सपना, समृद्धि र पुस्तकालय

“सपना त्यो होइन जुन निदाएको बेलामा देखिन्छ, सपना त त्यो हो जसले निदाउन दिँदैन “भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको अनमोल वचन हो यो। स्वप्नदर्शीहरू निरन्तर सपना देख्छन् र त्यसलाई साकार पार्नकानिम्ति कठोर मिहिनेत गर्छन्, अनेकौं प्रयोगहरु गर्छन्, निस्वार्थ रुपमा जीवन समपण गर्छन्, जसबाट नयाँ आविष्कार हुन्छ। ती नवीन आविष्कारहरु क्रमशःविश्वव्यापी बन्दै मानव जीवनकालागि अपरिहार्य बन्छन्। तिनको प्रयोगबाट जीवन र जगत समृद्ध बन्दै गएको पाउँछौं।प्रशंसात्मक खोज सम्बन्धी दर्शनले पनि सपनालाई उज्याला संभावनाहरु नियाल्ने महत्वपूर्ण चरण मानेको छ।

नेपालको राजनीतिक वृत्त यतिखेर त्यही समृद्धिको मायावी संसारमा लठ्ठएिको छ। चोक र गल्लीका चियापसलदेखि मन्त्रालयसम्म समृद्धिकै चर्चा हुन्छ। हाम्रा प्रधानमन्त्री, मन्त्रीदेखि जनप्रतिनिधिहरुबाट सघनरुपमा उठाइएका विषय नयाँ आविष्कारको नभई पानीजहाज, द्रूत रेल, मोनोरेल, मेट्रो रेल, वायु ऊर्जा आदिको हो, जुन विकसित राष्ट्रका नागरिकहरुले पचासौं, सयौं वर्षदेखि निर्वाध रुपमा उपयोग गर्दै आएका छन्। आम मानिसका बीच अझ ठूलो तरङ्ग पैदा गरेको नयाँ विषय स्मार्ट सिटीको छ। जे होस्, जुन विषयमा चर्चा चले पनि यी सुविधाहरुको उपयोग गर्ने चाहना सबै नेपालीहरुमाछ। प्राथमिकता क्रममा कुन विषय अघि वा पछि भन्ने मात्रै हो।

हाम्रो देश पहाडै पहाड र गाउँले भरिएको छ। भौगोलिक विकटता छ। दूरदराजका धेरै बस्तीहरु अज्ञानता, अभाव र गरिबीले आक्रान्त छन्। अधिकांश गाउँवस्तीहरुमा सडक, बिजुली, सिंचाइजस्ता विकासका न्यूनतम पूर्वाधार समेत छैनन्। शिक्षा, स्वास्थ्य, पिउने पानी जस्ता आधारभूत सेवा सुविधाबाट कैयौं मानिसहरु वञ्चित छन्। आजको दिनमा पनि कतिपय बालबालिकाहरुले तुइनमा झुण्डिएर आफ्नो भविष्य खोज्नु परेको छ। कृषि प्रणाली निर्वाहमुखी छ। रोजगारीकालागि खाडी मुलुक नै ताक्नुपर्ने अवस्था छ।

समृद्ध राष्ट्र निर्माणकालागि दक्ष र प्रविधियुक्त जनशक्ति अनिवार्य सर्त हो। अनुशासित, स्वावलम्बी, सृजनशील एवं उद्यमशील युवा जनशक्ति अको महत्वपूर्ण आधार हो। राष्ट्रिय युवानीतिले १६ देखि ४० वर्षसम्मकालाई युवा मानेको छ, जुन जनसङ्ख्या यतिखेर देशमा ३९ प्रतिशत रहेको छ। देशभित्रै कमाएर लगानी गर्न र विभिन्न कारणहरूले नेपालबाहिर रहेका र बाहिर नै कमाएर नेपालमा लगानीगर्न सक्ने हैसियत बनाएका इच्छुक नेपालीहरुको सङ्ख्या पनि त्यति नै छ। विदेशी निकायहरु पनि त्यति नैछन्। तर ती सबैलाई संयोजन गर्ने कानून, योजना र लगानीमैत्री वातावरणको अभाव हाम्रालागि समस्या बनेर उभिएको छ।

समृद्धिका लागि हामीले गर्नुपर्ने कामहरु धेरै छन्। जनउत्तरदायी, पारदर्शी एवं प्रविधिमैत्री सुशासन, न्याय, शान्तिसुरक्षा, सडक, यातायात, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य  जस्ता आधारभूत सेवा सुविधामा नागरिकहरुको सहजपहुँच, उच्च आर्थिक बृद्धिदर, रोजगारीको अवसर, वातावरण मैत्री भौतिक पूर्वाधार, सूचनातथा सञ्चार प्रविधिको अधिकतम उपयोग, स्वच्छ, सफा र हरियाली वातावरण, व्यवस्थित आबास आदि स्मार्ट सिटीका सर्तहरु पूरा भएपछि देश स्वतः समृद्ध बन्छ।

अब समृद्धिको अको प्रमुख आधार पुस्तकालयतर्फ लागौं। विश्वमा पुस्तकालयको धेरै लामो इतिहास छ। विश्वमा पुस्तक सङ्ग्रह गर्ने प्रचलन चौथो शताब्दीबाट प्रारम्भ भएको देखिन्छ। माटाको चक्कीबाट प्रारम्भ भएको अभिलेखीकरण गर्ने प्रचलन क्रमशः विभिन्न कालखण्ड हुँदै एक्काइसौं शताब्दीसम्म आइपुग्दा मुद्रित सामग्रीहरु र त्योभन्दा अगाडिको इन्टरनेटमार्फत कम्प्युटर, मोबाइल आदिबाट  हातहातमाअध्ययनगर्न, सुन्न र हेर्न सकिने विद्युतीय सूचना सामग्रीको विकास भएको छ। इन्टरनेटको माध्यमबाट आफूलाई आवश्यक पर्ने सूचना सामग्रीहरु जुनसुकै बेला खोजी गर्न पाइने सुविधाको विकास भइसक्दा पनि विश्वभर पुस्तकालयको उपयोगिता घटेको देखिँदैन। यसको महत्व र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको पाइन्छ।

नेपालमा वि.सं. १८६९ मा पहिलो पटक औपचारिक रुपमा गीवाणयुद्धविक्रम शाहद्वारा लालमोहर जारी भई ‘पुस्तक चिताइ तहबिल’ नामक पुस्तकालय स्थापना गरिएको थियो। यही दिनको सम्मानस्वरुप वि.सं. २०६५ देखि भाद्र १५ कादिन पुस्तकालयदिवस मनाइंदै आएको छ। यस आधारमा यतिखेर पुस्तकालय यात्राले २०६ वर्ष लामो अवधिपार गरे तापनि आजसम्म पुस्तकालय राज्यको प्राथमिकतामा पर्न सकेको छैन। राष्ट्रिय जनगणना २०६८ काअनुसार नेपालको साक्षरता दर ६५.९ रहेको देखिन्छ। नेपाल सरकारले ‘राष्ट्रिय साक्षरताअभियान’ मार्फत सबैलाई साक्षर बनाउने लक्ष्यलिएको छ, जस अनुसार देशमा यतिखेर साक्षरहरुको सङ्ख्या करिब ८० प्रतिशतको हाराहारीमा पुगेको अनुमानछ। विद्यालय तथा विश्वविद्यालयहरुबाट शैक्षिक उपाधि हासिल गरेका र अनौपचारिक शिक्षामार्फत साक्षरता सीप हासिल गरेका सामान्य नागरिकहरु सबैलाई जीवनपर्यन्त शिक्षाको आवश्यकता पर्छ। जबकि सार्वजनिक तथा सामुदायिक पुस्तकालय यसको प्रमुख विकल्प हो भन्नेतर्फ सरकारको ध्यान पुगेको छैन।

यद्यपि नेपालमा पुस्तकालयबारे बेलाबखत हलचल ल्याउने प्रयासहरु नभएका होइनन्। यसको ज्वलन्त उदाहरणका रुपमा वि.सं. १९८६ को पुस्तकालय पर्वलाई लिन सकिन्छ। यसपश्चात् विभिन्न शिक्षाआयोगका प्रतिवेदन, योजना, नियमावलीआदिमा पुस्तकालयबारे धेरथोर कुरा उल्लेख भएको पाइन्छ। पुस्तकालय नीति, निर्देशिका, गुरु योजना, अभिलेख व्यवस्थापन निर्देशिका तथा पुस्तक नीति आदिलाई उपलब्धिका रुपमा स्मरण गरिन्छ। नेपालको नयाँसंविधान २०७२ मा पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने विषयउल्लेख हुनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइन्छ।

सरकारी स्तरबाट पुस्तकालयको पक्षमातयार पारिएका ती कागजी दस्तावेजहरुबारे समय-समयमा सभा, गोष्ठी, अन्तरक्रियाहरु भएका छन्। व्यक्तिका विभिन्न लेखरचना, पुस्तक आदि पनि प्रकाशित भइरहेका छन्।सार्वजनिक तथा सामुदायिक पुस्तकालयको संस्थागत विकास र व्यवस्थित शैक्षिक पुस्तकालयबारे विभिन्न क्षेत्रका आवाजहरु पनि सुनिंदै आएको छ। तर अचम्मको विषय आजसम्म बनेका  पुस्तकालय सम्बन्धी सरकारी दस्तावेजहरु कहाँगएर थन्किन्छन् – यस विषयको जबाफ कोहीसँग छैन। यसो हुनुका केही कारणहरु छन्।

विभिन्न समिति र आयोगहरुको काम सम्बन्धित निकायमा सिफारिस गर्ने र तत्तत ्निकायले कार्यान्वयन गर्ने हो। विचित्रको कुरा आजसम्मका सबै दस्तावेजहरु दराजको शोभा मात्र भएकाछन्। पुस्तकालयबारे बोल्ने पुस्तकालयकर्मीहरु पनि वर्षको एकपटक मनाइने पुस्तकालय दिवसमा जुर्मुराउने र त्यसपछि सेलाएर बसेको अवस्था छ। ज्ञानमा आधारित शिक्षितएवं सभ्य समाजको परिकल्पना गरिन्छ तर आम नागरिकहरुको जीवनपर्यन्त शिक्षाको अधिकारबारे सशक्त रुपमा बहस पैरबी हुँदैनन्। अको मुख्यकारण कुनै पनि नयाँ विषयलाई कार्यान्वयन गर्ने गराउने अस्त्र भनेको त्यस विषयको ऐनकानून नै हो। नेपालमा आजसम्म पुस्तकालय ऐन बन्न सकेको छैन।

पुस्तकालयको विषयमा हामी धेरै अलमलियौं। अब के गर्ने भन्न्ो प्रश्न आउँछ, जुन स्पष्ट छ। संघ र प्रदेशको समृद्धिका लागि आवश्यक ऐन कानून निर्माण र कार्यान्वयन गर्न संघीय तथा प्रदेश सरकारहरु स्वतन्त्र छन्। अब ढिला नगरी पुस्तकालय सम्बन्धी संघीय एवं प्रदेशस्तरीय ऐन, नीति, निर्देशिका, कार्यविधि, प्रकाशन सञ्चयकानून, मापदण्ड निर्धारण आदि जे जे आवश्यक पर्छ ती सबै तयार पारी इमान्दारीपूर्वक तिनलाई कार्यान्वयन गरौं।

पुस्तकालयको विषयमा हिजोसम्म जे भयो बिर्सिदिऊँ। देशको समृद्धि यात्रामा पुस्तकालयको के भूमिका हुन्छ -त्यसतर्फ बहस गरौं। बाल/शैक्षिक पुस्तकालयको माध्यमबाट बालबालिकाहरुलाई सानै उमेरदेखि पढ्ने बानीको विकासगर्न सक्यौं भने उनीहरुमा सृजनात्मकएवं विश्लेषणात्मक क्षमताको विकास भई समग्र शिक्षाको गुणस्तर वृद्धिहुन्छ र सार्वजनिक तथा सामुदायिक पुस्तकालयमार्फत आम नागरिहरुमा सकारात्मक सोचको विकास गराउन सकिन्छ। अध्ययनले मानिसलाई उज्यालोतर्फ डोर्‍याउँछ। पढ्ने मानिस विवेकशील हुन्छ। सबैलाई अध्ययनको अवसर प्रदान गरी सृजनशील, विवेकशील एवं संस्कारयुक्त बनाउन सकियो भने त्यहीनै समृद्धिको आधार हो।

- सूर्य क्षेत्री