शिक्षासेवी केदारप्रसाद बजिमय

जीवनलाई संघर्ष र सुन्दर कलाको मिश्रणका रूपमा लिनुहुने श्रद्धेय शिक्षासेवी केदारप्रसाद बजिमयजी अहिले हरपल समाजप्रति समर्पित भएर नै जीवन सार्थक बनाउन सकिन्छ भन्ने मान्यता राख्नु हुन्छ।

एकतन्त्रीय राणा शासन बिरुद्ध जनचेतना जगाउन २००५ सालबाट नेपाली कांग्रेसका नेता श्री भद्र शर्मा, श्रीकान्त अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका सस्ंथापक कमरेड पुष्पलाल श्रेष्ठ पोखरा आउने गरेको उहाँ वताउनु हुन्छ। विशेष गरी पुष्पलाल उहाँको घर नालामुख बस्ने गर्नुहुन्थ्यो। उहाँको संगत र आतिथ्यताका कारण बजिमय र उहाँका दाजु मथुराप्रसाद राणाहरूका विरुद्ध सक्रिय भएर लाग्थे।

वि.सं. १९९१ बैशाख अक्षय तृतीयाका दिन पिता कृष्णलाल र माता गजेन्द्रकुमारीका कोखबाट जन्मनु भएका शिक्षासेवी बजिमय तीक्ष्ण बुद्धिका  बालक थिए। केदारलाई अभिभावकहरूले विन्दुवासिनी अर्चलवोटमा गुरु राजाराम रेग्मी कहाँ पढ्न पठाए। त्यस पछि उहाँले विन्दुवासिनी संस्कृत पाठशालामा अमरकोश, लघुकौमुदी जस्ता ग्रन्थ पढ्न पाउनु भयो। तर व्यापार व्यवसाय पनि हेर्नुपर्ने हुदाँ उच्च शिक्षा हासिल गर्ने अवसर मिलेन। तर पुष्पलाल जस्ता केन्द्रीय नेताहरूका संगतका कारण उहाँमा चेतनाको स्तर उच्च थियो। केही युवा साथीलाई लिएर उहाँले वि.सं.२००६ सालमा आदर्श पुस्तकालय स्थापना गर्न सफल हुनु भयो। पुस्तकालयका आजीवन सदस्य बजिमय आदर्श पुस्तकालय हाल सम्म पनि जेनतेन चलेकोमा खुसी हुनुहुन्छ भने विकास र विस्तार हुन नसकेकोमा दुःखी पनि।

वि.सं. २००७ सालको राजनैतिक परिवर्तन पछि नेपालमा शैक्षिक तथा सामाजिक जागरणमा आमूल परिवर्तन आयो। उहाँ नदीपुरको विहार (हाल धर्मशीला वुद्धविहार) मा दैनिक रूपमा सत्संग र ध्यान सिक्न जाने गर्नुहुन्थ्यो। त्यस वेला विहारमा ४/५ जना चेलीहरूलाई धर्मशीला गुरुमाले पढाउने गर्नुहुन्थ्यो। त्यस बेला छोरी, चेलीहरूले पढ्न हुदैन भन्ने ठूलाठालुहरूमा आम धारणा थियो। पढेपछि प्रेमपत्र लेख्ने गर्छन् र पोइला जान्छन् भन्ने यहाँको जनमानसमा गलत विचारधारा विद्यमान थियो। केटीहरूलाई घर बाहिर जाने स्वतन्त्रता थिएन।

त्यसवेला धर्मशीला गुरुमा, पं.ऋषिकेशव पराजुली, केदार बजिमय, भिक्षुणी यशोमती, अमृतशीलाहरूले सोचे-नारी शिक्षाका लागि मात्र स्कूल खोले अभिभावकहरूले कसो नपठाउलान् – हामीहरू घरघर गई चेलीवेटीहरूलाई पढ्न पठाउन आग्रह गरौं। यस्तो विचार राखेर हामीहरू कन्या स्कुल खोल्न सहमत भयौं। वि.सं. २०१४ साल भाद्रमा नारायण स्थानको पौवामा विधिवत कन्या स्कूल खोलिएको  बजिमय बताउनु हुन्छ। उहाँका अनुसार त्यस वेला ११ जना छात्रा थिए भने शिक्षिकाका रूपमा गुरुमा धर्मशीला, यशोमती,अमृतशीला, किशोरी श्रेष्ठ आदि थिइन्। त्यस पछि हाल कन्या मा.वि रहेको स्थानमा खरको कटेरा बनाई पठनपाठन शुरु गराईँन्छ। पहिला स्कूलको नाम पोखरा कन्या स्कूल थियो। पछि श्री ५ रत्नराज्य लक्ष्मी कन्या स्कूल नामाकरण गरिएको बजिमय बताउनु हुन्छ।

विद्यालयका पूर्व शिक्षक कविवर तेजनाथ घिमिरेको भनाइ अनुसार वि.सं. २०१९ साल अषाढमा राजा महेन्द्र र रानी रत्न राज्यलक्ष्मी विद्यालयमा सवारी हुदाँ सहसचिव केदार बजिमयले विद्यालय आर्थिक संकटले गुज्रिरहेको र विद्यालयको स्तरोन्नति गरी मा.वि.सम्म हुनुपने माग राखी विन्तीपत्र चढाए। तत्काल महारानीबाट केही आर्थिक सहयोग भयो भने मा.वि. सम्मको स्वीकृति पनि प्राप्त भयो।

वि.सं. २०१४ आषाढबाटै बजिमयले विद्यालयको विकास र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। वि.स २०१८ सालबाट उहाँले सचिवको भूमिका पनि खेल्नु पर्‍यो। त्यस अवधिमा विद्यालयले फड्को मार्‍यो। वि.सं.०६६ साल भाद्र ४ गते विद्यालयले स्वर्णयजयन्ती मनाउँदा केदार बजिमयलाई विशेष सम्मान प्रदान गरिएको कुरा पनि तेजनाथ घिमिरेले स्मरण गराउनु भएको छ।

त्यस्तै वि.सं. २०१६ सालमा नारीहरूमा चेतना जगाउनुका साथै उनीहरूका हकहित बढाउने पवित्र उद्देश्यले नारी विकास पुस्तकालय स्थापना गर्नुभयो। केही वर्ष पछि तेसापट्टीमा स्थापित उक्त पुस्तकालय लक्ष्य अनुरूप चल्न नसकेका कारण नालामुखमा रहेको चेतनशील पुस्तकालयमा समपण गरियो। त्यसको केही वर्ष पछि चेतनशील पुस्तकालय पनि आदर्श पुस्तकालयमा मिलाईयो।

त्यस्तै वि.सं.२०१६ सालमा पोखरा नालामुख स्थित शिव मन्दिरको जिणोर्द्धार तथा पुनर्निर्माण गर्ने काममा पनि बजिमय सक्रिय भएर लागेको देखिन्छ। त्यो पुरानो शिवालय तीनसय वर्ष पहिले वृषराम खत्रीले स्थापना गरेको बूढापाकाहरू बताउँछन्। पुराना शिलापत्रहरू केही भेटिएका केही हराएका र मन्दिर पूर्णरूपमा भत्किएर अलपत्र रहेको  अवस्था थियो। बजिमयले काठमाडौंवाट ओभरसियर सहित सिपालु कालीगढ मगाई नापनक्सा स्टेमेट गरी मन्दिरको पूर्ण निमार्णयगर्ने कार्यमा दत्तचित्त भएर लाग्नुभएको थियो। आज यो मन्दिर भव्य एवं आर्कषक रहेको छ भने श्रद्धालुहरू नियमित पूजाआजा र अर्चनागर्ने गर्दछन्।

बजिमयले साहित्यमा पनि रुचि राख्ने गर्नुहुन्छ। विभिन्न पत्रपत्रिका तथा स्मारिकामा उहाँका थुपै्र लेख रचना प्रकाशित भएका छन्। उहाँले यस पंक्तिकारको “ताल वाराही” र “मन्दिर यस्तो होस्”नामका दुर्इ पुस्तक प्रकाशन गर्नु भएको छ। उहाँका लेखहरूमा विशेष गरी सांस्कृतिक ऐतिहासिक विवरण पाईन्छ।

धार्मिक, सांस्कृतिक स्वभावका बजिमय परम्परागत सनातन परम्परामा अटल विश्वास एवं श्रद्धा राख्ने गर्नुहुन्छ। पोखराको परम्परागत जात्रा, पर्वमा सहभागी हुने गर्नु हुन्छ। टोलवाट आयोजना गरिने गाईजात्रा, माघेजात्रा, भैरवजात्रा, गणेशजात्रा, वाघजात्राजस्ता मेला पर्वका साथै जन्माष्टमी शोभायात्रामा सहभागी हुनाका साथै सक्दो आर्थिक सहयोग गर्ने गर्नु हुन्छ।सामाजिक संस्कारलाई युगानुकूल बनाउने ऐतिहासिक मन्दिर, गुम्वा, विहारहरूको संरक्षण हुनुपर्ने उहाँको धारणा छ। उहाँका भनाई अनुसार नेपालका प्राकृतिक सम्पदा, हिमश्रृखंला, तालतलैया, जैविक विविधता, हराभरा पहाड,समथल भूमिदेखि मेचीकाली जस्ता पवित्र नदीहरू राष्ट्रका गौरव हुन्।

त्यस्तै नेपाली परम्परा, जातीय संस्कार, रीतिरिवाज, भाषा, भेषभूषा खानपान, गान बजान, नृत्य, भजन, बालुन आदि  यी सबै नेपालीका मौलिक संस्कृति रहेको कुरा बजिमय ठान्नु हुन्छ। बजिमयका अनुसार प्राकृतिक सम्पदा र संस्कृतिको धनी देश नेपाल जुन नेपालको मौलिक पहिचान हो। जसलाई हरेक नेपालीले संरक्षण सर्म्बर्धन गर्नुपर्दछ। धेरै संघ संस्थामा आबद्ध बजिमय शिव मन्दिर संरक्षण समितिका आजीवन सदस्य हुनुका साथै हाल उहाँ सल्लाहकारका रूपमा हुनुहुन्छ।

बजिमयले वि.सं. २०४९ मा पर्यटन पूर्वाधार समितिको कार्यकारिणी सदस्य भएर पोखराको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ। उहाँ भन्नु हुन्छ, २०५९ साल कार्तिक ७ गते ०४६ सालको आन्दोलनका कमाण्डर, सर्वमान्य नेता गणेशमान सिहंको पोखरामा शालिक स्थापनाका लागि पोखरामा २००७ सालको ऐतिहासिक आन्दोलन शुरु भएको स्थान नालामुख र ठूलो चौतारीमा -जहाँ जो नेता आएपनि सभा गर्ने गर्दथे) नेपाली काग्रेसका सचिव सुरेन्द्र भारीसंग परामर्श गरेपछि एउटा भेलाद्वारा उपर्युक्त गणेशमान सिहं प्रतिमा निर्माण समितिको सल्लाहाकारमा बजिमय छानिनु भएको थियो।

उहाँको राय सुझाव अनुसार त्यस ठाउँमा  नेता सिहंको शालिक राखिएको छ। २०१८ सालमा नेपाल रेडक्रसका कार्यकारिणी सदस्य बनेका बजिमय २०६३ सालमा नेवाखलः कास्की, बूढानीलकण्ठ संरक्षण समितिका आजीवन सदस्य लगायत थुप्रै संस्थामा संलग्न हुनुहुन्छ। धार्मिक तथा सामाजिक कार्यमा दान सहयोग गर्दै आउनु भएको छ। उहाँको धार्मिक, सामाजिक, शैक्षिक योगदानको कदर स्वरूप थुप्रै संघसंस्थाले कदर पत्र, सम्मान पत्र प्रदान गरेका छन्। ०६५ साल भाद्र १५ गते  राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पोखरा सार्वजनिक पुस्तकालय सञ्चालन समितिले विशेष कार्यक्रमको आयोजना गरी उहाँलाई सम्मान गरेको थियो भने २०६८ साल कार्तिक ५ गते सनातन धर्म सेवा समितिले सनातनश्री सम्मानबाट सम्मानित गरेकोथियो।

सानै उमेर देखि केदार बजिमय पेशा, व्यवसायमा लाग्नु भएको देखिन्छ। २०११ सालबाट नै भैरहवा, बुटवल पुगेर सामान ल्याउनु हुन्थ्यो। यातायातको सुगम व्यवस्था नभएको अवस्थामा खच्चड या भरियाबाट सामान ओसारेर सुपथ मूल्यमा बेच्ने गर्नुहुन्थ्यो। उहाँको सरल, हँसिलो व्यवहारबाट ग्राहक सन्तुष्ट हुन्थे। उहाँ  लगनशीलता र इमान्दारितापूर्वक कार्य गर्ने गर्नुहुन्छ।  उहाँले दाजु मथुराप्रसाद र मामा ललितकुमार बाटाजूसंग मिलेर पोखरा र भैरहवामा कपडा तथा किरानाको होलसेल पसल खोल्नु भयो। त्यसको केही समय पछि  कृष्णप्रसाद र झलकलाल कायस्थसंग मिलेर भैरहवामा पोखरा प्राइभेट लिमिटेडको नामबाट विदेशका सामान ल्याउने तथा फुट्कर सामानको बिक्री गर्ने गर्न थाल्नु भयो।

वि.सं. २०२४ सालमा सुनौली पोखरासिर्द्धार्थराजमार्ग  निर्माण थाल्दा पोखरामा पेट्रोलियम पदार्थहरूको बिक्रीको लागि एजेन्सी व्यापार शुरुवात गर्नु भयो। ०२८ सालमा कोल्ड डि्रङ्सको एजेन्ट भै पोखरामा पर्यटकीय स्थल फेवातालको किनार किनारमा पाल टाँगेर बसेका पर्यटकलाई चिसो पेय पदार्थ बिक्री गर्ने गर्नुहुन्थ्यो। त्यस वेला त्यहाँ होटल थिएनन्। टुरिष्ट पाल टागेर रात विताउने गथे। उहाँको त्यस पेशा व्यवसायबाट पर्यटकलाई सेवा पुग्न जान्थ्यो।

२०३० सालमा पृथ्वी राजमार्ग खुलेपछि उहाँ पुनः भैरहवा गई खाद्यान्नको होलसेल पसल खोल्नु भयो। उहाँले काठमाण्डौं लगायत मुलुकका ठूलाठूला कम्पनीलाई सामान सप्लाई गर्नुहुन्थ्यो, पछि उहाँले पोखरा फकेर २०४४ साल देखि आफ्नै घरमा व्यवसाय गर्नुभयो। वि.सं. २०२२ आषाढ १९ गते सिक्कीमकी चण्डिकादेवी तिमला सँग वैवाहिक सम्बन्ध भयो। उहाँका एक सुपुत्र कपिल बजिमय, सुपुत्री रूपा बजिमय र अनुपा बजिमय पन्त, दीपा बजिमय पालिखे सामाजिक क्षेत्रमा पनि क्रियाशील छन्।

उहाँका जीवनमा थुपै्र उतार चढाव नआएको होइन तर धैर्यता, संयमता र चातुयताका कारण अहिले ८३ वर्ष उमेरमा पनि सक्रिय नै हुनुहुन्छ। कर्म नै पूजा हो भन्ने अवधारणा राख्ने बजिमयले परिवर्तनशील समयलाई महत्व दिई सकारात्मक सोच राख्ने गर्नुहुन्छ। उहाँका विचारमा संघर्ष नै जीवन हो। संघर्षमा जीवनको इतिहास बन्छ। त्यस्तै हर काम समयमा नै गर्नुपर्दछ भन्नु हुन्छ।

यसरी राजनैतिक, सामाजिक, शैक्षिक, व्यवसायिक कार्यमा महत्वपूर्ण भूमिका खेल्नु भएका समाजसेवी केदारप्रसाद बजिमयले पारिवारिक स्नेह र सुखमय जीवन विताउनु भएको छ। उहाँको योगदान महत्वपूर्ण र प्रशंसायोग्य छ। अन्तमा उहाँको दीघायु तथा उत्तरोत्तर प्रगतिको लागि भगवान श्री पशुपतिनाथसँग मंगलमय कामना गर्दछु। अस्तु

- रवीन्द्र माकाजू