप-मेयर, वडा अध्यक्ष, वडा सदस्यहरू छनोट गर्दाखेरि पोखरा लेखनाथ महानगरपालिकाको परिवर्तन गर्न सक्ने सपना भएका व्यक्तिहरू छनोट गर्नुपर्दछ। ती व्यक्तिहरू जसले अबको ५ वर्षमा भ्रष्टाचार, दलाली, कमिशन, नातावाद, कृपावाद, गुट, उपगुट, धनवाद, डनवादरहितको समाज निर्माण गर्ने सोच भएको हुनुपर्दछ। यस महानगरपालिकामा भएका ४ लाखभन्दा बढी मानिसलाई अति आवश्यक पर्ने खाद्यान्न, तरकारी, फलपूल, माछा, मासु, दुध, अन्डा, मह सम्भव भएसम्म यही भएको जनशक्तिलाई प्रयोग गरी यस महानगरपालिका छेउछाउमा रहेको खेती योग्य जमिनलाई सक्दो प्रयोग गरी वर्षमा ३।४ खेती उत्पादन गर्ने सोच बनाएको एवं खेतीको अयोग्य ठाउँमा नमूना पशुपालन र्फमहरू तीसँग सम्बन्धित घरेलु उद्योगहरू निर्माण गर्ने, बजार व्यवस्थापन बाँकी रहेको ठाउँमा नगदे बाली अम्रिसो, बाँस, नियालो आदिका साथमा पार्क, खेलकुद मैदान, पिकनिक स्पोट बनाउने सोच भएको, खाडीमुलुकमा रोजगारका निम्ति गएका दाजुभाईहरूलाई त्यहाँको भन्दा बढी कमाइ यही आफ्नो परिवारसँगै बसी गर्न सक्ने सिप दिन सक्ने, रोजगारका अवसर प्रदान गर्न सक्ने भिजन भएको, पो.ले.म.न.पा. लाई अति सुन्दर, व्यवस्थित, सजिसजावट, व्यवस्थित तालहरू, मठमन्दिरहरू, गुम्बा, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर महादेश गुफा, डेभिड फल आदि संरक्षण गर्ने, लेकसाइड बाहेक बेगनास ताल, रूपा ताल, कृस्ती, निर्मलपोखरी, भरतपोखरी, सराङकोट, काँहुको डाँडा, पुम्दी जस्ता ठाउँमा व्यवस्थित पर्यटकको आवासगृह निर्माण गर्न, पोखरेली समाजलाई भ्रष्टाचार रहित आशावादी, सहयोगी, सस्क्रिय, सेवामुखी, सुसंस्कारले सम्पन्न शिक्षित, सिर्जनशील स्वभाव भएको सरसफाई भएको, सभ्य र दक्ष सिपमूलक समाजको बसोबास गर्ने महानगरपालिका बनाउने सोच भएको एवम् त्यस्ता खालका जनशक्ति उत्पादन गर्ने शिक्षणसंस्था बनाउने तीव्र इच्छाशक्ति भएको, व्यवस्थित सुविधा सम्पन्न अपार्टमेन्ट एवं वृद्धाश्रम बनाउने सपना भएको फराकिलो भिजन एवं मिसन सहितको उम्मेदवार छनोट गरून्, तिनमा पनि अझ राम्रोलाई जिताउने अवसर मिलोस् जसले हाम्रो पोखरा बनाउन सक्दछ राम्रो पोखरा।

- ठाकुरप्रसाद पोखरेल