स्व. प्रा.डा. दुर्गाप्रसाद दवाडी र दामोदर कुण्डको यात्रा संस्मरण

स्व.प्रा.डा. दुर्गाप्रसाद दवाडीको जस्मस्थल कास्कीकोट गाविस कोटमुनि हो। उहाँ असल संस्कारयुक्त परिवारमा जन्मे हुर्केका व्यक्ति हुनुहुन्छ। उहाँका बाबुबाजे मावली सवै सुसभ्य र सु-संस्कृत भएकाले उहाँमा जागृत भएको शैक्षिक चेतना जन्मजात नै हो भन्दा अत्युक्ति नहोला। त्यस बेलाको शिक्षा आर्जन गर्ने थलो भनेको भारतको बनारस नै हो। उहाँ शिक्षा आर्जनको लागि बनारसतर्फ नै लाग्नुभएछ। बनारसको ‘अन्नपूर्णऋषिकुश ब्रह्मचार्य आश्रममा शिक्षा आर्जन गर्ने सौभाग्य उहाँलाई मिलेछ। त्यही ऋषिकुल ब्रह्मचार्य आश्रमबाट नै उच्च शिक्षा हासिल गरी त्यही ऋषिकुल आश्रममा अध्यापन गराउने दोस्रो सौभाग्य मिलेछ। अध्ययन अध्यापनकै क्रममा उहाँले विभिन्न विषयको शिक्षा हाँसिल गर्नुभएछ। उहाँले वेदान्तमा आचार्य, व्याकरणमा आचार्य, आगममा आचार्य, संस्कृतमा एम.ए., हिन्दीमा एम.ए. र दर्शनशास्त्रमा विद्यावारिधिको उपाधि हाँसिल गर्नुभएछ। यसरी षडशास्त्रीको उपाधि प्राप्त गर्ने मानिस कमै मात्र हुन्छन्। उहाँको शैक्षिक साहसलाई धन्य मान्नुपर्दछ। तत्पश्चात आफ्नै देश नेपालमा सेवा गर्ने उद्देश्य राखी उहाँ काठमाडौं आउनुभयो। २०२४ सालमा त्रिभुवन विश्व विद्यालय बाल्मीकि विद्यापीठ संस्कृत विभागमा सर्वर्दर्शन विषयमा अध्यापन गराउन सुरु गर्नुभयो। २९ वर्षको अध्यापन कार्यपछि २०५२ सालमा अवकाश लिनुभएको हो। काठमाडौंमा रहँदा उहाँको दैनिकी प्रतिदिन बिहान खाली खुट्टा पशुपति जाने, बागमतीमा चुर्लुम्म डुबी नुहाउने, पशुपतिको दर्शन गर्ने थियो। यो क्रम सेवाकाल र सेवा निवृत्तपछि पनि निरन्तर चलिरह्यो। पशुपतिबाट फर्केपछि दैनिक नित्य कर्ममा नै व्यस्त हुनुहुन्थ्यो। मेरो अनुभवमा उहाँ यो दृश्यजगत, भावजगत र ज्ञानजगत तिनै जगतको ज्ञाता हुनुहुन्थ्यो। किनभने दृश्य जगतमा एउटा कर्मेटी मानिसले गर्ने पूजापाठ बलि वैश्यदेव आफ्नो इष्टदेवको आराधना हुन्थ्यो। धूपदीप आदि सवै गर्नुहुन्थ्यो। कर्मकाण्डका हिसावले विचार गर्दा यो समयको ऋषि वशिष्ठ नै हुन् कि भन्ने जस्तो भान हुन्थ्यो। उहाँ भाव जगतका कर्महरूमा पनि उत्तिकै सजगताका साथ लागि पर्नुहुन्थ्यो। शास्त्रले बनाएका अदृश्य वस्तुभाउको अनुभूत हुने चर्म दृष्टिले नदेखिने वस्तु जस्तै औंसी, एकादशी, गुरूपूणिर्मा, शिवरात्री, कृष्णाष्टमी, रामनवमी आदि। यी पर्वहरूमा कस्तो विधिले पूजापाठ र उपासना गर्नुपर्छ भन्ने विषयको ज्ञाता नै हुनुहुन्थ्यो। ज्ञान जगतमा पनि उहाँ दक्ष हुनुहुन्थ्यो। आत्मा के हो परमात्मा के हो- मायाको चक्करमा संसार कसरी फँसेको छ- उहाँ यी सवै कुराको ज्ञाता नै हो। आध्यात्मिक भावना र नैतिक शिक्षाका हिमायती, संस्कृतका प्रकाण्ड विद्वान प्रा.डा. दुर्गाप्रसाद दवाडीको निधनले आध्यात्मिक विचार राखी नैतिकताको धरातलमा बाँच्न चाहने मानिसहरूको निमित्त अपुरणीय क्षति भएको छ। नैतिकताको अवकाशमा उदाएको सूर्यको अस्त भएको छ।

प्रा.डा. दुर्गाप्रसाद दवाडीलाई उस लोकमा रहने सौभाग्य केवल ८४ वर्ष मात्र रहेछ। ८४ वर्ष अगाडि उहाँ यस धरतीमा हुनुहुन्नथ्यो। त्यस अवस्थामा उहाँप्रति कसैको कुनै किसिमको हर्ष विस्मात थिएन। जब २०६९ पौष २५ गते उहाँको निधन भयो। त्यसपछि पनि उहाँ यस धरतीमा रहनुभएन। उहाँको देहावसानले परिवारजन र उहाँलाई अविभावक मान्ने हामी सबैलाई चिन्ता लाग्नु अस्वभाविक छैन। तर चिन्ता गर्नु र्व्यर्थ हो। चिन्ता कहिल्यै साकार हुँदैन। यो पनि धु्रव सत्य हो। उहाँप्रति चिन्तन गर्ने हो। श्रद्धा गर्ने हो, न कि चिन्ता।

अब म प्रा.डा. दुर्गाप्रसाद दवाडीको साथ दामोदर कुण्डको तीर्थयात्राको अवधिमा भए गरेका कुराकानी र अनुभवका केही अंशहरू लेख्ने अनुमति चाहन्छु। पौराणिक कालदेखि नै हाम्रो हिन्दू धार्मिक परम्परामा तीर्थघाट निरन्तर प्रक्रियाको रूपमा विकसित हुँदै आएको पद्धति हो। यस्ता आध्यात्मिक र धार्मिक कार्यक्रमहरूले मानिसहरूलाई त्यस स्थानको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व तथा आध्यात्मिक चेतनातर्फ भावनात्मकरूपले उन्मुख गराउनुको साथै सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय आदि विभिन्न पक्षसँग सम्बन्धित विषयमा समेत अनुभव हाँसिल गर्न मद्दत पुर्‍याएको हुन्छ। यस्तो बिचारबाट प्रेरित भई तीर्थयात्रालाई निरन्तरता दिनेमध्येका प्रा.डा. दुर्गाप्रसाद पनि हुनुहुन्छ। उहाँले भारतका अधिकांश तीर्थस्थलको भ्रमण तथा दर्शन गरिसक्नुभएकोले आफ्नो देशको प्रसिद्ध तीर्थकुण्ड दामोदर कुण्ड जाने विचार भएछ र पं. इश्वरीप्रसाद दवाडीलाई कार्यक्रम बनाउन भन्नुभएछ। पं. इश्वरी प्रसाद दवाडीले मलाई भन्नुभयो र दामोदर कुण्डको तीर्थाटन गर्ने कार्यक्रम बन्यो। कार्यक्रमअनुसार हाम्रो एउटा सात जनाको टीम बन्यो। टीमका सदस्यहरूमा प्रा.डा. दुर्गाप्रसाद दवाडी, उहाँका छोरा विश्वनाथ दवाडी, भतिजा पं. इश्वरीप्रसाद दवाडी, उहाँकी धर्मपत्नी य केशकुमारी दवाडी, विष्णुमाया दवाडी र पङक्तिकार प्रेमराज अधिकारी र गोमा अधिकारी थियौं। २०६१ साल जेठ ३० गते तत्कालीन रोयल नेपाल एयरलाइन कपोर्रेशनको प्लेनबाट हामीहरूले दामोदर कुण्डतीर्थको यात्रा सुरु गर्‍यौं। पोखराको प्लेनबाट जोमसोम उत्रियौं। कृष्ण गण्डकी नजिकै थिइन्, प्रा.डा. दवाडीले तुरुन्त कपडा खोली नदीमा चुर्लुङ्ग डुबी स्नान गर्नुभयो। हामीहरू जाडोका भयले नुहाउन सकेनौं। हामीहरूले सेचन मात्र गर्‍यौं। त्यसपछि हामीहरूले दामोदर कुण्ड तीर्थस्थलको बाटो ततायौं। जोमसोम, एकले भारी, कागबेनी हुँदै ताङ्गै गाउँ पुगी त्यस गाउँमा पढाउने एकजना शिक्षकको डेरामा सात/सात जनाले रात बितायौं। भोलिपल्ट घुसाङ, मुस्ताङ गेट, चैले हुँदै समर पुगी स्कुलको कक्षा कोठामा बस्यौं। भोलिपल्ट समरबाट वास बस्न हामी धामी पुग्यौं। त्यहाँ पनि हाम्रो वास स्कुलमा नै भयो। त्यस बेलुका दवाडी गुरुलाई लेक लागेर बिरामी हुनुभयो। औषधि खुवायौं। दुर्इ/दुर्इवटा स्लीपिङ ब्याग ओढायौं। इश्वरको कृपाले भोलिपल्ट बिहान उहाँ स्वस्थ हुनुभयो। धामीबाट हामी घारा भन्ने गाउँमा पुग्यौँ। यारा गाउँ दामोदर कुण्ड जाने बाटोको अन्तिम गाउँ हो। यो भन्दा अगाडि गाउँ छैन। यारामा पनि हाम्रो वास स्कुलमै भयो। त्यस स्कुलका शिक्षक हाम्रा टीमका सदस्य पं. इश्वरप्रसाद दवाडीले पढाएका विद्यार्थी रहेछन्। उनले हामीप्रति देखाएको सद्भावले हामीलाई ज्यादै सन्तोष मिल्यो। वासको बन्दोवस्त भयो। दुर्गा गुरु नदीतर्फ लाग्नुभयो। हामी पुग्नुभन्दा अगाडि नै १६ जना भारतीय प्रोफेसरहरूको टीम त्यही स्कुलको फराकिलो कोठामा बास बसेका रहेछन्। स्कुलका कोठा काठले पाटेसन गरेकाले उनीहरूले गरेको कुरा हामी सुन्दथ्यो। उनीहरूका कुरा हिन्दीमा थिए। दामोदर कुण्डको कुराको प्रस·मा असली दामोदर कुण्ड माथि हो। तलको कुण्डमा मात्र नुहाएर पुग्दैन भन्ने कुरा गरेको जस्तो मैले बुझें। दाजु दुर्गा नदीबाट फर्केपछि कुरा के हो भारतीय प्रफेसरहरूसँग परामर्श गर्नुहोस्, भनी मैले भनेपछि उहाँले पनि त्यसै गर्नुभयो। माथि नै जानुपर्ने देखियो। चार दिनको लागि सात वटा घोडा र तीन वटा सहेशको वन्दोबस्त गरी याराबाट दामोदर कुण्डतर्फ लाग्यौं। त्यस दिनको हाम्रो वास ओडारमा नै भयो। भोलिपल्ट औंसी परेकोले खाना नखाई तल्लो दामोदर कुण्डतर्फ लाग्यौं। करिब ४ बजेतिर पुगियो। त्यहाँका पहेँला, नीला र सेता कुण्डाहरूमा नुहाई खाना खाई भत्केको ठाँटीको एउटा कुनामा बास बस्यौं।

भोलिपल्ट बिहान ६ बजे उठेर त्यस ठाउँको पहेंलो कुण्डमा नुहाई अर्का दुर्इ कुण्डमा शेचन गरी माथिल्लो सक्कली दामोदरकुण्डतर्फ लाग्यौँ। आधा बाटो हिँडिसकेपछि दलदले बाटो क्रस गर्नुपर्ने रहेछ। हामीहरू सबै घोडामा नै थियौ। म चढेको घोडा हिलोमा फँस्यो, म उत्रिएँ। ५/१० मिनेटपछि सयसहरूले घोडा उतारे र करिब एक बजेतिर गन्तव्यमा पुग्यौं। त्यहाँ जमिनको प्रकृति बिलकुल फरक थियो। हिउँले खाएका धारैधार परेका ढु·ाशिवाय अरु केही थिएन। जमिन चिराचिरा परेको थियो। तर कुण्ड भने पहेंलो, नीलो र सेतो मौजुदा देखिन्थ्यो। भारतीय प्रोफेसरले गरेका कुरामा सत्यता रहेको   पायौं। सन्तोष लाग्यो, सबै कुण्डमा स्नान गरी साथमा भएको सातु भोजन गरी सकुशल फक्यौै’।

अब म करिव १५ दिनको यात्राको अवधिमा प्रा.डा. दुर्गाप्रसादसँग भएका कुराकानीका केही अंश उल्लेख गर्ने अनुमति चाहन्छु। यो तीर्थयात्रा अवधिमा प्रा.डा. दुर्गाप्रसादले करिब ४५/५० पटक स्नान गर्नुभयो होला। उहाँ नदी, खोला, छहरा, तालतलैया सवै ठाउँलाई तीर्थस्थल नै मान्नुहुन्थ्यो। उहाँको दृष्टिमा जलै विष्णु स्थलै विष्णु हुन्थे। र स्नान गरिहाल्नु हुन्थ्यो। एक दिन मैले उहाँलाई भने ‘यो हिमाली क्षेत्रको चिसो पानीमा यसरी पटक पटक स्नान गर्दा बिसञ्चो हुने हो ?’ यसो भन्दा उहाँले भन्नुभयो-’त्यसो हैन हजार काम छोडेर स्नान गर्नुपर्छ। एक सय काम छोडेर जानुपर्छ। जलको सेवनले हानि गर्दैन। जल प्रणीहरूको प्राण हो। जलबिना प्राणीको प्राण रहन सक्दैन। जल जीवन हो। जलले नै जीवन दिने हो जीवन बचाइरहने हो। जल नभई यज्ञयज्ञादि हुंदैन। जल नभए जीवन अशुद्ध हुन्छ। जल हाम्रो संस्कार हो। जल बिना मानिसको संस्कार बन्दैन। मानिस जन्मँदा शुद्र नै भएर जन्मेको हुन्छ। संस्कारबाट नै ब्राह्मण, क्षत्री, बैश्य, शुद्र हुने हो। बैदिक सनातन धर्ममा संस्कारको ठूलो महत्त्व छ। वास्तवमा संस्कार भनेको जीवनलाई स्वच्छ, स्वस्थ र परिस्कृत बनाउने आध्यात्मिक उपचार विधि हो। हिन्दू धर्मका सोह्र संस्कारहरूको पालना गरेमा यस लोक र परलोकमा समेत जीवको कल्याण हुन्छ भनिएको छ। यस लोकमा गरेका कर्मले परलोकको जीवनको सफलता र असफलताको निर्धारण गर्दछ भन्दै मेरो अनुरोधको जवाफ दिनुभयो। उहाँका शास्त्रीय उपदेशलाई सहर्ष ग्रहण गरेँ।

यो परमात्माको सृष्टि विचित्रको रहेछ। यो धरतीमा जन्म लिने सबैले आफ्नो शरीर छोड्नै पदोर्रहेछ। त्रेता युगका आदर्श पुरुष रामचन्द्र, द्वापर युगका श्रीकृष्ण उहाँहरूलाई हामी इश्वर मान्दछौं। उहाँहरूको पनि जीवित शरीर यस धरतीमा रहेन। पौराणिक युगका महापुरुषहरू पनि रहनुभएन। यस युगका हिन्दू धर्म संस्कृतिका हिमायतीहरू सोमनाथ सिग्देल, कुलचन्द्र गौतम, हेमराज पाण्डे, नयनराज पन्त, योगी नरहरि आदि जसरी जानु भयो, त्यस्तैगरी सदाचार र निष्ठाका प्रतिमूर्ति संस्कृतका प्रकाण्ड विद्वान आदरणीय प्रा.डा. दुर्गाप्रसाद दवाडीको पनि त्यस्तै गति भयो। उहाँ ब्रह्मलीन हुनुभयो। उहाँको निमित्त हामीले चिन्ता गर्नु मैले कुनै अर्थ देखेको छैन। चिन्ता यस मानेमा म देख्दछु कि उहाँसँग भएको ज्ञानको भण्डारबाट हामीहरूले एक चिम्टी ज्ञान पनि लिन सकेनौं। यस मानेमा म दुखी छु। उहाँप्रति चिन्तन गरिरहनेछु, श्रद्धा गरिरहनेछु। यही हो मेरो श्रद्धा सुमन। हस्त।

- प्रेमराज अधिकारी