विकासको आधार शिक्षामा समसामयिक सुधार

‘शिक्षा’ विकास र मानव सभ्यताको आधारशीला हो। पूर्र्वीय शिक्षाको विकास प्राचीनकालदेखि नै अध्यात्मिकता र पश्चिमा शिक्षाको विकास विज्ञान र आधुनिकताका आधारमा हुँदै आएको छ। शिक्षाको प्रकाशबाट उब्जने तेजबाट मानिसमा अन्तरनिहित ज्ञानको ज्योति उजागर गराउनुका साथै हरेक कुराको सान्दर्भिकता र वास्तविकता पत्ता लगाउन मद्दत पुर्‍याउँदछ। ज्ञान, विवेक, नैतिकता, औकात र क्षमता शिक्षाका अवयव हुन्। शिक्षाको माध्यमबाट विज्ञान र प्रविधिको विकाससँगै अनुसन्धान, अन्वेषण एवं खोजमूलक कार्यका चरण पार गर्दै मानव सभ्यताको विकास हुँदै आएको हो। योसँगै मानिसलाई संस्कारयुक्त, सत्चरित्रवान, एवं कर्तव्यनिष्ठ बनाउनुका साथै सृजनात्मक, उद्यमशील र उत्पादनमूलक कार्यमा संलग्न हुन प्रेरणा प्राप्त गराउँदछ। ज्ञान र चेतनाको विकासले नै मानिसको व्यक्तित्व निर्माणका साथै मर्यादित जीवन जिउन सिकाउँदछ। व्यक्तिको जीवन सवल र सार्थक बनाउन मार्ग तय गराउँदछ। अगाडि थुप्रिएका अप्ठ्यारा र चट्टान चिर्दै पार गर्न सक्ने शक्ति प्रदान गर्दछ। यस्ता ज्ञान र सीपको आर्जनबाट दक्ष जनशक्तिको उत्पादन हुने हो। शिक्षाको ज्योतिले नै मानिसको जीवनको अँध्यारोपनलाई हटाएर उज्यालो बनाइदिन्छ, जसरी पृथ्वी र चन्द्रमाको अँध्यारोलाई सूर्यको प्रकाशले हटाइदिन्छ। मानिसको अन्तःस्करणमा रहेको प्रतिभा र क्षमताको प्रष्फुटनको ताकतबाट समाजको अग्रगामी रुपान्तरण हुन गई समुन्नत राष्ट्र निर्माण हुने हुँदा समयसापेक्ष शिक्षाको आवश्यकता पर्न गएको हो। सृजनशील, विकासशील, व्यवहारिक एवं वैज्ञानिक र प्रविधियुक्त शिक्षाको उपयोगबाट जनचाहना र राज्यको आवश्यकता पूरा हुने गर्दछ। मानिसको सुन्दर भविष्यको आधार जीवनोपयोगी शिक्षा हुने हुँदा औपचारिकता मात्रैको वेरोजगार उत्पादन गर्ने शिक्षाको कुनै औचित्य देखिँदैन। यस्तो शिक्षाले साक्षरतामा वृद्धि गर्ने काममात्रै गर्दछ। जुनसुकै विषयको उच्च शिक्षाको प्रमाणपत्रको उपयोगिताभन्दा व्यावसायिक र स्वरोजगारमूलक बन्न विषयगत विशेषज्ञबाट लिने ज्ञान र सीपका तालिम, गोष्ठी र सेमिनारलगायतबाट आत्मनिर्भर बन्न र आफ्नो बलवुतामा उभिन सक्ने क्षमतावान बनाउन सहयोग पुर्‍याउँदछ। औपचारिक शिक्षाबाट प्राप्त विद्वत्वसँगै विभिन्न सञ्चारमाध्यमका साधनबाट उपलब्ध हुने सूचनाले मानिसलाई सशक्त र जागरुक बनाउँदछ। पत्रपत्रिका, रेडियो, टिभी, बुलेटिन, इन्टरनेट, सामाजिक सञ्जाललगायतबाट प्राप्त सूचना र सञ्चारको पर्याप्तताबाट सु-सूचित हुने अवसर प्राप्त हुन्छ। यस्ता साधन र प्रविधिको उपयोगबाट चेतनामा अभिवृद्धि हुन गई थप क्षमतावान बनाउँदछ।

मानिसको जन्म हुँदा उसको चेतनाको स्तर शून्यमा हुन्छ। जुन देशको नागरिक भएर जन्मिएको भए पनि ऊ बच्चा हो। गाउँमा, शहरमा, सम्पन्नता, विपन्नता तथा कुनै पनि जाति, भाषा, धर्म, सम्प्रदाय र क्षेत्रमा जन्मिएको भए पनि तात्विक फरक पार्दैन। फरक भूगोल र परिवारमा भएको जन्मको आधारमा मात्र विद्वान, ज्ञानी, सभ्य, नैतिकवान र वैज्ञानिक हुने होइन। बालबालिका भनेका काँचो माटोजस्ता हुन्। जस्तो आकार दिन चाह्यो उस्तै बन्दछन्। जन्मको आधारमा नभैकन हुकदै गर्दाको वातवारण र शिक्षा दीक्षाको अवसरको प्रभावबाट उनको भविष्य निर्धारण हुने गर्दछ। त्यसैले शिक्षा उनीहरुको भविष्य निर्माणको सुनौलो उपहार हो। शिक्षाको अवसरबाट ज्ञान र सीप आर्जनसँगै चरित्र निर्माण पनि हुने हुँदा घर परिवार र स्कुलको वातावरण बालबालिकाको भविष्य निर्माणको मुख्य आधार बन्ने गर्दछ। बालबालिकाको पहिलो शिक्षा घरबाट शुरु हुने हुँदा परिवार नै उनीहरुको पहिलो पाठशाला हुने गर्दछ। उनीहरुको शिक्षाका लागि अनौपचारिकरुपमा घरपरिवारबाट तयार पारिने वातावरणको महत्वपूर्ण भूमिका रहने गर्दछ। उनीहरुले सुन्ने गरी प्रयोग गरिएका शब्द तथा देख्ने र बुझ्ने गरी गरिएका घर व्यवहारलगायतले उनीहरुमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। परिवारको बोलीमा हुने तुच्छ शब्द प्रयोग, नसाजन्य पदार्थ सेवन एवं झंै-झगडाले नकारात्मक प्रभाव पार्दछ। असल व्यवहार, कार्यकुशलता, शिष्टता र बोलीको मिठासपनले सकारात्मक प्रभाव पार्दछ। घरको वातावरणसँगै स्वयं बच्चाको चालचलन, बानी व्यवहार, लगनशीलता एवं स्वभाव र शैलीबाट शिक्षाको गति अगाडि बढ्दछ। विद्यार्थीको सुदूर भविष्यको सुनिश्चितताका लागि शिक्षक वर्गको सबैभन्दा बढी जिम्मेवारिता र योगदान रहने गर्दछ। असल शिक्षकमा हुने ज्ञान, सिकाउने कला, बोली व्यवहार र लगनशीलताबाट विद्यार्थी वर्गले मनग्य सिक्ने अवसर प्राप्त गर्दछन्। स्कुलको शैक्षिक वातावरण, भौतिक संरचना, प्रशासनलगायत सुविधाबाट हरेक परिवेशमा जुँध्न सक्ने दक्ष जनशक्ति उत्पादन हुन्छ। असली शिक्षाको राप र तापबाट प्राप्त हुने सीप र ज्ञानको माध्यमबाट बालबालिकामा रहेको प्रतिभाको जागृत गराउँदछ। विद्यार्थी, अभिभावक र शिक्षक वर्गको अथक परिश्रम, त्याग र संयुक्त प्रयासबाट असल, नैतिकवान र गुणवान व्यक्तित्व तयार हुन्छ। स्तरीय शिक्षाको माध्यमबाट मानिसको जीवनलाई देश विदेशमा समेत स्थापित गराइदिन्छ। यीनै सूचकांक आधारमा नयाँ पुस्ताको स्तर निर्धारण हुने गर्दछ। शिक्षाको अवसरबाट प्राप्त हुने क्षमता र नैतिक बलको आधारमा बनेको व्यक्तित्वबाट सृजना र आर्थिक समृद्धितर्फ सफलता प्राप्त गराउँदछ। यस्तो ताकतका जनशक्तिको उपयोगबाट नागरिकको जीवनस्तरमा रुपान्तरण हुन गई संस्कारयुक्त, सभ्य र समृद्ध समाज निर्माण गर्ने अवसर प्राप्त हुन्छ।

नेपालको सर्न्दर्भमा शिक्षाको इतिहास त्यति लामो छैन। परापूर्वकालदेखि केही हदसम्म वैदिक, धार्मिक एवं सांस्कृतिक गुरुमार्फत् शिक्षा दिने गरिन्थ्यो। उनीहरुले आफ्नो सामीप्यमा राखी पिँढी, पटाहामा शिक्षा दिने गर्दथे। विश्व परिवेश विज्ञान र प्रविधि एवं खोज र अनुसन्धानका होडबाजीबाट अघि बढ्दै उन्नति हासिल गरिसक्दा समेत नेपालमा भने एकतत्त्रीय परिवारवादी निरंकुश दबदबाको शासन चलिरहेको थियो। जसका कारण नेपाली जनता रैतिका रुपमा पशुजन्य परिवेशमा बाँच्न विवश थिए। चेतनाको स्तर शून्यप्रायः थियो। यस्तो अवस्थामा केही मानिसहरु भारतको वाराणसी, मथुरा, वृन्दावनलगायतका शिक्षालयमा पुगेर शिक्षा लिने काम गरे। भारतको शिक्षाटनपश्चात् फिरेका शिक्षित युवामार्फत गाउँघरमा केही सचेतना जगाउने काम भयो। यस्तैमा २०१० मा दरबार हाइस्कुल स्थापना भयो। तर त्यहाँ सर्वसाधारण नागरिकलाई प्रवेशमा वर्जित गरियो। १९३२ तिर बालज्योति षडानन्दले नेपालको पूर्र्वी क्षेत्र भोजपुरमा दिङ्ला पाठशाला सञ्चालन गरे। १९५० मा संस्कृत पाठशाला, १९७५ त्रीचन्द्र कलेज, विराटनगरको रंगेलीमा कृष्णप्रसाद कोइरालाद्वारा खोलिएको स्कुल, महावीर स्कुल तथा केही शिक्षित व्यक्तिद्वारा सञ्चालन गरिएका पिँढी-पटाहा शिक्षामार्फत् सामान्य चेतनामा वृद्धि भयो। २००७ सालको परिवर्तनपछि केही स्कुल खोलिए तापनि शिक्षाको स्तर अत्यन्तै कमजोर रह्यो। २०१५ सालको पहिलो जननिर्वाचित सरकारको समयमा शैक्षिक जागरुकता निर्माण गर्दै त्रिभुवन विश्वविद्यालयको स्थापना गरियो। जसको प्रथम उपकुलपति सुवर्णयमशेर हुनुहुन्थ्यो। यसै समयमा पीएचडी र स्नातकोत्तरमा प्रथम हुनेलाई महेन्द्र विद्याभूषण पदकले सम्मान गर्ने निर्णय भयो। यस्ता जनमुखी कार्यको जग बसाल्ने काम गर्दै गर्दा छोटो समयमा नै त्यो सरकारलाई अपदस्थ गर्ने काम भयो। त्यसपछिका दिनमा पनि शिक्षामा खासै उन्नति हुन सकेन। २०४६ को परिवर्तनपछि भने शिक्षाले राम्रै गति लिएको हो। जसका कारण देशमा १० विश्वविद्यालय, २० मेडिकल कलेज र १८ इञ्जिनियरिङ कलेजको संख्या पुगेको छ। यीसँगै नर्सिङ, कृषि, वनलगायतका प्राविधिक र अन्य कलेज, स्कुल स्थापना भएका छन्। यसले गर्दा देशमा शैक्षिक जनशक्ति उत्पादनमा वृद्धि हुनुका साथै साक्षरताको संख्या दुर्इ तिहाई पुगेको छ। तर पनि अस्थिर राजनीति र कमजोर शिक्षा नीतिका कारण आवश्यक व्यावसायिक र सीपयुक्त जनशक्ति उत्पादन हुन सकेन। यसको उपज लाखांै अदक्ष जनशक्ति वैदेशिक रोजगारीका नाउँमा निर्यात हुँदा न्यूनतम वेतनमा श्रम बेच्न विवश छन्। देशमा पनि आवश्यकता पूरा गर्न सक्ने प्राविधिक जनशक्तिको न्यूनता रहृयो। त्यसैले अबका दिनमा बयलगाडीजस्तो धिमा गतिमा सवार नभइकन विज्ञान र प्रविधिको उपयोगबाट इलेक्ट्रोनिक्सको गतिमा सञ्चालन हुन सक्ने जनशक्तिको खाँचो परेको छ। देशको उन्नति, प्रगति र विकासको मूलमन्त्र असल शिक्षा प्रणालीबाट निर्देशित हुने हुँदा यहाँको शिक्षा पद्दतिमा पनि समयानुकूल परिवर्तन गरिन पर्दछ। वेरोजगार मुक्त शैक्षिक जनशक्ति उत्पादन आजको वास्तविकता भएकोले युग सुहाउँदो पाठ्यक्रमसहितको शिक्षा नीति आवश्यकता परेको हो। समुन्नत राज्य निर्माणको परिकल्पनाअनुसार ग्रामीण विकास, उद्योगधन्दा, पर्यटन व्यवसाय, पशुपालन, कृषिको वैज्ञानिकरण एवं मजदूरको कौशलताका लागि दिइने उपयुक्त शिक्षाबाट विकासको आधार तयार बन्दछ। विद्यार्थीलाई तल्लो तहबाटै आवश्यकता र रुचीअनुसारको विषयगत शिक्षा अध्ययन गराउँदा दक्ष एवं रोजगारयुक्त जनशक्ति उत्पादनमा वृद्धि हुन जान्छ। निदाएकालाई जगाउने, दबिएकालाई उठाउने र ठगिएकालाई उकास्ने सामर्थ्य शिक्षाबाट मात्र प्राप्त हुने हुँदा निर्धनता र निर्वलताको वर्गमा बच्न विवश सिमान्तकृतलाई समेत समान पहुँचमा पुर्‍याई समय सापेक्ष शिक्षा प्राप्त गर्ने अवसर दिलाउन पर्दछ। त्यसका लागि विषयगत तालिम प्राप्त शिक्षकहरुद्वारा जिम्मेवारीपूर्वक गराइने अध्यापनबाट उनीहरुमा क्षमता अभिवृद्धि गराउँदछ। आधुनिक शिक्षाको जागरणबाट हुने अनुसन्धानमूलक कार्यबाट थप उर्जा प्राप्ति सँगै स्तरीयतामा समेत वृद्धि हुन पुग्दछ। विज्ञान र प्रविधिको विकाससँगै विषयगत विशेषज्ञका गोष्ठी, छलफल, सेमिनार एवं वाद र संवादबाट हरेक तहको आवश्यकता परिपूर्र्ति गर्न सक्ने जनशक्ति उत्पादन हुन्छ। कमजोर विद्यार्थी जसले आवश्यक विषय अध्ययन गर्न सामर्थ्य राख्दैनन्। उनीहरुलाई सीपमूलक तथा व्यावसायिक तालिममार्फत उद्यमी र स्वरोजगार बनाउन सकिन्छ। यस्ता शिक्षावान् तथा दिमागी खुवीले भरिपूर्ण सीपयुक्त जनशक्ति र देशमा विद्यमान स्रोत र साधनको भरपूर उपयोगबाट गरिबी र पछौटेपनको उन्मुलनसँगै नागरिकमा समृद्धि छाउनेछ। यसका लागि स्थायी शान्ति, स्थिर सरकार, सुशासन र लोकतान्त्रिक परिपालनमा आधारित अग्रगामी दृष्टिकोणसहितका योजनाको सशक्त काया

- ऋषिराम काफ्ले