सुनको पिंजडाभित्र छट्पटिइरहेको सुगा

एकादेशमा कुनै देशको रानीले एक सुगा पालेकी थिइन्। सुगा हिमाल तिरबाट ल्याइएको थियो।  दरवारको मूलढोकामा सुनको पिँजडामा त्यो सुगा राखिन्थ्यो र सुगालाई दाना-पानी हाल्ने भाँडो पनि सुनकै थियो। रानीले सुगालाई अत्यन्तै माया गर्थिन। सुगाको हेरचाहको रानीले दुर्इ जना कामदारलाई खटाएकी थिइन। उनले सुगाको तारिफ देशको रानीहरूसँग गफिदा र सवारीमा जाँदा पनि बखान गर्दथिन्। हरेक साँझ विहान रात्रि स्वयं उपस्थित भएर “गोपी कृष्ण कहो पट्टु” घोकाइन्थो। यसरी दिन वित्दै गए पछि सुगाले त्यति कुरा मज्जाले कण्ठ गरेछ र सधैं त्यही बोल्ने गर्दथ्यो। राजदरवार र सुगा बीच अत्यन्त राम्रो सम्बन्ध स्थापित भएछ। सुगा त्यस घरको पारीवारिक सदस्य कै रुपमा रहेको थियो। दरबारका सबैले सुगालाई माया गर्दथंे। सुगा पनि सबै दरबारियाहरूलाई इज्जत र सम्मान गर्दथ्यो। एक दिन रानीले दाना पानी दिनलाई पिँजडाको ढोका खोल्दा सुगा उडेर गएछ र नजिकैको रुखका हाँगामा बसी धेरै बेर रोएछ र अत्यन्तै पीडा बोध गर्दै-रानीलाई भनेछ “बाल्यकालमा मेरो पारिवारबाट समेत नमिल्ने ठाउँमा बन्धक बनाएर सात वर्ष राख्नु भयो। साँघुरो पिँजडामा त्यो सात वर्ष कसरी गुजारेँ होला, कहिल्लै सहानुभूति गर्न सक्नु भयो, मलाई पनि त स्वतन्त्र भएर स्वनिर्णयमा हिँड्न मन लाग्यो होला, के मेरो चाहना र भाव कुनै दिन बुझने प्रयास गर्नु भो, दरवारका सदस्यहरू बीच पारीवारिक रमाइलो लिन मलाई अरुकै भाषा घोकाइन्थो जवरजस्ती “गोपी कृष्ण कहो पट्टु” भन्न सिकाइयो ।  मलाई यो सुनको चौघेरामा राख्दा मेरो हैन तपाइँको मात्र प्रतिष्ठा उच्च भएको थियो। जे मा राखे पनि म त केवल बन्दी थिएँ। ”

उद्गारित लघुकथाको सामञ्जस्यता वर्तमान विश्व राजनीतिको जल्दो बल्दो इश्यू-गोर्खाल्याण्ड आन्दोलनसँग मेल खान्छ। जसमा चित्रित सुगाको रुपमा नेपाली भाषी र रानीको रुपमा पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीलाई तुलना गर्दा अत्युक्ति नहोला। मलाई मेरै भाषा बोल्न देऊ  भन्दा त्यसलाई अस्वीकार गर्ने पश्चिम बंगाल सरकारको नेतृत्व गर्ने बेनर्जी पनी उनै गोर्खालीहरूको मतले नै विजय प्राप्त गरेकी थिइन। भाषा सम्प्रेषणको माध्यम मात्रै होइन। संस्कृतिको वाहक पनि हो तर संस्कृति र सम्प्रेषणको भाषा अलग अलग हुँदा, बोली चाली, खेत खलिहान र स्कूलको भाषा भिन्नभिन्नै हुँदा भाषा बीच विखण्डन पैदा हुन्छ। ८८० वटा भाषा बोलिने भारतमा त्रिभाषा सूत्र र प्रशासनिक कामकाजमा चाहिँ ३१ वटा भाषालाई आधिकारिक भाषाको रुपमा मान्यता दिइएता पनि व्यवहारमा विखण्डन र द्वन्द्वका अनेक आयाम देखिँदै आएका छन्। गोर्खाली वा नेपाली भाषाको नाममा जारी द्वन्द्वमा पनि भाषा, जाति र संस्कृतिको आधारको छाया मात्रै देखिँदैन, ती भाषा जाति र संस्कृतिका वाहक जनताका वर्गीय र लोकतान्त्रिक संर्घष्ाको छाप पनि देखिन्छ। सन् १७८९ देखि १८१५ सम्म गोर्खा सम्राज्यको अधीनमा रहेको दार्जिलिङसँग नेपाल, भुटान र सिकिमको जटिल ऐतिहासिक सम्बन्ध छ। पहिले मूलतः सिक्किम अन्तरगत रहेको दार्जिलिङलाई लिजमा लिएर सन् १८३५ मा व्रिटिश सम्राज्यका जर्ज लायर्डका उत्तराधिकारी डा. क्याम्बेलको अगुवाइमा “दार्जिलिङ” को रुपमा विकासको प्रार्दुभाव गराएका थिए। डा. क्याम्बेल काठमाडौं वस्दाताका नै खश नेपाली भाषा बोल्न सिकिसकेका थिए। गर्मी र आद्रताबाट बँच्न र कोलकताबाट नजिकको शितल ठाउँमा स्यानिटोरियम बनाउन होचा-होचा पहाड भएको वस्तीको रुपमा दार्जलिङमा वस्ती विस्तार भएको कुरा इतिहासमा उल्लेख छ। दार्जलिङको विकास त्यसरी भएता पनि हाल पहाडको एक अत्यन्तै सुन्दर टापु जहाँ अत्यन्तै मनमोहक चिया बगान र नेपाली पहाडी संस्कृतिले छपक्कै छोपेको सुन्दर माला भएकोले हुन सक्छ सवैका आँखा बढी त्यसमा गएको हुन सक्छ। त्यहाँ वस्ने नेपाली प्राय त्यतिवेला अधिकांश सर्वहारा वर्गका थिए। नेपाली समुदाय भित्र एक वर्ग माथि अर्को वर्गको अत्याचार र शोषण थिएन। बसाइसराइ भएर आएका हुनाले त्यहाँ जातपातको भेदभाव पनि थिएन त्यहाँ सबै जनताहरू अरुद्वारा शासित थिए। सवै नै शोषित-पीडित, शासित श्रमजीवी भएकाले त्यहाँ ‘म’ भन्ने भावना थिएन। सबै ‘हामी’ नै भन्दथे यसकै विस्तारकै क्रममा आफूभित्र भाषिक, सामाजिक सांस्कृतिक विविधता बोकेको नेपाली समुदायमा एकत्वको भावना प्रखर एवं शसक्त भएको हो। त्यहाँका नेपाली समुदायमा भोट-बर्मेली परिवारको आफ्नै बोली बोलिने समुदायको बाहुल्यता थियो। जसलाई मतवाली भनिन्थ्यो। पुराना लाप्चे -लेप्चा) र भूटिया सँगै मूलतः राई, लिम्बु, तामाङ, मगर, गुरुङ, नेवार जस्ता मंगोलियन नेपालीहरूको जनसंख्या अत्यधिक थियो। भने अल्पसंख्यक बाहुन, क्षेत्री र दलितहरू पनि बस्दथे, सबै मुग्लानबाट बसाइसराइ गरेर आएका हुनाले लेनदेन, व्यवहार, कार्यक्रम तथा विहेबटुल सरावरी नै थियो। बसाइसराई र श्रम सराईको कारण खश नेपाली भाषा दार्जिलिङको बहुभाषी पहिचानको प्रतीकको रुपमा खडा भएको हो। नेपाली भाषाको आधारमा विविध नश्ल, वंश, भाषा धर्म र संस्कृतिका मानिसहरूलाई एउटै सूत्रमा बाँध्नका लागि कल्पना गरिएको समुदाय नै नेपाली पहिचान अर्थात नेपाली राष्ट्रवाद हो। वसाइसराइ श्रम सराइमा गएका नयाँ देशका वासिन्दा र नागरिक भइसकेका नेपालीका लागि नेपाली राष्ट्रवाद उपयोगी शास्त्र तथा शस्त्र बनेको छ। सम्मानजनक समृद्ध जीवनको लागि उनीहरू नेपाली राष्ट्रवादको शास्त्र र शस्त्र बोकेर बंगाल राष्ट्रवाद विरुद्ध जुध्दै आइरहेका छन्।  गोर्खाजनहरूको अत्यधिक सहयोगबाट नै उनले त्यस प्रदेशको मुख्यमन्त्री पद हत्याउन सफल भएको हो। मुख्यमन्त्री भएको पहिलो भाषणमा उनले पहिलो काम गोर्खाभाषीको समस्या समाधान गर्ने आफ्नो पहिलो काम हुने बताएता पनि उनको आगमनको रोल लघुकथाको रानी कै रुपमा पदापर्णयभएको थियो। उनीसँग नेपाली भाषी ले पटक-पटक गरेको वात केवल झारा टार्ने र निष्कर्ष विहीन नै रहेकेा जुन वार्तापनि आलटाल मात्र गरिरहने गरेकेामा पछिल्लो समय त अत्यन्तै कडा रुपमा प्रस्तुत भई आफ्नो भाषा बोल्न पाउनु पर्ने माग राखी शान्तिपूर्ण आन्दोलनमा वर्वरताका साथ गोली चलाउने, विना सूचना खानतलासी, लाठीचार्ज, दमन, अत्याचार, सूचनाको पहुँचबाट वञ्चित गराइएको र गोर्खा समर्पित समुदायप्रति अत्यन्तै रुखो व्यवहार प्रदर्शन गरिरहेको छ। गोर्खालीको मागलाई आलटाल मात्र गरिएको बंगाल सरकार एकाएक अहिले यस्तो उग्र रुपमा पुग्नुलाई विश्लेषणहरूले लिएका छन्। केन्द्रीय सरकारकै ‘ग्राण्ड डिजाइन’ मा दार्जिलिङमा त्यो हत्याकाण्ड भएको हो भन्ने प्रष्ट भइसकेकेा छ। पङ्तिकार ५/६ वर्ष पहिला दार्जलिङ्ग पुग्दा भित्तामा लेखिएको नारा अहिले पनि झल्झल्ती याद आउँछ जहाँ राष्ट्र (भारत) को लागि ज्यान दिन्छौं तर बंगालको गुलामी स्वीकार्दैनौं भनेर लेखिएको थियो। यसबाट प्रष्ट हुन्छ कि गोर्खाल्याण्ड वासी नेपाली भाषीहरू आफ्नो मातृभूमि (भारत) प्रति अत्यन्तै आभारी छन् तर बंगाल सरकारले लादेको जवरजस्ती नीति उनीहरू स्वीकार्न तयार छैनन् भन्दा सारा नेपाली भाषी वैरी देख्ने बंगाल सरकारले जातीय द्वन्द्वको बीउ छरिरहेकेा छ। फलतः दार्जिलिङ तराइ (सिलुगुडी) झोका गोर्खाल्याण्ड लेखेको गाडीमा बंगालीहरूले तोडफोड गरेको, आसाम, गुहावटी लगायत औल भूमिमा पहाडी मूलका मानिसहरूलाई भिन्न व्यवहार गरेको, कुटपिट, लुटपाट, हत्या हिंसाको घटनामा बढोत्तरी भइरहेकोले यो अड्काल काट्न सकिन्छ  कि पश्चिम बंगाल तथा सिक्किम लगायतका राज्यमा नेपाली भाषीहरू असुरक्षित छन्  र यस समस्याको मुख्य दोष दिल्ली दरवारको हुनेछ।

नेपाली भाषाको धरोहर भानुभक्त आचार्यको शालिकहरूको बीचमा प्रतिष्ठान गरी नेपाली भाषालाई आफ्नो काम काज र मातृभाषा बनाइएको दार्जिलिङमा यतिवेला भाषाकै विषयलाई लिएर ठूलो आन्दोलन जारी छ। आन्दोलन नेपाली जनआन्दोलन २०६२/२०६३ अति शसक्त रहेकेा कुरा टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका छन्। यस आन्दोलनमा हालै प्रहरीको गोली लागेर ३ जना नेपाली भाषीले सहादत प्राप्त गरिसकेका छन् भने सयौं घाइते भइसकेका छन्। यद्यपि आन्दोलन अझ बढी सशक्त बन्दैगइरहेको छ। हिजो नेपाली-नेपाली भिडाएर राजनैतिक कुटिल चाल चल्ने बंगाल सरकार एक्लिएको छ। साना साना विचार समूह र शक्तिमा आबद्ध भारतीय गोर्खा परिसंघ, गोर्खा जनमुक्ति मोर्चा, अखिल भारतीय गोर्खा लिग, हिल कांग्रेस, राष्ट्रिय गोर्खा मुक्ति मोर्चा, डुवर्स युनाइटेड डेभलपमेन्ट फाउण्डेशन, जनआन्दोलन पार्टी क्रान्तिकारी मार्क्सवादी, कम्यूनिष्ट पार्टीलगायतका नेपाली भाषासँग सम्बद्ध सबै संगठनहरू एकताबद्ध भई अबको वार्ता बंगालसँग नभई केन्द्र सरकारसँग मात्रै गर्ने भनी अझ उग्र रुपमा उभिएका छन्। यतिवेला लाखौं नेपालीभाषी जनता सडकमा आएका छन्। पूरै भारतको ध्यान यतिखेर दार्जलिङले तानेको छ। आन्दोलन बढ्ने खतरा देखेर राज्य सरकारले दार्जलिङमा इन्टरनेट सेवा बन्द गरिदिएको छ। विश्व प्रजातन्त्रको मसिहा मान्ने भारत सरकारले इन्टरनेट सेवा दार्जलिङमा बन्द गरिदिएको छ। केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले वार्ताको लागि आहृवान गरेता पनि बेनर्जी सरकारले दमनको कार्याकलाप नरोकेको र वातावरण सिर्जना नगरेकेाले गोर्खाहरूले वार्ता अस्वीकार गरिदिएका छन्। समस्याको उठान भाषाबाटै भएको हो। यस अगाडि सफा दार्जलिङमा पढ्ने विद्यार्थीहरूले नेपाली भाषामै शिक्षा दीक्षा लिइरहेका थिए तर अचानक राज्य सरकारले अव उप्रान्त दार्जलिङमा पनि बंगाली भाषामा नै पठन-पाठन गर्नुपर्ने नीति लिए पछि आन्दोलनले उग्र रुप लिएको हो। भाषाबाट उठेकेा आन्दोलन अव गोर्खाल्याण्डको प्राप्तिसम्म नपुगि नटुङ्गिने उनीहरूले बताएका छन्। भारतको संविधानमै स्पष्ट रुपमा नेपाली भाषालाई अनुसूची ९ मा समेटिएको अवस्थामा संविधान प्रदत अधिकार माग गरी आफ्नै भाषामा पढ्न देऊन भन्दा राज्यबाट जे जसरी दमन भइरहेको छ त्यसलाई अन्याय नभनेर के भन्ने त भन्ने सारा नेपालीहरूले प्रश्न तेस्र्याइ रहेका छन्। केन्द्रमा रहेको भाजपा सरकार हिन्दी भाषालाई सरकारी स्कूलमा अनिवार्य लागू गराउन उद्यत भएसँगै पश्चिम बंगालको तृणमूल काँग्रेस सरकार बंगाली भाषालाई विद्यालयहरूमा अनिवार्य सर्म्पर्क भाषाको रुपमा थोपार्न उद्दत छ। पश्चिम बंगालमा बंगाली, र हिन्दीसँगसँगै नेपाली, ऊर्दू, कामनापूरी, सन्याली एवं उडिया भाषा बढी बोलिने र कामकाजी भाषाको रुपमा प्रयोग गरिँदै आएको छ। तर त्रिभाषा सूत्रको लोकतान्त्रिक अभ्यासबाट पछि हट्नेे क्रममा बंगालीलाई आफ्नो/आफ्नो मातृभाषासँगै दोस्रो अनिवार्य रुपमा पढ्नै पर्ने भाषा बनाइएको घोषणा हुनासाथ नेपाली भाषी गोर्खाहरूले प्रतिरोधको रुपमा सुरुवात थालेका हुन र आन्दोलनको उग्रता लिएका हुन्।

एकातिर दार्जिलिङ रक्तरञ्जित छ भने अर्का तिर हामी नेपालमा वस्ने सम्पूर्ण नेपालीहरू मूकदर्शक भएर वसिरहेका छौं। नेपाली कला, भाषा र संस्कृतिको नमूना हेर्र्नु पर्‍यो भने हामी यहाँ होइन उतै पारी जादा मात्र देख्न पाउछौं। नेपाली भाषा आन्दोलको प्रमुख धरोहर दार्जिलिङलाई मान्न सकिन्छ। पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली तथा धरणीधर कोइराला लगायतले नेपालीभाषा साहित्यलाई अगाडि बढाए, गोपाल योञ्जन, अम्बर गुरुङ, अरुणा लामा, पारिजात, प्रशान्त तामाङले गीत संगीत मार्फत् भाषाको सम्मान गरे। निरुता सिंह, तुलसी घिमिरे, उत्तम प्रधान, रञ्जीत गजमेर लगायतले कलालाई अगाडि बढाए, अगमसिंह गिरी, इन्द्र बहादुर राई, लिल बहादुर क्षेत्री लगायतको साहित्यमा गुण तथा नेपाललाई सारोगारो पर्दा दिलोज्यान दिई यहाँको समस्या समाधानमा नेपालभाषी भारतीयहरूले खेलेको भूमिका हामीले विर्सनु हुँदैन किनकि उनीहरू अन्य कुरामा नभई हाम्रो भाषालाई नै सुरक्षित बनाउनका लागि मरिमेटेका छन्। यस समस्याको सम्बोधन गराउन नेपाल सरकारले एक कदम पनि अगाडि पाइला नचालेको देख्दा लाग्छः हामी जनताको तहमा पनि कुनै प्रभावकारी कदम चाल्न सकिएको छैन। सीमा सुवेदीको वेफ्वाँकको प्रतिकृया दिने हामी नेपालीहरू सिमाना नेपाली दाजुभाइ मारिँदै गरेको अवस्थामा चुँक्कसम्म पनि आवाज उठेकेा सुनिँदैन। एउटी काम नभएकी सीमाले नेपालीहरू लाई अपशब्द गर्दा दुख्ने मन भाषा बचाउमा प्रहरीले गोली ठोक्दा किन चुप लागेर बसेका होलान्। यसलाई अतिरञ्जित बनाउनु पर्छ भन्ने पक्कै हौइन तर सकारात्मक दवाव दिन सके पनि हाम्रो भाषा बँच्न सक्थ्यो भन्ने हो। नेपाल सरकारको आफ्नो कुटनीतिक बाध्यता होला यस सर्न्दर्भमा तर आफ्नो भाषा बचाउन गरेकेा प्रयासलाई सर्वसाधारणको हैसियतले उच्च प्रशंसनीय मान्दछु। तर भारतमा बस्ने नेपाली दाजुभाईहरूले यो बुझनु पर्दछ कि यस अगाडि भएको सम्पूर्ण आन्दोलन पनि नेपाली/नेपाली फुटाएर विफल भएको हो। वर्गवादको मात्रै वकालत गर्नेलाई झक्झक्याउनु नै त्यहाँ भाषाकै कारण हुने पिछडापन, अपमान, गरिबी र उत्पीडनसँग जोडिएको वर्गीय समस्यालाई हेर्ने कोशिस गरिएको छ। गोर्खाल्याण्ड आन्दोलन त्यसैको एक दृष्टान्त हो। जसले  गोर्खाली एक नेपाली भाषाको आधारमा प्रदेशको माग गरिरहेको छ। तर वर्तमान परिेप्रेक्ष्यमा आन्दोलनलाई निस्तेज पार्न तृणमूल कांग्रेस सरकारले गरेको हथाकण्डाबाट दार्जिलिङ लगायत नेपालीभाषीहरू अत्यन्तै व्रि्रोही भएका छन् र अव भाषामा मात्रै सीमित नरही गोर्खाल्याण्ड प्राप्ति नभएसम्म लडिरहने भएका छन्। अतएव  आन्दोलन प्रभावकारी बनाई गोर्खाल्याण्डका लागि नेपाली भाषा सुरक्षित गराउन सफलता मिलोस भन्ने शुभेच्छा प्रकट गर्दछु।

- तिलक घिमिरे 'निर्मल’