शहीदको सम्मान राष्ट्रिय स्वाभिमान

देशको शासन चलाउनेहरू शासक हुन् भने शासकबाट शासित हुने जनता हुन्। शासकहरुले जनतालाई सुशासन दिनुपर्छ। शासकहरुले देशमा सुशासन चलाएर जनतालाई आनन्दित तुल्याउनुपर्छ। शासन चलाउने क्रममा मनपरी गरेर जनतालाई सुख दिनुको सट्टा दुःख दिन थाले भने जनता यस्तो शासन चाहँदैनन्। शासकहरुले देशमा निम्न कुराहरु गरेर जनतालाई सताउनु हुँदैन। (१) भ्रष्टाचार – भ्रष्टाचारले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ। (२) भ्रष्टाचारभएपछि करको दर पनि बढाइन्छ। (३) जनताका राम्रा राम्रा चेलीबेटीहरुसँग पनि मनपरी गर्ने प्रवृत्ति हुन्छ। (४) मादक पदार्थ सेवन, जुवातास खेल्ने (५) रण्डीबाजी गर्ने (६) करका दर बढाएर जनताको शोषण गर्ने (७) देश विकासमा कुनै चासो खाँचो नराख्ने (८) देशका अचल सम्पत्तिमा आधिपत्य जमाउने गर्ने (९) शासन न्यायले होइन अन्यायले चलाउने (१०) राज्यको ढुकुटी ऐन कानुन नबनाई मनपरी तवरले खर्च गर्ने (११) मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध राख्न चासो नराख्ने (१२) रोजगारीका अवसर सृजना गर्न चासो नदिने (१३) जनताको गास, बास, कपास, शिक्षा र स्वास्थ्यमा ख्याल नराख्ने (१४) धर्म, संस्कार, संस्कृतितर्फ पनि ध्यान नदिने। यस्ता दुष्कर्महरू चलाएर जनतालाई दुःख दिने शासक जनपक्षीय हुँदैनन्।

जनताले सहनसम्म सकिन्जेल सहन्छन्। अन्यायको पनि हद हुन्छ। राणाहरुले जनतालाई रैती बनाएका थिए। मानवाधिकारको मूल्य र मान्यतालाई बेवास्ता गरेका थिए। उनीहरुले वि.सं. १९०३ देखि २००७ सम्म १०४ वर्ष शासन चलाए। यो समयमा निरङ्कुश ? कुनै प्रकारको अङ्कुश वा नियन्त्रण नभएको, बन्धनहीन, छाडा, स्वेच्छाचारी, कुनै नियम वा संविधानको अधिनमा नरही आफ्नै हुकुमलाई सवोपरि कानून बनाउने शासकको रूपमा शासन चलाए। अन्यायको पनि हद हुन्छ। हदभन्दा माथि गएर राज्यको शासन चलाए। आफू मालिक र जनतालाई दास बनाए। देश र जनताको पक्षमा बोल्नेलाई उनीहरुले रुचाएनन्। जनतालाई सुविधाको नाममा बोल्ने अधिकार पनि थिएन। मुखमा कोर्को लगाइएको थियो।

अति गर्नु अतिसार नगर्नु। उनीहरुले जनताप्रति यति अत्याचार – अर्का उपर गरिने दबाब, थिचोमिचो, नियमकानून नाघेर कमजोर उपर गरिने अन्याय, जोरजुलुम, उधुम, अतिचार, उपद्रो, राइँदाइँ सही नसक्नु व्रिmयाकलाप गर्ने। जनतालाई उनीहरुले गरेको अत्याचार सहने सीमा पार भयो। जनता अन्यायको विरुद्धमा लाग्ने प्रेरणा राणाहरुले नै दिलाए। जनताको मानसपटल उनीहरु विरुद्धको ज्वाला भित्रभित्रै दन्किरहेको थियो। कालान्तरमा बाहिर निस्कन थाल्यो। उनीहरुले आफ्ना विरोधीहरुलाई खोजीखोजी दण्ड दिन थाले।

यसैक्रममा वि.सं. १९९७ साल माघ १० गतेदेखि १६ गतेसम्म ७ दिनभित्रमा राणा शासकहरुले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलाई चरम यातना दिएर फाँसीमा झुण्ड्याएर छातीमा गोली हानेर मारे। यो कार्य उनीहरुले अरूले हाम्रो विरुद्धमा काम गर्ने हिम्मत नगरुन् भन्ने उद्देश्यले सार्वजनिक रूपमा गरेका थिए। उनीहरुको यो नरसंहारकारी कार्यले जनतालाई उनीहरु विरुद्ध लाग्ने हौसला बढायो। देश र जनताको हकहितमा आफ्नो जीवन बलिदान गर्ने यी चार महापुरुषहरु नेपाल आमाका सपूतहरुलाई राणाहरुले माघ १० गतेदेखि १६ गतेसम्मका सात दिनभित्र फाँसी दिएका थिए।

यिनै सात दिनलाई राज्यले राणाहरुको निरङ्कुश शासन हटेको प्रजातन्त्र प्राप्ति पश्चात २००७ सालदेखि शहीद सप्ताह र १६ गते शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ। वीर शहीदहरुको बलिदानीबाट नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र आएको हो। यही समयदेखि शहीदहरुको सम्मान गर्ने प्रचलन आएको हो। २००७ सालदेखि २०७४ माघ १६ गतेसम्म आइपुग्दा मुलुकमा राज्यले शहीदहरुको सङ्ख्या धेरै थपेको छ। वास्तविक शहीद को को हुन् त भनेर छानबिन गरेर शहीद घोषणा गरेको अवस्था छैन। यो अवस्थाले गर्दा वास्तविक शहीदको अपमान भएको हो कि जस्तो लाग्छ।

शहीदको परिभाषा के हो – आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर बलिदान दिएर लोकहितमा लाग्ने अमर व्यक्तिहरु शहीद हुन्। विषय वा प्रसङ्ग नै नमिलेको अवस्थामा पनि जनदबावको आधारमा पनि वर्तमानमा आएर सरकारले शहीद घोषणा गर्दै गएको छ। शहीद शब्दको मूल्य र मान्यताभित्र परेकालाई शहीद घोषणा गर्नु जायज हो।

जसले देश र जनताको हितमा आफ्नो जीवन बलिदान दिएका छन्, कुबानी गरेका छन् उनीहरुलाई शहीद घोषणा गर्नु सही हो। तर वास्तविकतालाई ध्यान नदिई शहीद घोषणा गर्नु वास्तविक शहीदको अपमान हो। शहीदहरुलाई राज्यले सम्मान गर्नुपर्छ। शहीदहरुको सम्मान गर्न राज्यका तर्फबाट शहीद स्मृति प्रतिष्ठान स्थापना गरेर उनीहरुलाई सम्मानजनक तवरले छरेर होइन एकै ठाउँमा शहीद पार्क निर्माण गरेर माघ १६ गते शहीद दिवस मनाउन सके शहीदहरु प्रति वास्तविक सम्मान हुनेछ।

आजकल शहीदको बारेमा लेख तथा रचना लेख्दा शहीद शब्द लेख्दा सहिद पनि लेखिएको भेटिन्छ। सहिद शब्द शब्दकोशमा छैन, छ भने शहीद शब्द मात्र छ। हामीले शहीदहरुको सम्मान गर्नुछ भने शब्दकोशमै नभएको शब्द सहिद होइन, यसको शब्द शहीद नै लेख्नुपर्छ। तालव्य ‘श’ र दीर्घ ‘ही’ र ‘द’ वर्णलालाई संयुक्त गरेर शहीद शब्द लेख्नुपर्छ नकी सहिद। दन्त्य स, ह्रस्व हि र द अक्षरहरूको संयुक्त रूप सहिद शब्दको कुनै अर्थ नै छैन। भाषा बुझे त भयो भनेर शहीदहरुलाई सम्झने क्रममा सहिद लेख्नु भाषिक अशुद्धि हो। भाषा नै अशुद्ध प्रयोग गरेपछि शहीदको सम्मान कसरी भयो भएन। शहीदहरु त हाम्रो राष्ट्रका धरोहर हुन्। उहाँहरूप्रति मन, वचन, कर्म र भाषिक रूपले पनि सम्मान प्रकट गर्नुपर्छ तब मात्र वास्तविक शहीदहरूप्रति सम्मान हुन्छ। आज २०७४ साल माघ १६ गते शहीद दिवस शहीदहरुले आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थलाई त्यागेर देश र देशवासीको हितका लागि जसरी आफ्नो जीवनदान दिए तदनुरूप नै हामी उहाँहरुले देखाएको पथ अनुशरण गर्दै जीवनयापन गर्न सकौँ भन्ने प्रण गर्दै आदरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अपण गर्दछु। जय नेपाल।

- शिवप्रसाद गौतम