सवल र सशक्त नेपाल कहिले ?

अहिलेको विश्वमा कमजोर राष्ट्रलाई कसैले महत्व दिँदैन। कमजोर हुनुको तार्त्पर्य अन्य राष्ट्रको मुख ताक्नु हो। त्यसैले हरेक राष्ट्रहरु सामर्थ्य र क्षमतालाई भरपूर उयोग कसरी गर्न सकिन्छ भनेर लागि परेका छन्। तर राष्ट्रलाई ताकतवार बनाउन बलियो बनाउन, समृद्धशाली बनाउन मुलुकमा स्थायित्व को खाँचो छ त्यही स्थायित्वलई कायम राख्न सरकारले जनताको लागि गर्नुपर्ने कामहरुमा प्रभावकारिता, भ्रष्टाचार रहीत सेवा प्रवाह, सुशासनयुक्त प्रणाली, विकासका आयामहरु र जनताको जीवनस्तर उठाउने कामहरुमा संलग्न भई कार्यक्षमता देखाउन सक्नु पर्दछ। आज कमजोर राष्ट्रको कुनै महत्व राखिँदैन तसर्थ राष्ट्र बलियो र सक्षम देखाउन नै सरकारले काम गर्नुपर्दछ।

नेपालको भूगोल २ ओटा ठूला जनसंख्या र क्षेत्रफलका हिसाबले पनि विशाल, प्रगति र विकासका हिसावले पनि आर्थिक शक्तिका रुपमा रहेका चीन र भारतको बीचमा रहेको छ। वास्तवमा ती २ ठूला देशले गरेको उन्नति र समृद्धिको झल्को नेपालमा आउनुपर्नेमा त्यो हुनसकेन। तिनीहरु विश्वको ठूलो आर्थिक शक्तिको रुपमा स्थापित भइसक्दा हामी अझै आर्थिक विकास कसरी गर्ने भनेर माथा पच्चिसी गरिरहेका छौं। हामीले सिक्ने प्रयास नै गरेनौं। विकासका अवधारणालाई प्राथमिकीकरण नै गर्न सकेनौं। कुन बाटोबाट अगाडि बढ्ने तय नै गर्न सकेनौं।

हामीले चाहेको भए यी २ ठूला मुलुकले अवलम्वन गरेको, तय गरेको बाटोलाई पछ्याउन सकेको भए नीतिगत सुधार गर्ने तर्फ उन्मुख हुन सकेको भए, हाम्रो स्तिति आजको भन्दा फरक हुनसक्ने थियो। हाम्रो मुलुकलाई ताकतवार र शक्तिशाली बनाउन हाम्रो सामर्थ्य र क्षमतालई उपयोग गर्ने दृष्टिकोण राख्न सकेको भए हामी आजको भन्दा भिन्न परिस्तितिमा हुन्थ्यौं। तर त्यसो हुन सकेन। आज हामी ताकतवार हुनुको साटो कमजोर भएका छौं। फड्को मार्न सक्ने अवसर र अवस्था हुँदा पनि हामी टुलुटुलु हेरेर वस्नुपर्ने स्तिति छ। उत्पादन गर्न सक्ने सामर्थ्य हुँदा पनि हामी निरीह बनेका छौं। बाहिर पठाउन सकिने थुप्रै कुराहरु हुँदापनि बाहिरबाट ल्याएर रमाएका छौं। व्यवस्तित बनाउन सकिने मुलुकलाई अव्यवस्तित बनाउन तल्लीन छौं। सुन्दर सौम्य मुलुकलाई कुरुप बनाउन उन्मुख छौं। के हामी यिनै कुराबाट शक्तिशाली र सम्पन्न राष्ट्र बन्न सक्दछौं – विश्वको ध्यान आकृष्ट गर्न पनि क्षमता देखाउन सक्नुपर्दछ।

विश्वमा नेपाल भन्दा गरीब मुलुकहरु पनि छन्, पिछडिएको राष्ट्रहरु पनि छन्, हाम्रो भन्दा सानो अर्थतन्त्र भएका मुलुकहरु पनि छन् तैपनि हामी तीव्ररुपमा अगाडि बढ्न किन सकिरहेका छैनौं ? किन हाम्रो मुलुकको राजधानी काठमाण्डौं विश्वको तेस्रो प्रदूषित शहरको रुपमा अंकित हुन पुग्यो ? किन नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाईअड्डा काठमाडौंको त्रिभुवन विमानस्थल विश्वको तेस्रो खराब विमानस्थलको रुपमा चित्रित हुनपुगेको छ ?

एशिया महाद्वीपमा रहेका मुलुकहरु मध्ये नेपाल सवैभन्दा गरीव मुलुकमध्ये तेस्रो स्थानमा रहन पुगेको छ  नेपालभन्दा पछाडि उत्तरकोरिया र अफगानिस्तान मात्र रहेको छ – किन नेपाल अझै खाद्य सुरक्षाको दृष्टिकोणले असुरक्षित रहन पुगेको छ – नेपालको पासपोर्ट लिई विभिन्न मुलुकहरुको भ्रमण गर्दा झंझट बेहोर्र्नु परेको खबर बारम्बार सुन्नमा आएको कुरा हो । कहिलेकाँही हवाई अड्डाबाट नै फर्काइएको, अरु मुलुकमा पस्नु अगाडि धेरै समय सोधपुछ हुने गरेको पनि सुनेका छौं। यसको पछाडिको कारण केलाउँदा पनि हामी लज्जित हुनुपर्ने अवस्था आएको छ।

विश्वका विभिन्न राष्ट्रहरु मध्ये कुन देशको पासपोर्ट कति बलियो छ भनेर विश्वव्यापी अध्ययन हुँदा जर्मनी पासपोर्ट सवैभन्दा शक्तिशाली पाइएको छ। त्यसपछि स्वीडेन,सिंगापुर, दक्षिणकोरिया, अमेरिका आदि मुलुकको रहेको छ भने यी मुलुकका पासपोर्टधारीहरु १५९ ओटा मुलुकमा बिना झंझट प्रवेश पाउँछन्। त्यसैको विपरीत नेपालको पासपोर्ट वाहकले २६ ओटा मुलुकमा मात्र आगमनमा भिसा पाउने हैसियत राख्दछ। नेपालको ३ ओटा प्रकारका पासपोर्ट मध्ये रातो पासपोर्ट नेपालका ठूला महत्वपूर्ण मानिसहरुलाई उपलव्ध गराइने पासपोर्ट हो र यही रातो पासपोर्टधारीहरुले काम सकिनासाथ बुझाउनुपर्ने अनिवार्य व्यवस्था भएतापनि नुबुझाइकन बसेको घटनाले पनि हाम्रो पासपोर्ट वजनदार हुन नसकेको हो भन्ने गरिन्छ ।

आजभोलि राष्ट्र राष्ट्र बीच हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । शिक्षा, खेलकूद, रहनसहन, सुरक्षा, समृद्धि व्यवसाय आदि क्षेत्रहरुमा कुन राष्ट्र अब्बल छ कुन राष्ट्र कमजोर छ भन्ने यकिन दिलाउन यस्ता अध्ययन गरिरहेको पाउछौं। हरेक वर्ष सवैलाई जानकारी होस्, त्यसै अनुसार मुलुकको वर्गीकरण गर्न सजिलो होस भनेर प्रतिवेदनहरु सार्वजनिक भइ नै रहन्छ  । त्यसैले हरेक राष्ट्र सर्तर्क हुन्छन् र चासो राख्ने  पनि गर्दछन् साथै अन्य मुलुकभन्दा आफ्नो मुलुक राम्रो, अब्बल ठहरिन सकोस् भनेर प्रयत्नशील रहन्छन्।

उदाहरणको लागि विश्वका १८८ मुलुकहरु मध्ये सवैभन्दा स्वस्थ मुलुक आइसल्याण्ड १ नं. ठहरिएको छ भने सवैभन्दा अस्वस्थ मुलुक १८८ नं. मा मध्य अफ्रिका रहेको छ र नेपालको स्थान १५८ औं रहको छ। यो स्थानले नेपाल अस्वस्थकर मुलुकको रुपमा चित्रित भयो र अन्य राष्ट्रबाट मानिसहरु नेपाल आउन खोज्दा एकपटक सोच्नुपर्ने स्तिति हुन पुग्यो । हाम्रो प्रयास यो स्थानबाट सकेसम्म माथि उठाउनु हो।

त्यस्तै व्यवसाय व्यापार गर्न सवैभन्दा उपयुक्त मुलुक सिंगापुर भएको छ भने नेपालको स्थान १५२ औं रहेको छ। देश समृद्ध बनाउनका लागि लगानी नगरिकन नहुने, लगानी गर्न विदेशमा रहेको पैसा ल्याउन आवश्यक पर्ने, विदेशीलाई नेपालमा व्यवसाय गर्न आह्वान अनुरोध गर्ने हो भने हाम्रो स्थान बलियो रहेको छ र उपयुक्त छ भन्न गाह्रो हुने यो १५२ औं स्थानले देखाएकोछ।

विश्वमा देखाउनको लागि, नेपालमा लगानी गर्न आऊ भन्नका लागि पनि हामीले यो स्थानलाई माथि उकास्न सक्नुपर्दछ। सरकारले यसप्रति ध्यान पुर्‍याउनृुपर्ने काममा ढीलो भइसकेको हो कि – अब त प्रदेश सरकारहरुले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने घोषणा र भाषण गरिरहेको हुनाले लगानी आकषिर्त गर्नका लागि विश्वसनीय परिस्तिति सिर्जना गर्न तत्परता देखाउछन् कि –

तर सवैभन्दा महत्वपूर्ण पक्ष भनेको मुलुकमा सुशासन प्रत्याभूति गर्न सकेका छौँ कि छैनौं भन्ने हो। विगत कैयन वर्षदेखि नेपालमा भ्रष्टाचारजन्य कार्यमा कमी आउन नसकेको प्रतिवेदनहरु उजागर हुँदै आएको छ। सुशासनको अभाव र दण्डविहीनताको स्तिति हेर्दा भ्रष्टाचारजन्य गतिविधिहरुले व्यापकता पाएको देखिन्छ। आम जनताहरु सरकारले उपलव्ध गराउने सेवा प्राप्त गर्न कठिनाई महसुस गरिरहेका छन् ।

सरकारले प्रदान गरेको सेवा प्राप्त गर्न थप पैसा घूसवापत दिनुपरिरहेको स्तिति विद्यमान रहेको छ। १७५ मुलुक मध्ये नेपाल भ्रष्टाचारजन्य मुलुकको श्रेणीमा १३० औं स्थानमा रहेको कारणले विश्वका अन्य मुलुकले हेर्ने दृष्टिकोण राम्रो हुनसकेको छैन। त्यस्तै स्तिति सुशासन प्रणालीमा पनि रहेको छ। राष्ट्र बलियो बनाउने हो भने राष्ट्रको छविलाई राम्रो बनाउने हो भने यो स्तितिलाई आमूल रुपमा सुधारको खाँचो छ।

हामी कहाँ जनताबाट करबापत उठेको पैसा उत्पादनशील भन्दा अनुत्पादनशील क्षेत्रमा बढी खर्च भइरहेको छ। आर्थिक वृद्धिदरलाई बढाउन लगानीको आवश्यक छ तर लगानी गर्नु भन्दा प्रशासनिक खर्चमा बढी केन्द्रित छौं। कुल बजेटको ६० देखि ६१ प्रतिशत रकम सामान्य खर्च हुन्छ, विकासे खर्चमा २६ देखि २८ प्रतिशत जति छुट्याइन्छ र हामीले लिएको ऋण र व्याजमा १२ देखि १३ प्रतिशत छुट्याउनुपर्ने स्तिति छ। विकासे खर्च छुट्याएकोमा विभिन्न कारणले २० देखि २२ प्रतिशत मात्र खर्च हुने गरेको पाइन्छ । यो मुलुकको लागि सुखद स्तिति हैन। जवसम्म विकासे खर्च बढाउन सकिँदैन तवसम्म बृद्धिदर बढाउन सक्दैनौं।

यो वर्ष सामान्य ४ प्रतिशत विकास दर हुने प्रक्षेपण विभिन्न आर्थिक संस्थाहरुले गरेकाछन् । तर हाम्रोजस्तो पछि परेको मुलुकलाई यो पर्याप्त हैन। कमसेकम पनि लगातार १० वर्षसम्म ६-७ प्रतिशत बृद्धिदर हासिल गर्न सक्यौं भने मात्र मुलुकको अनुहार फेर्न र परिवर्तन देख्न सक्ने छौं। प्रत्येकवर्ष यो रफ्तार र गतिमा अगाडि बढ्नु झन्डै २०/२२ खरब रुपैया लगानी गर्दै जानु पर्दछ र अहिलेको स्तितिमा संघीय र प्रदेश सरकारले आफ्नै स्रोतबाट यति ठूलो रकम लगानी गर्न सकिने अवस्था देखिँदैन त्यसो हुँदा लगानीका लागि निजी क्षेत्र विदेशी वा स्वदेशी लगानीलाई परिचालन गर्न जरुरी छ। अहिले मुलुकको संघीय र प्रदेश सरकारको लागि सवैभन्दा ठूलो चुनौती नै स्रोत र साधनको उचित परिचालन र व्यवस्थापन हो। तर आउँदो केही वर्ष मुलुकमा वित्तीय संकटको स्तिति देखिन सक्दछ। यसका निम्न कारणहरु हुनसक्छन्।

१. संघीय र प्रदेश खर्च २. कर्मचारीहरुको अवकाश र पेन्सनखर्च ३. कर्मचारीहरुलाई दिँदै आएको र आउने दिनहरुमा दिइने प्रोत्साहन भत्ता रकम ४. राज्य ढिकुटीबाट दिइने चन्दा, आर्थिक सहायता ५. राज्यले गर्ने अनुत्पादक खर्च ६. आर्थिक अनुशासन हीनताको अवस्था ७. बढ्दो राजनैतिक नियुक्ति, सुविधा खर्चहरु ८. बढ्दो आयातको कारणले सिर्जित व्यापार घाटा, ९. राजस्व संकलनमा सुधार हुन नसक्नु र समानान्तर अर्थतन्त्रको आकार बढ्दै जानु १०. सरकारले उठाउनृुपर्ने रकम बक्यौता उठाउन तदारुकता नदेखाउनु समय र्घर्किएपछि आयोग गठन गरेर मिनाहागर्ने मोलमोलाई गर्ने र राज्यको भागमा कम उठाउने प्रवृत्ति र बेरुजु रकम अनियन्त्रित रुपमा बढ्दै जानु

राज्यलाई बलियो बनाउनु अहिलेको परिप्रेक्षमा सवैभन्दा महत्वपूर्ण पक्ष हो। नेपाल सवल, सशक्त र ताकतवार बन्न सक्यो भने मात्र हाम्रा २ ठूला बलिया छिमेकीले हाम्रो कुरा सुन्नेछन्, हाम्रो हितको लागि कदमहरु उठाउने छन्  । तसर्थ सरकारको ध्यान यस दिशा तर्फ पुग्न सकोस्। कमजोर मुलुक भएर बस्न नपरोस्।

- आनन्दराज मुल्मी