सार्वजनिक बौद्धिक समुदाय

हरेक आधुनिक समाजलाई सार्वजनिक बौद्धिकवर्गको आवश्यकता पर्दछ। कुनै पनि सामाजिक विषय वस्तुमा आम जनमानसले कसरी धारणा बनाउँछन् ? कसरी उनीहरु त्यस विषयप्रति आफ्नो खास रणनीतिक स्थानलाई निर्धारण गर्दछन् र, समाजको निरन्तर विकास र प्रगतितर्फ उन्मुख हुन्छन् ? भन्ने प्रश्नहरुको उत्तर हासिल गर्न त्यस समाजमा रहेका सार्वजनिक बौद्धिक समुदायको उपस्थिति र उनीहरुको सक्रियताले निकै ठूलो प्रभाव पारेको हुन्छ। किनभने, आम जनताले कुनै पनि सामाजिक सवालप्रति के कस्तो दृष्टिकोण निर्माण गर्ने भन्ने कुरामा समसामयिक समाजिक राजनीति तथ्य र सत्यहरुको निर्माण र नवनिमाण कसरी भइरहेको भन्ने प्रक्रियाले नै मुख्य भूमिका खेलिरहेको हुन्छ।

०७२ को नयाँ संविधान जारी भए पश्चात नेपालको राज्य संरचनामा व्यापक परिवर्तनहरु गरिएको छ। यससँगै राज्यका अधिकारहरु पनि विभिन्न तहहरुमा बाँडफाँड गर्ने काम भएको छ। यसरी राज्यको संरचना र अधिकारहरुमा फेरवदल ल्याउँनु भनेको केवल भौगोलिक क्षेत्रको विभाजन र स्रोत साधन को बांडफाँड मात्र होइन कि नयाँ समाजिक राजनीतिक मान्यता र सत्यहरुको निर्माण र नवनिर्माणको एउटा बहुआयामिक शृंखला पनि हो जहाँ ज्ञान निर्माण र त्यसको विस्तारमा सार्वजनिक बौद्धिकहरुको निरन्तरको सक्रियता अपेक्षा गरिएको हुन्छ।

सार्वजनिक वौद्धिकहरु र बदलिएको परिस्थिति

साधारण अर्थमा भन्दा सार्वजनिक वौद्धिकहरुले कुनै पनि सामाजिक सवालहरुप्रति को धारणा वा विचारलाई आकार प्रदान गर्न सघाउ पुर्‍याउछन्। अझ ठोस अर्थमा भन्ने हो भने उनीहरुले सर्वसाधारणका बीचमा के महत्वपूर्ण हो, के कुरामा विशेष ध्यान दिनु पर्दछ भन्ने कुरालाई स्पष्ट गर्न सक्दछन्। कहिलेकाही उनीहरुले समाजमा भइरहेको गलत प्रवृतिलाई पनि औल्यांउँछन् जो अरुले सामान्यतया ख्याल गरेको हुँदैन वा अन्यले त्यसलाई उपेक्षा गरेको पनि हुनसक्छ। त्यस्तै उनीहरुले जारी समाजिक समस्यालाई समाधान गर्न नयाँ तर्क वा विचार प्रदान गर्न सक्दछन्। त्यसैले आम सारोकारका विषयमा बौद्धिक वर्गको दृष्टिकोण र विचार अपेक्षित हुन्छ नै बरु त्यस तवरका दृष्टिकोण र विचारहरुको निर्माणको प्रक्रिया के कस्तो छ र त्यसको गम्भीरतालाई सरोकारपक्षहरुले कसरी लिने गर्दछ भन्ने कुरा तर्फ भने अझ गम्भीर बन्नुपर्ने परिस्थिति हाम्रो समाजमा विद्यमान छ।

अब यहाँ प्रश्न उठ्छ को सार्वजनिक बौद्धिक हो र को होइन। वास्तबमा २१ औं शताब्दीको नयाँ युगमा यो प्रश्नको सटिक उत्तर निर्माण गर्नु त्यति सहज कुरा होइन। आधुनिक युगमा शिक्षा र सूचना आम जनताका बीचमा अभूतपूर्व तवरले विस्तार भइरहेको छ। यसको कारणबाट आम सामाजिक सरोकारका सवालमा सामान्य जानकारी राख्न र त्यस प्रति विभिन्न तवरका दृष्टिकोणहरु निर्माण हुने प्रक्रियाहरु पनि तीव्रतर रुपमा चलिरहेका छन्। यदि हामीले अहिले व्यापक मात्रामा प्रयोग भइरहेको र सर्वसाधारणको समेत पहँुचमा रहेका सामाजिक सञ्जाल लगायत एफ.एम. रेडियो, पत्रपत्रिका आदिमा हेर्‍यौं भने थाहा हुन्छ कि सबै प्रकारका व्यक्तिहरु हरेक खालका विषय वस्तुहरुमा आफ्ना धारणा राख्न उत्सुक भेटिन्छन्। त्यस्तै राजनीतिक व्यक्तिहरुका विभिन्न तहका राजनीतिक नेतृत्वका भाषणहरु सुन्यौ भने त्यसमा अझ बढी दृढताका साथ आफ्ना तर्क र विचारहरुको महत्व र त्यसको पक्षमा अझ बलिया अडानहरु प्रस्तुत् हुने नै भए। यसले गर्दा सार्वजनिक बौद्धिक समुदायको स्थान र महत्व कतै कम भइरहेको त छैन भन्ने अनुमान सही पो हो कि भन्ने लाग्नु अस्वाभाविक होइन।

आधुनिक युगको विकाससँगै समाज विज्ञानको क्षेत्रमा ज्ञानको निर्माणसँग जोडिएका तथ्यहरुको खोजी गर्ने खास तवरका विधिहरु र उपलब्ध तथ्यहरुलाई ब्याख्या गर्ने विभिन्न दृष्टिकोणहरुको जानकारी र त्यसको वर्तमान समाजसँगको सम्बन्धका वारेमा आधारभूत विज्ञता हासिल नगरिकन सार्वजनिक सारोकारका विषयहरु प्रतिको हाम्रो बुझाई र हामीले गर्ने तर्कहरुले प्रभावकारी राजनीतिक र सामाजिक गहनता हासिल गर्न सक्दैन भन्ने तर्फ सार्वजनिक बौद्धिकहरु सचेत हुने त भए नै सँगसँगै आम जनताको आकर्षण र उत्सुकता सार्वजनिक वौद्धिकहरु प्रति कसरी कायम रहन्छ भन्ने कुरा पनि उतिकै महत्वपूर्ण रहेको छ। अतः यहाँ हामी स्पष्ट हुनु पर्ने कुरा के हो भने यो बदलिएको परिस्थितिमा आम सामाजिक जनजीवन र बौद्धिक समुदायसँगको सम्बन्धलाई कसरी हेर्ने वा बुझ्ने भन्ने कुरा नै हो।

यस तवरको बदलिएको परिस्थितिको सम्बन्धमा अमेरिकी समाजशास्त्री प्यटि्रक बार्टको  विचार के रहेको छ भनेः बीसौं शताब्दीको मध्यसम्मा रहेको दर्शनशास्त्रको एक प्रकारको दवदवाको स्थितिमा परिवर्तन आएको छ। दार्शनिक वा सार्वजनिक बौद्धिकहरुलाई कुनै पनि समाज विज्ञानमा पर्याप्त अध्ययन र तालिम बिना कुनै पनि सामाजिक वा राजनीतिक परिस्थितिका सम्बन्धमा निर्णायक वा चुनौती रहित दावीहरु प्रस्तुत् गर्न अत्यन्तै कठिन छ।

वास्तवमा यो परिस्थितिको पछाडि चिन्तनका नयाँ नयाँ धारहरुको विकास एवं समाज विज्ञानमा भएको विशिष्टीकरण र सूक्ष्म अध्ययन र खोजमा भएको तीव्र विकास नै यसको मुख्य कारण हो। हिजो आज समाजिक सञ्जालहरुमा उपलब्ध हुने विषय विज्ञका भाषणहरु तथा मन्तव्यहरु र विभिन्न माध्यमबाट प्रकाशन भइरहेका अन्तर्वाताहरु मा पनि हामी सार्वजनिक बौद्धिक समुदायको बाक्लो उपस्थिति देख्न सक्दछौं र उनीहरको उपस्थितिले आम जनमानसमा पारेको प्रभावका वारेमा आँकलन गर्न सक्दछौं।

सार्वजनिक बौद्धिकहरुको भूमिकाका सम्बन्धमा लागू हुने केही शर्तहरु

बदलिएको नयाँ समाजिक परिस्थितिका बीचमा सार्वजनिक बौद्धिकहरुले केही शर्तहरु त मान्नै पर्ने तर्क गर्दछन् अर्का विद्धान स्ट्रस गिडनका अनुसार आफ्नो अस्तित्वलाई कायम राख्न र यसको महत्वलाई उजागर गर्न सार्वजनिक बौद्धिकहरुले प्रयोग गर्ने भाषा, विषय विज्ञता र उनीहरुको नियमित बौद्धिक अभ्यासका सम्बन्धमा केही शर्तहरुको उल्लेख गरेकाछन् जस्लाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ।

१. सार्वजनिक बौद्धिकहरु खास प्राज्ञिक ज्ञान निर्माणमा संलग्न विद्वानहरु जस्तो खास विषयलाई लिएर गहन खोजमा तल्लीन हुने र अत्यन्त प्राज्ञिक अवधारणा वा वाक्यहरुको प्रयोग गरेर आफ्ना तर्कहरुलाई प्रस्तुत गर्ने भन्दा पनि मानवीय जीवनका आम सरोकारका -दर्शन, साहित्य, अर्थशास्त्र, धर्म आदि- सवालमा केन्द्रित हुन्छन्।

२. उनीहरु नीति निर्माता जस्तो अत्यन्त प्राविधिक एवं कानूनी आचार भित्र रहेर आफ्ना तर्कहरुको निर्माणलाई प्राथमिकता दिँदैनन्। बरु, नीति निर्माताले जस्तै सार्वजनिक समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना समाधानहरु पनि प्रस्तुत गर्दछन् र कतिपय समाजिक सवालहरुको पक्षमा उभिन पनि उनीहरु स्वभाविक ठान्दछन्।

३. त्यस्तै सार्वजनिक बौद्धिकको आफ्नो निश्चित दृष्टिकोण हुनु पनि आवश्यक छ। किनभने सा.बौ. भनेका एक प्रकारको वैचारिक पत्रकार पनि हो। उसले समस्यालाई खास कारणको आधारमा केलाउने र त्यसको समाधानको उपाय पनि देखाउन सक्दछ। साथै दृष्टिकोणको आवश्यकता किन पनि जरुरत् छ भने सा.बौ.ले छिरलिएको विचार होइन कि स्पष्ट र संगठित रुपमा आफ्ना तर्कहरुलाई पेश गर्नु पर्दछ र आफ्नो विचारमा अडिग हुन पनि आवश्यक हुन्छ जुन अडानले समाजको प्रगति र विकासको रफ्तारलाई थप गति प्रदान गर्न सकोस।

४. सा.बौ.हरुले समय समयमा आफ्नो रुचि वा विज्ञताको विषयमा विभिन्न तवरका लेख रचनाहरु प्रकाशन गर्नु, ब्लग तयार गर्नु पनि आवश्यक हुन्छ। यस तवरका प्रकाशनहरु राजनीतिक नेता वा चर्चित ब्यक्तिको विचार जस्तो धेरै ठूलो जनमानसमा एकै पटक  नपुग्न सक्छ तर यसले आफ्नो सिमित संख्याका पाठकहरुका बीचमा एक तवरको संवादको सम्भावनालाई जीवन्त राख्न निकै प्रभावकारी हुन्छ।

५. सा.बौ.हरुका बीचमा नियमित भेटघाट हुनु अत्यन्त आवश्यक हुन्छ। यस्ता भेघाटमा सँगसँगै चिया कफी खाने र समसामयिक विषयमा आ आफ्ना विचारहरु माथि छलफल गर्नु अत्यन्त आवश्यक हुन्छ।

६. त्यस्तै सा.बौ.हरुको समूहसँग आफ्नो समाज र समयका नयाँ पुस्ताका सदस्यहरु हुनु पनि त्यतिकै आवश्यक कुरा हो। नयाँ पुस्ताले पुरानो पुस्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरुको माध्ययमबाट आफ्नो समाजलाई बुझ्ने यो अत्यन्त महत्वपूर्ण अवसर हो। वास्तवमा यस्तै अवसरले नै नयाँ पुस्तालाई पुरानो पुस्ताको बीचबाट आफ्नो स्थान निर्माण गर्ने अवसर पनि मिल्दछ। तर, नयाँ र पुरानो पुस्ता बीचको सम्बन्ध अत्यन्त आलोचनात्मक र सृजनात्मक हुनु आवश्यक हुन्छ।

- दामोदर त्रिपाठी, पोखरा -२५, हेमजा।