विमर्श विमस्टेकको : प्रसङगमा सार्क

राजधानीका केही क्षेत्र सिंगारिएका छन्। पाहुना हिंडने रुटका सडक खाल्टा पनि पुरिए। विमस्टेक शिखर बैंठकमा भागलिन आउने विशिष्ट अतिथिहरुको स्वागत र सुविधाका लागि गरिएका यी कामलाई अन्यथा भन्न मिल्दैन। यो हाम्रो राष्ट्रिय इज्जतसंग जोडिएको कुरा हो। तर, अहिले भएकै खर्चमा एक महिना अगाडिदेखि ती बाटाहरु राम्रो संग मर्मत गरिएका भए टिकाउ हुने थिए भन्ने कुरामा हेक्का राखिएन। अनि, व्यापारिक भिसा लिएर नेपाल बसेका इसाईहरुले धर्म प्रचार गरेकोप्रति सरकार कडा हुने समाचार पनि प्रकाशितछन्। यो पनि हिन्दूराष्ट्रवादका हिमायती मानिएका मोदीलाई रिझाउन हो कि सरकारी नीति नै हो हेर्न बाँकी छ।जेहोस् यी पङति लेख्दासम्म सातैराष्ट्रका कार्यकारी प्रमुखहरु काठमाण्डौं आइसकेका छन्। शिखर बैंठक निर्भिग्नताका साथ सफलहोस् भन्ने कामना हामी सबैको हुनुपर्छ।

सुरुमा, अर्थात यो संगठनको सन् १९९७ सालमा स्थापना हुँदा यसलाई उपक्षेत्रीय संगठन भनिएको थियो। सदस्य देश थिए-बंगलादेश, भारत, श्रीलंका र  थाईलैण्ड। यिनै चारदेशका नाउँको अगाडीको अंग्रेजी वर्णालाका अक्षर मिलाएर यसको छोटकरी नाउँ विष्ट (बी.आइ.एस्.टी.) भनिएको थियो। यो संगठनका कल्पनाकार भारतका तत्कालीन प्रधानमन्त्री नरसिंहराव हुन्। भारत र छिमेकमा पनि यी राव आर्थिर्क उदारीकरणका सह-प्रवर्तक मानिन्छन्। भारतमा आर्थिक उदारीकरण प्रवेश गराउने उनै हुन्।  र, यसको प्रभाव नेपालमा पनि परिहाल्यो। चाणक्यका आधुनिक अवतार पनि भनिने यी रावले भारतलाई दक्षिणपूर्व एसियाई देशहरुको संगठन आसियानसंग जोड्न र आवश्यक पर्‍यो भने दक्षिण एसियाली संगठन सार्कको विकल्पमा विकशित गर्ने तर पाकिस्तानलाई अलग गर्ने दूरदृष्टि राखेर यसको जग राखेका हुन् भनेर बुझ्न लामो समय लागेन विमस्टेका सदस्य देश थाईल्याण्ड र म्यानमार आसियनका सदस्य हुन।

नेपाल सन् १९९८ मा एक पर्यवेक्षक राष्ट्रको रुपमा संलग्न भएको हो।  पछि सन् २००४ मा नेपाल, भुटान र म्यानमार (वर्मा) पनि सदस्य हुने भए। यसको नाउँ पनि नयाँ राखियोः बंगाल इनिसियटिभ फर मल्टिसेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेशन (बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास)। सुरुमा सदस्य देशको नामको पहिलो अंग्रेजी अक्षरबाट विष्ट नाउँ रहेकोमा अब यसको नाउँ उद्देश्य मूलक  भयो- विमस्टेक ।

जेसुकैहोस्, सन् २०१६ मा भारतको गुवाप्रान्तमा ब्रिक्स राष्ट्रको शिखर बैंठक साथै यो बिमस्टेक राष्ट्रका प्रमुख कार्यकारीलाई पनि पर्यवेक्षकको रुपमा भारतीय प्र.मं.मोदीले भागलिन बोलाएपछि नै यो क्षेत्रीय संगठन बढी चर्चामा आएको हो। ब्रिक्समा ब्राजिल, भारत, चीन, रुस र दक्षिण अफ्रिका सदस्यछन्। यो क्षेत्रीय संगठन होइन। बरु, यसलाई बहुध्रुवीय विश्वको चाहना राख्ने उदाउँदा शक्ति राष्ट्रहरुको संगठन भन्ने संझनुपर्छ। यसको बैठकमा भाग लिन गुवा आएका चीनका राष्ट्रपति सी जिनपि· र भारतीय प्र.मं. मोदीलाई प्रचण्डले संगै राखेर कुरा गरेको विषय त्यतिवेला नेपाली भारतीय मिडियामा खुबै खर्चा भएकोले पनि बिमस्टेकको नाउँ नेपालमा बढी प्रचारमा आएको हो।

नेपाली बौद्धिक एवं कुटनीतिक जगतको चिन्ता र चासो भनेको कतै दक्षिण एसियाली राष्ट्रहरुको संगठन सार्कलाई निष्क्रिय पार्दै, यसलाई डिफङ्ट गराउन खोजिएको त होइन भन्ने रहेको छ। सन् २००४ मा नेपाल बिमस्टेकको पूर्ण सदस्य पाएको शिखर बैठकमा नेपालको प्रतिनिधित्व गर्ने डा. भेष बहादुर थापा भन्छन्, ‘बिमस्टेकलाई नेपालले सार्कको परिपूरकको रुपमा लिएको हो। र अहिले पनि त्यही रुपमा लिइनु पर्छ।’ सार्कसँग नेपाली भावना जोडिनका  धेरै कारणहरुछन्। नेपालमा नै सार्कको प्रधानकार्यालय छ। क्षेत्रीय संतुलन र सहकार्यको प्रतीक हो-सार्क। यसलाई भारत-पाकिस्तान द्वन्द्वको कोपभाजन बनाईनु हुँदैन।

क्षेत्रीय राजनीतिलाई नजिकबाट अध्ययन गर्नेहरु बिमस्टेकलाई पनि निरापद मान्दैनन्। सार्कको जस्तै नियति यसको पनि हुन सक्छ। रोहिङ्गा मुसलमानको राष्ट्रियता र नागरिकताको विषयलाई लिएर म्यानमार र बंगलादेशबीच चको मतभेद छ। लाखौं रोहिङ्गा बंगलादेशमा शरणार्थी रहेका छन्। भारतको आसाममा रहेका चालिस लाख बंगाली मुसलमानलाई विदेशी भन्दै नागरिकता दिन अस्वीकार गर्ने मोदी सरकारको नीति हालै प्रकट भएको छ। भनिन्छ यी बंगालीहरु सन् १९७० देखि आसाममा बस्दै आएका हुन्। यिनीहरुलाई विदेशी ठान्ने मोदी सरकारको अडानलाई ‘अति राष्ट्रवादी’ र ‘हिन्दू साम्प्रदायिकता’ भनेर भारत भित्रै आलोचना भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जिले त यी आसामवासीलाई विदेशी ठान्ने र मताधिकार नदिने हो भन्ने गृहयुद्ध हुने चेतावनी दिएकी छन्। स्पष्टै छ, आसामी मुसलमानको विषयमा भारत र बंगलादेश बीच ठूलै बैमनस्यता उठ्न सक्छ।

विश्लेषकहरु एकाईसौ शदीको दोस्रो दशक राष्ट्रवादको उदय र क्षेत्रीय सहकार्यको विघटनको दशक भन्न थालेका छन्। हुन पनि स्थिति त्यस्तै रुपमा प्रतिभासित भएको छ। व्रिटेन युरोपीयन युनियनबाट बाहिरिएको छ। यति मात्रै होइन यो क्षेत्रीय संगठनबाट अरु केही देश बहिर्गमन उन्मुखछन्। खाडी राष्ट्रको संगठन करिब विघटन भएको स्थितिछ। अफ्रिकी एकता संगठन पनि कामयाव हुन सकेको छैन।

दक्षिण पूर्व एसियाली मुलुकहरुको संगठन आसियान एउटा अपवाद हो। यसको सफलमा प्रशंसनीय ठानिएको छ। यसरी क्षेत्रीय संगठनहरु निष्क्रिय हुँदै गएको परिदृश्य संझदा विमस्टेकको शिखर बैठक काठमाण्डौंमा हुनु आफैमा एक उपलब्धि ठान्नुपर्छ। तर, सार्क संगठनलाई शिरोधान गर्नमा यो मञ्चको परिपंच मिलाईएको हो भने त्यसलाई भन्नुपर्छ एक विडंबना।

सार्क गठन हुँदानै यसको चार्टर बनेको थियो। विमस्टेकको त चार्टर अथवा घोषणापत्र पनि बल्ल बन्दैछ। पर्यवेक्षक भए पनि चीनको समेत प्रभावकारी सहभागी हुँदै आएको सार्कलाई विघटनको संघारमा पुर्‍याउनु आफैमा विस्मयकारी कुरा हो। सार्कलाई सक्रीय बनाउनु नेपालको कर्तव्य पनि हो। किनभने, सार्कको अध्यक्ष अहिले नेपाल नै छ।

अब, विमस्टेककै कुरा गरौं। विदेश मन्त्रीहरुले काठमाण्डौं घोषणा तयार गरिसकेका छन्। बुझिए सम्म सडक, संचार र ऊर्जाको संजालले सातै देशलाई जोड्ने, जलवायु परिवर्तन, गरिवी निवारण, आतङकवाद समेतका विषय काठमाण्डौ घोषणाले समेट्ने भनिएको छ। यी कुराहरु नेपाललाई निकै महत्वपूर्ण छन्। समस्या भने के छ भने घोषणा हुन्छन्-एजेण्डाहरु कार्यान्वयन भने हुँदैनन्। त्यसैले यस्ता शीर्ष जमघटहरुलाई उच्चस्तरीय एवं खर्चालु पर्यटन भन्न थालिएको छ। विमस्टेकको काठमाण्डौं समीट सिद्धिँदा साथ भारतको पूर्णेमा सातै देशका सैनिकहरुको संयुक्तअभ्यास भने अर्थपूर्ण र संशयका साथ हेरिएको छ।

अन्त्यमा, काठमाडौं घोषणा कागजमा मात्रै सीमित नहोस् भन्ने जनचासो नेपालीको मात्रै होइन, सातै मुलुकका आमजनताको चासो हो। यसलाई नेतृत्वले कति पूरा गर्छ त्यो भविष्यले बताउने छ।

- तिलक पराजुली