संरक्षण अभियानमा खाष्टे, न्यूरिनी

पोखरा-लेखनाथ उपत्यकामा रहेका आठ वटा तालमध्ये चौथो ठूलो तालमा पर्दछ, खाष्टे। हेर्दा एउटै स्वरुप र आकृति देखिने तर छुट्टाछुट्टै पानीको स्रोत भएको, सानो थुम्किलो धारले छुट्टाएको न्यूरिनी ताल पनि खाष्टेसँगै जोडिएर रहेको छ। दुर्इ भिन्दाभिन्दै अस्तित्वमा रहेका यी दुर्इ तालको आकार, स्वरुप र प्रकृतिलाई हेर्दा जो कोहीलाई पनि अचम्म लाग्नु स्वभाविकै हो। खाष्टे, न्यूरिनी ताल पोखराबाट करिब आठ किमी पूर्व दुरीमा पर्दछ भने पोखरा-लेखनाथ उपत्यकाको बूढीबजार र लेखनाथ चोकबाट दुर्इ किमी पूर्वपट्टि अवस्थित छ। खाष्टे तालको नामाकरण, स्वरुप, आकार प्रकार र गौरवको कुरा गर्दा यहाँका पुराना अग्रजको स्मरण हुन्छ र ‘खाष्टे’ नाम रहन गएको सर्न्दर्भ सुन्दा अनौठो लाग्दछ।

समाजशाष्त्रीहरुको अनुसन्धानअनुसार तालको पानीमाथि खाष्टोले ढाकेजस्तो देखिने गरीे जालोले पानीलाई ढाकेर रहेको हुँदा यस ताललाई खाष्टे ताल भन्ने गरिएको पाइन्छ। तालको स्वरुप, आकार र प्रकृति हेर्दा खाष्टो ओडेर बसेको जस्तो आवरण देखिने भएको हुँदा पनि खाष्टे नामाकरण हुन गएको भन्ने तर्क छ। केही समाजशाष्त्री र स्थानीय बुढापाकाको भनाइअनुसार प्राचीन कालमा यस क्षेत्रमा ‘खाष्टी’ नाम गरेका ऋषिले तपस्या गरी बसेको ठाउँ भएको हुँदा तीनै ऋषिको नामबाट खाष्टीताल भन्दै गर्दा पछि खाष्टे ताल नामाकरण हुन पुगेको हो भन्ने पनि पाइन्छ। यस तालको परिसर वरपर प्राचीन कालमा ऋषिमुनिले तपस्या गरी बसेको पुण्यभूमि भएको हुँदा यस तालको पूर्वपट्टकिो सानो डाँडाको नाम पनि ऋषिडाँडा रहन गएको हो। यही ऋषिडाँडालाई मानिसहरुले बोल्नेक्रममा पछि राखिडाँडा भन्न थालेका हुन। तर यो डाँडाको नाम वास्तवमा ऋषिडाँडा नै हो। खाष्टे तालसँगै जोडिएर रहेको न्यूरिनी ताल साविक राखी गाउँ पञ्चायतको बरालडाँडा र पैते डाँडाबाट तल खोचमा नजर लगाउँदा केही झुकेर रहेको जस्तो आकृतिमा देखिने भएको हुँदा यस तालको नाम न्यूरिनी ताल रहन गएको हो भन्ने भनाइ छ। खाष्टेतालको कुल क्षेत्रफल चार सय १९ रोपनी र न्यूरिनी तालको एक सय ५० रोपनी क्षेत्रफल रहेको तथ्यांक साविक लेखनाथ नगरपालिकाको अभिलेखमा रहेको पाइन्छ।

पोखरा-लेखनाथ महानगरपालिका वडा नं-२६, स्थित उत्तरतर्फ कन्दानीडाँडा, पूर्वमा ऋषिडाँडाको आधार स्तम्भ र दक्षिणमा मनोरम उर्भर भूमि खराने फाँटको सिरमा सु-सज्जित छ खाष्टे, न्यूरिनी। खाष्टे तालको आफ्नै आकार, स्वरुप र गहिराइका विन्दुहरु छन्, जुन नितान्त मौलिक छन्, सुन्दर छन् र संसारको कुनै पनि रमणीय ठाउँभन्दा अझ बढी रमणीय र आनन्ददायिक छन्। खाष्टे तालको उत्तरपट्टि रहेको राखी-मिजुरे पक्की ग्रामीण सडक पैदलयात्रा गर्दै कालिकाको देउराली डाँडाबाट खाष्टेतालको दृष्यमा गहिँरिदा मानिस प्रकृतिमा हराउँछ र संसारको कुनै पनि रमणीय ठाउँको याद बिर्सदछ। धार्मिक दृष्टिकोणले पनि खाष्टेताल पवित्र जलले सिंचित छ। खाष्टेताल स्मरण गर्नेबित्तिकै जो कोहीले पनि देख्दछन् पहिला खाष्टे ताल अनि त्यसकोे बीचमा रहेको सानो थुम्को र सो थुम्कोमा निर्माण भएको ताल वाराही मन्दिर र मन्दिर वरपर लटरम्म फुलेका कमल फुलको सुगन्ध वासनासहित विभिन्न प्रजातिका चराचुरु·ीलेे तालमा डुबुल्की खेल्दै रमाइरहेको दृष्य र खराने फाँट उर्वरभूमि, ऋषिडाँडा, कन्दानीडाँडा, कविशिरोमणि लेखनाथ पौडेलको जन्मभूमि अर्चले अनि कास्कीको सुन्दर पर्यटकीय गाउँ कालिकासमेतका झलकका आभास अनेक रंग, स्वाद र भावले लिने गर्दछन् र त्यो दृष्य हेर्दा मानिसमा एक प्रकारको रोमाञ्च पैदा गर्दछ। खाष्टेताल विभिन्न प्रजातिका चराहरु बसोबास गर्ने स्थान पनि हो। भनिन्छ, यहाँ जाडो समयमा भारतका विभिन्न ठाउँबाट चरा बस्न आउने र गर्मी लागेपछि पुनः भारततिर नै र्फकन्छन् भन्ने विशेषज्ञको भनाइ छ। धार्मिक दृष्टिकोणले खाष्टे तालवाराही कास्कीकै जेठी ताल वाराही हुन्। तर प्रचारप्रसार र दिगो विकास हुन नसक्दा यो मन्दिरको ऐतिहासिक महत्व अझै पनि ओझेलमा परेको छ। यस क्षेत्रका स्थानीय व्यक्तित्व बुद्धिनाथ लामिछानेको संयोजकत्वमा आमा समूहलगायत स्थानीयबासीको पहलमा मिति २०५४ सालमा खाष्टे तालवाराही मन्दिर निर्माण गरिएको थियो। त्यसपछि क्रमशः यस मन्दिरको जीर्णोद्वार गर्ने र थप आधुनिक र कलात्मक बनाउँदै जानेक्रममा पोखरा निवासी राजेश गुरुङलगायत अन्य थुप्रै स्थानीय व्यक्तिको योगदान स्मरणीय छ। खाष्टेतालमा भदौदेखि कात्तिक महिनासम्म प्रशस्त कमलका फूल फुल्दछन्। भनिन्छ, विष्णु भगवान् जलमा बस्दछन् र कमल फूल विष्णु भगवान्को नाभिस्थानबाट उत्पत्ति भएको हो। तसर्थ खाष्टेताल कमल फूलको ताल पनि हो। यसको जल आफैमा पवित्र छ र निर्मल छ। खाष्टे तालको स्वरुप, आकृति, प्रगति र गौरवका कुरा गर्दा यसको जगमा रहेका कर्मठ अग्रज व्यक्तिहरुका अनुभव र अनुहार स्मरण हुन्छ। कन्धानीडाँडा र ऋषिडाँडा सौर्न्दर्यको गोथमा, खराने फाँटको सिरमा सजिएर रहेको खाष्टे ताल हेर्दा नयनको तिर्खा नमेटिने औलोकिक दृष्यहरुलाई आधुनिक काँचको पर्दामा समेट्दाको दृष्य जस्तै स्वभायमान र अटल छ।

यस किसिमका प्राकृतिक सम्पदाहरुको संरक्षण, सर्म्बर्द्धन र संस्थागत गर्न राज्यले ठोस किसिमको पहल नगर्नु र स्थानीय समुदायमा समेत अपनत्वको भावना जागरुक नहुँदा खाष्टे, न्यूरिनी ताल क्रमिकरुपमा पुरिँदै जाने र अन्ततः लोप नै हुन सक्ने चुनौती बन्दै गएको थियो। २०३६ सालमा कालिकाको दुरारुख -धुँवाखोला) डाँडाबाट खसेको ठूलो पहिरो सोही स्थानहुँदै वग्दै आएको गडुवा खोलाले भलवाडी बगाउँदै ल्याएर खाष्टेतालको पानिको निकास तालखोला नै पुर्ने र तालभित्र गडुवा खोला पसेर तालको निकास ठप्प बन्द हुन गई ताल नै पुरिन सक्ने स्थिति हुन गयो। क्रमशः ताल पुरिदै जाने र अव्यवस्थित किसिमले तालमा माछा मार्ने व्यथितिको सामाजिक संस्कार मौलाउँदै गएको हुनाले तालको सौर्न्दर्यता र महत्वलाई संस्थागत गर्न र यस ठाउँमा पर्यटन प्रवर्द्धनको विकास गर्न समेत ठूलो चुनौतीको विषय बन्दै गयो। पछिल्लोक्रममा विस्तारै तालको अस्तित्व नै समाप्त हुन सक्ने चुनौती बढ्दै गएको हुनाले तत्कालीन लेखनाथ नगरपालिकाले २०५५ सालमा खाष्टे उद्यम प्रालीलाई व्यवसायिक तरिकाले माछापालन व्यवसाय सञ्चालन गर्न सक्ने गरी २० वर्ष अवधिको लागि भाडामा जिम्मा लगाएको थियो। सोही समयदेखि खाष्टे न्यूरिनी तालको संरक्षणको सुरुवात भएको हो। खाष्टे उद्यम प्रालिका प्रोपाइटर नवराज पौडेलले तालमा सानो माटोको बाँध लगाई, तालको जालो हटाउनेजस्ता कार्य गरी आधुनिक तरिकाले माछापालन कार्य शुरु गर्दा शूक्ष्मरुपमा भए पनि केही संरक्षण भएको अनुभूति भएको थियो। तर उनले सो कामलाई निरन्तरता दिन सकेनन् र बीचमै सम्झौता रद्द भई संरक्षणको अभाव खड्कियो र पुनः अलपत्रको स्थितिमा पुग्न गयो। ताल संरक्षण र विकासको लागि न त ! स्थानीय निकायले चासो देखाउन, न त ! स्थानीय समुदायले नै उत्तरदायित्व लिने अवस्था सृजना हुन पुग्यो। पछि विस्तारै स्थानीयबासीको पहलमा नगरपालिकालगायत विभिन्न दातृनिकायसँग समन्वय गरी प्राप्त अनुदान सहयोगबाट केही पक्की किसिमको माटोको बाँध लगाउने कार्य प्रारम्भ भयो। ताल संरक्षणको क्रममा साविक लेखनाथ नगरपालिकाबाट तालको सम्पूर्ण क्षेत्र नापजाँच गरी तालको सीमांकन छुट्टाउने कार्यसमेत सम्पन्न भएको छ। ताल संरक्षण गर्ने र त्यसको संस्थागत विकास गरी तालबाट बहुआयामिक किसिमले आर्थिक लाभ आर्जन गर्ने र सो ठाउँमा पर्यटन प्रबर्द्धन गरी स्थानीयबासीको आर्थिक तथा सामाजिक सशक्तिकरण गर्दै जाने दीर्घकालीन सोचका साथ २०७३ साल असोज १७ गते स्थानीय सामाजिक व्यक्तित्व हरिप्रसाद अधिकारीको अध्यक्षतामा ‘खाष्टे न्यूरिनी ताल संरक्षण विकास समिति’ संस्था जिल्ला प्रशासन कार्यालय, कास्कीमा विधिवत दर्तासमेत भएको छ। उक्त समितिमा पंक्तिकारसमेत रही कार्य गरिरहेको छु।  तालको संरक्षण, सर्म्वर्द्धन र दिगो विकास एवं तालवाराही मन्दिरसमेत संस्थागत र कलात्मक बनाउँदै लैजाने र ताल वरपरको पर्यावरण कामय गरी खाष्टे तालमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयबासीले तालबाट बहुआयामिक किसिमलेे आर्थिक तथा सामाजिक लाभ लिने ध्येयका साथ खाष्टे न्यूरिनी ताल संरक्षण विकास समितिअन्तर्गत ‘खाष्टे ताल मत्स्य तथा कृषि सहकारी संस्था’ समेत गठन गरी कार्य अगाडि बढिसकेको छ। यो संस्था सहकारी डिभिजन कार्यालय, कास्कीमा विधिवत्रुपमा दर्तासमेत भएको छ। सहकारीको माध्यमबाट खाष्टे तालमा विभिन्न प्रजातिका माछापालन व्यवसाय गर्ने, सहकारीमा संलग्न सदस्यहरुबाट बचत सकंलन गर्ने र कृषिसँग सम्बन्धित आयआर्जनका क्रियाकलापहरु सञ्चालन गर्न ऋण परिचालन गरी स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने दीर्घकालीन सोचका साथ कार्य प्रारम्भ अगाडि बढिसकेको छ। यसै सर्न्दर्भमा हाल खाष्टे तालमा विभिन्न प्रजातिका एक लाख माछाका भुरासमेत छोडिएको छ। सन् १९७६ मा इरानको रामनगर सहरमा विश्वका विभिन्न मुलुकका प्रतिनिधिको सम्मेलनले विश्वमा ऐतिहासिक महत्व राख्ने प्राकृतिक तथा मानवनिर्मित पृथक विशेषता भएका उत्कृष्ट सम्पदालाई ‘रामसार’ मा सूचीकृत गर्ने भन्ने निर्णय भएको थियो। सोहीअनुरुप २ जनवरि, २०१६ मा खाष्टे, न्यूरिनी ताल पनि रामसार सूचीमा सूचीकृत भैसकेको छ। खाष्टे ताललाई रामसार सूचीमा सूचीकृत गर्न सिफारिस गर्ने नेपालका तर्फबाट वातावरणविज्ञ महेश्वर ढकालको अध्ययन अनुसन्धान र सिफारिसलाई समेत स्मरण गर्न जरुरी छ।

खाष्टे ताल संरक्षण सर्म्बर्द्धन र यसको दीर्घकालीन विकासको लागि ५ वषे गुरुयोजनासमेत तयार भइसकेको छ।  न्यूरिनी ताल र खाष्टे तालबीचमा शोभायमानको रुपमा रहेको तालवाराहीको संस्थागत विकास गर्न सकेमा मात्र यस क्षेत्रको समग्र विकासको सम्भावना रहन्छ। पर्यटन : प्राकृतिक र सांस्कृतिक धरोहरको आधारमा पर्यटकको चाहना र आवश्यकता परिपूर्र्ति गर्न वस्तु तथा सेवाको पृष्ठपोषणमा अंकुरण भई हुकने बहुआयामिक व्यवसाय हो। पर्यटन विकास र विस्तारको लागि प्राकृतिक, सांस्कृतिक धरोहरहरुको संरक्षण, जिणोद्वार तथा सर्म्वर्द्धन गर्न सक्नु पर्दछ। तबमात्र पर्यटन विकासको दीगोपन र दीर्घकालीन विकासको सम्भावना रहन्छ। खाष्टेताल कस्केलीको गौरव हो अनि अपार सम्पति पनि।

अब खाष्टे, न्यूरिनी तालको विकासको लागि स्थानीय जनताहरुमा जागरण उर्लेर आउनु पर्दछ। ताल सर्म्वर्द्धनको लागि राज्यका विभिन्न निकायलाई घचघच्याउनु पर्ने बेला आएको छ। खाष्टे, न्यूरिनी तालको विकासको सोच गर्दा हामीले अहिल्यै अभियान चलाउनु पर्दछ। भविष्यको दृष्टिकोण आँकलन पूर्व नै हुन राम्रो हुन्छ। विकासका प्रयत्न संस्थागत सोचका साथ निश्चित कार्यक्रमलाई योजनावद्धरुपले अगाडि बढाएर लैजाने सोचको थालनी हुनु पर्दछ। स्थानीय तहको भूमिका, स्थानीय संघसंस्था र उपभोक्ताहरुको योगदान र दृष्टिकोणलाई पनि योजनामा समेट्न सक्नु पर्दछ। यो यहाँका स्थानीयबासीको बहस, समझदारी, निर्णय र कोशिसको विषय हो। तसर्थ : खाष्टेतालको विकासको लागि तयार गरिएको पाँचवषे गुरुयोजना प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्ष गम्भीर हुन आवश्यक देखिन्छ।

वर्तमान अवस्थामा खाष्टेताल मन्द मुस्कानका साथ यथास्थानमा विराजमान छ र यसका मुनाहरु मौलाउँदै छन् र फैलदै छन्। पोखरेलीहरु खाष्टेतालको दिगो विकासको चाहना गर्दछन् र सुन्दर तालको सपना कोर्दछन्। हुन त विकास मानिसको प्रयत्नको साथै समयको अन्तरालले ल्याउने एउटा परिणति हो। खाष्टे ताल पर्यटन प्रवर्द्धनको लागि प्रचूर सम्भावना भएको ठाउँ हो।  तालमा पर्यटक आर्कषित गर्नको लागि तालको वरिपरि पैदलमार्ग (रिङ्गरोड) निर्माण गर्ने, तालवाराही मन्दिर थप व्यवस्थित, कलात्मक बनाउदै लैजाने, मन्दिरमा जान आउन डुंगा प्रयोग गर्ने, तालको बाँध र वाराही मन्दिर जाने आउने बाटो व्यवस्थित गर्ने र सो बाटोको वरपर होम स्टेलगायत आधुनिक र सुविधायुक्त होटल र कटेजहरु निर्माण गर्ने, नेपाली समाजमा लोपोन्मुख हुँदै गएका भौतिक एवं सांस्कृतिक वस्तु जस्तैः ढिँकी, जाँतो, काठको मधुश, काठको ठेको, मधानी, माटोको घैंटो, सिलौटो, ओखल, माधल, काठका खराउ, पञ्चेवाजा, खैजेरी, मुजुरा, डोको, नाम्लो, परालको गुन्द्रीलगायत विभिन्न समुदायको मौलिक संस्कृति झल्कने किसिमका पुरातात्विक सांस्कृतिक वस्तुहरुलगायत नेपाली संस्कृतिहरु झल्कने किसिमका सामग्री संकलन गरेर ताल नजिक संग्रहालयमा सजाएर राख्नेजस्ता कार्यहरु गर्नु जरुरी छ।  वर्तमान अवस्थामा खाष्टेताल वरपर खराने फाँटको वस्ती क्रमशः सहरी विकासतर्फ उन्मुख भइरहेको पनि छ। तसर्थ खाष्टे, न्यूरिनी तालको सुन्दरता बढाउन र यसको संस्थागत विकास गर्न यहाँका आमनागरिक समाज, स्थानीय राजनीतिक कार्यकर्ता, बुद्धिजीवीलगायत राज्यका सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी छ।

(लेखक समाजशास्त्री हुनुहुन्छ। सं.)

- बुद्धिसागर भण्डारी