वर्ष २०७४ : शुभसंकेतको आलोक

नयाँ वर्ष २०७४ शुभारम्भको अघिल्लो दिन लेखेको यो लेखमा प्रिय पाठक समक्ष हार्दिक शुभकामना व्यक्त गर्दछु। र, केही सुखद् कुरा सम्प्रेषण पनि गर्न चाहन्छु।

आर्थिक पक्षमा प्रगति :

पहिलो सुखद कुरा यो छ कि वर्ष २०७३/०७४ को हाम्रो कुल राष्ट्रिय उत्पादन लगभग छ प्रतिशतले वृद्धि हुने कुरा आर्थिक सर्भेले देखाएको छ। एशियाली विकास बैंकको वाषिर्क आर्थिक सर्भेक्षणको प्रतिवेदनमा देखाएको यो उत्साहजनक प्रक्षेपणले हामी सबै खुसी हुनु स्वभाविक हो। किनभने, यो विगत दुर्इ दशकको उच्च आर्थिक वृद्धिदर हो।

उक्त आर्थिक उपलब्धि हासिल हुनुमा धेरै भगवान्को कृपा र केही मानवीय सद्प्रयत्न र व्यवहार रहेको छ। हामी नेपालीको लागि मनसुन भगवान् हो। गत वर्षा ऋतुमा समयमै र पर्याप्त वर्षा भयो। किसानले मेहनत गरे। र, कृषि उत्पादन सोचेभन्दा बढी भयो। मानवीय सद्प्रयत्न प्रदर्शन गरे उर्जामन्त्री जनार्दन शर्मा र विद्युत् विभागका कार्यकारी निर्देशक कुलमान घिसिङले। विद्युत् आपूर्र्तिमा सुधार आउँदासाथ मुलकुमा भएका साना ठूला कलकारखानाले पनि नियमित उत्पादन दिन थाले। पर्यटनलगायत अन्य सेवा उद्योग व्यवसायले पनि संख्यात्मक र गुणात्मक गति लिए। यिनै मूल कारणहरु छन्, आर्थिक वृद्धिमा।

आर्थिक सूचकांकमा अको सुखद कुरा छ-मुद्रास्फिती स्थिर रहनु। अर्थात्, बजारमा उपभोग्य सामग्रीको भाउ बढ्ने छैन। यो मूलतः कृषि उत्पादनमा वृद्धि र विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य कमी हुनुले हो। तर, कृषि उत्पादन खास गरेर खाद्यान्नको भाउ घट्यो र किसानले उत्पादन मूल्य नपाउने अवस्था आयो भने त्यसको नकारात्मक असर हुनेछ। किसान मर्कामा पर्नु भनेको हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भाँचिनु हो। त्यो सरकारले हुन दिनु हुँदैन, उत्पादन गर्ने किसानलाई कुनै पनि मूल्यमा हतोत्साहित गर्नु हुँदैन। समर्थन मूल्य सरकारले व्यवस्था गर्नुपर्छ।

हुन त वैदेशिक रोजगारीबाट आउने व्रि्रेषण -रेमिट्यान्स, विदेशमा गएकोले कमाएर ल्याउने रुपैयाँ) घटेको देखिन्छ, आर्थिक सर्भेक्षणमा। तर, यसमा सकारात्मक कुरा के छ भने विदेशमा रोजगारीको लागि गएर कमाएको पुँजी र सीप स्वदेशमै लगाएर काम गर्ने युवाउद्यमीको संख्या पनि उल्लेख्य बढ्दै गएको छ। कुल राष्ट्रिय उत्पादन वृद्धिमा यसको पनि भूमिका छ। खास गरेर इजरायल, जापान र कोरियाबाट फर्केकाहरु त्यहाँ सिकेको सीप लगाएर व्यावसायिक कृषि र्फमहरु चलाउन उद्यत रहेको पाइन्छ। यी सबै कुराले गर्दा विश्वका खुसी राष्ट्रहरुको सूचीमा नेपालको स्थानमा केही माथि गएको छ।

चको चाखलाग्दो र आशालाग्दो आर्थिक लक्षण के छ भने जलस्रोतको उपयोगमा राष्ट्रिय लगानी उल्लेख्य मात्रामा वृद्धि भएको छ। निजी र सरकारी दुवै लगानी बढेको छ। साना र मध्यम जलविद्युत् आयोजनाबाट केही वर्षपछि स्वदेशी लगानी, स्वदेशी व्यवस्थापन र स्वदेशी प्रविधिबाटै उत्पादित बिजुली निर्यात पनि गर्न सकिनेछ। र, जलस्रोतको बिजुलीमात्र होइन, सिचाई, माछापालन र जलयात्रासमेतको बहुपक्षीय उपयोगले हाम्रो राष्ट्रिय अर्थतन्त्र सवल पनि हुनेछ। हालै भारतको भ्रमणमा आएकी बंगलादेशकी प्रधानमन्त्री हसिनाले नेपालको बिजुली बंगलादेशसम्म पुर्‍याउन भारतीय समकक्षी मोदीसँग सहयोगको माग गरिन्। यो कुरा भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त प्रेस वक्तव्यमा पुन नेपालको लागि शुभसंकेत हो। तिव्वतसँग र बंग्ालादेशसँग नेपालको विद्युत् प्रसारणलाइन जोडिनु हाम्रो राष्ट्रिय हितमा छ।

राजनीतिक क्षेत्रका शुभसंकेत :

आर्थिकमात्रै होइन, राजनीकि क्षेत्रमा पनि केही शुभसंकेतहरु देखिएका छन्। बैशाख ३१ गते घोषित स्थानीय तह निर्वाचन सम्पन्न हुन सक्यो भने नेपाल राजनीतिक स्थिरताको युगमा प्रवेश गर्नेछ। मुख्य समस्या तराई केन्द्रित केही राजनीतिक शक्तिको असन्तुष्टिलाई व्यवस्थापन गर्ने कुरा हो। यस सर्न्दर्भमा सरकारले नयाँ संशोधन प्रस्ताव पेस गरेको छ। यद्यपि यसलाई अस्वीकार गरी चुनावमा सहभागी नहुने असन्तुष्ट पक्षले जनाएको छ। तर, सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डको देखिँदै आएको निरन्तरको प्रयत्नले प्रमुख प्रतिपक्षी एमाले र असन्तुष्ट मधेसी दललाई सहमतिमा ल्याउन सक्यो भने राष्ट्रिय राजनीतिले नयाँ कोर्स लिन सक्छ। आशा गरौं यस्तो होस्। तर निर्वाचन भने किःमार्थ रोकिनु हुँदैन।

अन्तर्राष्ट्रिय सम्बन्ध खास गरेर दुर्इ विशाल छिमेकीसँगको सम्बन्धमा पनि केही सकारात्मक लक्षण देखिएका छन्।

नेपाल-भारत प्रवुद्ध समूहको हालै काठमाडौंमा सम्पन्न बैठकमा सन् १९५० को सन्धि असमान हो भन्ने कुरामा मतएक्येता कायम भएको भन्ने जुन संचारमा आएको छ त्यो यथार्थ हो भने नेपालको लागि ठूलो कुरा हो। किनभने, यो एक गलगाँडको रुपमा छ, नेपालको लागि। र, नयाँ सन्धिले प्रतिस्थापन गर्ने पनि शुभ कुरा हो। साथै, गण्डक र कोशी जलस्रोत सन्धि पनि पुनरावलोकनको सूचीमा परेको छ। नेपालको यो अमूल्य जलसम्पदा लगेर भारतीय क्षेत्रहरुमा हराभरा बनाइएको छ भने नेपालतर्फ पानी जाने नहर अग्लो बनाएर पानी नै जान नसक्ने छ। यी सबै समीक्षा हुनुपर्ने छ। सुधारिनु पर्ने छ। महामहिम राष्ट्रपतिको भारत भ्रमण नेपालको हित प्रवर्द्धन गर्न सफल होस्, त्यो पनि कामना गरौं।

छिमेकी मित्रराष्ट्र चीनसँगको सम्बन्धको जहाँसम्म कुरा छ, यद्यपि नेपाली जनता चीनका राष्ट्रपति सि जिङपिङको स्वागत गर्न प्रतीक्षारत् थिए, त्यो हुन सकेन। यसका पछाडि धेरै कारणहरु हुन सक्छन्। त्यसमध्ये एउटा त सरकार चाँडै चाँडै परिवर्तन हुने नेपालको स्थिति रह्यो। यसले सृजना गरेको राष्ट्रिय तदर्थवाद चीनको रुची विरुद्धको कुरा हो। उनीहरु नीति र व्यवहारमा स्थायित्व चाहन्छन्। पूर्ववर्ती सरकारसँग चीनले गरेका सम्झौता समझदारीमा वर्तमान सरकारले वचनमा पालना गर्ने, अघि बढाउने भने पनि कर्ममा भने त्यो नदेखिएको चीनले ठानेको हुनुपर्छ। तथापि केही अगाडि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले दुर्इ देशको सम्बन्धमा अवश्य केही सुधार गरेको छ। आफ्ना पूर्वनिर्धारित कार्यक्रमलाई संशोधन गरेर पनि प्रचण्डसँग राष्ट्रपति सिले २५ मिनेट वार्ता गर्नुले नेपालसँगको सम्बन्ध चिनिया प्राथमिकताभित्र छ भन्ने बुझिन्छ। वेल्ट र रोडको चिनिया प्रस्तावमा नेपाल समावेश हुने राष्ट्रिय वातावरणले पनि सम्बन्धमा थप प्रगाढ हुनेछ। नयाँ र शुभ कुरा के छ भने चिनिया वौद्धिक व्यक्तित्वहरु नेपालमा नै आएर नेपाल-चीन सम्बन्धलगायतका विषयमा विचार निर्माणको छलफल, विमर्श र अन्तक्रिर्या बढाएका छन्। यसले पनि सम्बन्धको घनिष्ठतामा नयाँ आयाम दिनेछ।

कञ्चनपुरका गोविन्द गौतमको सहादत, भारतीय आक्रमणको विरुद्ध एउटै सुदृढ राष्ट्रिय आवाज र साहदत भएकै ठाउँमा सार्वजनिक कार्यक्रम आयोजना गरी सहिद पत्नीलाई गृहमन्त्री निधिले सम्मानमात्रै गरेनन् नेपाली सीमानामा गरिने कुनै पनि हस्तक्षेप सैह्य हुने छैन पनि भने। यसले नेपाली राष्ट्रिय आत्मा जिउँदैछ भन्ने उद्बोधन गराएको छ।

आखिरको कुरा :

गत डेढ-दुर्इ दशकभित्र नेपालले धेरै राष्ट्रिय विपत् सहेको छ। १० वर्षे द्वन्द्व, त्यत्रो ठूलो त्रासदपूर्ण दरबार हत्याकाण्ड, विनासकारी भूकम्प, छिमेकीको लामो नाकाबन्दी। तर, यी सबै कुराको बाबजुद नेपाल राष्ट्र गिरेन। नेपाली राज्य असफल भएन। यो सबै विगत झण्डै तीन सय वर्षदेखि हाम्रा पूर्खाले मजबुद गराएको बलियो राष्ट्रिय जगको कारणले हो। अब हामी पूर्खा र इतिहासलाई गाली गर्ने कृतघ्नताबाट मुक्त भइ इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ।

हामीसँग सबै कुरा छ। अभाव छ एउटै कुराको। त्यो हो-राष्ट्र, समाज र जनतालाई केन्द्रमा र आफूलाई परिधिमा राखेर चिन्तन एवं व्यवहार गर्ने दूरदर्शी राष्ट्रिय नेतृत्व। त्यो पनि समयक्रममा प्राप्त हुनेछ। नेपाल र नेपालीको शुभ रहोस्।

- तिलक पराजुली