समाजवादका प्रवर्तक वी.पी.

वीसौँ शताब्दीको आरम्भसँगसँगै विश्वमा ठूला-ठूला परिवर्तनहरू भए। (सन् १९१४-१९१८) पहिलो विश्वयुद्धपछि विश्वमा स्वतन्त्रताको लहर आउन थाल्यो। पहिलो विश्वयुद्धमा आइपुग्दा ५०० वर्षभन्दा पुरानो बादशाही समाजको अन्त्य भई त्यसको ठाउँमा प्रजातान्त्रिक समाजको सूत्रपात भयो। र्टर्कीका सुल्तान, रुसका जार, जर्मनीका कैसर र अस्ट्रियाका हंगारीका सम्राटलाई प्रथम विश्वयुद्धले विस्थापित गर्‍यो। विश्वभरि परिवर्तन, प्रगति, क्रान्ति र प्रतिक्रान्तिको लहर फैलियो।

यही पहिलो विश्वयुद्ध भएकै समय वि.सं. १९७१ भाद्र २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट विश्वेश्वरप्रसाद कोइरालाको जन्म भयो। बाल्यावस्थादेखि नै वी.पी. कोइरालाको जीवनमा विश्वयुद्धको घटनाक्रमको प्रत्यक्ष परोक्ष प्रभाव पर्‍यो, जुन प्रभावले कोइरालाले नेपाली जनतालाई जहानियाँ राणा शासनको पञ्जाबाट मुक्त गरी स्वाधीन र स्वतन्त्र नागरिकको रूपमा बाँच्न पाउने अधिकार प्रदान गर्न प्रजातन्त्र स्थापनाको लडाइमा होमिने निर्ण्र्ाा गरे।

वी.पी. कोइरालाले आफ्नो जीवनकालमा स्टालीन र हिटलरको युगलाई राम्रोसँग बुझेका थिए। त्यो युग वृटिश साम्राज्यवाद र फ्रेन्च साम्राज्यवादको युग थियो। उदारवादी प्रजातन्त्र त्यस युगको क्रान्तिकारी नारा थियो। त्यस युगका प्रजातन्त्रवादी व्यक्तित्वमा उदारवादी प्रजातन्त्रप्रति विशेष अनुराग थियो। पहिलो र दोस्रो विश्वयुद्धसम्म पनि समाजवादी प्रजातन्त्रले खासै महत्त्व पाउन सकेन। समाजवादी प्रजातन्त्रको विकास र विस्तारमा डैनियल बेल, कार्ल पावर, अलवेयर काम्यू, कोयस्लर र जार्ज अटवेलका चिन्तन र दृष्टिकोण महत्त्वपूर्ण रहे। दोस्रो विश्वयुद्धको लगत्तै युरोप शान्त र विकासशील देखियो। त्यो वातावरणसँग वी.पी. परिचित थिए।

समाजवादका सम्बन्धमा विश्व राजनैतिक इतिहासमा विभिन्न अभ्यास र व्याख्या भएको पाइन्छ। युरोपका धेरै मुलुकहरूले समाजवादलाई आफ्नो देश र समय सुहाउँदो अर्थ लगाएर राजनीति व्यवस्था चलाए। कार्लमार्क्स, फ्रैडरिङ्क एंगेल्स, लेनिनजस्ता चिन्तनशील व्यक्तिले समाजवादलाई वैज्ञानिक आधार प्रदान गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। मार्क्सले द्वन्द्वात्मक भौतिकवाद, वर्ग सङघर्ष र अतिरिक्त मूल्य सिद्धान्तका आधारमा समाजवादको व्याख्या गरे। मार्क्सवादको प्रेरणाद्वारा विश्वमा विभिन्न क्रान्ति भए। सोभियत सङ्घ र चीनजस्ता देशमा मार्क्सवादी व्यवस्था स्थापित भयो। यी देशमा समाजवादको छत्रछायाँमा सामाजिक र आर्थिक उन्नति भयो।

समाजवादी नीति, सिद्धान्त र प्रतिष्ठामा रोवर्ट ओवेन, कार्लमार्क्स, एर्डवर्ड वर्नस्टीन, कार्ल काउत्स्की, लेनिन, रोजा, ट्राटस्की लक्जेमवर्ग, ज्या ज्यारेसजस्ता नेताको दृष्टिकोण र लेखहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ। चीनका माओत्सेतुङले समाजवादको क्षेत्रमा नयाँ आयाम थपे। भारतका जवाहरलाल नेहरू, आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण र डा. राममनोहर लोहिया यस परम्पराका कट्टर समर्थक थिए। यसैलाई समर्थन गरेर वी.पी. नेपालको राजनैतिक क्षेत्रमा क्रियाशील रहे।

२०१२ सालसम्म नेपाली समाजको आर्थिक प्रणाली कृषि र पशुपालनमा आधारित थियो। अर्थ प्रणाली नारी पुरुषको श्रममा निर्भर थियो। सञ्चार साधनहरुको खासै विकास भएको थिएन। धेरै लामो समयसम्म नेपालको अर्थ प्रणाली कृषि र पशुपालनमा आश्रति रहृयो। यसैमा सामाजिक नीति नियम बने। तत्कालीन नीति नियम श्रमजीवीको श्रम शोषणमा केन्द्रित थिए।

समाजमा नारी र पुरुषका बीचमा निर्भरकारी नीति थियो। पितृ सत्तात्मक पद्धतिमा समाज गतिशील थियो। तत्कालीन विभेदकारी नीतिले पुरुषलाई श्रेष्ठ र महिलालाई सामान्य ठानेको थियो। नीति विभेदपूर्ण र नियन्त्रणमुखी थियो। नेपाली जनताको सामाजिक जीवनपद्धति विकराल थियो। जनतासँग एक छाक खान, एक सरो कपडा लगाउन र सामान्य औषधीमूलो गर्न सक्ने सामर्थ्य थिएन। घेरो फाटेको टोपी, मैलो कछाड लगाएर नेपाली जनता श्रममा जोतिएका थिए। उनीहरुको श्रम सामान्तहरुले शोषण गरेका थिए।

यस्तो सामाजिक स्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ ? कसरी समाजमा समानता ल्याउन सकिन्छ ? कसरी सबै नेपालीलाई रोजगार दिन र नेपाललाई समृद्धशाली बनाउन सकिन्छ ? कसरी समाजमा केटाकेटीहरुलाई पढ्न सक्ने वातावरण सिर्जना गर्न सकिन्छ ? भन्ने विषयमा गहन चिन्तन गरेका वी.पी. ले यसको समाधान प्रजातान्त्रिक समाजवादीले गर्न सक्छ भन्ने निष्कर्ष निकाले। नेपाल देश र नेपाली जनतालाई केन्द्रमा राखेर वी.पी. ले नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवाद स्थापित गरे।  प्रजातान्त्रिक समाजवादलाई प्रष्ट पार्दै वी.पी. ले भनेका छन्-

“प्रजातन्त्र मुक्तियात्राको राजमार्ग हो, प्रजातान्त्रिक समाजवाद त्यो राजमार्गलाई सुगम र टिकाउ बनाउने साधन हो। प्रजातन्त्र र समाजवाद, स्वतन्त्रता र समानताका अन्योन्याश्रति कुरा हुन्। प्रजातन्त्र विनाको समाजवाद अन्धो हुन्छ, समाजवाद विनाको प्रजातन्त्र लङ्गडो हुन्छ। आधुनिक राजनीतिक विचारका यी दुर्इ कुरा एकै ठाउँमा मिलेर प्रजातान्त्रिक समाजवाद बनेको हो।”

“सबै नेपालीको एउटा सानो घर होस्, गरिखान पुग्ने खेतबारी होस्, एउटा दुहुनो गाई होस्। छोराछोरीले स्कूल पढ्न पाऊन्। स्वास्थ्य उपचार गर्न पाऊन्, यही हो नेपालको सर्न्दर्भमा समाजवाद।” “समाजवादको नाममा हामी प्रजातन्त्रको हत्या गर्न दिँदैनौँ, प्रजातन्त्रको नाममा हामी शोषण स्वीकार्दैनौँ।”

“देश भन्नोस् चाहे राष्ट्र भन्नोस्, त्यो भूगोल होइन, माटो होइन, त्यो यथार्थमा जनता हो। जुन कुराले जनताको हित हुन्छ, त्यही कुरा देश हितको कुरा हो। “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्दछ, समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्दछ”

वी.पी. को समाजवादी चिन्तनमा २०३२ सालसम्म ‘सशस्त्र क्रान्ति’ ले महत्त्व पाएको थियो। २०३३ सालपछि राष्ट्रिय मेलमिलापको नीति मुख्य स्थानमा रहृयो। वी.पी. को समाजवादी चिन्तनको सारभूत तत्त्व राष्ट्रको सार्वभौम सत्ता सबल हुनुपर्छ, जनताको आवाजलाई सम्मान गर्नुपर्छ र शक्ति सञ्चय जनस्तरमा गर्नुपर्छ भन्ने हो। यो चिन्तनले जनतालाई उच्च सम्मान गरेको छ। जनताको शासन नै समाजवादी शासन हो भन्ने मान्यतालाई समाजवादले महत्त्व दिएको छ।

व्यक्तिको योग्यतानुसार उसलाई काम दिनुपर्छ। व्यक्तिले गरेको कामको सम्यक ढङ्गमा मूल्याङ्कन गरिनुपर्छ भन्ने दृष्टिकोण समाजवादी चिन्तनको मूल मर्म हो। वी.पी. ले समाजवादमा संसदीय शासन प्रणाली र देशको उपयोगितालाई जोड दिएका छन्। वी.पी. को समाजवाद विधानवादमा आधारित छ। वी.पी. ले २०१२ सालको वीरगंज अधिवेशनको घोषणा पत्रमा स्पष्ट भनेका छन्- “परिवर्तन ल्याउनका लागि समाजवाद चाहन्छौँ। यस्तो समाजवादको प्राप्ति प्रजातान्त्रिक मार्गबाट हुनुपर्छ र प्रजातन्त्रका लागि राजालाई स्वीकारेका छौँ।”

वी.पी. ले समाजवादी नीतिमा कृषि क्षेत्रको विकासमा मौलिक परिवर्तन, सामाजिक कल्याणकारी कार्यक्रमको कार्यान्वयन, बेरोजगारी समस्या समाधान, आय वितरणमा रहेको असमानताको अन्त्य र स्रोत र साधनको समान वितरणलाई महत्त्व दिएका छन्। नेपाली जनताको जीवन सुखद र भविष्य समुन्नत रहन सक्नुपर्छ भन्ने दृष्टिकोणलाई महत्त्व दिँदै वी.पी. ले भनेका छन्- “मेरो जस्तै आर्थिक हैसियत प्रत्येक नेपालीलाई १५ वर्षभित्र बनाउने छु, प्रत्येकको आङमा लुगा होस्, खानका लागि अन्न होस्, एउटा घर होस्, गोठमा भैँसी, गाई होस्, औषधीमूलो गर्न पाओस्, शिक्षाको उचित अवसर मिलोस्, अनुहारमा खुसी र ओठमा हाँसो आओस्।”

झुत्रो कपडा लगाएका, विहान खाए बेलुका के खाने भन्ने समस्याले छटपटिएका जनताको जीवनलाई कसरी सहज बनाउन सकिन्छ – कसरी खान लाउन सक्ने अवस्थामा पुर्‍याउन सकिन्छ – कसरी मान्छे-मान्छे बीचको शोषण, दमन, थिचोमिचो र भेदभावको अन्त्य गर्न सकिन्छ – भन्ने कुरामा वी.पी. जीवनभर चिन्तनशील रहे। यस सम्बन्धमा वी.पी. ले भनेका छन्- “मैलो लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर। पो त हाम्रो देश हो। त्यसो हुनाले त्यही खान नपाएका पेटमा अन्न जावस्, हाँस्न नपाएका जनताको ओठमा हाँसो आवस्, केटाकेटीहरूले पढ्न पाउन्, रोगी छन् भने औषधीमूलोको व्यवस्था होस् भनेर नै हामीहरू राजनीतिमा लागेका हौँ। मन्त्री हौला, ठूलो-ठूलो कुर्सीमा बसौँला भनेर राजनीतिमा लाग्या होइनौँ।”

नेपाली समाज र संस्कृतिअनुसार राज्य सञ्चालन हुनुपर्छ, आफ्नै साधन र स्रोतले धान्न सक्ने विकास नीतिलाई अगाडि बढाउनु पर्छ, समाजको आवश्यकता अनुसारका योजनाहरू कार्यान्वयन हुनुपर्छ भन्ने विचार वी.पी. को थियो। विकासको मूल आधार नेपाली जनता हुन्। जबसम्म गाउँगाउँमा बस्ने नेपालीको जीवनस्तर सुध्रदैन, तबसम्म देशले विकासको अग्रगामी गति लिन सक्तैन भन्ने विचार वी.पी. को थियो। वी.पी. ले झुपडीमा बस्ने जनतालाई उच्च सम्मान गर्दै भनेका थिए- “तपाईले जहिले पनि विकासको योजना बनाउँदा त्यो झुपडीमा बस्ने किसानलाई सम्झनुहोस्।”

समाजवादमा वी.पी. ले समानता, बन्धुत्व र आत्मसङघर्षलाई महत्त्व दिएका छन्। वी.पी. ले हिमालदेखि तराइसम्मका नेपाली जनताले समान अधिकार पाउनुपर्छ, कसैलाई काखा र कसैलाई पाखाको स्थितिमा राख्न हुँदैन, सबैमा मित्रत्व र भ्रातृत्वको भावना हुनुपर्छ, पार्टीा साथीहरूले मेरा मान्छे, मेरो योजनामा होइन, हाम्रा मान्छे र हाम्रो योजनामा विश्वास गर्न सक्नुपर्छ, गफ र अल्छी स्वभावमा होइन देशका सम्पूर्ण वर्गले कर्ममा विश्वास गर्नुपर्छ, हल्ला, द्वेष र इष्र्याबाट व्यक्ति माथि उठ्न सक्नुपर्छ भनेका छन्।

प्रजातान्त्रिक समाजवादको मुख्य लक्ष्य राजनीतिक र आर्थिक समानता हो। मुलुकका किसान मजदुरहरूको आर्थिक उत्थान र राजनीतिक क्षमताको विकास नभएसम्म राजनीतिक र आर्थिक समानता सम्भव छैन। नेपालको प्रधानमन्त्री हुँदा होस वा प्रधानमन्त्री भन्दा बाहिर रहँदा होस् वी.पी. राष्ट्रियता, प्रजातन्त्र र मेलमिलापको नीति र दृष्टिकोणमा प्रतिबद्ध रहे। वी.पी. ले भनेका छन्- “अबको संसारको भविष्य प्रजातान्त्रिक समाजवादमा निर्भर रहन्छ। साम्यवादी सोभियत रुसको विघटन पछि विश्वका विभिन्न मुलुकमा प्रजातान्त्रिक समाजवाद परिलक्षित हुन थालेको छ।”

वी.पी. ले समाजवादी चिन्तनमा सामाजिक जग र जनताको मानसिक अवस्थालाई एकीकृत गर्ने कार्ययोजनालाई महत्त्व दिए। नेपाली संस्कृति र मानयतालाई अगाडि बढाए, दिशा निर्देश गरे, नैतिक मापदण्डलाई अनुशरण गरे, आदर्श कुरालाई व्यवहारमा उतारे, समाजवादी आदर्श र नैतिक मान्यताको जगलाई बलियो बनाए। नेपाली संस्कृतिका मूल प्रवृत्ति, अद्वितीय स्वरूप, अनुभूतिहरु र आधारभूत विशेषताको विश्लेषण गरी समाजवादी मूलभूत पक्षको पहिचान र व्याख्या गरे।

विश्वका समाजवादी मुलुक र समाजवादी नेताहरूले वी.पी. लाई समाजवादी चिन्तकको रूपमा सम्मान गर्छन्। वी.पी. का विचारहरू समाजवादी अवधारणाका उच्च मार्गर्दर्शकको रूपमा स्थापित छन्। विश्वका समाजवादी देश र समाजवादी नेताहरूले वी.पी. को समाजवादी चिन्तनलाई पथ प्रदर्शकको आधार बनाएका छन्।

नेपालका अन्य राजनीतिक पार्टीको त के कुरा नेपालको एक मात्र प्रजातान्त्रिक पार्टीँनेपाली काँग्रेस’ले २०४८ सालपछि वी.पी. को राष्ट्रिय एकता, मेलमिलापको नीति र समाजवादी चिन्तन र दृष्टिकोणलाई क्रमशः विर्सदै गएको छ। वर्तमान सर्न्दर्भमा नेपाली जनता र ‘नेपाली काँग्रेस’लाई मजबुत बनाउन ‘नेपाली काँग्रेस’का नेता र कार्यकर्ताहरूले वी.पी. को प्रजातान्त्रिक समाजवादलाई गहन रूपमा विश्लेषण गरी यसलाई आत्मसात गर्नु जरुरी छ भने अन्य प्रजातन्त्रवादीहरूले पनि यसको प्रबर्द्धन गर्न आवश्यक छ। अनि मात्र राजनीतिक कर्मीहरूको राजनीतिक ध्येय पूरा हुन्छ।

(लेखक नेपाली काँग्रेस, क्षेत्र नं. ३, कास्कीका महाधिवेशन प्रतिनिधि हुन्। सं.)

- प्रा.डा. रामचन्द्र पोखरेल