विकासको ओझेलमा परेको गाउँ घरेडी

स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. १ मा अवस्थित घरेडी गाउँ सदरमुकाम स्याङ्जा बजार तथा तनहूँको व्यापारीक शहर दुलेगौंडाबाट सालडाँडा हुँदै गत वर्ष होमस्टे गाउँ घोषणा गरिएको खैरेकोट जाने बाटोमा पर्दछ। छिमेकी गाउँहरु खैरेकोट, फिदिम्स्वाँरा, चुइकुना, सालडा“डा, छेक्मा र चेप्टे हुन्। उत्तरतिर खुदी कोल्मा र माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ। पूर्व तर्फ तनहूँको साखे छाब्दी देउराली हुँदै दुलेगौंडासम्म प्रष्टै देख्न सकिन्छ। दक्षिणतर्फ गृहकोट भैरवथानसम्म र पश्चिम तर्फ विरुवा बजार हुँदै सिङ्गारकोटसम्म सबै गाउँहरु देखिन्छन्।

यस गाउँका वासिन्दाहरु स्तरीय शिक्षा आर्जन गर्ने र राम्रो रोजगारीको सिलसिलामा विभिन्न शहर तथा विदेशतिर पलायन भएकाले हाल २२ घर गुरुङहरु र १ घर ब्राह्मण गरी जम्मा २३ घर धुरी स्थायीरुपमा बसोबास गरिरहेका छन्। विकास निर्माण कार्यमा सरकारी रकमबाट प्रायः वञ्चित रहने हुनाले यो गाउँ पिछडिएको छ। घरेडी आमा समूह र वसन्त युवा क्लब यस गाउँको विकासमा जुटिरहेका छन्। सालडाँडादेखि गाउँसम्म कच्ची मोटरबाटोले जोडिएको छ। चिहानडाँडा हुँदै जाने बाटो असफल भएपछि समाजसेवी युवाहरु श्री पूर्णबहादुर गुरुङ र श्री गिरबहादुर गुरुङ (सागर) को संयुक्त लगानी तथा उहाँहरुको दिदी श्रीमती इन्द्रकला गुरुङको सक्रियतामा खाती गाउँबाट र्घर्ती गाउँ हुँदै श्री थानपति प्रा.वि. सम्म नयाँ कच्ची मोटरबाटो बनाइएको छ। गाउँका समाजसेवी श्री एकेन्द्र गुरुङको सक्रियतामा विजुली र पिउने पानी पुगेको छ।

- केश बहादुर गुरुङ