सामाजिक अभियन्ता स्व. भवानीप्रसाद

पिता स्व. होमनाथ भण्डारी र माता स्व. टीकादेवी भण्डारीका माइला सुपुत्रको रुपमा जन्मलिनुभएको भवानीप्रसाद भण्डारी  एक दाजु एक भाइ र दुर्इ दिदीहरुका बीच आफ्नो वात्सल्य जीवन व्यतीत गर्दै २०२९ साल देखि धर्मपत्नी कलावतीसँग दाम्पत्य जीवन सुरु गर्नुभएको थियो । तीन छोरी र दुर्इ छोरा का पिताका रुपमा स्व. भवानीप्रसाद भण्डारी ले आफ्नो जीवनकाल अत्यन्त परिश्रम र मेहनतका साथ लगनशील भएर व्यतीत गर्दै आउनु भएको थियो ।

मेरा माइला बुबाको माइलो पुत्र म भन्दा ३ वर्ष जेठो भएता पनि दाज्यू भवानी संगको निकटता, घनिष्टता र प्यार आफ्नै प्रकारको थियो । हामी दुवैजना बिक्रम संम्वत २०२१ साल भाद्रमा कक्षा ३ मा भर्ना भएर तत्कालीन जनज्योति नि.मा.वि. कालिकास्थानमा संगसगै पठनपाठन सुरु गरेका थियाँै । अग्रज साथीका पुराना पुस्तक आधा मूल्यमा किनेर त्यसमा पनि आधा मूल्य व्यहोरी एउटै घरमा वसी पालो पालो पढने गर्दथ्यौं । यो क्रम कक्षा ८ पास गर्दा सम्म रह्यो  ।

९ कक्षामा दाजु पोखरा स्थित भद्रकाली मा.वि.मा पढन भर्ना हुनुभयो भने म त्यही गाउको जनज्योति नि.मा.वि. लाई मा.वि. मा स्तरन्नोत  भएकाले सोही स्कुलमा पढदै रहेँ । अध्ययन काल पनि निकै परिश्रम र मेहनतका साथ वित्यो । दश कक्षा (टेष्ट) उर्तीण भई एस.एल.सी दिने वेलामा फेरि हामी दुर्इ दाजु भाइ पोखरा बजारमा एउटै कोठामा भाडामा वसी टियुसन पढने देखि अन्य तयारी सँगसँगै गर्यौ र एस.एल.सी. मा सफलता प्राप्त गरी प्रवीणता प्रमाणपत्र तह पनि पृथ्वीनारायण कलेजमा दाजु मानविकी संकाय तर्फ  र म विज्ञान संकाय तर्फ सँगसँगै भर्ना भयौ ।

यति लामो अवधि सँगसँगै विताउदाका क्षणबाट विकसित भएको माया र आत्मीयता सदा जीवन्त हुनु स्वभाविक हो ।  पछि जागिर खाने दौरानमा संस्था र स्थान फरक भएपनि हाम्रो आपसी भेटघाट कुराकानी र घरपरिवार गाऊँ र समाज प्रतिको आबद्धता र सेवा एक साथ हुँदै गर्‍यो ।

स्नातक तहसम्मको अध्ययन पूरा गरी नेपाल सरकारको सेव गर्ने क्रममा केही वर्ष सरकारी सेवा गर्दै गर्दा संस्थान तर्फको सेवामा प्रवेश गरी कृषि साम्रगी संस्थान अर्न्तर्गत रहेर २६ वर्ष सेवा गर्नुभयो । यस अवसरमा झापा गुल्मी रुपन्देही कास्की लगायतका विभिन्न जिल्लामा सेवारत रहनु भएको थियो । यसैबीच आफ्ना सन्ततिहरुलाई अध्ययनको सहज अवसर जुर्टाई सक्षम योग्य र आत्मनिर्भर हुनसक्ने बनाउनु भयो । सो संस्थाबाट स्वैच्छिक अवकास लिएपछि  आफ्नो जन्म स्थल साविक कालिका गा.वि.स. हाल पोखरा महानगरपालिको वडा नं २८ लाई कर्म थलो बनाएर सामाजिक, धार्मिक र राजनीतिक क्रियाकलापमा जिल्लाव्यापी रुपमा सक्रिय रहनु भयो ।

विद्यार्थी जीवन देखि नै लोकतन्त्रप्रति प्रतिबद्ध भएर नेपाल विद्यार्थी संघमा उहाँले नेपाली कांग्रेस पार्टीको गा.वि.स. महानगर वडा एकाइमा सक्रिय सदस्यका रुपमा सेवा पुर्‍याउनु भएको थियो । वहाँ एक सकृय सशक्त तथा जुझारु कार्यकर्ता हुनुहुन्थ्यो । त्यसै गरी सामाजिक अभियन्ताको रुपमा उहाँले आफ्नो निवृत्त जीवन भरी विभिन्न सामाजिक उत्थान निमार्णर विकास कार्यमा सशक्त र सकृय रहनु भयो । मूलत काफलघारी गाउँका बासिन्दाले खेप्न परेका दैनिक जीवनचर्यासँग गासिएका पेचिला समस्या हरु बाटोघाटो, विद्यालय, सामुदायिक वन विकास र संरक्षक, सहकारी, विजयपुर नदीमा तटवन्धन निमार्णलगायत आफ्नो परिवार धनञ्जय गोत्रीय भण्डारी समाजको उपाध्यक्ष र सल्लाहकारमा रही मन्दिर निर्माण र संचालनमा विशेष योदान पुर्‍याउनु भयो ।

त्यस्तै काफलघारी कुटानी पिसानी सहकारी संस्थाको सचिव, ठूलोवन उपभोक्क्ता समितिको सदस्य, विजयपुर तटवन्धन निमार्णउपभोक्क्ता समितिको कोषाध्यक्ष,कृयापुत्री भवन निर्माण समितिको अध्यक्ष, चन्द्रकान्त गुह्येश्वरी स्मृति प्रतिष्ठानमा आजीवन तथा कार्यसमिति सदस्य, धनञ्जय गोत्रीय भण्डारी समाज नेपालको संस्थापक सदस्य,  सुक्रेमैदान सडक निमार्णसमितिका सल्लाहकार, ऊँकारेश्वर शिवालय मन्दिर निर्माण समिति एवं महायज्ञ संचालन समितिका सदस्य , विजयपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड मा सदस्य रही दिवगंत हुँदाबखत सम्मनै कार्यरत रहनुभएको थियो ।

यसै बीच २०७५ वैशाख ६ गते देखि २७ गते सम्म तीर्थाटनको क्रममा  बाह्र सदस्य रहेको पारिवारिक टोलीको नेतृत्व गर्दै नेपालको देवघाट क्षेत्रदेखि भारतको हरिहर क्षेत्र हुदै गया, बोधगया , काशी , वाराणसी , सारनाथ ,अयोध्या , प्रयाग , वृन्दावन , गोकुल मथुरा , हरिद्वार , ऋषिकेश , हुँदै उत्तराखण्डका चार धाम भनिने यमुनोत्तरी , गगोंत्तरी, केदारनाथ, बद्रीनाथ, सम्मको तीर्थ यात्रा गर्नु भएको थियो ।

यस्तो सामिजिक कृयाकलापमा सक्रिय व्यक्तित्व  अचानक र आकस्मिक रुपमा विरामी पर्नु भयो , २०७५ श्रावण २३ काफलघारी देखि पोखरा स्थित गण्डकी अस्पताल सम्म धर्मपत्नीका साथ पैदल र वस यात्रा गरी पुग्नु मै उपचार सुरु गराउनु भयो । अस्पताल पुग्ना साथ चिकित्सकले अस्पताल भर्ना गराइ उपचार सुरु भयो । दुर्इ दिनको सघन उपचार पछि चिकित्सक एवंम परिवारको भित्रको आपसी परामर्श र सल्लाहबाट काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा भर्ना भइ सघन उपचार कक्षमा नै उहाँको उपचार भयो । चिकित्सकहरुले रोगको निदान गर्ने क्रममा सेप्टीक शकबाट मृगौला तथा फोक्सोमा समस्या भएको पत्ता लगाई सम्भव भएसम्मका सवै उपचार पद्धति अवलम्वन भएको थियो ।

एघार दिनसम्मको उपचार बाट पनि अपेक्षित सुधार हुन नसकेपछि २०७५ भाद्र ५ गते माहाराजगंज स्थित शिक्षण अस्पतालको सघन कक्षमा स्थानान्तरण गरी थप परीक्षण र उपचारका विविध प्रयास त्यहाँको विशेषज्ञ चिकित्सक टोलीबाट भएको थियो । यी सवै प्रयासका वावजुद उहाँको फोक्सोमा देखापरेको निमोनिया को नियन्त्रण सफल हुनसकेन र २०७५ भाद्र १३ गते अपरान्ह ३.१८ वजे उहाँले आफ्नो देह परमात्मामा समर्पण गर्नुभयो ।

दुर्इ दिनको जिन्दगी भन्ने चलन छ । झट्ट हेर्दा त्यसै लाग्छ , हाम्रा आदरणीय दाजु भवानी प्रसाद भण्डारी मंगलवार जन्मेर बुधवार स्र्वर्गवास भएको देखिन्छ । यथार्थमा त्यसो होइन २००९ सालमा जन्मेर २०७५  सालमा ६६ बर्षको उमेरमा दिवंगत हुनु भएको छ । हामीलाई भने ६६ वर्षको अल्पआयुमा आकस्मिक स्वर्गारोहण हुँदा परिवार जन र हामी निकटतम भाई बन्धु इष्टमित्र र सम्पूर्ण शुभेच्छुकहरु स्तब्ध र मर्माहत भएका छौँ । मृदुभाषी कसैलाई नपिराउने सहनशील सदा सबैको भलो चिताउने, सामाजिक एवंम परोपकारी कार्यमा अग्रसर भई रहने व्यक्तित्वले अकस्मात सदाको लागि छाडेर जाँदाको पीडा वर्ण गरिसक्नु छैन । जे जस्तो वज्रपात र पीडा भए पनि सहन गर्नुपर्ने संसारिक नियमको पालना गर्नुपर्ने वाध्यता सम्पूर्ण मानव जगतलाई नै छ । त्यसै वाध्यतामा हामीले पनि चित्त बुझाउनु परेको छ ।

समाजको उत्थानमा, सामाजिक, आध्यात्मिक र राजनीतिक,क्षेत्रमा आफ्नो जीवन लाई सक्रिय पार्दै सेवारत रहनु भएका स्व. भवानीप्रसाद भण्डारीको आत्माको चिरशान्तिको कामना गर्दै आज १३ औं दिनको पुण्य तिथिमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ ।

- सूर्यप्रसाद भण्डारी