सुशासन र समृद्धिका लागि सबल नेतृत्व

विश्वमा व्यवस्था बदल्ने अनुभूतयोग्य परिवर्तनका नियमित र आकस्मिक क्रियाकलापहरु कुशल र अब्बल नेतृत्वबाट नै संभब भएका छन्। चाहे त्यो रुसको वोल्शेभिक क्रान्ति होस, चाहे फान्सको राज्य क्रान्ति होस वा बेलायतको गौरबमय क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, भारत छोड आन्दोलन वा युरोपको औद्योगिक क्रान्ति नै किन नहोउन् सवै सफल नेतृत्वका कारक हुन्।

सक्षम नेतृत्वले दीर्घकालीन दृष्टिकोण लिएर अरुमाथि विश्वास जितेर अनुयायीहरुलाई निर्दिष्ट कार्यसम्पादन तर्फ अभिप्रेरित गर्दछ। नेतृत्वसीप सुशासन र समृद्धिको पूर्वर्शर्त हो। यसलाई बृहत आर्थिक, सामाजिक, राजनीतिक र व्यवस्थापकीय आयामहरुको समग्रतामा हेर्ने गरिन्छ। यो राजनैतिक तथा प्रशासकीय संगठनलाई सरल तरिकाले जीबन्त बनाउने प्रमुख विवेकशील सजीव पक्ष हो।

नेतृत्व राजनीतिमा मात्र देखिने विषय होइन समाजमा परिलक्षित हरेक गतिविधिमा यसको स्वभाविक उपस्थिति रहने गर्दछ। विशेषगरी राजनीति र प्रशासन सरकार संचालनका २ महत्वपूर्ण आयाम भएकोले आज ती दुवै क्षेत्रमा विवेकशील नेतृत्वको उत्तिकै आवश्यकता वोध गरिएको छ। प्रशासक/व्यवस्थापकहरु निश्चित योग्यता प्रणालीका आधारमा प्रतिस्पर्धात्मक परीक्षाको माध्यमवाट सार्वजानिक प्रशासनमा प्रवेश गरेर नेतृत्वकला प्रस्तुत गर्न क्रियाशील रहेका हुन्छन् भने राजनैतिक नेताहरु योग्यता प्रणाली विना नै नेतृत्व संहाल्न आतुर रहन्छन्।

अतः सवै व्यवस्थापक नेता हुन तर सवै नेता व्वस्थापक नहुन पनि सक्छन्। मुलुक सञ्चालन व्वस्थापक नेतावाट नै प्रभावकारी मानिन्छ जुन विगतमा खिलराज रेग्मी नेतृत्वको पूर्व प्रशासकहरु सम्मिलित सरकारको कार्यशैलीवाट नै स्पष्ट भैसकेको छ। कुशल नेतृत्वले अनुयायीहरुलाई प्रभावित गर्न सक्ने ल्याकत   राख्ने भएकोले साधारण व्यक्तिवाट पनि असाधारण कार्य सम्पादन गराउन सम्भव हुन्छ। शासकीय शक्तिको स्रोतका रुपमा रहेका जनतावाट छानिएको नेतृत्व जनताकै नियन्त्रण र निर्देशनमा चल्दछ। अतः एउटा जननिर्बाचित नेताले सही नेतृत्व कौशल प्रदर्शन गरेमा मात्र जनताको सच्चा सेवक बन्न सक्दछ।

नेतृत्व राजनैतिक क्षेत्रका लागि मात्र आवश्यकीय औजार हो भन्नु नेतृत्वलाई नबुझेको वा कम बुझको अवस्था हो। सार्वजानिक प्रशासन सञ्चालन गर्ने सार्वजानिक संगठनलाई सही तरीकाले अघि वढाउन पनि कुशल नेतृत्वको जरुरत पर्दछ। कुशल नेतृत्वले राम्रा कर्मचारीहरुबाट बढी उत्पादन लिने मात्र होइन साधारण कर्मचारीहरुबाट पनि असाधारण उत्पादन लिन सक्दछन्। वास्तवमा नेतृत्वले सांगठनिक लक्ष्य प्राप्तिमा आवश्यक सहयोग र समर्थन जुटाउनुका साथै कार्यसरलीकरण र प्रोत्साहन प्रदान गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सार्वजनिक संगठनहरुमा यसलाई महत्वपूर्ण र आवश्यकीय औजार मानिएको हो।

सिद्धान्ततः नेतृत्व तीन किसिमको हुन्छ। तानाशाही नेतृत्व , चामत्कारिक नेतृत्व र प्रजातान्त्रिक नेतृत्व। तानाशाही नेतृत्व बढी निंरकुश हुन्छ जसले एकतर्फी संचार मात्र उपयोग गर्दछ। अरुलाई दवाएर आफूलाई सर्वेसर्वा  ठान्दछ। डर, त्रास र सजायवाट उत्प्रेरित गर्दै सदस्यवाट आज्ञाकारिता चाहन्छ। नेपोलियन बोनापार्ट, कार्लमार्क्स जस्ता नेतृत्वलाई यस अन्तर्गत राख्न सकिन्छ। उता चमत्कारिक नेतृत्वले आफ्नो कलात्मक ल्याकत उपयोग गरेर अरुलाई प्रभावित गर्दछ। महात्मा गान्धी, अब्राहम लिंकन जस्ता नेतृत्व वर्गहरु यस अन्तर्गत पर्दछन्।

त्यसैगरी प्रजातान्त्रिक नेतृत्वले समूहबाट विचार र सुझाव लिने, बहुमतको निर्ण्र्ाा र अल्पमतको कदर गर्ने, दुर्इ तर्फी संचार मार्फत अनुयायीहरुलाई विश्वासमा राखी समूहलाई उत्प्ररित गर्ने गर्दछ। नेल्शन मण्डेला, आङसाङ सुकी जस्ता नेतृत्वलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ। वास्तवमा नेतृत्व सफल हुन कुनै नयां काम गर्नु पर्दैन, केवल नया ढंगले काम गरिदिए पुग्छ।

पछिल्लो डेढ वर्ष यता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नेतृत्वलाई एउटा चामत्कारिक नेतृत्वको रुपमा इंगित गर्न सकिन्छ। उहाँको कार्यसम्पादन ऊर्जाको बुद्धिमत्तापूर्वक उपयोग र झण्डै १० हजार कर्मचारी परिचालन मार्फत आज मुलुकमा लोडशेडिङ्ग अन्त्य मात्र होर्इन विद्युत सम्बन्धी सम्पूर्ण सेवामा सुधार भएको छ। हिजो लोडशेडि·मय माहोलमा विद्युत प्रधिकरणको कर्मचारीका रुपमा पहिचान दिन हिचकिचाउनेहरु आज शानका साथ उक्त संस्था मार्फत पहिचान जोडेर अग्रपंक्तिमा आउने गरेका छन्। यसलाई अनुभूतियोग्य सुखद खबरका रुपमा लिन सकिन्छ।

भनिन्छ नेतृत्वले सवैलाई माया गर्न नसकेपनि न्याय गर्न सक्नु पर्दछ। एउटा असल नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरा समय, सन्दर्भ र समाज अनुसार फरक पर्दछ। तथापि समग्रमा नेतृत्वमा परिवर्तनमुखी सोच, परिणाममुखी दृष्टिकोण, ग्राहकमुखी लक्ष्य, समयप्रति सचेत, रणनीतिक योजनाकार अनि कुशल वार्ताकारयुक्त गुण हुनु सान्दर्भिक हुन्छ।

त्यसैगरी कामप्रति प्रतिवद्ध, अनुयायीहरुलाई आत्मसात गर्न सक्ने, इमान्दार अन्वेषक, विश्लेषक, सहभागितामूलक व्वस्थापक, ग्रिन लिडरसीपयुक्त, द्वन्द्व व्वस्थापक, प्रभावकारी सञ्चारसीप भएको, नवीन मान्यता र प्रविधिसंग परिचित विविध विषयवस्तुको जानकार, छिटो कुरा वुझ्ने र वुझाउन सक्ने ल्याकत भ्ाएको सहनशील, सिर्जनशील, ऊर्जाशील र प्रभावशाली नेतृत्व आज अहं आवश्यकता बोध भएको छ। प्रविधिले फड्को मारेको वर्तमान विश्वमा आधुनिक प्रविधिसंग परिचित सुल्झिएको नेतृत्वबाट गाउँ, समाज अनि संसार परिवर्तन संभव छ।

समाज विज्ञानका कुनै पनि विषयमा सर्वस्वीकार्य र सर्वव्यापी अवधारणा हुँदैन। परिस्थितिजन्य र सामाजिक संकेतबाट सामाजिक कार्य प्रभावित हुन्छ। व्यक्तिहरु न्यूनतम परिस्थिति र पृष्ठभूमिमा काम गरिरहेका हुन्छन्। त्यसैले भिन्न परिस्थितिमा भिन्न व्यक्तित्व भएको व्यक्ति सबल नेतृत्वदायी भूमिकामा फिट हुन्छ। नेतृत्वको यो वा त्यो ढाँचा र अवधारणा हुँदैन। यसलाई केबल परिस्थितिले मागेको हुन्छ। नेपोलियन बोनापार्ट र बिष्मार्क खास परिस्थितिका सिर्जना हुन्।

त्यसैगरी महात्मा गान्धी र लालु यादवको स्वाभाव भिन्न भएपनि दुबैलाई परिस्थितिले सफल बनाएको हो। भारतका अरबिन्द केजरीवाल र नरेन्द्र मोदी खास परिवेशका उपज हुन्। नेपाल राष्ट्रका निर्माता पृथ्विनारायण शाह पनि तत्कालीन अठारौं/उन्नाईसौं शताब्दीका असल नेतृत्वका रुपमा चिनिएका युग पुरुष हुन्। त्यस्ता भिजनरी नेतृत्वबाट आजका नेतृत्ववर्गहरुले उदाहरणीय पाठ सिकेर नमूना नेपाल निर्माण गर्न अब रत्तिभर बिलम्ब गर्नु हुँदैन।

समय, समाज र सन्दर्भ अनुसार नमूना नेतृत्व जन्माउन नेपाल आमा सधैं गर्भवती रही रहून्। साँच्चिकै नेपालमा दूरदर्शी नेतृत्वको अभावमा राजनैतिक र प्रशासनिक क्षेत्र गन्तव्यहीन भएको छ। मुलुकले लिएको दीर्घकालीन दृष्टिकोण पूरा गर्ने संकल्पित र प्रतिबद्धित क्रियाकलाप व्यवहारमा सहज रुपमा अवतरण हुन नसक्दा विकासमा निकै पछाडि परेको अनुभूत भएको छ।

नेपाल भन्दा धेरै पछाडि परेको मुलुक मलेशियाले महाथिर मोहम्मदको करिस्म्याटिक र्नेतृत्व पाएर आज एशियाको शीघ्र विकासमान र शक्तिमान मुलुक बन्न गएको छ। दोश्रो विश्व युद्ध सम्म बेलायतसंग ऋण काढेर चल्ने मुलुक संयुक्त राज्य अमेरिका कुशल नेतृत्व पाएर आज विश्वको प्रमुख आर्थिक शक्ति बन्न सफल भएको छ। दोश्रो विश्वयुद्धमा उठ्नै नसक्ने गरी थला परेको जापान कुशल नेतृत्वबाट नै आज सर्वगुणस्तर सम्पन्न विकसित मुलुकको रुपमा स्थापित भएको छ।

ब्रिटिश साम्रज्यबादको अधीनस्थ मुलुक भारत र कसैको दवाव र प्रभावमा नपरेको नेपाल बीच पनि आज अतुलनीय अन्तर रही आएको छ। सन् १९४७ पछि स्वतन्त्र भएको भारत हामी भन्दा कैयौं गुणा विकसित भएको छ। नेपालले विगतमा राष्ट्रनिर्माता पृथ्विनारायण शाह, महेन्द्र शाह, समाजवादी विचारक वि.पि.कोर्इराला लगायतका दूरदर्शी नेतृत्व पाउँदा एकीकरण र विकासमा केही फड्को मारेता पनि आज दूरदर्शी नेतृत्वकै अभावमा अति कम विकसित मुलुकको रुपमा रहनु परेको छ।

हाम्रो देशमा विविध प्राकृतिक श्रोत र साधनको भण्डार हिमाल, पहाड र तराईको विषमता रहेको छ। १० धर्मावलम्बी, १२५ जातजाति, १२३ भाषाभाषी एवं संस्कृतिहरुको संगमस्थल नेपालमा रम्न, जम्न र चलायमान हुन सक्ने रोल मोडलयुक्त नेतृत्व नेपालको राजनैतिक र प्रशासनिक क्षेत्रमा जरुरी भैसकेको छ। सुशासनयुक्त समुन्नत र समृद्ध नेपाल निर्माणका लागि सुल्झिएको प्रभावशाली नेतृत्व आज संघ, प्रदेश र स्थानीय तिनै तहमा उत्तिकै आवस्यक छ।

(लेखक नेपाल विद्युत प्राधिकरणका प्रशासकीय अधिकृत हुन्। सं.)

- भोला शर्मा