स्थानीय तहको निर्वाचन : लोकतन्त्रको सौन्दर्य

‘यो जित कसको -‘ जनताको !’

नारा उर्लिन थालेका छन्। पार्टीा झण्डाहरु सँगै ठूल्ठूला राष्ट्रिय झण्डा बोकिएका छन्। लोकतन्त्रको सौन्दर्य यही हो कि आशाको त्यान्द्रो जाग्छ। जुलुसमा मिसिनु र हावामा हात उफारेर छाती तन्काउनु मन लाग्छ। निराशाले थिचिएर कुच्च परेकाहरु पनि उच्च आकांक्षाले द्रवित हुन्छन्। अनुहारमा चमक आउँछ। पराजित पार्टीको भोटर विजयीको अबीर घसेर स्यालभाका मिलाउँछ। जित्नेले सुनको लुर्को लाउँछ, भोटरले बढीमा एक तुर्को चिया भेट्टाउला ! तैपनि मान्छे आशामुखी प्राणी हो। आशाको लहराले थाङ्रो खोज्छ।

०७४ जेठ २ गते बिहानै पोखरालेखनाथ महानगरपालिका वार्ड नम्बर १ मा एमालेले चुनावमा पहिलो खाता खोल्यो। शारदा पराजुलीको टिमले जित हासिल गरेर जुलुस निकाल्यो। पोलेमकी एकमात्र महिला अध्यक्षकी उम्मेदवारले विजय प्राप्त गर्दा यस भेगमा महिलाहरु अतिरिक्त उत्साहित देखिए। ‘कोक्रो हल्लाउने हातहरुले संसार हल्लाउन सक्छ…!’ एमालेको स्कुलिङ यस्तै हो। शान्ता चौधरी कमलरीबाट सभासद भइन्। राजनीतिमा यस्ता चमत्कार भइनै रहन्छन्। डायना, फूलनदेवी, जय ललिता जस्ता अनेक उदाहरण छन्। माओवादीले महिला बहादुरीको अद्भूत इतिहास रचेको छ। टुटफुटको पीडाले थचारिएको माओवादी केन्द्र अहिले धूलो टक्टक्याउँदै उठेको छ। उज्यालोको अभियान, महिला सशक्तिकरण, चुनाव आदि माओवादी केन्द्रको पहारिलो पक्ष हो। आफ्नो गाउँ आफै बनाऔं र वृद्धभत्ता एमालेका देन हुन्। तर राजनीतिमा इतिहासको व्याज खाइरहन पाइँदैन। राधाकृष्ण मैनाली इतिहासका पाना लेखेर स्पष्टीकरण दिइरहेका छन्। एमालेभित्रै राजावादी हुनुपर्ने बाध्यता पžयो रे ! आजको युवा पुस्ता पत्यार गर्दैन।

नेपाली काँग्रेसले बीपी कोइरालाको नाम धेरै भँजायो। वीपीकै चेलाचपेटाहरुले महेन्द्रको पाउमा छाँद हाल्न जाँदा लोकतन्त्र टाक्सियो। लामो संर्घष्ापछि बहुदल प्राप्त हुँदा गिरिजालाई सत्तोसराप गर्दै एमालेले प्रमुख प्रतिपक्षमा बसेर खाइरहृयो, बहुदलिय जनवादको  गीत गाइरहृयो। २०७४ जेठ ३ गते बिहान मदन-आश्रतिलाई सम्झिmदै केपी ओलीले प्रशस्त बिजुली उत्पादन गरेर धनी भइने बताए। ०५४ मा महाकाली सन्धि गरिँदा यही सपनाको व्यापार गरिएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर वा पशुपतिबहादुरभन्दा केपीजी नै प्रखर वक्ता बनेका थिए। महाकालीकै मुद्दामा एमाले फुटेको थियो। जनतालाई दिग्दारीको बोझ थपेर ठट्टाको आत्मरतिमा हामी कति रमाउने – सायद, यसैले काठमाण्डूमा विवेकशील नेपाली पार्टीद्वारा साइलिक चढिने, खाल्डो पुरिने बताइँदा ठूलै तरंग छायो। मान्छे गर्मीमा शीतलता, तीर्खामा पानी र भोकमा भोजन खोज्छ। महंगा फ्यान, लाखौं रुपैयाँ पर्ने बोत्तलका रक्सी वा चौरासी व्यञ्जन होइन, ससाना खुशी नै ठूलो खुशीको आधार हो।

अहिले स्थानीय तहको निर्वाचन नेपाली जनताका लागि ठूलो खुशीको आधार बनेको छ। सरकारले फलामकै च्यूरा चपाएको स्वीकार्नु प्रधानमन्त्रीको प्रशंसा ठानिएला तर सत्य त्यही हो।  संगठन बलियो एमालेकै हो, अग्रता उसैले लियो। चुनावै नभएको भए एमालेले भोट कसरी, केमा थाप्दो हो ? लोकतान्त्रिक संविधानलाई के ले नापिँदो हो – संविधानको स्वीकार्यता बढेको छ। स्थानीय तहको पहिलो निर्वाचनले लोकतन्त्रको सौन्दर्य ढकमक्कै फुलेको छ। देउबा कसरी हिँड्छन्, बाटो खुलेको छ।

मधिशेले लगभग चुनाव स्वीकार्दै गर्दा सत्तासीन दलहरुले अत्यन्त अलोकप्रयि कदम चाले। प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रास्ताव अगाडि सारे। लेख्नेहरुले आकासै खस्ने त्रास फैलाए। प्रमुख प्रतिपक्षी एमालेले  ‘आन्दोलन’को घोषणा गžयो। तर चुनाव र आन्दोलनमध्ये एमालेले चुनावलाई रोज्यो। क्षेत्र नं. ५ मै ‘आन्दोलन’ गरेर थाकेको एमाले चुनावमा आयो। चुनावमा बिजयको अग्रता लियो। चुनाव लोकतन्त्रको प्राण हो। सरकारले नेपाली लोकतन्त्रलाई कोरामिन दिएर बँचायो। दलहरुका रंगीचंगी झण्डा, जिन्दावाद-जिन्दावादका जुलुस र थरिथरि नारामा लोकतन्त्रको सौन्दर्य झल्कियो।

रविन्द्र मिश्रले पटक-पटक दोहोžयाएर भने, ‘लेख्नु सजिलै थियो। एउटै लेखमा दर्जनौँको बधाई र धन्यवाद पाउँथे !’ अहिले उनलाई गाह्रो छ। धूलोमैलोमा हिँडेर असिनपसिन हुँदै जनता जनार्दनलाई नमन गर्नु पण्डितलाई भट्याउन लगाएर नारायणको पूजा गर्नु जस्तो होइन। रविन्द्रजी जस्ता असल नियत देखिने केहीले चुनाव लडेका छन्। यो लोकतन्त्रको उज्ज्वल पक्ष हो। पद र पैसो त अशोक राइलाई एमालेमै प्राप्त हुँदो हो तर सँघीय समाजवादको उनको खोज आलोच्य होइन, स्तुत्य छ। ‘सय चूहा खाकर बिल्ली चला हज करने’ भनेझैँ गर्न पनि डा. बाबुराम भट्टराइलाई लोकतन्त्रमै सुहाएको छ। कट्टर राजावादीसँग तालमेल गर्न एमालेलाई लोकतन्त्रले नै छुट दिएको छ। लोकतन्त्रकै लोभमा मधिशेहरु ‘क्षेत्रीयतावादी’ होइन, राष्ट्रब्यापी आधार खोज्दैछन्।

ढाँटेढुँटे कविहरु, सर्टिफिकेटजीवीहरु लोकतन्त्रको हिमायती हुँ’दैनन्। यी चारित्रिक पतनका पत्रु पात्रहरु खोजेर लाटो देशको गाँडो तन्नेरी हुनुकै आत्मरतिमा रमाउँछन्। योग्यता यिनीहरुका लागि पोल्ने सिस्नु हुन्छ। बस, यिनलाई लिस्नु चाहिन्छ। मान्छेको ढाड, कुम र टाउकोमा टेकेर अग्ला देखिन्छन्। अनि, लोकतन्त्र सधैँ हुँक्का छोडेर रुन्छ। स्थानीय तहको निर्वाचनमा चिल्ला कारबाट झरेर ठालूहरु दलितका बस्तीमा दलित महिला उम्मेद्वार खोज्दै हिँड्नु पनि लोकतन्त्रकै रमाइलो पक्ष हो।

लोकतन्त्रले निकै अप्ठ्यारा, बाँगाटिँगा र निर्मम आरोह-अवरोह पार गनैपर्छ। सन् १२१५ मा बेलायतमा ‘म्याग्नाकार्टाा बिल पास गरियो। बेलायत त्यतिखेरै लगभग आजको हाम्रो यो अवस्थामा पुगिसकेको थियो। लोकतान्त्रिक अभ्यासकै क्रममा राजाको टाउको काटियो। यो कठोर दृष्यलाई कोमल हृदयका हजारौं बेलायती जनताले आँसु चुहाउँदै हेरेका थिए। हामीले वि.सं. २०१७ मा सजिलै राणालाई परास्त गरेका थियौँ। चन्द्रशेखरले चिच्याएर चाक्सीबारीमा भाषण गरिँदिँदा हामीले पञ्चायतलाई हुत्यायौँ। जनआन्दोलनको मुख्य दमनकारीलाई सजाय गर्ने सामान्य विषयको मतभेदले फेरि लोकतन्त्रलाई कमजोर तुल्यायौँ। संविधान घोषणा र यसको कार्यान्वयन जटिल बन्दै गए। त्यही जटिलताको गाँठो फुकाउन स्थानीय तह निर्वाचनले मद्दत गरेको छ।

‘बेजोड कलाकारले कुँदेको

सवोर्त्कृष्ट प्रस्तर मूर्तिले थिचिएर

म सडकको बीचमा मारिएको छु !’

हो, टंक उप्रेतीको कवितामा भनिएझैँ ढाँटेढुँटे कवि र सर्टिफिकेटजीवी,  सोझै भन्दा समाजका ठालूहरु कहिल्यै लोकतन्त्रको पक्षमा हुँदैनन्। यस्ताहरुले यही मौकामा केही प्रतिभाको हत्या गर्न भ्याएका छन्। ठालू भनेको जनतामा भ्रम छरेर सम्मानित भई कुनै न कुनै रुपमा राज्यको सुविधा प्राप्त गर्ने जनावरहरु हुन्। यी प्रायः सुकिलामुकिला र सभ्य देखिन्छन्। राष्ट्रिय झण्डा बोक्छन्, मान्छेलाई हेप्छन्। यी जनतालाई मायाले मुसार्छन्, ब्वाँसाजस्तै हुन्छन्। यिनैका विरुद्ध उठेर  विनेपाका  रञ्जुहरु चञ्चुले माटो ओसारेर घर बनाउन खोज्छन्। लोकतन्त्रको सौन्दर्य यही हो।

- मदन भण्डारी