सन्दर्भ : शहीद दिवसको

हुँदैन बिहानी मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुर्इ चार सपुत मरेर नगए। आज माघ १६ गते शहीद दिवस, यो देश निर्माणमा आफ्नो ज्यानको बलिदान दिने शहीदहरु जसले कल्पना गरेको देश हो नेपाल।

म यो धर्तीमा रहुञ्जेल नेपालआमाका आखाँ रसाउन दिने छैन, उनको मुहार सधै हसिलो राख्ने छु। नेपालआमाका प्रत्येक ढुकढुकी सँगै आफ्ना पाईला सधै सत्यताको पक्षमा अगाडि बढाउने छु। आफू जन्मेको धर्तीको अस्मिता रक्षाको लागि सधै अटल र निडर भइरहने छु। यही कसम खाएका थिए हाम्रा महान शहीदहरुले र उनीहरुको रगतमा थियो यो विचार।

अनि ती शहीदहरुले नासोको रुपमा दिएको यो धर्तीको अस्तित्व जोगाई राख्नु हाम्रो प्रमुख दायित्व र कर्तव्य हो। इतिहासका प्रत्येक काल खण्डमा नेपालआमाको सतीत्वको चिरहरण गर्न विभिन्न विदेशी बैरीहरुले ठूला ठूला युद्ध र आक्रमण गर्दै हाम्रो राष्ट्रियता माथि धावा नबोलेका हैनन् तर त्यसको प्रतिकारमा उत्रेर आफ्नो र आफन्तको ज्यानको कुनै परवाह नगरी हटेर हैन डटेर छातीमा गोलि थाप्दै यो देशको अस्मितालाई बचाई राखेका थिए र पो त आज हामी यो देशका स्वाभिमानी नेपाली बनेर आफ्नो शिर उचो राख्न सकेका छौ।

नालापानीको युद्ध देखि राणाहरुको १०४ बर्षे जहानिया शासनका बिरुद्धमा लड्दै आफ्नो स्वार्थ भन्दा निकै माथि उठेर देश र जनताकालागि सधैँ चिन्तित रहँदै यस धर्तीका धर्तीपुत्रहरुले, नेपालआमाका सपुतहरुले आफ्नो ज्यानको आहुती दिएका थिए। ती शहीदका रगतका प्रत्येक थोपाथोपाले सिंचितभएको यो धर्ती अनि तिनका रातो रगतले पोतिएका यहाँका प्रत्येक ढुङ्गा र इटांहरुको महत्व मेटिनु हुँदैन। दशैमा बलि दिएझँै गरी छयाप्प छयाप्प छिनिएका शरीरबाट निस्केको तातो रगतमा लत्पतिएर प्राण पखेरु उड्दै गर्दा धर्तीमाताको मुहार हेर्दै बिदा बिदा भन्दै बिदा हुँदै गर्दा छाडेका भावना र सपना पूर्ण गर्ने काम मेरो अनि हाम्रो हुनुपर्छ। शहीदको अर्थ श (शंखनाद,  हि (हिजैहो गरेको, द (दमनका बिरुद्घ पनि हुन सक्छ।

माघ १६ संझेर, अनि एक दुर्इ शब्द शहीदका बारेमा कोरेर अनि दुर्इचार शब्द शहीदका पक्षमा बोलेर शहीदप्रतिको श्रदाञ्जली बास्तवमा पूर्ण भएको मानिँदैन। जब सम्म यो देशको लागि केही योगदान दिन सकिँदैन भने। यो देशले मलाई के दियो हैन कि मैले यो देशलाई के दिएँ त्यो प्रमुख हुन्छ। प्रारम्भ देखि आजका दिनसम्मका ज्ञात अज्ञात शहीदहरुले यदि आफ्नो स्वार्थका बारेमा सोचेको भए आज देशले आफ्नो अस्तित्व गुमाई सकेको हुने थियो। अनि यो देशका रखवाला हामी र हाम्रो राष्ट्रियता र सार्वभौमसत्ता अर्काको हातमा गईसकेको हुने थियो। अनि म र हामी नेपाली नभई अरु कोही हुने थियौं, पराईका भईसकेका हुने थियौं।

शहीदको मर्म र तिनका बलिदानको कदर हुनुपर्छ , तिनको उचित सम्मान हुनुपर्छ। आज तपाई हामी बिचार गरौँ त, जो यो देशको शहीद बनेर गयो उसका सन्ततिका लागि कुनै उचित सम्मान भएको छ – कुनै राजनैतिक अस्तित्व दिईएको छ यो देशमा – शहीदको मर्म र भावनाको कदर गर्दै कुनै दल बिशेषको अनि कुनै एक वर्ग र जातजातिको स्वार्थनिहित  भावनालाई त्यागेर विशुद्घ नेपाल र नेपालीको अस्तित्व रहने गरी जनभावना अनुसार काम गरेमा शहीदको भावनाको उच्च कदर हुने कुरामा दुर्इमत हुने छैन। प्रत्येक वर्ष आउने शहीद दिवसलाई एउटा मुक्तिको महान अवसरको रुपमा लिँदै राष्ट्रिय भावनाबाट ओतप्रोत भई कुनै एउटा शुभकार्यको सुरुवात गरौं र शहीद दिवसको मार्मिकतालाई सफलीभूतपारौं। जय मातृभूमि।

- निरञ्जन थापा (सागर)