वर्तमानको नेपाल : देशभक्त जनता, लम्पसारवादी नेतृत्व र कपटी छिमेकी

गोविन्दको देशभक्ति र लाचार राष्ट्रिय नेतृत्व :

हुन त नेपाली साहित्यमा देशभक्तिका धेरै रचनाहरु छन्। नाट्य सम्राट समको मुकुन्द इन्दिरालगायतका नाटकहरु, गोपालप्रसाद रिमालको आमाको सपना कवितासंग्रह र क्षेत्रप्रताप अधिकारीका राष्ट्रभक्तिको भावनाले भरिएका ओजश्वी कविताहरुले मेरो हृदय स्पन्दित गरेका छन्। तर, म किशोर अस्थाकै छँदा कक्षा १० को पाठ्यक्रममा रहेको अंग्रेजी भाषामा रचित छानिएका कविताहरुको संग्रहको पहिलो कविता ‘देशभक्ति’  ले ममाथि पारेको प्रभाव अमिट छ। यस कविताका रचनाकार स्कटल्याण्डका कवि सर वाल्टर स्कट हुन्।

सम्बत् २०२३ सालको कुरा हो। यो कविता हामीलाई पढाउनुभएको थियो, पाल्पा जिल्लाकै ख्यात्रि्राप्त शिक्षाविद् एवं उच्चकोटीका देशभक्त बौद्धिक व्यक्तित्व जगतबहादुर जोशीले। कविताको शब्दार्थमात्र होइन, यसको भावार्थको व्याख्यान सरल अंग्रेजीमा यसरी दिनुभयो, उहाँले हामी धेरै विद्यार्थी भावुक बने हौं। कविताको शुरुमै भनिएको छ-’यो मेरो मातृभूमि हो भनेर जसले हृदयले सम्झिदैन, त्यो त श्वास फेरे पनि मुर्दा नै हो।’ अनि अगाडि भनिएको छ-’देशभक्ति नभएको व्यक्ति जतिसुकै ठूलो पदमा पुगोस्, नामै चलेको किन नहोस्, मनोवाञ्छित आकांक्षा पूरा हुने वैभवशाली किन नहोस्, त्यो जिउँदै मरेको मुर्दा हो। र, यस्ता काँथर धेरै पटक मर्छन्।’ अनि कविताको उत्कर्षमा भनिएको छ, देशभक्त एकपटक मर्छ, मरेर पनि बाँचिरहेको हुन्छ। अमर हुन्छ।’

गोविन्द गौतमको साहदत्व र नेपाल सरकार, सरकारकारी निकाय, खास गरेर सुरक्षा निकायको निकम्वा एवं पाखण्डी व्यवहारले म उक्त कविता सम्झिन पुगेको हुँ।

कञ्चनपुरको आनन्दबजार पुनर्वास क्षेत्रमा रहेको नेपाली भू भागमा त्यहाँका बासिन्दाले कलभर्ट बनाएका छन्। त्यो भू-भाग नेपाल-भारतबीच छाडिएको दशगजा (नो म्यानस्ल्याण्ड) भन्दा उत्तरमा छ-नेपालको भूभाग हो। भारतीय सीमा सुरक्षा बलले हस्तक्षेप गरेको छ, नबना भनेको  छ। कलभर्ट रातो रात बनेको पनि होइन। बनाउन हप्तौ लागेको हुनुपर्छ। तर, भातरीय सुरक्षाबलको नेपाली भूभागमाथि गरिएको हस्तक्षेप रोक्न, बुझ्न कुनै सरकारी अधिकारी त्यहाँ पुग्दैनन्। हाम्रा सुरक्षा निकाय, विशेषतः सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बल जाँदैन, त्यहाँ। निहत्था नेपाली जनता आफ्नो मातृभूमि बचाउन, भूभाग जोगाउन हतियारधारी हस्तक्षेपकारी आततायी भारतीयविरुद्ध संघर्षरत् छन्। र, यसै संघर्षमा भारतीय सुरक्षाबलको गोलीले गोविन्दको हत्या भएको हो।

भारत र पाकिस्तानबीच विवादित र दुवै देशको दाबा रहेको कश्मीर भारतीय बनाउन केही महिना अगाडि नेपालीको ज्यान गएको छ। कश्मीर कस्को हो भन्ने विवाद राष्ट्रसंघमा छ, यो मुद्दा। कञ्चनपुरको आनन्दबजार त कुनै विवादित क्षेत्र पनि होइन। त्यसको रक्षा गर्ने चासो, तत्परता र साहस नेपाली सुरक्षाबलले देखाउनु पर्दैन – के नेपाली सुरक्षाबल भूपि शेरचनले ‘यो हल्लै हल्लाको देश हो’ कवितामा ?

‘काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्

र, जहाँ प्लाष्टर गरिएका हातहरुमा

सुरक्षाको संगीन थमाइन्छ।’

भनेझैं के नेपाली जवान प्लाष्टर गरिएका, भाँचिएका हातमा संगीन लिएर बसेका छन् – मुलुकको भूभागमाथि विदेशी सुरक्षाबलको आक्रमण हुँदा नेपाली सेनाले पनि बोल्नुपर्छ, प्रतिक्रिया जनाउनु पर्छ। त्यो आँट र देशभक्ति प्रदर्शनमा हाम्रो राष्ट्रिय सुरक्षाबल चुकेको छ।

गोविन्द गौतमको हत्याले आमनेपाली जनता तरंगीत हुनु र भारतीय आक्रमणको विरोधमा उठ्नु स्वभाविक हो। यसले जनतामा रहेको देशभक्तिको अटल आस्था पुनः उद्घाटित गरेको छ। नेपालीको देशभक्ति सबैले उद्बोधन गर्ने गरी उठे आमयुवाहरु। त्यसैले नेपाल सरकार पनि बोल्न बाध्य भयो। दलका नेताहरु भारतीय आक्रमणको विरुद्ध बोले। गोली चलाएकै होइन भन्ने भारतीय राजदूतावासको वक्तव्यको प्रतिवाद गर्ने दूतावासका अधिकारीलाई ‘कुटनीतिक नोट’ पनि दिइएको छ। र, गोविन्द गौतमलाई शहीद घोषणा गरी १० लाख रुपैयाँ क्षतिपूर्र्ति दियो सरकारले। यहाँसम्म सरकारी एवं राजनीतिक नेतृत्वले गरेका काम र प्रतिक्रियाप्रति केही भन्नु छैन।

तर, जब अन्त्येष्टिको दिन आयो, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भनिएको शवयात्रामा न कोही मन्त्री आए न त कुुनै उच्च सरकारी अधिकारी नै उपस्थित भए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसम्म पनि शहीदको शवमा पुष्पगुच्छा राख्न पुगेनन्। पुनर्वास इलाका कार्यालयका प्रशासकको मात्र उपस्थित राजकीय सम्मान दिइने, ११ तोपको सलामी दिने शहीदको अन्त्येष्टिमा सरकारी प्रतिनिधित्व कसरी हुन सक्छ – यो त हाँस्यास्पद मात्रै होइन, जनतालाई बेकुफ बनाउने कुरा हो। र, द्वैध चरित्रको व्यवहार हो। एकातिर भारतीय आक्रमणको विरोध गरेको नेपाली जनतालाई देखाउने अकोर्तिर भारतीय विस्तारवादी सरकारका अगाडि नतमस्तक हुने। प्रतिपक्ष दल एमालेका नेताहरुको मेची महाकाली अभियान कार्यक्रम कञ्चनपुरको नजिकै पुगेको थियो। तर, उनीहरु पनि त्यहाँसम्म जाने कष्ट गरेनन्। राष्ट्रवादको त्यत्रो कुरा गर्ने के.पी.हरुलाई अन्तेष्टिमा पुग्न केले रोकेको हो – भारतीय शासकको भय छ, नेपाली नेताहरुमा। यस्तै व्यवहारलाई भनेका हुन् कवि वाल्टर स्कटले-’बारम्बार मर्ने’ भनेर। यस्ता द्वैध चरित्रले गर्दा नेतृत्वले जनविश्वास गुमाएको छ। र, विश्वास गर्न सकिने राजनीतिक राष्ट्रिय नेतृत्वको रिक्तता हाम्रो ठूलो समस्या नै हो।

निरन्तर छ भारतीय आक्रमण :

नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकताको अक्षुणताका दृष्टिले विचार गर्ने हो भने भारतमा अंग्रेजको शासक रहँदाभन्दा नकारात्मक व्यवहार रहँदै आएको छ, भारतीय शासक वर्गको। अंग्रेजसँग नेपालको युद्ध नै भयो। तर, सन् १८१६ को सुगौली सन्धिपछि अंग्रेजले नेपालको सीमा मिच्ने वा अन्य कुनै तवरले सताउने काम गरेका होइनन्। भारत स्वतन्त्र भएपछि नेपालमा राजनीतिक परिवर्तन तथा आर्थिक विकासमा सहयोगको घुम्टो ओढेर नेपालको सार्वभौमिकतामा आँच आउने, भूभाग मिच्ने र राष्ट्रिय एकतामा बिखण्डन गराउने प्रयास, यस्ता कार्यहरु निरन्तर गरिआएका छन्, भारतीय शासकले।

नीतिगतरुपमा उत्तरको हिमालय श्रृंखला भारतको सुरक्षा किल्ला र नेपाल भारत विशेष सम्बन्ध नेहरुकालको डक्टि्रन रह्यो। काठमाडौंमा आफ्नो कठपुतली सरकार स्थापनाको लागि हस्तक्षेपको पनि अहर्निश प्रयत्न गरे। सन् १९६२ देखि नेपालको कालापानी क्षेत्र जवरन कब्जा जमाएर बसेका छन्, भारतीय सैनिक।

पूर्वको सुनसरी, सर्लाहीलगायत मेचीदेखि महाकालीसम्म नेपाल-भारतबीच सीमा छुट्याउन राखिएको दश गजा मिचेका छन्। हजारौं हेक्टर नेपाली भूभाग मिचिएको छ। केही वर्षअगाडि दाङमा भारतीय सुरक्षाबल पसेर लुटपाट र नेपाली महिलामाथि दुर्व्यर्वहार गरेका हुन्। गत बुधबार कान्तिपुर पत्रिकाको मुखपृष्ठमा छापिएको छ-भारतीय सुरक्षाबलले नेपालभित्रै पसेर गोली हानी ६ वर्ष अगाडि हत्या गरेका वासुदेव शाहको तस्विर।

भारतीय आक्रमण र हस्तक्षेपका विरुद्ध नेपाली जनताले बहादुरीका साथ मुकाविला गरेका छन्, आवाज बुलन्द गरेका छन् र ज्यानै अपण गरेका छन्। यो पनि बुझेका छन् कि भारत छिमेकी त हो तर यहाँका शासक वर्गले सधैँ नेपालप्रति कपटपूर्ण व्यवहार गरिआएका छन्। नेपाल भारत सीमा निर्धारण र व्यवस्थापन गर्दा आइपर्ने कठिनाई व्यहोर्न पनि तयार छन्। तर हाम्रो राष्ट्रिय नेतृत्वको चरित्र काँथर र लम्पसारवादी रहँदै आएको छ। समस्या यही हो। अहिले, गृहमन्त्री निधि दिल्लीमा छन्। के उनले कञ्चनपुर हत्याकाण्डप्रति भारतीय नेतृत्वलाई कमसेकम भारतको तर्फबाट गल्ति भएको भन्ने सार्वजनिक रुपमा महसुस गराउन सक्लान् – एक त दिनदहाडै नेपाली मारेका छन्, भारतीयले। यो होइन भनेर ढाँटेका छन्। यस्तो बेला यो विषयको छिनोफानो नहुँदै दिल्ली जानै हुँदैन। गृहमन्त्री गएपछि यस सम्बन्धमा परिणामुखी वार्ता नगर्नु नेपाल र नेपालीप्रतिको अपमान हुनेछ।

- तिलक पराजुली