विक्रमसंवत २०७४ साल नयाँ वर्ष-हाम्रो वर्ष

हामी २०७४ साल नयाँ वर्षमा छौं। यो वर्ष हामी नेपालीको लागि आशा लाग्दो वर्ष हो। यो वर्ष मुलुकले एउटा रुपान्तरण प्रकृया पूरा गरी अर्को चरणमा प्रवेश गर्ने वर्ष हो। सबै राजनैतिक शक्तिहरु आपसी समझदारी र विश्वासका साथ असल राजनैतिक संस्कार शुरुवात गर्ने वर्षको रुपमा हुनेछ। एउटा नयाँ उत्साह नयाँ उमंग, नयाँ जागरणका साथ समग्र नयाँ राजनैतिक र प्रशासनिक स्वरुपका साथ आर्थिक विकास, आर्थिक समृद्धिको अभियानमा तल्लीन हुने वर्ष हुनेछ। तसर्थ सम्पूर्ण राजनैतिक शक्तिहरु, नेतृत्व प्रदान गर्ने वर्गहरु मुलुकलाई एउटा भरपर्दाे विश्वासिलो र सफल राष्ट्र उन्मुख बनाउन लागि पर्छन् भन्ने विश्वास यो नयाँ वर्षले दिइरहेको छ।

१. लोकतन्त्रलाई संस्थागत रुपमा सुदृढ गर्ने भनेको जनताको मतबाट प्रतिनिधि छान्न निर्वाचन गर्नु हो। निर्वाचन जनताको राय र मत प्रकट गर्ने सबैभन्दा सुन्दर पक्ष हो। आज जनप्रतिनिधिहरु नभएको अवस्थामा, झन्डै १८ वर्ष देखि आफ्ना प्रतिनिधि छान्न नपाइरहेको अवस्थामा गाउँ शहरको तल्लो निकायमा जनताको आवश्यकता पूरा गर्ने, जनतालाई सुविधा पुर्‍याउने कामहरु, जनताका गुनासाहरु सुन्ने काम हुन सकेको थिएन। यो वर्ष ती तल्लो निकाय, प्रत्यक्ष नागरिकसँग सम्बन्ध स्थापित हुने निकायमा आफ्ना प्रतिनिधि छान्ने अवसर यो वर्ष हामीले पाउदैछौं। यो सबैभन्दा महत्वपूर्ण अवसर हो। यो सँगै संघीय संरचना अनुसार प्रदेशमा विभाजित गरिएको अवस्थामा आ-आफ्नो प्रदेशमा सरकार गठनका लागि, प्रदेशका विकास अभियानलाई तीव्र पार्नका लागि, राजधानीमा केन्द्रित अधिकार र शक्तिलाई आफ्नै ठाउँमा ल्याउने र समुचित प्रयोग गर्नका लागि प्रदेश चुनाव पनि गर्दैछौं। प्रदेश चुनावमा प्रदेश भित्र बसोवास गर्ने सबैको  उचित प्रतिनिधित्व होस् भन्ने कुरालाई ख्यालमा राखिएको हुनाले उचित उपयुक्त योग्य व्यक्तिहरुलाई प्रतिनिधिको रुपमा पठाउने अवसर प्राप्त हुनेछ यो वर्ष। यो संगै केन्द्रीय संसदको लागि पनि हामी मतदान गर्दछौं। शक्ति पृथकीकरण र विकेन्द्रीकरणको सिद्धान्तमा आधारित अधिकार र कर्तव्यको बाँडफाँड, आफ्नो ठाउँको लागि आफै सक्रिय लाग्नु पर्ने मान्यताका साथ समुच्च प्रदेशबाट केन्द्रमा प्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाउने अवसर पनि यही वर्ष हुनेछ। यसरी २०७४ साल निर्वाचनको वर्ष हुनेछ- यसैक्रममा नयाँ राष्ट्रपति, नयाँ उपपराष्ट्रपति, सभामुख आदि विभिन्न संवैधानिक पदहरुमा र कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री, प्रदेशको मुख्य मन्त्रीहरु पनि छानिने छन् तसर्थ २०७४ साल पूर्ण जिम्मेदारीपूर्ण वर्ष, आफ्नो विवेकको भरपूर प्रयोग हुने वर्ष हुनाले उमङ्ग, उत्साह र जाँगरको वर्षको रुपमा स्थापित हुने निश्चित छ। राजनैतिक स्थिरता प्राप्त गर्ने अपूर्व अवसर हुने हुनाले नेपालको लागि चुनौतिपूर्ण वर्ष पनि हो।

२. यो वर्ष विश्वका अन्य मुलुकहरुको लागि पनि चुनौतिपूर्ण हुने देखिएको छ। अमेरिकाका नयाँ राष्ट्रपतिले अबलम्बन गरेको कठोर नीतिको कारणले देश विभाजितको स्थितिमा पुगेको छ। बेलायत युरोपियन संघबाट बाहिरिने निर्णयले युरोपियन संघ भित्र तरङ्ग पैदा गरेको छ। अतिविकसित मुलुकमध्ये इटालीमा देखिएको आर्थिक अस्थिरताले ल्याएको राजनैतिक स्थिरताबारे प्रश्नचिन्ह खडा भएको छ भने जर्मनी र फ्रान्समा हुने आमनिर्वाचनले मौजुदा सरकार परिवर्तन हुने संकेतले गर्दा युरोपियन संघको भविष्यबारे अनिश्चितको बादल मडाइरहेको छ। युरोपियन मुलुकहरु ग्रीस आर्थिक संकटबाट पार पाउन नसकेको, र्टर्कीमा आतङ्कवाद र सरकारको अधिनायकवादी नीति युक्रेनमा रुसी हस्तक्षेप र बढ्दो आप्रवासी संख्याले युरोपलाई अस्थिरतातर्फ उन्मुख गराएको छ। सिरीया, इराकमा निरन्तर आन्तरिक संघर्ष यमन, अफगानिस्तान, पाकिस्तान जस्ता मुलुकहरुमा राजनैतिक र सैनिक संघर्षहरुले अनिश्चित बनाएको छ। विश्वभर देखिएको वातावरणीय प्रभावले हावापानी, मौसममा परेको असरले विभिन्न राष्ट्रहरुले असहज अवस्था भोग्नुपरेको छ। बेमौसम पानी पर्नु, सुख्खाग्रस्त भइ अनिकाल पर्नु, ज्वालामुखी सक्रिय हुनु, हिमपहिरो, सुख्खा पहिरो, जंगलमा आगजनीले विपद स्थिति पैदा गर्ने आशंका व्यक्त गरिएको छ। तर विश्वका ४ वटा शक्तिहरु मध्ये अमेरिका र रुस आफ्ना नीतिहरुमा परिवर्तन ल्याउँदै एक आपसमा नजिकिने र आफ्नै मुलुकलाई सुरक्षित बनाउन लागि पर्ने संकेत देखिएको हुनाले विश्वमा परस्पर कलह कमी हुन्छ भन्ने विश्वास लिन सकिन्छ भने भारत र चीन विश्वको आर्थिक शक्तिको रुपमा केन्द्रित हुने रणनीति अख्तियारी गरेको हुनाले ठूलो राजनैतिक कटुतता र विमतिको सम्भावना यो वर्ष कम हुने देखिन्छ। नेपालको लागि यो राम्रो अवसर हुनेछ र नेपालले यो परिस्थितिबाट उच्च लाभ लिन सक्ने नीति अबलम्बन गर्नुपर्दछ।

३. निर्वाचनहरु सम्पन्न भइसकेपछि नेपालमा असल राजनैतिक प्रकृयाको शुरुवात हुने आशा छ। अब असमझदारीको राजनीति, निषेध राजनीति अन्त हुने विश्वास गर्ने अवस्था छ। अनुभव र व्यवहारले सबै राजनैतिक दलहरुलाई परिष्कृत बनाउन मद्दत पुगेको छ, पाठ सिकाएको छ। लामो समयको राजनैतिक संक्रमणकालीनको कारणले उब्जाएको राजनैतिक अस्थिरताले मुलुकलाई धेरै पछाडि पारेको महशुस सबै दलहरुले गरिरहेका छन्। धेरैपटकको सरकार परिवर्तनले मौजुदा संस्थाहरुको संरचना र कार्यशैलीलाई थिलो थिलो पारेको सबैको मनमा छ। जताततै देखिएको संगठनको नाममा विकृति र विचलन, मुढेबल र अनुशासनहीनताले सुशासन र जवाफदेहितालाई गायब पारिदिएको सबैले महशुस गरेका छन्। बढ्दो घुसखोरी, उर्लदो र उत्ताउलो तडकभडक, भ्रष्ट आचरणले कस्तो अवस्थामा पुर्‍याएको छ। दण्डहीनताको अवस्थाले एउटा स्वाभिमान र इमान्दार मानिस शिर ठाडो गर्न असमर्थ भएको छ। असल आवाज र संस्कार विलीन भएका छन् केही मुलुकका लागि हितकर विषय हुन त – सबैले महशुस गरिसकेको अवस्थामा यो वर्षदेखि यस्ता विकृतिजन्य गतिविधिहरु नियन्त्रणमा आउनेछन्, राज्य बलियो हुनेछ, कानुनी राज्यको रुपमा गर्व गर्ने अवस्था आउने छ, असल शक्तिहरुले खराब शक्तिलाई परात गर्नेछ, नेपाल असफल राज्य हुनुबाट पार पाउने विश्वास लिन सकिन्छ। नेपालको लागि यो वर्ष फलदायी बनाउन हामी सबै लाग्नुपर्दछ।

४. यो वर्ष स्वास्थ र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुनेछ। विद्यालयको संरचना परिवर्तन, न्यूनतम योग्यता पनि नभएका शिक्षकहरु नियुक्ति नगरिने नियमसम्मत सबै विद्यालय संचालन नभए खारेज गर्ने, शिक्षकहरुलाई निश्चित गरेको तलब सुविधा सहित कर्तव्य पालना गराउने जस्ता सरकार लागू गराउन कटिबद्ध देखिएको हुनाले शैक्षिक क्षेत्र केही हदसम्म सुधारको बाटो लिने विश्वास गर्न सकिन्छ। त्यसरी नै नागरिकलाई पहुँच, स्वास्थबीमा, निःशुल्क औषधि उपलब्ध र अनुगमन, निःशुल्क वेड, रोगको उपचारमा आर्थिक सहयोग, सरकारी सेवामा संलग्न चिकित्सक आफूखुशी निजी क्लिनिक संचालन गर्न नपाइने जस्ता आदेशले स्वास्थ क्षेत्रमा ठुलो सुधार हुने अपेक्षा छ। यो वर्ष सरकारी आदेश र निर्देशन मात्र हैन प्रभावकारी कार्यन्वयन अनुगमन र गल्तीलाई दण्डित गर्ने प्रकृया शुरु हुनेछ।

५. यो वर्ष सामाजिक रुपमा तडकभडक देखाउने कुरा निरुत्साहित गर्ने विशेष चासो सरकारले देखाएको छ। सामाजिक सुधार सम्बन्धी कानून धेरै अगाडि लागू गरेको भएता पनि यो हाँसो लाग्दो विषय, ठट्टा गर्ने विषय र सरकारले देखाउने विषयमात्र बनेको थियो । राज्य कानून नै लागू गर्न नसक्ने कमजोर निकाय त होइन तर आम नागरिकले विश्वास गर्न सक्ने परिस्थिति बनेन, तर यो वर्ष सामाजिक सुधार गर्ने क्रममा प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता देखाएको हुनाले सुधार हुन्छ भन्ने विश्वास छ त्यसमाथि मदिरा र सूर्तिजन्य पदार्थको अपभोग, ब्रि्री वितरणमा देखाउन थालेको कारवाहीले राज्यप्रतिको बढ्दो विश्वासको रुपमा लिनुपर्दछ र यो वर्ष यो प्रभावकारी हुनेछ।

६. यो वर्ष देखि पुराना, थोत्रा, धुँवा, मुस्लो निकालेर वातावरण नै प्रदूषित गर्ने, चल्न नसकेर सडकको बीच भागमा थन्किएर सडक जाम गरेर अवरोध गर्ने र सवारी साधनमा बस्दा लुगाफाटो नै च्यातिने खालका सवारी साधनलाई बन्देज लगाएर राम्रो कामको शुरुवात गरेको छ। कसैको डर, त्रास वा चक्काजामको धम्कीबाट सरकार विचलित नहुने कुरा विश्वास गर्न सकिन्छ।

देशमा गैरकानुनी अर्थव्यवस्था सञ्चालन भइरहेको र यसले मुलुकको विकासमा अवरोध सिर्जना गरेकोबारे धेरै पटक ध्यानाकर्षण गरेका छौं। यस्तो समानान्तर अर्थतन्त्रले राज्यको सार्वभौमलाई नै चुनौती दिएको हुन्छ। आज नेपालमा यस्ता गैरकानूनी र अवैध कार्यबाट आम्दानी, आर्जन गर्नेहरुलेे सरकारलाई चुनौती दिने, सरकार परिवर्तनको धम्की दिने काम गरिरहेका छन्। तस्करी, लागुपदार्थ कारोबार, गुण्डागर्दी, असुली, ठगी, जालसाजी, मानव तस्करी र बेचबिखन, घुसखोरी, अपहरण, हातहतियार ओसारपसार, नक्कली नोट र कागजपत्र धर्म परिवर्तन र जासुसी आदि कुकृत्यले देशको सुरक्षा, सार्वभौम र आर्थिक अवस्थालाई ठूलो चुनौति दिइरहेको सर्न्दर्भमा सरकार सम्पत्ति शुद्धीकरण सम्पत्तिको खोजबीन, स्रोतको खोजबीनलाई जबरजस्ती अभियानको रुपमा अगाडि बढाउने प्रयासमा लागिरहेको हुनाले यो वर्ष सकारात्मक संकेत देखिएको छ। यसै सर्न्दर्भमा रु १० लाख भन्दा भुक्तान गर्नुपरेमा नगदमा गर्न नपाइने बैंकको माध्यमबाट मात्र गर्नुपर्ने निर्णय गरेबाट अर्थतन्त्रमा राम्रो प्रभाव पर्न सक्ने र आर्जन गर्ने व्यक्तिहरुले कर छली कर नतिरी बस्न सक्ने अवस्था अन्त गर्ने विश्वास लिन सकिन्छ।

अन्त्यमा २०७४ नयाँ वर्ष हामी सवै नेपालीको लागि सुखद् र सकरात्मक वर्ष हुन सकोस्।

- आनन्दराज मुल्मी