सम्झनामा ठाडोभाका शिरोमणि भेडीखर्के साइँला

लोकप्रिय गायक ठाडोभाका शिरोमणि भेडीखर्के साइँलालाई गुमाउनु पर्दाको पीडा अवर्णीय छ। अप्रत्याशित रूपमा उहाँको निधन भयो। उहाँको निधनबाट भएको क्षति उत्तिकै रूपमा पूर्ण हुनै नसक्ने स्थितिको छ। उहाँ कम्तिमा ८- १० वर्ष बाच्नु पर्दथ्यो र बाच्नु हुन्छ भन्ने पनि लागेको थियो। किनकि करिब एक महिना अघिसम्म उहाँ दह्रै देखिनु हुन्थ्यो। गत साउन ५ गतेका दिनमा मात्र यो पक्तिकारकै अनुरोधमा उहाँ एक दैनिकको विमोचन कार्यक्रमको प्रमुख अतिथि बन्नु भएको थियो। त्यो दिनमा पनि उहाँले प्रमुख अतिथिको हैसियतले दिनु पर्ने मन्तव्यसमेत ठाडोभाका गीतमै गाउनु भएर व्यक्त गर्नु भएको थियो। सम्भवतः सार्वजनिक सभासमारोहमा उहाँले गाउनु भएको ठाडोभाका गीत त्यो नै अन्तिम हो। यस्ता अलौकिक प्रतिभाका धनी व्यक्तित्वलाई यति छिटो विदाई गर्नु पर्ला भनेर के कसरी सोच्ने ∕ उहाँ एक प्रेरणा प्रदायक व्यक्तित्व हुनुहुन्थ्यो। आशु कवि सरह ठाडोभाकामा दोहोरी गाउन सक्ने उहाँको विलक्षण प्रतिभा थियो। जसको जति बर्ण गरेपनि थोरै हुन्छ।

त्यो जमाना र समाजमा ब्राहृमण परिवारको सदस्य भएर गीत गाउँदै हिड्नु, रोधिँ जानु हुँदैन भन्ने परम्परागत मान्यता थियो। त्यसलाई समेत तोड्दै उहाँले जुन तौरतरिकाबाट ठाडोभाका गीत सिक्ने र गाउने गर्नु भयो, त्यसबाट उहाँ एक सामाजिक अध्येता एवम् क्रान्तिकारी व्यक्तित्व भएको समेत पुष्टि हुन्छ। त्यसका साथै उहाँलाई जातीय सदभावनाको पनि अभियन्ता मान्न सकिन्छ। किनकि, एक जनजाति (दुरा)बाट सिर्जित भई अको जनजाति-गुरुङ)मार्फत फक्रिदै हुर्र्किएको ठाडोभाका गीतलाई उहाँले जातीयताको त्यो संकीर्ण घेरा तोड्नु हुँदै आफ्नो ठान्नुभयो, ढुक्कले त्यो भाका सिक्नु भयो र जीवन पर्यन्त गाइरहनु भयो। त्यसप्रति आफू समाहित हुनुभयो, आफूलाई समर्पित गर्नुभयो। उहाँको यो कार्य आफैमा अति उच्च र बन्दनीय रहेको पाइन्छ। उहाँको यो अलौकिक कार्यले कला, साहित्य, संगीतले कुनै पनि भूगोलको चौघेरा, दलगत तथा जातिगत लगायतका पर्खाल, क्षेत्रगत तथा सम्प्रदायगत संकीर्णतापूर्ण घेरामा बाधिएर रहँदैन भन्ने थप पुष्टि गर्दछ। जुन कार्य यो धर्तीमा चन्द्रसूर्य रहँदासम्म स्वर्णअक्षरमा अंकित भैरहने छ।

बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट १९९० भदौ २९ गते, सिन्दूरे- ६, मैदान, दुराडाँडा, लमजुङमा जन्मनु भएको थियो उहाँ। नौ वर्षको अबोध बाल्य अवस्थामानै ठाडोभाकाप्रति उहाँको जुन मोह जागृत हुन गयो त्यो यहाँको अलौकिक सम्पत्तिका रूपमा रहृयो र रहिरहनेछ। बाहुनको छोराले दुराहरूको संगत गरेर गीत गाउँदै रोधिँमा समेत जान थाल्दै गर्दा भोलिका दिनमा छोराको विवाह गर्न कठिन हुने हो कि – वा गीत गाउँदा गाउँदै उतैबाट अको जातको केटी विवाह गरी ल्याउने हो कि ∕ जस्ता पिरलोले उहाँका पिता बलभद्रले दुराडाँडाबाट २००६ सालमा लमजुङकै परेवाडाँडामा बसाई सर्नु भएको रहेछ। त्यसपछि, उहाँको गायन क्षेत्रमा केही ब्रेक लाग्यो। साथीसँगी छुटे। तर पनि विशेष मेला पर्वहरूमा उहाँले गाउन छाड्नु भएन। अन्ततः उहाँले आजको यो उचाई चुम्न सफल हुनुभयो र ठाडोभाकाको पर्याय बन्नु भएको थियो।

नौ वर्षको कलिलो उमेरदेखि ठाडोभाकाको गायनको थालनी गर्नु भएका ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाले गरीवीसँग पैठेजोरी खेल्दै, समाजका गलत मान्यतालाई तोड्दै, पत्नी वियोगको पिडालाई समेत भुल्दै जीवनका अन्तिम क्षणसम्म पनि निरन्तरता दिइरहनु भयो । यस्तो अतुलनीय योगदान गर्ने व्यक्तित्व विरलै भेटिन्छन् समाजमा । उहार्ँले बाल्यकाल विताउँदै हुर्कदै गर्नु भएको त्यो जमाना र समाजमा ब्राह्मण परिवारको सदस्य भएर गीत गाउँदै हिड्नु, रोधिँ जानु हुँदैन भन्ने परम्परागत मान्यता थियो । तर त्यसलाई तोड्दै उहाँले जुन तौरतरिकाबाट ठाडोभाका गीत सिक्ने र गाउने गर्नु भयो, त्यसबाट उहाँ लोकप्रिय गायकमात्र नभई एक सामाजिक अध्येता एवम् क्रान्तिकारी व्यक्तित्व भएको पुष्टि हुन्छ ।

२०५२/५३ सालदेखि उहाँका गीत प्रसशस्त रेर्कर्ड हुन थालेका हुन्। तर गोविन्दबाबु तिवारीले २०४० सालमा पहिलो पटक गीत रेर्कर्ड गराउनु भएको सम्झना ताजै थियो उहाँमा। उहाँका आफ्ना समकालीन धेरै गायकहरू यो धर्तीबाट धेरै अघि विदा भैसकेका छन्।

सुरुका दिनमा उहाँले ठूलोस्वाँराकी चिजा दुरा-मनुरामकी छोरी)सँग गाउन थाल्नु भएको हो। त्यसपछि तान्द्राङ टक्सारकी स्यानी दुरा, नेटाकी गौमाया दुरा, ठूलोस्वाँराकै नन्दमाया दुरा, पोखरीछाप, तनहुँकी ज्ञानमाया थापा, कुन्छाकी भक्ति दुरा आदिसँग बढी मात्रामा उहाँले गाउनु भएको पाइन्छ। उनीहरू पनि सबै पहिले नै दिवंगत भैसकेका छन्। पछिल्ला वर्षहरूमा उहाँले उत्तम गुरुङ-बन्दीपुर, तनहुँ)सँग जोडी बनेर गाउने गर्नु भएको थियो। लगातार ३ दिन र ३ रातसम्म गीत गाएर पनि जीत हार नभएको सम्झना थियो उहाँमा। त्यो कार्य लमजुङको गहते स्थित एक विवाह कार्यक्रममा दुलाहाको घरदेखि दुलैको घर हुँदै फेरि दुलाहाको घरमा आएर दुलही भित्र्याएको भेलिपल्ट विहानसम्म गाइएको थियो भन्नुहुन्थ्यो उहाँ। त्यतिबेला ठाडोभाका गीत भक्ति दुरासँग गाएको उहाँले बताउनु हुन्थ्यो।

ठाडोभाका दुराडाँडा मौजाको तत्कालीन नेटा गाविसको हाँडीखोला निवासी देउबहादुर दुराबाट सिर्जिएको गीत हो। देउबहादुरले आफ्नो गाउँपाखामा मेलापात तथा गोठालो जादा यस भाकाको सिर्जना गर्नु भएको पाइन्छ। दोहोरीका रूपमा गाइने यो भाकालाई त्यतिबेलाका आफ्ना दोस्ती/दौतरी रबैडाँडा-हाल, कास्की)का पञ्चैसुब्बा गुरुङका साथमा आफू केटा र गुरुङ केटी बनेर देउबहादुरले गाउने गुन भएको बुढापाकाका मुखबाट हिजोआज पनि सुन्न पाइन्छ। तर यस भाकाको प्रचार प्रसार चाहिँ शिवरात्रि र फागुपूर्णीमाको समयमा करापुटारमा लाग्ने मेलाबाट हुन गयो। त्यसै कारण कसैकसैले यो भाकालाई करापुटारे भाका पनि भन्ने गर्दछन्।

कला र गलामा सर्वसम्पन्नशाली व्यक्ति हुनु भएपनि आर्थिक हिसावले उस्तो धनी हुन सक्नु भएन उहाँ। सबैथोक सँगसँगै मिल्ने मानिस त बहुतै दुर्लभ हुन्छन् धर्तीमा। त्यो कलिलो उमेरदेखि जीवनको अन्तिम क्षणसम्म पनि उहाँले ठाडोभाका गायनमै विताउनु भयो। त्यही कला र गला बेचेर कति मानिस आज अरबपति बन्ने दौडमा छन् तर उहाँ हजार पति पनि बन्न सक्नु भएन भन्दा अतिशयोक्ति हुने छैन। यस्तो व्यक्तित्वलाई न त राज्यले नै चिन्न सक्यो समयमा।

राज्यले नचिनेता पनि उहाँलाई निजीस्तरबाट सञ्चालनमा रहेको गैससहरूले भने दर्जनौँ पटक सम्मान गरेका छन्। उहाँलाई पहिलो पटक २०५५ सालमा कोइराला फाँट युवा क्लब-लमजुङ)द्वारा सम्मान गरिएको पाइन्छ भने यो पंक्तिकारको नेतृत्वमा खुलेको द रेयुकाई नेपाल लमजुङ उपशाखाद्वारा उहाँलाई २०५७ सालको सामाजिक सेवा दिवसका दिन अभिनन्दन गरेको देखिन्छ। त्यसपछि ०६८ सालदेखि हरेक वर्ष आधा दर्जन बढी संस्थाहरूले उहाँलाई सम्मान गरेको पाइएको छ। जसमा लमजुङ लोकसंस्कृति विकास केन्द्रद्वारा सम्मान- ०६८ मंसिर, राष्ट्रिय लोक सञ्चार, काठमाडौँद्वारा सम्मान- ०६९ माघ, दुराडाँडा सेवा समाज काठमाडौँद्वारा सम्मान- ०७० फागुन, लमजुङ राजधानी एकता समाज काठमाडौँद्वारा सम्मान- ०७०, नेपाल विश्व सहयोग संघ, काठमाडौँद्वारा सम्मान- ०७१ साउन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, काठमाडौँले सम्मान- ०७१ असोजमा सम्मान गरेका रहेछन्।

त्यस्तै, जिल्ला विकास समिति, लमजुङद्वारा सम्मान- ०७२ फागुन, नुर गंगा प्रतिभा राष्ट्रिय पुरस्कार-काठमाडौँ- ०७२-नगद ५० हजार समेत), ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङद्वारा सम्मान- ०७३ भदौ-उहाँको ८४औँ शुभजन्म दिनका दिन)मा गरिएका सम्मान मुख्य छन्। यसैगरी, उहाँलाई पछिल्लो पटक ०७४ सालको जेठ २६ गतेका दिन हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष पोखराद्वारा १५ हजार नगदको राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिएको पाइन्छ। यो नै उहाँले पाउनु भएको अन्तिम सम्मान हो। लोकसंस्कृतिको महत्व नबुझ्ने र यसको संरक्षण एवम् प्रवर्द्धनका कार्यमा चासो नराखेको र लोककलाका सारथीहरूलाई उचित मान सम्मान र बाच्ने आधार सिर्जना गर्ने वातावरण नबनाएकोमा सरकारप्रति उहाँको सधैँ गुनासो रहृयो।

सामान्य टाउको दुख्दा पनि विदेश धाउने यो देशका २ कौडीमा नविक्ने नेताहरूले उहाँको उपचारमा समेत खासै चासो र सहयोग गर्न चाहेनन्। न त उहाँलाई मान सम्मान र पुरस्कार दिनेतर्फ नै उदार बन्न सक्यो राज्य-सरकार)। करिब डेढ दशक अघिदेखि उहाँलाई ठाडोभाका शिरोमणिका रूपमा पुकारिन थालिएको हो जनस्तरबाट। त्यो उपाधि राज्यले उहाँलाई प्रदान गरोस्, गर्नु पर्छ भनेर हामीले ठाडोभाका लोककला प्रतिष्ठान नेपालमार्फत गरेको पहल पनि उहाँको जीवन छँदै कामयावी बन्न सकेन। जसले उहाँलाई खुसी र हामीलाई चैन दिन सकेन। उहाँलाई उक्त उपाधि राज्यकार्फतबाट मरणोपरान्त भने पनि दिइनु पर्छ भन्ने हाम्रो माग छ। जसका लागि हामी लागिरहने छौँ।

‘      पानी नपिउने बानी’का कारण उहाँको स्वास्थ्यमा बढी समस्या सिर्जिएको पाइयो। आध्यात्ममा साधनारत व्यक्तित्वले आफ्नो ‘इच्छा मरण’ गर्न सक्छन् भन्ने पौराणिक कथाहरूमा सुन्दै, पढिदै आएको हो। उहाँले पनि त्यस्तो ‘इच्छा मरण’ गर्न सफल हुनुभयो भन्ने मेरो बुझाई छ र यसैबाट उहाँको मृत्यु गर्व गर्न लायक हुन गयो भन्ने ठम्याई पनि। यद्दपि उहाँलाई यति छिटो जानु पर्ने कुनै जरुरत थिएन। उहाँ कम्तिमा अरू ५- ७ वर्ष बाँचिदिनु भएको भए उहाँको संरक्षकत्वमा स्थापित संस्थालाई बामे सार्न र उहाँकै उपस्थितिमा ४- ६ वटा ठाडोभाकाको प्रशिक्षण सञ्चालन गर्न पाएको भए सुनमा सुगन्ध हुन्थ्यो।

ठाडोभाका शिरोमणि भेडीखर्केले ठाडोभाकाका सर्जक देउबहादुर दुरा तथा पञ्चै सुब्बा गुरुङको साथ, सामिप्यता तथा स्र्पर्श एक पटक पनि पाउन सक्नु भएको थिएन जीवनमा -उहाँका अनुसार)। तर पनि उहाँ त्यस भाकाको धरोहर बन्न सफल हुनु भयो। त्यसैगरी अबका दिनमा भेडीखर्के बिना पनि गलाका पारखीहरूले यो विडो थाम्नु हुनेछ र यस भाकाको संरक्षणको जिम्मा लिनु हुनेछ। ठाडोभाकाको संरक्षणका लागि आवश्यक वातावरण तयार गर्न र आफ्नो घोषित उद्देश्य प्राप्तिमा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल प्रयत्नशील रहनेछ। उहाँका भतिज शिवदेव अधिकारीमा पनि उहाँकै बारबरको प्रतिभा रहेको पाइएको छ। उहाँले भेडीखर्केको विडो थाम्नु हुनेछ भन्ने हाम्रो विश्वास छ। यस कार्यमा मलजल गरी उत्तम गुरुङ, धम्पुस दुरा, विमाकुमारी दुरा, कृष्ण गुरुङ सहितले थप योगदान गर्नु हुनेछ।

पछिल्ला वर्षमा जब भेडीखर्केलाई दमको सिकायत सुरु भयो। त्यसपछि उहाँ आफ्नी जेठी छोरी लीला र ज्वाई शमशेर लौडारीको साथमा बस्न थाल्नु भयो सुन्दरबजारमा। अशक्त हुँदाको अवस्थामा किन नहोस् हाम्रो नेपाली संस्कार एवम् हिन्दू परम्पार अनुसार छोरीज्वाईले स्वाहारसुसार गर्नुलाई राम्रो मानिदैन। त्यस वस्तुस्थितिको उहाँलाई राम्रो हेका थियो। आफू थलिएर दिसापिशाव स्याहार गर्न नसक्ने भई छोरी ज्वाईलाई दुःख दिनु पर्ने हुन्छ कि ∕ भन्ने चिन्ता पनि थियो उहाँमा। त्यसैले पनि उहाँले ‘इच्छा मरण’ गर्न सफल हुनु भयो भन्ने लाग्छ।

भदौ २६ गतेका दिन विहान १० बजेतिर बचन बस्ने, मान्छे चिन्ने क्षमतामा ह्रास आएको उहाँले सोही दिन साँझ ५:३५ बजे त यो संसारबाट विदा लिनुभयो। दिसा पिशाव स्याहार्न नसक्ने स्थितिको ८- १० घण्टा पनि विताउनु परेन उहाँले। यसबाट उहाँले आफ्नो जीवनमा कति धेरै सद्आचरण एवम् पुण्यकर्म गर्न सफल हुनुभएको रहेछ भन्ने सिद्ध हुन गएको छ। हामीलाई टुहुरो बनाएर, अलपत्र अवस्थामा छाडेर, पीडा थपेर जानु भएपनि उहाँ जुन समयमा जे जसरी यो धर्तीबाट विदा हुनुभयो, उहाँको मृत्यु साँच्चिकै गर्व गर्न लायकको रहृयो। त्यो गर्वानुभूतिको स्थितिलाई शब्दमा व्यक्त गर्न म असमर्थ छु।

बाचुञ्जेल उहाँले ठाडोभाकाका माध्यमले लोककला साहित्य, संगीत, कला, संस्कृतिको प्रबर्द्धनका क्षेत्रमा पुर्‍याउनु भएको योगदान अतुलनीय छँदैछ। उहाँले यो संसार छाडेर जानु हुँदा पनि हामीलाई त्यस्तो पाठ दिएर जानु भएको छ, जो सदैव प्रेरणादायी र उर्जाशील रही रहनेछ। उहाँलाई जनस्तरबाट प्रदान गरिएको ठाडोभाका शिरोमणि उपाधि उहाँका ८५औँ शुभजन्म दिनका दिनमा नेपाल सरकारकातर्फबाट दिइनु पर्छ भनेर उहाँकै संरक्षकत्वमा खोलिएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालले पहल गरिरहेको थियो। अव त्यो उपाधि भेडीखर्के साइँलालाई मरोपरान्त उहाँको बाषिर्क पुण्यतिथिमा दिइनु पर्छ भन्ने माग गर्दछौँ।

अन्त्यमा, यस्तो गर्व गर्न लायकको मृत्यु वरण गर्नुहुने समादरणीय व्यक्तित्व ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाको ४५औँ पुण्य तिथिमा स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

जय लोककला, साहित्य !

(लेखक- ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका अध्यक्ष हुन्। – सं.)

- नवराज पहाडी