विद्यार्थी आकर्षणका लागि बालमैत्री विद्यालय

कक्षा १ मा भर्ना भएका बालबालिकाहरुमध्ये कतिजनाले सम्बन्धित तहको पढाइ पूरा गरे भनेर हेर्दा हामीकहाँ कक्षा उत्तीर्ण दर एकदमै न्यून देखापर्छ। एक सरकारी तथ्यांकका अनुसार कक्षा १ मा भर्ना भएका बालबालिकाहरुमध्ये १० कक्षामा पुग्दा ३७.९ प्रतिशतले मात्र  विद्यालयको पढाइ पूरा गर्नेगरेको देखिएको छ। अर्थात १-१० कक्षाको टिकाउ दर ३७.९ प्रतिशत  मात्र देखिन्छ। कक्षा १-५ मा नै पनि कक्षा छोडने दर ३.९ प्रतिशत र कक्षा दोहोर्‍याउने दर ७.६ प्रतिशत देखिन्छ।

कुल राष्ट्रिय बजेटको   लगभग ९.८ प्रतिशत रकम मात्र  शिक्षामा लगानी गरिएको छ।  अझैपनि १-५कक्षाका उमेर समूहका बालबालिकाहरुमध्ये ३.४ प्रतिशत बालबालिकाहरु स्कूल बाहिरै छन् भने स्कूल आएकाहरुमध्ये पनि तह पूरा नगर्नेहरु त्यत्तिकै   सख्यामा छन।  कक्षा १-८ मा विद्यालय  बाहिरको अवस्था १० प्रतिशत छ भने १२ कक्षा पास भएकाहरुमध्ये उच्च शिक्षामा १२.२४ प्रतिशत मात्र जाने  गरेको  देखिन्छ।

आखिर किन हुन्छ त यस्तो ? कारण के हो ? खोजको विषय बन्न पुगेको छ। अर्को शब्दमा विद्यार्थी टिकाउ दर हामीसँग एकदमै कम छ। कक्षा अनुत्तीर्ण भएर भन्दा पनि  विद्यार्थीले बीचैमा पढाइ छोडेर यस्तो हुन गएको हो। किनभने हामीकहाँ उदार कक्षोन्नति नीति लागूभएको छ। यसाई ‘नो फेल’ सिष्टम पनि भनिन्छ। यस नीतिअनुसार निर्माणात्मक मूल्याङ्कन प्रक्रिया  अपनाई कमजोर विद्यार्थीलाई पनि उसको अपूरो  सिकाइ उपलब्धि पूरा गराउन शिक्षकले थप मिहिनेत गर्छन्। यसैले टिकाउ दर कम हुनुका पछाडि विद्यार्थी अनुत्तीर्ण  भएकोले  गर्दा नभई उसले विद्यालयको पठन पाठन  छोडनु नै प्रमुख कारक बनेको छ।

आखिर किन छोडछन् त विद्यार्थीले विद्यालय – यसका पछाडि धेरै कारणहरु हुन सक्छन्। ती धेरै कारणहरुमध्ये बालमैत्री विद्यालयको अभाव पनि एउटा कारण बन्न सक्छ। तसर्थ विद्यार्थी आकर्षणका अनेकानेक उपायमध्ये एउटा उपाय विद्यालयीय वातावरण बालमैत्री बनाउनुपनि हो। नारामा त हाम्रा विद्यालयहरु उहिल्यै बालमैत्री भईसकेका छन्। कतिपय विद्यालयमा त गाजाबाजासहित बालमैत्री घोषणा गरिएका पनि छन्। तर जसरी खुला दिसामुक्त क्षेत्र भनिएका ठाउँमा जाँदा नाक थुन्नुपर्छ , पूर्ण साक्षर भएका गाउँमा जाँदा जनताले ल्याप्चे लगाएर व्यवहार गरेको हेर्र्नुपर्छ। त्यही अवस्था रहरमा बालमैत्री घोषणा गरिएका विद्यालयका हकमा पनि लागू हुँदैन भन्न सकिदैन।

बालमैत्रीको मूल मर्म र भावनासँग परिचित भई घोषणा गरिएका विद्यालयहरु एकातिर न्यून छन् भने अकोर्तिर घोषित विद्यालयहरुले पनि बालमैत्रीको न्यूनतम मापदण्ड र सिकाइका आधारलाई पछाएका छैनन्।  घोषणा गर्ने पक्ष शुरुमा घोषणामा नै रमायो। पछि यसको अनुगमन ,मूल्याङ्नको झमेलातिर लाग्न चाहेन।

के हो बालमैत्री विद्यालय ?

बालमैत्री विद्यालय भन्नाले बालबालिकाले आफ्नो क्षमता अनुसारको गतिमा रमाइलोसँग सिक्न पाउने वातावरण भएको विद्यालयलाई बुझाउँछ। बालमैत्री विद्यालयको अवधारणाले बालकेन्द्रित शिक्षण सिकाइलाई बालअधिकारका रूपमा स्थापित गर्ने तथा गुणस्तरीय शिक्षाका अन्य पक्षहरूसँग प्रत्यक्ष सरोकार राख्दछ। बालबालिकाका रुचि, स्तर तथा क्षमतामा आधारित भई निर्धारित समय, सीमा तथा उपलब्ध स्रोत, साधन र क्षमताको प्रयोगबाट सिकाइलाई सहज गराउँछ। बालकको शारीरिक,मानसिक एवं संवेगात्मक पक्षसँग चासो राखी मनोवैज्ञानिक सिकाइमा जोड दिन्छ।

यी विविध पक्षसँगै गुणस्तरीयताको कुरा शिक्षाको हरेक आयाममा सँगसँगै आउने गर्दछन्। गुणस्तरीयताका विभिन्न मापदण्डहरूमध्ये बालमैत्रीपन पनि एक हो। यस्तो विद्यालयमा बालबालिकालाई आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको  हुन्छ।  प्रत्येक विद्यार्थीहरूले आफूलाई भौतिकरूपमा सुरक्षित, संवेगात्मकरूपबाट संरक्षित, मनोवैज्ञानिक रूपले सक्षम र बलियो महसुस गराउने वातावरण प्राप्त गरेका हुन्छन्। हरिभक्त कटुवालको रहर कवितामा  भनिएझैं ‘बा ∕ जान्न म पाठशाला त्यहाँ पढाइन्छ इतिहास खिया परेका दिनहरुको ’ भन्ने अवस्था आउँदैन। अथात् बालकको रुचि र चाहनाअनुसारको पठन पाठन यस्ता विद्यालयहरुमा हुने गर्दछ।

बालमैत्रीको आधारः बालअधिकार

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा नेपाल लगायत विश्वका १९२ देशहरूद्वारा अनुमोदन गरिएको संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि पारित गरिएको थियो। बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो। ५४ धारामा व्यवस्थित यस सन्धीले बाल अधिकारका सम्बन्धमा व्यवस्था गरेका अधिकारहरू मुख्य रूपमा चार ओटा छन्। बाँच्न पाउने अधिकार,विकास गर्ने अधिकार,संरक्षण पाउने अधिकार र सहभागी हुने अधिकार। आजको बालमैत्री विद्यालय यही बालअधिकारको जगमा विकसित भइरहेको छ। सहज रुपमा शिक्षा,स्वास्थ्य,सुरक्षालगायतको प्राप्तिको वातावरण हरप्रकार बालमैत्री नै हुनुपर्ने कुरा विभिन्न दस्तावेजहरुले समेत उल्लेख गरेका छन्।

बालमैत्री विद्यालयका विशेषता

घोषणा गर्दैमा वा  कसैले बालमैत्री विद्यालय भयो भन्दैमा कुनैपनि  विद्यालय एकाएक बालमैत्री बन्न सक्दैन। यसका लागि  निश्चित मापदण्डहरु हुन्छन्,जसलाई पूरा गरेर मात्र बालमैत्री विद्यालय बन्न सक्छ। यसैले यो नितान्त प्राविधिक पक्ष हो।  खासगरी यस्ता विद्यालयमा बालबालिकाहरूले शारीरिक, मानसिक एवम् संवेगात्मक रूपले सुरक्षित तथा स्वस्थ वातावरण पाउनुका साथै उनीहरूको रुचि, क्षमता र स्तरको कदर हुन्छ र सोहीअनुसार  सिकाइका लागि आवश्यक वातावरण एवम् पाठ्यक्रमको व्यवस्था हुन्छ।

केन्द्रशासित पाठ्यक्रम नभएर स्थानीय पाठ्यक्रमको प्रयोग बढी गरिन्छ। बालबालिकाको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्ने पूर्ण जिम्मेवारी शिक्षकको हुन्छ। परीक्षाको डरलेभन्दा पनि  खेल्दै सिक्दै ,रमाउँदै सिक्दै गरेर उनीहरुले सिकाइ उपलब्धि पूरा गरेका हुन्छन्।

बालबालिकाहरूलाई उनीहरूको जात, लिङ्ग, धर्म, भाषा, आर्थिकस्तर, शारीरिक एवम् मानसिक दुर्वलताका आधारमा विना भेदभाव विद्यालयमा भर्ना गरिन्छ। यसबाहेक विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरूलाई भेदभावरहीत व्यवहार गरिन्छ। अर्थात् समुदायका सबै बालबालिकाका लागि सहज पहुँच पुग्नुपनि बालमैत्री विद्यालयको चिनारीको अर्को पाटो हो।पढाइ लेखाइका अतिरिक्त बालबालिकाहरूको स्वास्थ्य एवम् सुरक्षामा विशेष ध्यान दिइन्छ। नियमित स्वास्थ्य जाँचको व्यवस्था विद्यालयले गरेको हुन्छ।

विद्यालयको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा बालबालिका, अभिभावक र समुदायलाई प्रत्यक्ष सहभागी गराइन्छ। अपनत्वबोधको अवसर दिइन्छ। विद्यालय बाल क्लबहरु सक्रिय हुन्छन्। कुनै पनि प्रकारका भौतिक, शारीरिक एवम् मानसिक दण्ड, सजाय बर्जित हुन्छ र बालबालिकाहरूलाई दुर्र्व्यवहार र नोक्सानीबाट बचाउने काम निरन्तर रूपमा भइरहेको हुन्छ। यस्ता विद्यालयहरुमा  सिकाउनेले सिकाएजस्तो नगरी र सिक्नेले सिकेजस्तो अनुभूति नगरी सहज तर स्वतस्फूत सिकाइ हुन्छ।

बालमैत्री विद्यालयका  विद्यार्थीहरू

जहाँ बालमैत्री विद्यालय छ ,यहाँका विद्यार्थीहरु सहयोगी र व्यावहारिक हुन्छन्।हरेक क्रियाकलापमा सहभागी हुन्छन्।आपसी छलफल सहयोग र अन्तक्रिर्याबाट समस्या समाधान गर्न सक्दछन्।उनीहरुको शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास समानुपातिक ढङ्गबाट भएको हुन्छ। यस्ता विद्यालयमा आउने सबैजसो  बाल बालिकाहरु आत्मसम्मान चाहने  र आत्मबल बलियो  बनाउने खालका हुन्छन्।

बालमैत्री विद्यालयका शिक्षकहरू

बालमैत्री विद्यालयका लागि शिक्षकहरुको पनि विशिष्ट प्रकारको भूमिका  हुन्छ। उनीहरु विद्यार्थीप्रति सदैव उत्सुक र प्रतिबद्ध हुन्छन्। विद्यार्थीहरूलाई क्षमता र चाहनाअनुसार सिकाउने गर्छन। विद्यार्थीहरूलाई हरेक क्रियाकलापमा सहभागी हुन हौसला प्रदान गर्ने र उनीहरूको विचारको कदर गर्छन्। पूरा तयारीका साथ कक्षाकोठामा प्रवेश गर्दछन्।   विद्यार्थीहरूको आत्मबल बढ्नेखालका शिक्षण विधिहरू प्रयोग गर्दछन्। आफ्नो पेसाप्रति गौरव गर्छन्, आत्म विश्वासी हुन्छन् र कक्षाकोठालाई कर्मथलोका रूपमा लिन्छन्।सबै विद्यार्थीहरूलाई समान व्यवहार गर्दछन्। विद्यार्थीहरूलाई कुनै पनि किसिमको सजाय दिदैनन्। विद्यार्थीको अगाडि नमुना भएर प्रस्तुत हुन्छन्।

बालमैत्री विद्यालयका अभिभावकहरु

एकपक्षीय ढंगबाट मात्र कुनै पनि विद्यालय बालमैत्री हुन सक्दैन। यसका लागि विद्यार्थीका अभिभावकहरुको पनि  सहभागिता र समन्वय चाहिन्छ। यस्ता विद्यालयका अभिभावकहरु विद्यार्थीहरूलाई हेरचाह,माया र आदर गर्दछन्। विद्यालयको बैठकमा भाग लिन्छन्। विद्यालयको नीति, कार्यक्रम तथा कार्यान्वयन अभ्यासबारे राम्रो जानकारी राख्छन्। आफ्नो क्षमता र सामर्थ्यअनुसार विद्यालयको विकाससँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी हुन्छन् र सहयोग गर्छन। आफ्ना बालबालिकाको प्रगति तथा कमी कमजोरीबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने गर्छन्। विद्यार्थीको सिकाइमा आफ्नो पनि जिम्मेवारी स्वीकार्दछन। विद्यालयप्रति सकारात्मक भावना राख्छन्।

र अन्त्यमा,

आजको युग कर कापको युग होइन। सहयोग, सहभागिता र समझदारीमा नै सबैको भविष्य सुनिश्चित  छ। यो सिद्धान्त पठनपाठनमा पनि लागू हुन्छ। लादेको भन्दा रोजेको पढाइमा विद्यार्थीले प्रगति गर्न सक्छन्। यसका लागि शुरुबाट नै वातावरण तय गरिदिन जरुरी छ। आजको सिकाइको सार पनि लगभग यही हो। यसका लागि शुरुबाट नै बिद्यालय,विद्यालयको पेरिफेरि (वातावरण),शिक्षण सिकाइ प्रक्रिया र शिक्षक तथा अभिभावक मनोविज्ञान समेत बालमैत्री हुुन सकेको खण्डमा मात्र बालबालिकाको चौतर्फी सिकाइ  र विकास सम्भव हुन्छ। बालमैत्री घोषणामा भन्दा कार्यान्वयनमा देखिनु पनि उत्तिकै जरुरी छ।

- नगेन्द्रराज पौडेल