विहङ्गम दृष्टिमाः काठमाण्डौं उपत्यका

१. पोखरा-काठमाडौं

यो पंक्तिकार करीव पैंतिस वर्षदेखि पोखरा उपत्यकासंग परिचित हुँदै आएको छ। पोखराको उत्तरतर्फ माछापुच्छ्रे र अन्नपूर्णा हिमश्रृङ्खला छन्। हिमाली क्षेत्रका वनजङ्गल र डाँडाकाँडाका वनहरुले पोखरा उपत्यका हरियाली वनस्पति क्षेत्र भित्र पर्दछ। माछापुच्छ्रेको फेदीबाट जन्मेको सेती नदी र यसका सहायक खोला, नदीहरु तथा फेवा वेगनास र रुपा तालहरुले पोखरालाई सदावहार रसिलो बनाएका छन्। हिँउदे र वर्षे दुवै समय पोखरामा वर्षाउ ज्यादा हुन्छ। बलौटो र गेगर्‍यान मिश्रति चट्टानले बनेको भिरालो सतह भएकोले पोखरामा पानी पर्दा भेल वग्छ। खोला-नालाहरु उर्लन्छन्, कहिलेकाँही सडक नै नदीमय बन्छ तर पानी जमेर डुबान पार्दैन। बरु यस्ता खोलानालाको भेलबाढीले, किनाराका खेत-बारीमा पहिरो चलाउँछन, मानिस बगाउँछन् र भ्वाँङ पार्छन्, अनि कतै घरमा पानी पसेर मानिसलाई उठिवास पार्छन्। यस्तो अवस्थामा महेन्द्रपुलका सेती नदीका किनाराका घरहरु थर्कन थाल्छन्। भूगोलविद्हरु भन्छन्- ‘हामीले यस विषयमा सचेत गराइसकेका छौं, भीरमा जाने गोरुलाई राम! राम! भन्न सकिन्छ, काँध थाप्न सकिदैन।’ समष्टिगत रुपमा भन्नुपर्दा पोखराको जमीन बलौटे माटो र चट्टानले बनेको भू सतह भएको हुँदा वगेर जाने अवस्थामा छैन। यसैले यहाँ मानिसको चाप वढ्दैछ, महानगरपालिका भएको हुँदा दैवी प्रकोपबाट बचाउँने काम विशेषज्ञहरुको हो। अहिले पोखरा विकसित अवस्थामा जाँदैछ।

वर्षे झरीले गर्दा पाल्पाको तिनाउ खोलाले जीप सहित चारजना मानिस बगायो भन्दा भेलवाढीको के नै विश्वास हुन्छ र भन्ने लाग्छ। तनहुँ आँबु खैरेनीको किनारामा महिना दिन अघि खसेको पहिरो अझै खस्ने अवस्थामा छ। नारायणगढ-मुग्लीन सडक मार्गमा यो वर्षमा ठूलो पहिरो गयो। प्रहरी भ्यान सहित चारजना प्रहरी उद्धारकर्मीहरु उक्त पहिरोबाट हराउने र पुरिने भए। तराईका धेरै क्षेत्रहरु, जुन भारत सिमानामा पर्छन्, त्यहाँ जलमग्न भएर गाउँ वस्ती नै डुबेका छन्। भारतले नेपलाको सिमानामा बाँधेको बाँध र उचाइमा बनाइएका सडकहरुनेपालको निम्ति अभिशाप बनेको छ। यस विवषयमा नेपाल सरकार विपद्मा परेका जनताको प्रतिरक्षा गर्न सक्षम छैन। राजनीतिक दलहरु आफ्नै स्वार्थमा रङ्मगिई रहेका छन्। आफ्नो भूभाग सिमाना र देशका नागरिकहरुको प्रतिरक्षा गर्न नसक्ने सरकार तथा निर्वाचनमा भागलिने राजनीतिक दलहरुका फोश्रानाराले निरीह जनतालाई वहाक्याई रहेको छ। वर्षाको समय हिंडडुल गर्न हुँदैन, यो समय खोलानाला बढ्छन्, सर्प, विच्छी जस्ता किटाणुले टोक्न सक्छन् भनेर भगवान बुद्धले चार महिना ‘वर्षाबास’ गर्ने गरेका थिए बुर्द्धधर्ममा आजसम्म पनि त्यो परम्परा यथावत रुपमा रहेको छ।

२. पृथ्वीराजमार्ग रोकिएको छैन

पोखराबाट पृथ्वीराजमार्गमा चल्ने नियमित गाडीहरु यो वर्ष रोकिएको छैन। केही वर्ष अघि कृष्णभीरको पहिरोले वर्षामा गाडीहरु रोकिने गरेका थिए। आजकल गाडीको संख्या बढेको हुँदा प्राय थानकोटदेखि कलङ्की सम्म सडक निर्माणको कारणले गर्दा घण्टौं सम्म गाडीहरु जाम हुन्छन्। सात घण्टाको सडक यात्रा दश घण्टासम्म लाग्ने गरेको छ। मलाई समयमै काठमाडौं उड्नुपर्ने थियो त्यसैले समयको बचाउ गर्न यस पटक म पोखराबाट हावाई यात्रा द्वारा काठमाडौं उत्रिएँ। पोखराबाट एक वजे उडेको प्लेन तीस मिनेटमा त्रिभुवन एयरपोर्टमा उत्रियो। सडक यात्रा र हवाई यात्रामा कति समयको अन्तर हुनेरहेछ, माथिको समयलाई तुलना गरेर हेरेमा स्पष्ट हुन्छ।

पोखराबाट जहाज चढ्दा हिमाली श्रृङ्खला हेर्न मलाई प्रायः आनन्द लाग्ने गथ्यो। यसपटक मेरो सिट दायातर्फको झ्यालनेर परेछ। दिन सफा भएकाले मैले डाँडाकाँडा र नदीनालाहरु हेर्नमा आफ्नो समय खर्च गरें। सेती नदी पार गरेपछि मादी सम्म त मैले नदी चिन्न सकेको थिएँ, त्यसपछिका नदीहरुलाई मैले अनुमान गर्न सकिनँ। त्रिशूली नदी भने अखिरीमा पर्ने भएको हुँदा यसको प्रवाहले मलाई निकै आनन्द लाग्यो। सारांशमा भन्दा सबै नदीहरु सर्पाकार रुपमा दक्षिणतर्फ वगेको देखिए। पश्चिम तर्फको काली गण्डकी छाडेर सप्तगण्डकी अन्तरगतका सबै नदीहरुको दर्शन पाउँदा म अत्यन्त भावबिभोर हुन पुगें। हाम्रो प्राकृतिक सम्पत्ति भनेको हिमाल, पहाड र यिनै नदीहरु त हुन्। तर हामीहरुले यस्ता नदीहरुको महत्व बुझ्न सकेका छैनौं। जल सम्पदाको महत्व बुझ्न सकेका छैनौं। सरकारमा बस्ने सत्ताधारीहरुले कोशी र गण्डकी नदीहरु त धेरै अघि नै भारतलाई सुम्पीसकेका थिए। प्रजातन्त्रको पुस्थापना पछि सम्झौताको नाउँमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महाकाली नदी भारतलाई सुम्मिए। यसपछि काङ्ग्रेस, एमाले र रा.प्र.पा. समेतले पञ्चेश्वर एकीकरणका नाउँमा महाकाली नदी पुरै भारतलाई समर्पण गरे। यसपछि नदीहरु जलविद्युतको नाउँमा कमिशन खाएर सत्ताधारीहरुले बेच्न थाले। पश्चिमको सेती गण्डकी यसरी नै विकेको छ भने हालसालै गोरखाको बूढी गण्डकी जलविद्युत निर्माण कानूनको रितनपुर्‍याई चीनीया कम्पनीलाई दिइँदैछ। यसरी हाम्रो प्राकृतिक सम्पदा प्रति सत्ताधारीहरुले खेलवाड गरिरहेका छन्। यिनीहरुलाई सतर्क गराउने कुनै शक्ति उठेको छैन। देश बेच्ने अनेक प्रकारका राष्ट्रघातकहरुप्रति आम नागरिकहरु सचेत हुनुपर्छ। जनक्रान्तिद्वारा सरकार बदल्न सकिन्छ।

३. वाग्मती नदी र रानीपोखरी

जहाजबाट उत्रेपछि ट्याक्सीवालाले मलाई वाग्मती किनार किनारै त्रिपुरेश्वर र कुपण्डोल जोड्ने पुलनेर ल्याई जावलाखेल तर्फ लागे। मध्य वर्षाको समयमा पनि वाग्मती नदीमा पानीको प्रवाह मैले देखिन। कतै दलदल, कतै साना तालहरु र कतै नदीमा एकतर्फी किनारामा सानो कुलो जस्तै बहेको पानी देख्दा मलाई अचम्म लाग्यो। मैले ट्याक्सी ड्राइभरसित सोधें-‘होइन वाग्मती नदी यही नै हो त ?’ उनले भने- ‘किन, पत्यार लागेन? यही त हो त?’ किन यति थोरै पानी त यत्रो नदीमा- मैले फेरि प्रश्न गरें। चालकले भने-‘हिजो काठमाडौं उपत्यकामा नदी किनाराका आसपास खेतहरु थिए। वर्षे पानीले रसिला भएका ती खेतहरुबाट झरेका जल प्रवाह यही नदीमा पर्थे। तर आज जताततै घर बस्ती बसेर खेत मासिए। सुख्खा जमीनबाट नदीमा पानीको रसान आउन सकेन। खेत पाखाका मूलहरु सुक्दै गएका छन्। बोरिङ गर्नेहरुले जताततै पानी झिकेका छन्। यसले जमीनको भित्री भाग पनि सुख्खा हुँदैछ। समयमा मेलम्चीको पानी आएन भने आजका भवन र शहरहरु भूतबङ्गलामा परिणत हुन बेर लाग्नेछैन।’ एउटा ट्याक्सी चालकको भनाइले मलाइै झस्याङ्ग बनायो। योजनाकारहरुको टाउकामा किन घाम लागेको छैन?

काठमाडौंको श्रृङ्गार शाताब्दीयौं पुरानो रानीपोखरी अहिले सुख्खामा परिणत भएको छ। खिचापोखरी त उहिले नै अत्रि्रमण भैसकेको थियो। उपत्यका भित्रका कमलपोखरी, नागपोखरी र गहना पोखरीमा जलको अवशेष बाँकी देखिन्छ। जवलाखेल चिडियाखानाको पोखरीमा पानी यथावत छ। टौदह पोखरी भने जलामय छ, त्यहाँ मात्र रंगिविरंगी माछाहरु खेलिरहेका पाइन्छन्। कुनै समय जलमग्न भएको काठमाडौं उपत्यका आज मरुभूमीमा परिणत हुँदैछ। हिमाली नदीहरु बेचिँदैछन्। आधुनिक युगका कालीदासहरु आफ्नो खुट्टामा बञ्चरो हान्दैछन्। कतै हाम्रो देश मरुभूमि हुने त होइन ?

- भूपनिधि पन्त