विभिन्न थरीका गुँड

ज्ञान आर्जनको स्रोतजनावर, पशुपंक्षीहरु पनि हुन् । यिनीहरुबाट सिकेर मानवले धेरै कुराहरु व्यवहारमा ल्याएका छन् । पशुपंक्षीहरुले पनि आफ्नो जीवनमा केही न केही सिकिरहेका हुन्छन् । तर यिनीहरुको सिकाइ र मानवको सिकाइमा केही अन्तर छ । सन्तान जन्माउने, शत्रुसित बच्ने, खाना जुटाउने पशुपंक्षीका जीवनको प्रमुख कार्य हुन् । अनादि कालदेखि नै यिनीहरुसित हाम्रोसम्बन्ध रहदै आएको छ । परेवाको जस्तो प्रेम, हाँसको जस्तो चाल, मयुरजस्तो नाच, मौरीको जस्तो एकता, कुकुरको जस्तो स्वामी भक्ति, कागजस्तो चलाख, गाईजस्तो सीधा आदि पशुपंक्षीसित जोडिएका भनाइ हुन् । यसमध्ये चराका गुँडहरुले मानवलाई सुरक्षाको जानकारी दिन सक्छन् । यिनीहरु रुखदेखि लिएर जमीनसम्म बसोबास गर्दछन् । यिनीहरु पात, हाँगा र मूल वृक्षको टोड्का आदिमा बस्दछन् ।

मानव जातिका भिन्नभिन्न घर भएजस्तै चराहरुले पनि आफ्नो गुँड आफैले बनाएका हुन्छ । यिनीहरुको आफ्नो गुँड बनाउने सीप, कला, कौशल विचित्रको छ । यिनीहरुको गुँड बडो रोचक हुन्छ तर सबै चराका गुँड एउटै प्रकार हुँदैनन् । कागले ठूलाठ्रू्र्रला रुखहरुका टुप्पामा गुँड बनाउँछन् भने जुरेलाजस्ता साना चराहरु सानासाना रुखमा बनाएका हुन्छन् । फिस्टाजस्ता चराले पातमै थाह नपाउने गरी खोल्साखाल्सीका किनारमा गुँड बनाउँछन् । ढुकुर जातिले त धेरै मेहनत नगरी बस्न हुने खालको मात्र आफ्नो बासास्थान बनाएका हुन्छन् ।हुटि्टट्याँउले नदीका किनारमा रहेको बालुवामा बनाएका हुन्छन् । किटपतङ्गदेखि मानव जातिसम्मले बाहृय वातावरणसित बच्न अनिवार्य रुपले आफ्नो बस्ने ठाउँको व्यवस्था गर्दछन् । वास्तवमा गुँड आफ्नो घर नै हो । गुँड बनाउनु पूर्व जुनसुकै पंक्षी वा अन्य किटपतंगहरुले केही दिन अनुसन्धान गरेर मात्र गुँड बनाउन सुरु गर्दछन् । केही चराहरुले निर्माण गर्ने गुँड यस प्रकार रहेका छन् ।

गौंथलीः गांैथली मानव समुदायमा रमाउने एक पंक्षी हो । यो मानिसको चहलपहल भएकै घरमा यसले ग्ँड बनाएर बस्दछ । गुँड बनाउनु पूर्व यसले स्थानको छनौट गर्दछ । मूलतः मानवको आवागमन, मूसा, बिराला, सर्प आदिका प्रकोपलाई बडो ध्यानपूर्वक यसले अनुसन्धान गरिरहन्छ । आफूलाई ठीक लागेपछि केही गौंथलीहरुका समूह समेत आएर निरीक्षण गर्छन् । अन्ततः पूर्णतया आफूलाई सुरक्षित ठानेपछि मात्र भोलिपल्टदेखि गुँड बनाउने कार्यमा भालेपोथी नै उद्यत हुन्छन् । प्रायशः वर्खायाममा यी जातिले निर्माण सुरु गर्दछनु । जहाँ हिलो छ त्यहाँबाट चुच्चोमा माटो ल्याएर अलिअलि दलिन वा बिमको आड पारेर निर्माण कार्य अघि बढ्छ । थुपारेको माटो सुक्दै गएपछि थप माटो राख्दै लामो आकारमा फुकेको स्वरुपमा गुँड बनाउने गर्छन् । त्यसपछि अग्रभागमा आफू छिर्न सक्ने सानो प्वाल बनाएका हुन्छन् । बिरालो, न्याउरी मूसा, मूसा आदिबाट जोगिन राम्रो र सुरक्षित खालका गुँड निर्माण गरेका हुन्छन् । आफ्ना केही बच्चाहरु र भालेपोथीका जोडी अट्ने ठीक्क खालको गुँड बनाइ सकेपछि केही नरम भुवाहरु खोजेर ल्याउछन् र बस्न सुरु गर्दछन् । यिनीहरुले गुँडमा फोहोर गर्दैनन् । बच्चाले बिस्टाउन लागेको विस्टालाई गुदद्वारबाटै टिपेर बाहिर लगेर फाल्ने गर्दछन् । सरसफाइमा पूर्णतया ध्यान दिएर बस्दछन् । अण्डा कुर्ने कार्यमा भालेपोथी दुवैले आलापालो गर्दछन् । बच्चालाई खाना खुवाउने वा बाहिर निस्कने बेलामा कलरव ध्वनि निकाल्दछन् र बाहिर उडेर जान्छन् । यिनको जीवनयापन बडो रमाइलो देखिन्छ ।

तोपचरा :झण्डै गौथली आकारका यी चराहरु भालेपोथी सँगसँगै बस्ने गर्दछन् । भालेको टाउकोमा पँहेंलो रंग हुन्छ । प्रायशः सिमलजस्ता अग्ला रुखमा यी चराहरुले गुँड बनाउँछन् । गुँड बनाउँदा ठाडो हाँगामा नभइकन तलतिर झुकेको रुखमा झण्डै २ फिट जतिकै लामो हुने गरी तल र माथि सुकेको मध्यभाग फुकेको बनाउने गर्दछन् । यिनीहरुले आफ्नो घर निर्माण गर्दछन् । कच्चा पदार्थको रुपमा मकै, उखु, निगालोजस्ता लामालामा पात हुने वनस्पतिलाई चुच्चोले चिरेर धागो जस्तो बनाई गुँड बनाउने ठाउँसम्म ल्याउछन् । गुँड बनाउँदा कहिले तल, कहिले माथि र्फकदै रेशाहरु एक आपसमा छिराएर बलियो हुने गरी बुन्ने गर्दछन् । हावा र केही उज्यालो छिर्न सक्ने तर घाम छिर्न नसक्ने गरी बलियो संरचनाको गुँड करिब हप्ता दिनमा यिनीहरुले तयार गर्दछन् । असिना र हावा हुरीले प्रभाव पार्न नसक्ने गरी बनाइएको गुँडको भित्ता करिब आधा इञ्च जतिको बाक्लो हुन्छ । भित्र केही भुवाहरु ओछ्याएर न्यानो पारेर बसेका हुन्छन् । बाहिरबाट भित्र केही चाल नपाउने तर भित्रबाट बाहिर सजिलैसित थाह पाउने खालको गुँडको प्रकृति हुन्छ । शिकारी चरा वा काग जस्ता आफ्ना शत्रु आउँदा सबै चराहरु बाहिर निस्केर कराउँदै लखेट्न थाल्छन् । यी चराहरु प्रायशः समुदाय मिलाएर बस्ने प्रकृतिका हुन्छन् । एउटा रुखमा बीस पच्चीसओटा गुँडसम्म पाउन सकिन्छ । मानवीय गतिविधिले प्रभाव पार्न नसक्ने र अन्य जनावर लोखर्के, मलसाँप्रो, वनविरालो आदिले पुग्न नसक्ने, हावाले हल्लाउँदा सजिलोसित नहल्लने, आफ्नो शत्रु आउँदा पनि सुरक्षित रहने स्थानमा यी चराहरुले ग्ँड लगाएका हुन्छन् ।

कोटेराको गुँड : यी प्रजातिका चरा भँगेराभन्दा ठूला हुन्छन् । सीधा रुखमा हिंड्न सक्ने यी चराका गुँड रुखको टोड्कामा हुन्छ । बाहृय शत्र् र हावाहुरी, वर्षाले सुरक्षित हुने गरी आफैले रुखमा खोपेर प्वाल पारिएको टोडकामा बस्ने गर्दछन् । रुखलाई खोप्नुभन्दा पहिले कुन ठाउँमा कति सुरक्षित छ भन्ने जानकारी पाएपछि मात्र पहिल्यै अलिकति प्वाल भएको रुखमा आफूले आकार दिएर मात्र यिनीहरुले गुँड बनाउँछन् । सर्प, मूसाबाट बच्न पनि यिनीहरुले विशेष तरीकाको सावधानी अपनाएका हुन्छन् । मधिसे डाँग्रें, कालो डाँग्रें, सुगा, मैना, ठेउवा आदि रुखका टोड्कामा बस्ने चराहरु हुन् ।  कागले गुडँ आँपको रुखमा कसैले पनि देख्न र पुग्न नसक्ने ठाउँमा बनाउँछ । नेपाली सनातन संस्कृतिमा यसलाई शुभाशुभ खबरको संवाहक मानिन्छ । एकान्तमा रमाउने, सदा सतक रहने, धैर्यवान, धूर्त, चलाख र लक्ष्य प्रष्टसँग चिन्न सक्ने कागका गुण हुन् ।

हरेक प्राणीले आफ्नो सुरक्षा र सन्तान हुर्काउन का लागि बस्ने बास बनाएका हुन्छन् । कतै घर, कतै गोठ, ओडार, पाटीपौवा आदि बसोबास गर्ने ठाउँ हुन् । आफ्नो सुखसयलका लागि पछिल्लो समयमा विभिन्न शैलीका महलमा बसोबास गर्न थालेका हुन् । घर कस्तो किसिमको निर्माण गर्ने भन्ने कुरा पशुपंक्षीबाट त्यत्तिकै सिक्न सकिन्छ । सभ्यताकालीन समयमा नदीका तटमा बसोबास गर्न थालेका मानव समूह अहिले समृद्ध छ । विज्ञान तथा प्रविधिका विलासितामाआफ्नो पहिचान तोपचराको गुँडजस्तै घरबाटै दिन थालेको छ । यसमध्ये आफ्नो बलियो घरको ज्ञान आर्जन स्रोत किटपतंगदेखि पशुपंक्षीहरु पनि बनेका छन् । वास्तुसम्मत घरले सुख, समृद्धि र शान्ति भित्र्याउँछ । यसले उन्नति प्रगतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । घर सुख, समृद्धि, खुसीयालीको प्रतीक हो ।

ऋगवेदमा घर निर्माणको बारेमा व्याख्या गरिएको छ । वेद तथा पौराणिक ग्रन्थहरुमा पनि घर निर्माणको बारेमा दिइएको छ । स्कन्द पुराण, वराहपुराण, अग्निपुराण, महाभारत, आदि ग्रन्थले समेत यसको महत्त्वलाई उत्तिकै रुपमा लिएका छन् । वास्तुशास्त्रले निर्माण कलालाई जोड दिन्छ । विभिन्न पशुपंक्षीबाट समेत ज्ञान आर्जन गरेर मानवले घरलाई बलियो पार्ने कला समेत नक्कल गरेको पाइन्छ । पशुपंक्षीहरुदेखि लिएर किटपतङ्ग आदि समेत आफूले निर्माण गरेको घरमा बस्दछन् । जनावर बस्ने घरलाई ओडार भनिन्छ भने चरा बास बस्ने स्थानलाई गुँड भनिन्छ । धमिराको गोलो, कमिलाको पोलो, कुमालकोटी गुँड आदि बनाउँदा माटो प्रयोग गरिन्छ । यी माटोलाई यिनीहरुले बडो सुन्दर तरीकाले राखेर आफ्नो गुँडको आकार दिन्छन् । समस्त जीवजन्तुहरु आफू सुरक्षित रहनका लागि विभिन्न तरीकाले बस्ने स्थल बनाएका हुन्छन् । स्याल, खरायो, दुम्सी आदि जस्ता जीवहरुको ओडार पनि अचम्मको हुन्छ । मौरी, बारुला आदि गोला पनि हेर्नमा निकै आर्कषक हुन्छन् । यी गोलाहरुमा मह संग्रह गर्ने कोठा र बच्चा बस्ने कोठा बेग्लाबेग्लै तवरले व्यवस्था गरिएको हुन्छ ।

पशुपंक्षीहरुका लागि होस् या मानवकै लागि घरबाट शान्ति मिलेन भने यसको परिणाम दुःखद हुनसक्छ । यसले आर्थिक नोक्सानका साथै ज्यानै जोखिममा पार्दछ । राजा दत्तात्रयले जीवनमा आफूलाई ज्ञान आर्जन गराउने पञ्च भौतिक तत्त्वदेखि परेवा, मौरी, माकुरा, कुमालकोटी, पंक्षी, बालक आदि जस्ता २४ थरीलाई गुरु मानेका थिए । यी प्रत्येकले केही न केही बोध गराए । यिनैबाट मानव जातिले नयाँनयाँ वस्तुगत ज्ञान आर्जन गरे ।

- कल्याण पन्त