विभिन्न दृष्टिबाट कास्की

प्राचीन कालदेखि नै कास्की विभिन्न अर्थमा प्रसिद्ध छ। यसको नामाकरणको सम्बन्धमा विभिन्न मत रहेको पाइन्छ। विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार पोखराको उत्तरी भागमा अवस्थित कास्कीकोटमा काश्यप ऋषिले तपस्या गरेकाले उनैको नाम अपभ्रंश भई कालान्तरमा कास्की नाम हुन गएको इतिहासकारहरु बताउँछन्। अझ यस थलोमा कछाड लगाउने तमु जातिको थलो भएकोले उनीहरुको पहिरन कास (कछाड) खिब (लगाउने) बाट अन्ततः कास्की भएको हो भन्ने भनाइ पनि रहेको छ। त्यसरी नै यस जिल्लामा प्रशस्त मात्रमा पाटन  (मैदान) काँसका घाँस पनि त्यतिवेला देखिएकाले त्यही पाटनमा फुल्ने काँसका वनस्पतिबाट काँसकी भन्दाभन्दा कास्की भन्न थालिएको भन्ने अर्को भनाइ पनि छ।

कास्कीमा शाहवशीय राजा विचित्र खानदेखि सिद्धिनारायण शाहले एकछत्र शासन गरे। पछि वडा महाराजाधिराज पृथ्वीनारायण शाहको एकीकरणको अभियानको क्रममा राजेन्द्रलक्ष्मी शाहको नायवीकालमा विशाल नेपालको जन्म भएपछि यसको चर्चा कम हुन थाल्यो। तर राणा शासन हालीमुहाली भएपछि वि.स १९१४ मा जगबहादुर राणा कास्की र लमजुङका श्री ३ महाराज बन्न पुगेको इतिहासले बताउँछ। २००७ सालको क्रान्तिपछि राणा महाराजबाट यसले मुक्ति पायो। हाल पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्थादेखि सघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा आउँदासम्म यसको उत्तिकै चर्चामा छ।

अन्नपूर्ण, माछापुच्छ्रे जस्ता हिमशृंखलाको दक्षिण भागमा स्थित सप्त गण्डकीले परिवेष्टित छ र साथै वर्तमान शासकीय स्वरुप अनुसार प्रदेश न ४ अन्तर्गतका ११ जिल्ला मध्ये अत्यन्तै चर्चित छ। यस जिल्लामा ११ वटा हिमशिखर ७ हजार मिटरभन्दा धेरै उचाइमा रहेका छन्। पहाडी भूभागमा रहेको यो कास्की जिल्लामा एक महानगर र ४ ओटा गाउँपालिका (अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा) मा विभाजित छ। क्षेत्रफलको आधारमा पोखरा महानगर नेपालकै सबैभन्दा ठूलो महानगरपालिका हो। यो २८ डिग्री ६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४० मिनेटदेखि ८४ डिग्री १२ मिनेट पूर्र्वी देशान्तरसम्म फैलिएको छ। यसको औसत हवाई लम्बाइ ६३ किलोमिटर छ भने चौडाइ ५० किलोमिटर मात्र छ।

चारैतर्फबाट लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र मनाङ जिल्लाले घेरिएको छ। ३७ प्रतिशत जमीन वन क्षेत्रले ढाकेको छ भने २४ प्रतिशत जमीन खेतीपातीले भरिएको छ। त्यसरी नै झण्डै ७ प्रतिशत जमीन बाँझो खेतीयोग्य छ भने १०.६ प्रतिशत जमीन आवास क्षेत्रले ओगटेको छ। हिमाच्छादित भूमि ५.७ प्रतिशत छ भने जलभण्डारले ओगटेको क्षेत्र ३.७ प्रतिशत छ। सेती, मादी, मोदी र मर्दी यहाँका मुख्य नदी हुन्। खोलाहरुमा विजयपुर, फुस्रे, सुरौदी, हर्पन, कोत्रे, इदी, काँहु, सुइखेत आदि हुन्।

यसबाहेक विभिन्न तालहरु पनि यस क्षेत्रको विशेषता हो। सबै ताल पोखरा महानगरभित्र पर्दछन्। यहाँका तालमा फेवा, वेगनास, रुपा, मैदी,, दीपाङ, खास्टे, निहुरेनी, गुँदे, कमलपोखरी आदि हुन्। नेपालभर वर्षा धेरै हुने जिल्ला यही हो। लुम्ले मापन केन्द्रमा गरिएको रेर्कर्ड अनुसार वाषिर्क २,५सय मिलिलिटर भन्दा बढी वर्षा हुन्छ। सन् २००३ देखि २०१६ सम्मको पोखराको तापक्रमलाई हेर्ने हो भने सबैभन्दा गर्मी सन् २००९ र २०१६ अप्रिल ३५ डिग्री तापक्रमसम्म पुगेको देखिन्छ भने कम तापक्रम २०१२ मा शून्य डिग्रीसम्म पुगेको रेर्कर्ड छ। सबैभन्दा कम तापक्रम हुने महिना डिसेम्बर र जनवरी हुन्।

कास्की जिल्लाको क्षेत्रफल २,०१७ वर्ग किलोमिटर रहेको छ। २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसख्या ४ लाख ९२ हजार ९८ जना रहेका छन्। नेपालको जनसख्याको हिसाबले यो जिल्ला १९ सौ स्थानमा पर्दछ। साक्षरता र मानव सूचकांकको दृष्टिले यसको स्थिति तेस्रो (८२.३८ प्रतिशत) स्थानमा छ। कास्कीमा प्रायः सबै थरीका धर्मावलम्वीहरु रहेका छन्। हिन्दु (८२ प्रतिशत), बौद्ध (१३.५ प्रतिशत), क्रिस्चियन (२.१ प्रतिशत), इस्लाम (०.९ प्रतिशत),  किराँत (०.१ प्रतिशत), प्रकृति, बोन, जैन, बहाई, शिख आदि रहेका छन्। त्यसरी नै ४६ जातजातिहरु रहेका छन्।

शिक्षामा कास्की जिल्ला अगाडि नै छ। यहाँ ६२० ओटा विद्यालय, २ ओटा खुला विद्यालय, ५८९ ओटा बाल बिकास केन्द्र, १९ सामुदायिक केन्द्र र एउटा पोखरा विश्वविद्यालय छन्। यसमध्ये निजी स्तरका २०३ ओटा बोर्र्डिग स्कूल रहेका छन्। उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयसित सम्बन्धन प्राप्त कलेज २२ ओटा, पोखरा विश्वविद्यालसित सम्बन्धन प्राप्त ६ ओटा, सँस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक ओटा,  काठमाडौ विश्वविद्यालयसित एक ओटा, पूर्वाञ्चल विश्वविद्यालयसित एक ओटा, सिक्किम मणिपाल विश्वविद्यालयसित एक ओटा र क्याम्ब्रिज विश्वविद्यालयसित ३ ओटा गरी ३६ ओटा स्नातक तहका क्याम्पस रहेका छन्। त्यसरी सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भएका प्रवीणता प्रमाण पत्र तहमा अध्यापन हुने १७ ओटा शैक्षिक संस्था रहेका छन्।

रोजगारीका लागि बाहिर मुलुकमा जाने युवाहरुको संख्या निकै नै छ। सबैभन्दा बढी भारततिर झण्डै ९ प्रतिशत गएको पाइन्छ भने मध्य एशियाका देशहरुमा करिब ४५ प्रतिशत गएका देखिन्छन्। युरोपियन युनियनका देशहरुमा करिब १४ प्रतिशत युवाहरु गएका छन्। यसैगरी यस जिल्लामा विभिन्न कारणबाट बसाइँसराइँ गरी आउनेहरु पनि छन्। विशेषतः नोकरीको सिलसिलामा यहाँ आउनेहरु झण्डै १६ प्रतिशत छन् भने विवाह गरेर भित्रिनेहरु १७ प्रतिशत रहेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले दिएको जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पलात, क्षेत्रीय क्षयरोग केन्द्र, क्षेत्रीय तालिम केन्द्र, अञ्चल आयुर्वेद कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद केन्द्र एक एक ओटा रहेका छन्। मेडिकल कलेज २ ओटा, निजी अस्पताल १८ ओटा, सामुदायिक अस्पताल २ ओटा, मेडिकल हल ४२७ ओटा, स्वास्थ्य चौकी ४५ ओटा, गाउँघर क्लिनिक १७४ ओटा, नगर स्वास्थ्य केन्द्र १२ ओटा, सामुदायिक स्वास्थ्य एकाई १३ ओटा, खोप क्लिनिक २१३ ओटा, प्राइभेट पोलिक्लिनिक १० ओटा र निजी प्याथोलजी क्लिनिक ४० ओटा रहेका छन्।

यातायातमा कास्की जिल्ला अघि नै रहेको छ। यहाँका सबै स्थानीय तहमा यातायात सुविधा छ। पश्चिमाञ्चल डिभिजन सडक कार्यालय,२०७३ ले उपलब्ध गराएको तथ्याक अनुसार झण्डै १६७ किलोमिटर सडक कालोपत्रे गरिएको छ। यसबाहेक पोखरामा हवाइ यातायात, जल यातायातको उत्तिकै सुविधा छ। नेपालको दोस्रो ठूलो पर्यटकीय शहर भएको हुँदा यहाँ ठूलो सख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरु आउने गर्दछन्। पोखराबाट काठमाडौ, जोमसोम, मनाङ, भैरहवाका लागि हवाई सेवा पनि बिस्तार छ। आन्तरिक पर्यटकलाई भित्र्याएर ठूलो विकास गरिरहेको छ। यसबाहेका अन्तर्राष्ट्रिय विमानस्थल ३ हजार १ सय ६ रोपनी जग्गा छुट्याइएको छ। फेवाताल र वेगनास तालमा जलविहारको सुविधा पनि रहेको छ।

विद्युत तथा वैकल्पिक ऊर्जामा झण्डै ९६ प्रतिशत घरपरिवारमा विद्युत पहँुच छ। राष्ट्रि्रय प्रसारण बाहेक यहाँका सेती जलविद्युत केन्द्र, फेवा जलविद्युत केन्द्र, मर्दी खोला जलविद्युत केन्द्र र सोती दोस्रो जलविद्युत केन्द्र पोखरामा रहेका छन्। यसका अतिरिक्त रुदी खोला, मादी २, विजयपुर १, माथिल्लो सेती १, शार्दी खोला, मादी-भोलेटार, मादक्यु खोला आदिलाई पनि जलविद्युत उत्पादनका लागि नेपाल सरकारले इजाजत दिइसकेको छ।

सञ्चार क्षेत्रमा कास्की अघि नै छ। पत्रपत्रिका, रेडियो, एफएम र टेलिभिजन यहाँका आम सञ्चारका माध्यम हुन्। यहाँबाट प्रकाशित हुने पत्रपत्रिका दैनिक, साप्ताहिक, पाक्षिक, मासिक त्रैमासिक गरी ४५ ओटा पत्रपत्रिका रेर्कर्ड भएको देखिन्छ भने ३४ ओटा इजाजत प्राप्त एफएम छन्। स्थानीय स्तरमा सञ्चालन हुँदै आइरहेका ३ ओटा टेलिभिजन छन्।

समग्रमा भन्दा कास्की जिल्ला हर तरहले सुविधासम्पन्न जिल्ला हो। यहाँको भूस्वरुप, प्राणी तथा वनस्पति अनुपम छन्। प्रदेश न ४ को राजधानी पोखरा यहीँ भएकोले यस जिल्लाको विशेष महत्त्व छ। निर्वाचित जनप्रतिनिधिहरुले विकासको लागि गुरु योजना बनाएर यसलाई अघि लैजान सकेमा भविष्यमा यसको अझ छुट्टै रौनकता हुनेछ। समृद्धिका लागि सबै एकजुट भएर लाग्नु आजको आवश्यकता पनि हो।

- कल्याण पन्त