हरितालिका तीज र महिला सशक्तीकरण

आज महिलाहरूको महान पर्व हरितालिका तीज। नेपाली महिलाहरूले यो दिनलाई विशेष महत्वका साथ मनाउँदैछन् । वर्षमा एकदिनमात्र आउने यो पर्वको विशेषता अक्षुण्ण छ। महिला दिदीबहिनीको लागि यो पर्व माइती देशमा मीठो मीठो खाँदै मन फुकाएर नाचगान गर्ने पर्व पनि हो। विवाहित चेलीहरू माइती देशमा आमाबाबुको काखमा सुखदुःख बिसाउँदै साथीसँगीसँग तीजेभाखामा रमाउने गर्दछन्। लामो समयदेखि माइत जान नपाएका उनीहरूको लागि एकदुर्इ दिन भए पनि माइत जाने मेसो हो। अविवाहित चेलीहरू पनि मनले चिताएको पूरा होस् भनी व्रत बस्छन्। महिला र पुरुषलाई अन्योन्याश्रति सम्बन्ध राख्ने यो पर्वको महत्व अन्य चार्डपर्वको तुलनामा फरक र विविधा छ। यसको सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक लगायत पक्ष विशेष महत्वका मानिन्छन्।

यसको महत्वलाई फर्केर हेर्दा राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत  बसिन्। उनको कठोर व्रतबाट शिवजी प्रकट भई मनले चिताएको पुगोस् भनी शुभआशीर्वाद दिएपछि शिव पार्वतीको विवाह सम्भव भयो। भाद्र शुक्ल तृतीयाको दिन भएको सो घटनादेखि हिन्दू नारीहरूले यस दिनलाई पौराणिक कालदेखि उत्सवका रूपमा मनाउन थालेको धार्मिक विश्वास छ।

तर तीजको सम्मुखमा मुलुकमा पछिल्लो समय घटेका घटना हेर्दा लाग्छ नारी दोस्रो दर्जाकी नारी हो। महिला हत्या, हिंसा, बलात्कार रोकिएका छैनन्। झनै बढेका छन्। कञ्चनपुरको घटना सेलाउन नपाउँदै हाम्रै जिल्ला कास्कीको लामाचौरमा समेत नारीपात्रको मृत्युको रहस्य अझै खुल्न सकेको छैन। दिनहुँ कहीँ न कहीँ यसप्रकारका घटना घटिरहेका छन्। महिलामाथि तेजोवध भइरहेको छ। नारीलाई सजावटी वस्तुको रूपमा प्रयोग भएको छ। नारी खेलौना बनिरहेकी छन्। उनीहरूलाई अझै पनि घरको चार दिवालमा सीमित गरिएको छ। उनीहरूका आत्मनिर्णयको अधिकारमा कुठाराघात भएको छ।

यस वर्ष पनि तीज पर्व सुरु नहुँदै तारेहोटलमा महिलाहरू दर खाने नाउँमा समय र पूँजी खर्च गरिरहेको पाइयो। यसैले अबका दिनमा तीज दर खाने, नाचगानमा रमाउने र श्रीमान्को आयु लम्बियोस् भनी व्रत वस्ने पर्वको रूपमा चिनारी रहेन। यो पर्वलाई हामीहरू सबै नारी पात्रको समानता र स्वतन्त्रताको पक्षमा आवाज बुलन्द गर्ने पर्वको रूपमा स्थापित हुनुपर्छ। शहर बजारमा वसोवास गर्ने शिक्षित केही महिला वर्गले यो पर्वको बुझाई भिन्न रहे पनि गाउँघरमा रहेका महिलाहरू जो शिक्षाको उज्यालो घामबाट देशदेशावरको परिघटना बुझ्नबाट वञ्चित छन्, उनीहरूको लागि यो पर्व परापूर्वकालदेखि जसरी चल्यो त्यसमै सीमित छ।

वास्तवमा नारी कोमल हुन्छे। दयालु हुन्छे। घरपरिवारका सदस्यको दुःखमा आफू दुख्छिन्। धर्तीकी जननी हो नारी। आधा आकाश ओगटेकी नारीलाई विभिन्न अधिकार दिइए पनि अझै पनि त्यसको प्रत्याभूति हुन सकेको पाइँदैन। नेपालको संविधानले नारीलाई प्रशस्त अधिकार दिएको छ। तर त्यसको सही कार्यान्वयन हुन सकेको छैन। राज्यको माथिल्लो निकायबाट तल्लो निकायसम्म नारी पात्रले सिंहदरबारको अधिकार पाउन सकेका छैनन्। मुलुक यतिखेर संघीयतामा गएको छ। संघको अधिकार स्थानीय तहसम्म अझै पनि नपुगेको गुनासो स्वयं मुख्यमन्त्रीहरूको पोखरामा केही दिनअघि भएको बैठकको निष्कर्ष रह्यो।

यस विषयमा माथिल्लो निकायले तल्लो निकायलाई प्रशस्त अधिकार दिई आमजनमानसलाई अधिकारको प्रत्याभूति दिलाउन सक्नुपर्छ। मुलुकमा साँचो रूपमा परिवर्तन भएको महसुस दिलाउन सक्नुपर्छ। सानो सानो कामको लागि पनि सिंहदरबारमै धाउनुपर्ने बाध्यता हटाउनुपर्छ। महिलालाई पनि अब प्रशस्त मात्रामा सीप दिनुपर्छ। उनीहरूलाई आफ्नै खुट्टामा उभिन सक्ने गर्ने आत्मनिर्भर बनाउन सक्नुपर्छ। जसले घरपरिवारको लागि तथा आफ्नो लागि आवश्यक केही खरिद गर्नुपर्‍यो भने पनि श्रीमान्कै आयआर्जनमा सीमित हुनु नपरोस्। उनीहरूलाई सक्षम र सबल बनाउँदै अघि बढाउन सकियो भने उनीहरूले अब श्रीमान्सँग केहीमात्र पैसाको लागि हात फैलाउनु पर्दैन, उनीहरू आफै अरुलाई दिन सक्ने होउन्। त्यसको लागि राज्यले पनि नारीलाई अघि बढाउन, नारी पात्रलाई शैक्षिक योग्यतासँगै आवश्यकताअनुसार विभिन्न प्रकारका सीप सिकाउनतपm विभिन्न योजना तय गर्नुपर्छ। महिला सशक्तीकरणको नारा घन्किनुपर्छ। नारी शिक्षित भइन् भने घरपरिवार नै शिक्षित हुन्छ। नारी सक्षम भइन् भने घरपरिवार नै सक्षम बन्छ।

लामो समयसम्म गुज्रिएको मुलुकको राजनीतिक अस्थिरता, द्वन्द्व समाधानको उपायका रूपमा राज्यको पुनर्संरचना गरी २०७२ मा जारी नेपालको संविधानले संघीय शासन पद्धति अवलम्बन गर्‍योे। जसअनुसार नेपाललाई संघीय गणतन्त्रात्मक स्वरूपमा परिवर्तन गरियो। गत वर्षको ३ तहको निर्वाचनपछि मुलुकमा संघीय सरकार, सातवटा प्रदेश सरकार र ७ सय ५३ ओटा पालिकाहरू -महानगर, उपमहानगर, नगर र गाउँ) सरकार बने। ती सबै सरकारले अब बनाउने कानून, नीति नियममा नारी पात्रलाई प्रशस्त ठाउँ दिनुपर्छ। सूचना र प्रविधिले मारेको फड्को जस्तै नेपाली महिलालाई विभिन्न विषयमा आवश्यक सचेतना अभिवृद्धि गर्दै महिला-पुरुषलाई एक रथका दुर्इ पाङ्ग्रासरी अगाडि बढाउनुपर्छ। तबमात्र मुलुकको विकास र समृद्धि सम्भव छ। अहिलेको सरकारले पनि समृद्ध नेपाल, सुखी नेपाली संकल्प बोकेको छ। यसलाई पूरा गराउन नारी-पुरुष समान रूपमा अघि बढ्दै साथ र सहयोग गर्नुपर्छ। अन्त्यमा तीजको शुभकामना।

(लेखक गुरुङ गण्डकी प्रदेश सांसद हुन्।)

- मीना गुरुङ