सेती नदीको दोहनले पारेको असर

चाहे जुनसुकै धर्म मान्नेहरू होउन् वा संस्कृति सबैको लागि उत्तिकै महत्वपूर्ण हुन्छ पानी। पानीविनाको जीवन असम्भव छ। कल्पना गर्न पनि कहाली लाग्छ। अर्थात कल्पनाभन्दा पनि धेरै पर छ।  पानी कुनै धर्म, जात र संस्कितिको पक्षमा हुँदैन। यसको स्वरुप र स्वच्छता आफै जीवन हो , आफै धर्म हो , आफै सृष्टि हो  र आफै शीतलता। अझै महत्वपूर्ण विषय त के छ भने जसरी प्राणवायु घुलित हावाले ब्रहृमाण्डमा रहेका सबै प्राणीहरूको जीवन चक्रलाई विकल्परहित जीवित तुल्याउँछ त्यसरी नै पानीले पनि विकल्परहित तीनैका जीवनीलाई अगाडि बढाउँछ।

पानी पिउन, खाना पकाउन, खेतीपाती गर्न, सरसफाइ गर्न, निर्माणकार्य लगायतका अति महत्वपूर्ण कार्यहरूमा प्रयोग गरिन्छ। पानीको विकल्प नहुनुले पनि यसको महत्व शब्दमा बयान गर्न सकिदैन। किनभने पानी नै जीवन हो। जानिफकारहरू भन्छन्- हाम्रो शरीरको चार भागमा तीन भाग त पानी नै हुन्छ। पानीको मुख्य स्रोत भनेको कुवा, धारो, इनार, नहर, खोला, नदी, हिमाल र वर्षा हुन्। अझै भनु पानीको मुख्य स्रोत भनेको वर्षा र हिमाल नै हो।

अब हामीले विचार गरौँ। पानी नै जीवन हो। अझै भनु प्राणीको उत्पत्ति पानीमै भएको हो। त्यसो हो भने हामीले प्रयोग गर्ने पानी कस्तो हुनुपर्छ त – हो, पक्कै पनि सफा, कञ्चन एवम् हानीकारक जीवाणुरहित हुनुपर्छ। अर्थात् दुर्गन्ध र दूषित हुनु हुँदैन। पानी दुर्गन्ध र दूषित हुनु भनेकै हानीकारक जिवाणुहरू हुनु हो। जसको कारणले मानव स्वास्थ्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नोक्सान पुर्‍याइरहेको हुन्छ। भनिन्छ – ‘स्वास्थ्य’ शिक्षाभन्दा पनि महत्वपूर्ण हुन्छ। हामीलाई थाहा पनि छ -स्वस्थ जनसंख्या त्यस देशका निधि हुन् भने अस्वस्थ जनसंख्या देशका भार।

मानव जीवनमा अँगालिने धर्महरू पानीको प्रयोगसँग अर्थात भनु शुद्धतासँग गाँसिएका छन्। हामीलाई शुद्ध बन्नु छ भने धारा, कुवा, इनार, नहर, खोलानाला, नदी वा अन्य कतै गएर नुहाउने गछौँ। हाम्रोजस्तो हिन्दू र बौद्ध धर्मालम्बी भएको देशमा पानीको धार्मिक सामिप्यता कति होला भनेर नाप्न सकिन्न। केवल कल्पनासम्म गर्न सकिन्छ। यो यथार्थ र सत्य हो कि मानिस स्वास्थ्य शुद्धि र चित्त शुद्धिको लागि दिनहुँ आफ्नो पायक पर्ने स्थानमा अझै भनु नदीमा गएर नुहाउने गर्छन्।

अधिकांश विद्धान, धार्मिक भावनाले ओतप्रोत भएका व्यक्तित्वहरू त्यस्तै योगी, तपस्वी, महात्माहरूको व्रहृम मुहूतको काम भनेकै सफा पानीमा नुहाउनु, योग ध्यान गर्नु हो। सर्व साधारण मानिसहरू पनि दैनिक खोला-नदीमा गएर नुहाउन नसके तापनि ठूलो एकादशी, साना एकादशी, औशी, पूर्णीमा, मेषे सक्रान्ति, दशँै, तिहार, जनै पूणिर्मा, तीज आदिजस्ता महान चाड पर्वहरूमा आफ्नो घरको महत्पूर्ण काम छाडेर भए पनि नदी, तलाऊ, खोलानालामा नुहाउन जान्छन्।

त्यस्तो महत्वपूर्ण पानी यदि फोहर भएमा हामी रोगी हुन्छौँ। देशको लागि भार हुन्छौँ। त्यसो भएमा देशले प्रगति गर्न सक्दैन। अरु देशसँग मागेर खानपर्ने हुन्छ। यति जान्दाजान्दै पनि हामी किन पानी फोहर गर्छाा’ – अर्थात पानी फोहर गर्नमा किन उद्दत हुन्छौँ। पानीमा विष राखेर माछा माछौ। पानीमा अन्य प्रकारका हानिकारक पदार्थहरू राखेर आफ्नो स्वादको लागि पिउने पानीलाई विषाक्त बनाउँछौँ। अर्थात भनौँ हामी आफै रोग निम्त्याउँछौँ जाने र वा नजानेर।रिपोर्टले देखाएनुसार संसरमा ८० प्रतिशत रोग त दुषित पानीले नै लाग्छ।

वर्तमान परिपे्रक्ष्यमा नदीनालाको दोहन एउटा डरलाग्दो आक्रमण हो। नदीजन्य पदार्थहरूको दोहनमात्र सह्य हुन सक्दैन। अपितु यहाँ त थप पीडा, नदीको प्राकृतिक स्वच्छता एवम् शुद्धतालाई हदै विषाक्त बनाउनु  हो। केही मुठ्ठीभर धनाढ्य व्यक्तिहरूको निहित स्वार्थको लागि हाम्रो देशमा निर्धक्कसँग बग्ने कञ्चन नदीहरूलाई आफ्ने पञ्जामा पारेर पानी बग्न दिनको साटो कालो विषाक्त लेतो बगाएका छन्। देशको संस्कार, सस्कृति र धर्मलाई नै चुनौती दिदै त्यसका  पक्षमा बोल्नेलाई लोपो खुवाउँदै छन्। अझ भनुँ पैसा र सरकारको आडमा सर्वसाधारण जनतालाई चुनौती दिँदै धर्मको नाउँमा नदीमा सफापानी बगाएर विकास निर्माण रोक्न पाइन्न भन्दै छन्। धर्मको नाउँमा हाम्रो परम्परालाई ध्वस्त पार्न कुनै आइतवार पर्खन पर्दैन भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गर्दै छन्।

नदी नाला छेउछाउको दोहनका साथै ठूलाठूला औजारहरू चलाएर नदीभित्र समेत गरिने दोहन उत्खननले हाम्रो संस्कार र संस्कृतिको मात्रै दोहन भएको होइन कि नदीलाई नै आश्रय बनाएर बस्ने लाखौँ प्राणीहरूको पनि निश्चत रूपमा विनाश र विखण्डन भएको छ। केही पैसावाला मुठिभरका मानिसले त्यसरी नदीलाई त्यस्तो विरुप बनाउन पाइन्छ ? ती प्रकृतिजन्य प्राणीहरूको बाँच्न पाउने अधिकार छ कि छैन ? यसको संरक्षणको लागि ती व्यक्ति आफै उठ्नु पर्नेमा यस प्रकारको कार्यले आसपासमा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यमा कस्तो असर पर्ला ? के उनीहरूले त्यस प्रकारको दोहनबाट सम्बन्धितहरूलाई हुने हानीको जिम्मा लिन्छन् ? कुनै व्यक्ति वा समूहका कारणले लाखौँ प्राणीहरूमा पर्न जाने असरको क्षति राज्यकोषमा दाखिला गरेर त्यो संरक्षण वा क्षम्य हुन्छ ?

आफ्नै स्थानीय नदी एवम् खोलाहरूलाई कुरुप बनाउँदै, देशको धार्मिक अस्मितामाथि लात् मार्दै, सर्वसाधारणको स्वास्थ्यलाई नजरअन्दाज गर्दै विदेशमा लगेर सामान बेच्ने हालको चलनले देशको अस्तित्वमाथि समेत खतरा उत्पन्न भइरहेको छ। केवल पैसाकै नाउँमा देशको खोला एवम नदीहरूको यस्तो बेहाल हुनु एउटा सचेत नागरिकको लागि कति पीडादायी अवस्था होला ? के यो देशमा सरकार छैन ? के यो देशमा मूर्धन्य समाजसेवीहरू छैनन् ? के यो देशमा वातावरण बचाउन पर्छ भनेर लागेका अभियन्ताहरू छैनन् ? के यो देशमा नदीका ती निर्दाेष प्राणीहरूले पनि निर्धक्क बाँच्न पाउनुपर्छ भनेर आवाज उठाउनेवाला छैनन् ? यो देशका खोलानाला र नदीहरूमा बग्ने नीलो,सफा र मनमोहक पानीको सट्टा फोहर लेतो बग्दा रुने मानिस छैनन् ? किन आज हाम्रोपना गुमिरहेको छ – किन आज हामी वास्तविकतामाथि आवाज बुलन्द गर्न चुकिरहेका छौँ ? यसको वास्तविकता यो कान नसुन्ने अन्धो, स्वार्थी, अविवेकशील र दिशाहीन सरकार देखेर हो कि मुठ्ठीभरका मानिसहरूसँग डराएर हो ?

सेती नदीको छेउछाउका बासिन्दाहरू जस्तै कोत्रे, फूलबारी, दुलेगौडा, बेलचौतरा, शान्ति नगर, दोभान, भागर, थाङ्दी, सिस्नेरी, भिमाद, छाङ, ऋषिङपाटन, छाङ् घडेरी, सानोटारी, कुडुले, टुकटुके लगायतका थुप्रै साना ठूला बस्तीहरूले विविध कार्यको लागि प्रयोग गर्ने पानीमा धमिलो  र लेतो भएको कारणले प्रयोग गर्न नसक्ने भएका छन्। अर्थात् भनुँ शरीरमा परेको मयल हटाउन नसक्ने भएका छन्। डोकोमा बोकेर ल्याएको पानी पिउन र भात पकाउन त परै जावोस् बँगैचामा राख्नसम्म्ा पनि नहुने गुनासो गरेका छन्। आफ्नो कलेठी परेका कपडाहरू सफा गर्नको लागि नदीमा धाउन बेक्कार मानेका छन्। गरीबहरूले माछा, गँगटा मारेर गाँस चलाउने एकमात्र उपायलाई स्वतः बन्देज लगाइदिएका छन्। यही हो त मानवीयता – यही हो त हाम्रो धर्म – यही हो त हाम्रो कर्तव्य –

हामीले एकपल्ट छातीमा हात राखेर सोचौ’ त। के यसको सुधारको लागि ठूलो धनराशि खर्च गर्न पर्ला र ? यसको संरक्षणले हाम्रो स्वास्थ्य, संस्कार, संस्कृति र धर्मलाई नै फाइदा पुग्ला कि नपुग्ला ? हेर्नु होस् त पृथ्वी राजमार्गको कोत्रे खण्ड हुँदै दुलेगौडासम्मबाट देखिने त्यो पहिलाको स्वच्छ सेती नदी अहिले कस्तो छ ? लाखौँ पर्यटकहरूले सेती नदीको पानीलाई ‘सेते कमेरे’ भनेर चिन्थे भने हालमा यसको विरुप देखेर आँशु खसाउँने अवस्था सिर्जना भएको छ। त्यहाँ आश्रति हजारौं प्रकारका जीवहरू समाप्त भएका छन्। अनि त्यसको आसपासमा बस्ने मानिसहरूले गहभरी आँशु लिएर आफ्नो धर्म, संस्कार, संस्कृति जीविका समाप्त भएको घोषणा गर्दैछन्।

नदीको आसपासमा बडाबडा क्रशर उद्योग सञ्चालन कर्तालाई यसरी प्रकृति आफ्ना कारणले ध्वस्त भएकोमा एकरति पनि चिन्ता नहुनु खेदपूर्ण विषय हो। उनीहरूमा पैसा कमाउने रोग लागेर वास्तविकतादेखि अन्धो हुनु हदै दुःखको विषय पनि हो। यसको लागि एउटा सामान्य र सजिलो उपाय पनि नअपनाइनु उनीहरूको हठ् प्रवृत्तिको द्योतक हो कि होइन – यस्ता नदी धमिल्याउने उद्योग स्थापना गर्नुभन्दा पहिला उनीहरूले यसको निराकरणको उपाय किन सोचेनन् – नदी फोहर गर्दा आसपासका बासिन्दा एवम् जलचरलाई कति असर पर्छ भन्ने कुरा किन अडकलसम्म गरेनन्-

प्रत्येक क्रशर उद्योगहरूले आफ्नो उद्योगबाट निस्कने लेतो एवम् दूषित पानी केही समय थिग्ा्रनको लागि ठूलाठूला पोखरीहरू खन्न आवश्यक छ। अनि थिग्रिइसकेको उक्त सफा पानीलाई नदीमा पठाउँदा पनि केही सुधार हुन सक्ने थियो। अर्काेतर्फ क्रशरहरूले जमिन भत्काएर बनाएको कुरुप स्वरुपलाई मिलाइदिनु पर्ने जिम्मा उनीहरूले नै लिनु आवश्यक छ। अतः यस सम्बन्धमा अब बन्ने प्रादेशिक सरकारले जलस्रोत तथा प्राकृतिक स्रोतको दोहनजस्तो अपराध निषेध गर्ने कार्य तत्काल सम्बोधन गर्नेछ भन्ने आशा पनि पीडित पक्षहरूमा अवश्य छ। अतः यसको सुधारको लागि सबैको ध्यान जानु उत्तिकै आवश्यक छ।

- नारायणकैलाश सिग्देल