सक्षम युवा आजको आवश्यकता

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो। राष्ट्र संघकै घोषणाअनुसार हरेक वर्षको १२ अगस्टलाई अन्तराष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ। नेपालले सन् २००४ देखि यो दिवस मनाउन थालेको हो। गत  वर्ष ‘युथ विल्डिङ पीस’ भन्ने संयुक्त राष्ट्रसंघले तयार गरेको नारासहित नेपालले शान्ति र समृद्घमिा युवा भन्ने थप नारा बनाएर २०७४ को २८ साउनमा नेपालका ७५ ओटै जिल्लामा यो दिवस मनाइएको थियो।

यो वर्ष युवा तथा खेलकूद मन्त्रालयले सप्ताहव्यापी रुपमा युवा दिवस मनाउने निर्णय गरेपनि मुख्य रुपमा अगष्ट १२ तदनुसार २७ साउनका  दिन नेपाल राज्यभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ। यस वर्षका लागि युवा दिवसको नारा सेफ स्पेश फर युथ अर्थात् युवाहरुका लागि सुरक्षित स्थान भन्ने  रहेको छ। यस अघि संयुक्त राष्ट्रसंघको आहृवानमा अरु देशले १८ पटकसम्म र नेपालले १४ पटकसम्म यो विदस मनाइसकेको छ। अहिले हाम्रा सर्न्दर्भमा यो १५ औं युवा दिवस हो।

नेपालमा युवा दिवस

युवा भनेको सामान्यतया शारीरिक र मानसिक विकासका दृष्टिले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूह हो। यो जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह भित्र पर्दछ। संसारभर युवाको परिभाषा उमेरका आधारमा फरकफरक रूपमा गर्ने गरिएको पाइन्छ। नेपालमा  १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरिएको छ। कुल जनसंख्याका हिसाबले हेर्दा ४० दशमलव ३५ प्रतिशत यो समूहमा पर्छन्। यी मध्ये ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार रहेका छन्। बर्सेनी ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशिने गरेका छन्। यो दर हेर्दा लगभग प्रतिदिन १ हजार ५ सयको हाराहारीमा युवाहरू विदेशिने गरेको तथ्यांकले देखाउँछ।

जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्या रहेको, अत्यधिक ऊर्जावान जनसंख्याभित्र पर्ने यो वर्गलाई बाहिर पलायन हुनबाट जबसम्म रोक्न सकिँदैन, तबसम्म मुलुकले गति लिन सक्दैन। आजका युवा नै भोलिका राष्ट्रका कर्णार हुन्। उनीहरूलाई उचित शिक्ष दीक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृिद्घमा सरिक गराउनु आजको आवश्यकता हो। युवा दिवस मनाउनुको सार्थकता पनि यसैमा छ। तर आजसम्मका १५ औँ यस्ता कुनै पनि दिवसले युवालाई विदेश पलायन हुनबाट रोक्न ,थाम्न भने सकेको पाइदैन। बरु प्रत्येक वर्ष विदेश जाने युवाहरुकै भिड कहालीलाग्दो रुपमा देखिएको छ।

संस्था बढे, उपलब्धि बढेन

आज युवाका क्षेत्रमा काम गर्ने अनेकौं संस्थाहरु जन्मेका छन्। तर सबैले के काम गरे अत्तोपत्तो पाउन सकिएको अवस्था छैन।  सुरुमा शिक्षा तथा खेलकूद मन्त्रालयको एउटा शाखाले मात्र युवासम्बन्धी गतिविधि हेर्ने गथ्यो। युवाको कामकै लागि भनेर २०६५ मा सरकारले युवा तथा खेलकूदमन्त्रालयको स्थापना पनि गर्‍यो। मन्त्रालयको स्थापनासँगै राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आए। युवाका क्षेत्रमा काम गर्ने गरी राष्ट्रिय युवा परिषद् ऐन २०७२ ल्याइयो। राष्ट्रिय युवा नीति २०७२ ल्याइयो।

यसैका आधारमा युवा तथा खेलकूद मन्त्रालय मातहत रहने गरी २०७२ फागुनबाट राष्ट्रिय युवा परिषद्को स्थापना गरियो। यसले मन्त्रालयले तय गरेको युवा नीतिलाई कार्यान्वयन गर्ने काम गर्न थाल्यो। परिषद्अन्तर्गत रहने गरी जिल्ला युवा समिति र यसका कार्यालयहरू मुलुकका ७५ वटै जिल्लामा खोलिए। सीप विकास तालिम, युवा उद्यम, युवा परामर्शजस्ता कार्यक्रमहरू जिल्ला तहमा युवा कार्यालयले गत वर्ष सम्पन्न गरिसकेका छन्। युवा प्रतिभाको खोजी र सम्मान,राष्ट्रपति महिला युवा उद्यम कार्यक्रम,उपराष्ट्रपति युवा पुनस्थापना कार्यक्रम,एक निर्वाचन क्षेत्र एक वडा ५ युवा उद्यम कार्यक्रम, युवा सीप विकास तालिमलगायतका कार्यक्रमहरु सञ्चालनमा त छन तर यी कुनै पनि कार्यक्रमबाट युवाहरु लाभान्वित हुन सका छैनन्।

आज युवाका लागि काम गर्ने भनेर एकातिर केन्द्रमा युवा तथा खेलकूद मन्त्रालय स्थापना गरिएको छ। युवाकै लागि काम गर्न केन्द्रमा विभागीय कार्यालयका रुपमा युवा परषिद् र स्थानीय तहमा युवा कार्यालयहरू छन्। सरकारी यी निकायमार्फत कार्यक्रम कार्यान्वयन हुन जरुरी, आवश्यक र सम्भावना पनि थियो। तर युवाका नाममा काम गर्ने गरी कैयौं कार्यक्रम अन्य सरकारी संस्थामार्फत वितरण गरिएको पनि पाइन्छ। युवा स्वरोजगार कोष, गरीबी निवारण मन्त्रालयमार्फत जाने कार्यक्रम, श्रम मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय समेतबाट कहीँ सोझै त कतै एकाई गठन गरेर युवाका नाममा कार्यक्रम वितरण हुने गरेको पाइएको छ।

वास्तविक युवाको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा स्वरोजगारका सीपमूलक कार्यक्रमहरू सञ्चालन गरी प्रतिदिन १५ सयका हाराहारीमा विदेशिने गरेका आजका युवालाई स्वदेशमा टिकाउन सके मात्र वास्तविक रूपमा युवा दिवसले सार्थकता पाउने छ। शान्ति र समृद्घमिा युवाको सहभागिता रहेमा मात्र यो दिवस मनाएको औचित्य पुष्टि हुनेछ।

- नगेन्द्रराज पौडेल