सेती सिंचाई योजना : एक झलक

पोखरा उपत्यका विश्वको सुन्दर स्थान मध्ये एक हो। यसलाई पूर्वको स्वीट्जरल्याण्ड पनि भनिन्छ। यो प्रकृतिको सुन्दर वरदान हो। माछापुच्छ्रे हिमालको काख, सेती नदीको तट फेवातालको पूर्वपट्टि रहेको यो स्थान विश्व पर्यटक स्थलको नामले प्रख्यात छ। फेवाताल, वेगनासताल, डेभिडफल (पातले छाँगो), महेन्द्र गुफा, सेती गण्डकीको गल्छी पर्यटक आकर्षण गर्ने प्राकृतिक सम्पदाहरु छन्। पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका मर्ज गरेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरिएको छ। यो उपत्यकामा ९ ओटा ठूला साना तालहरु छन्। यो धार्मिक स्थल पनि हो। यहाँ विन्ध्यवासिनी, तालबाराही, भद्रकाली शितलादेवी, जाल्पादेवी, रामकृष्ण, गीता, केदारेश्वर, गुप्तेश्वर मन्दिरहरू छन्। यिनका अलावा बौद्ध गुम्बा शान्ति स्तुपाहरु पनि छन्। फेवा बेगनास ताल र माछापुच्छ्रे हिमाल पर्यटक आकर्षणका मुख्य साधन हुन्।

अन्नपूर्ण हिमालबाट निस्केको पवित्र सेती गण्डकी पोखरा शहरलाई पूर्व पश्चिममा विभाजन गरी गल्छी बनाएर बीचबाट बगेकी छन्। सेती गण्डकीलाई पोखराको जलस्रोतको भण्डार मानि आइएको छ। पोखरा सुरुमा १३, त्यसपछि क्रमशः १८, २९ वडामा विभाजन गरिएकोमा हालै मात्र लेखनाथ नगर पालिका र केही गाउँ पालिका मिसाएर ३३ ओटा वडामा विभाजन गरेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरिएको छ।

यहाँको भूमिमा एकरुपता छैन। सेती नदीको पश्चिम भागको कृषिका लागि उपयुक्त मानिन्थ्यो। पूर्व भाग सिंचाईको सुविधा नभएकोले उपयुक्त मानिँदैनथ्यो। पोखरा उपत्यकामा कुँडहर फाट (१०३० हे), विरुवा फाँट (३२० हे), खुदी शिशुवा फाँट (१२८० हे), वेगनास फाँट (५८० हे), बडुवा फाँट (६० हे), फूलबारी फाँट -४० हे) क्षेत्रफलका थिए। यी फाँटहरुमा वर्षामा धान र हिउँदमा छिटफुट गहुँ, जौ र तोरीको खेती गरिन्थ्यो। सिंचाइको सुविधा थिएन। आकाशे पानीको भरमा खेती गरिन्थ्यो। त्यसैले नेपालको कृषि मनसुनको जुवा हो भन्ने उखान थियो।

पोखरा उपत्यकामा २०१५ सालमा विजयपुर बेगनास सिंचाई आयोजना स्थापना भएको थियो। २०२० सालतिर फेवातालमा बाँध बाधेर विरुवा फाँट र २०३७ सालमा पोखरा जल उपयोग तथा सिंचाई आयोजना सेती सिंचाइ योजनाको शिलान्यास भएर २०४१ सालमा यो योजना सम्पन्न भएर कुँडहर फाँटमा सिंचाई सुविधा उपलब्ध हुन गयो। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्मित यो योजनाले पोखरालाई धान खेती मात्र होयन अन्य खेतीका अलावा विभिन्न कार्यमा यो योजनाको पानी प्रयोग हुन गयो। नारायण स्थानमा ५सय कि.वा. का ३ र्टवाइनबाट १५सय कि.वा. विद्युत क्षमताको विद्युत गृह सोही आयोजनाले निर्माण गरेको अद्यावधि छ। चाइना सरकारले २० वर्षको ग्यारेन्टी दिएर बनाएको वि.सं. ४१ मा सम्पन्न भई कार्यान्वयनमा आएको यो सिंचाई आयोजनाले ३३ वर्ष पार गरिसकेको छ। यो सिंचाइ योजना पहिले कुँडहर फाँटको सिंचाइ गर्न बनाइएको थियो। पछि दुर्इ कुलाको मुहानबाट विजयपुर वेगनास सिंचाई आयोजनामा पानी मिसाएर सक्नेरी, शिशुवा, खुदी फाँटहरुमा पनि सिंचाई प्रारम्भ गरियो। कृषि भूमि प्लटिङ गरेर घडेरी र घर बनाउन थालेपछि कृषि भूमिमा ह्रास आएकोले विद्युत विभागले यो योजनाको पानी कृषकहरुको अनुमति विना १ हजार कि.वा. को टास्क र ४५ सय कि.वा. को भगवती हाइड्रोपावर सञ्चालन गर्ने अनुमति दिएर सञ्चालनमा छन्। योजना जीर्ण हुँदा पनि सेती पावर हाउसले बाहेक यी दुर्इले विना लगानी विद्युत उत्पादन गरेर विक्री गरेका छन्। सेती सिंचाई योजनाले सिञ्चित गर्ने क्षेत्र पोखराका वडा नम्बरहरू ५, ६, ७, ११, १२, १३, १४, १५ र १८ थिए। नगरपालिकाबाट पनि यी वडाहरुलाई कृषि वडा मानिएको थियो। अहिले ५, ६ र ७ मिटर सिंचाइको लागि लगेको पानी फेवाताल प्रदूषण भयो भनेर जिल्ला प्रशासनले नै नदीपुरको त्यसतर्फ पानी जाने नहर बन्द गरिदियो। सेती पूर्वका वडाहरु ११, १२, १३, १४, १५ र १८ का भूमि पनि आवास क्षेत्रमा परिणत भएकाले सेती नहरको पानी कृषिमा नगन्य र अन्य क्षेत्रमा अत्यधिक प्रयोग भएको छ। जस्तै नहर फोहोर फाल्ने डम्पिङ साइट भएको छ। नहरका दायाबायाको जग्गा धनीले नहर माथि स्लाब राखेर त्यस माथि गाडी गुडाउने बाटो बनाएका छन्। जसले गर्दा नहर सफा गर्ने प्रयोजनका लागि दायाबाया राखेको तीन मिटर जग्गा बाटोमा परिणत भएको छ। यति मात्र होइन नहरको जग्गा अतिक्रमण गरेर व्यक्ति विशेषका घर र विश्राम स्थल निर्माण भएका छन्।

नहरमा यत्रतत्र सर्वत्र तिरबाट गैर कानूनी अतिक्रमण हुँदा पनि क्षेत्रीय सिंचाई जिल्ला सिंचाई डिभिजन कास्की र उपभोक्ता समिति समेत कानमा तेल हालेर बसेका छन्। उपभोक्ता समिति र डिभिजन कार्यालय नहर मर्मत सम्भार गर्न व्यवस्था भएको बजेट मिलेमतोमा खर्च गरेको बहाना गर्छन्। उपभोक्ता समितिले आफूले खर्च गरेको रकमको लेखा परीक्षण गराई वाषिर्क साधारण सभा महाअधिवेशन र संस्था नवीकरण गर्नु पर्नेमा नगरी दशौँ वर्ष व्यीतत गरेका छन्। सेती सिंचाई योजनामा सबै तिरबाट गैर कानूनी आक्रमण भएकोछ। यसको दोहन गरेर फाइदा लिने धेरै छन् तर यो योजना जीर्ण भयो। यसको मर्मत सम्भार गरेर दिगो रूप दिने तर्फ कसैको चासो छैन। तराईका सिंचाई आयोजनाका उपभोक्ता समितिहरुले पानी पोत उठाएर योजनाको मर्मत सम्भार गर्छन्। तर यो योजनाको उपभोक्ता समितिले पानीपोत र योजना मर्मत गर्न चासो राखेको छैन। मर्मत सम्भारका लागि आएको बजेट पनि कार्यालय र उपभोक्ता समितिको मिलेमतोमा आफ्ना मान्छेबाट काम गराएको बहाना गरी बजेट खर्च लेख्ने परम्परा छ। यसमा क्षेत्रीय सिंचाइ कार्यालयले अनुगमन गरी अनियमित भएको भए कारवाही गर्नु पर्ने देखिन्छ।

यो योजना निर्माणको सङ्क्षिप्त विवरण यस प्रकार रहेकोछ।

योजनाको डेर्टवर्क बाँध पोखराको जौवारीमा छ।

आयोजनाको प्रारम्भ आ.व. २०३६।०३७

आयोजना शिलान्यास मिति २०३८।८।५

क) अनुमानित लागत ५० करोड

ख) डिसेल्टिङ मेसिन जडान ७ करोड योजनाको कुल लागत रु. ५७ करोड

क्याचमेण्ट एरिया ओभरहेड ५ सय २९.४ वर्ग मिटर

डिजाइन पिक फ्लो : १३ सय क्युमेक

चेक पिक फ्लो : ३ हजार क्युमेक

डिजाइन डार्इभर्सन डिस्चार्ज ११ क्युमेक

कुल वाषिर्क डार्इभर्सन : १८ करोड २० लाख क्युमेक

सिञ्चित क्षेत्र : १ हजार ३० हेक्टर

नहर प्रणाली

बाँधको लम्बाई ८० मिटर

डिसिल्टिङ बेसिनको लम्बाई ४० मिटर

सुरुङ नम्बर १ को लम्बाई ४४० मिटर

सुरुङ नम्बर २ को लम्बाई ४३२ मिटर

सुरुङ नम्बर ३ को लम्बाई ६८३ मिटर

सम्पूर्ण नहर प्रणालीको लम्बाई ३५.४३२ कि.मि.

मुख्य नहरको लम्बाई ७ कि.मी.र ६९१ मि.

शाखा नहर -जम्मा २) र मे.डि.को.ले. ७ कि.मी. र ४६३  मि.

उपशाखा नहरको लम्बाई २० कि.मी २७८ मि.

पावर स्टेशन

सेती पावर हाउस, र्टवाइन (प्रत्येक ५ सय कि.वा.) को ३ वटा १५ सय कि.वा.

टास्क हाइड्रोपावर ५सय कि.वा. – २ वा -पछि थपिएको १ हजार कि.वा. (पछि निर्माण)

भगवती हाइड्रोपावर १५ सय कि.वा. को ३ वटा र्टवाइन ४५ सय कि.वा. (पछि निर्माण)

कामको परिणाम

१.कंक्रिटको काम ३० हजार ८ सय ३४ क्यु.मि.

२.मेसिनरीको काम ४ हजार १ सय ५४ क्यु.मि.

३.माटोको काम ५ लाख ७९ हजार ७ सय ३८ क्यु.मि.

४.औजार जडान ६ सय ५० टन

माथिको तथ्याङ्क जौवारी बाँधको चौकीदार आवासमा रहेको जीर्ण साइनबोर्ड -२०६२।१२।५) बाट साभार गरिएको हो।

यो योजना निर्माण गर्न पोखराको जौवारी बाँधदेखि वडा नम्बर १३ को सेती नहर र काहँुखोला मिसिने दुर्इ कुलाको मुहानसम्म व्यक्ति विशेषको जग्गा परेकोमा ९. मिटर जग्गा मुआब्जा दिई अध्रि्रहण गरिएको र ९ मिटरको बीचमा ३ मिटरको पक्की नहर निर्माण गरी नहर सरसफाईको प्रयोजनका लागि दायाँ बाया ३।३ मिटर जग्गा राखी नहर निर्माण गरिएको र शाखा प्रशाखा नहरहरूमा पनि ठाउँ हेरी दायाँ बाया २ मिटर १।५ मिटर बाटो राखी निर्माण गरिएकोमा सँधियाराहरुले यस्ता जग्गा अतिक्रमण गरेका छन् भने पानी नभएको क्षेत्रमा बिना अनुमति नहर फोहोर पानी लगेको पनि देखिन्छ। नहरमा सबै प्रकारका फोहोर फाल्ने काम त प्रचुर मात्रामा छ। सेती नहर पोखराको लागि वरदान हो। यो नहर भएन भने पोखरा पहिलेको जस्तै काकाकुलमा परिणत हुने छ। अतः यसको संरक्षण गर्न सम्बन्धित संस्था, उपभोक्ता समिति र व्यक्ति सबै युद्धस्तरमा लाग्न पर्ने देखिनछ। अन्यथा कालान्तरमा पश्चाताप मात्र हुनेछ।

संरक्षणका लागि सुझावहरु

यसको संरक्षण गर्नु पूर्व निष्कृय समितिलाई विघटन गरी नयाँ उपभोक्ता समिति गठन गर्नु अनिवार्य भैसकेको छ।

क्षेत्रीय र डिभिजन कार्यालयहरु तदारुकताका साथ यसको मर्मत सम्भारका लागि लागत इष्टिमेट गरी सरकारी निकायबाट बजेट व्यवस्था गरी बोलपत्रको माध्यमबाट मर्मत सम्भार तुरुन्त गर्नु पर्नेछ।

यो योजनाको पानी प्रयोग गर्नेहरूलाई पानी पोत उठाइ सो रकम योजना मर्मतमा लगाउनु पर्ने

निम्न शीर्षकको पानीपोत तोकी रकम उठाउने

क)कृषि प्रयोजनमा प्रयोग भएको पानी पोत

ख)हृयुम पाइप निर्माणमा प्रयोग भएको पानी पोत

ग)ब्लक उद्योगमा प्रयोग भएको पानी पोत

घ)सवारी साधन धुने काममा प्रयोग भएको पानी पोत

ङ)गृह निर्माणमा प्रयोग भएको पानी पोत

च)पशुपक्षी पालनमा प्रयोग भएको पानी पोत

छ)उद्योग सञ्चालन जस्ता डेरी, ग्रील, फर्निचर

ज)कपडा धुने र घर सफाइमा प्रयोग भएको पानी पोत

झ)नहरमा फोहोर फाल्नेबाट जरिवाना असुली गर्ने।

यी सबै प्रकारका पानी पोत क्षेत्रीय सिंचाइ डिभिजन कार्यालय कास्की पोखरा लेखनाथ महानगरपालिकाको समन्वयमा यो योजनाको पानी प्रयोग गर्ने सम्बन्धित वडाका उपभोक्ताबाट सम्बन्धित वडा कार्याल्यको पानी पोत उठाइ उठेको रकमबाट सम्बन्धित वडामा परेको नहर, मर्मत गर्न उपयुक्त हुन्छ। यति गरेर कार्यान्वयन गर्न सकेमा महानगरको  स्वच्छ सुन्दर पोखरा भन्ने नरा सफल हुने छ।

- शिव प्रसाद गौतम