वनस्पतिमा तापक्रमको प्रभाव

लामो समयदेखि वैज्ञानिकहरुले गरेका अनुसन्धानअनुसार पृथ्वीको तापक्रम क्रमशः बढ्दै छ। कसैले यसलाई विश्वव्यापी उष्णता नाम दिएका छन् भने कसैले जलवायु परिवर्तन। जसले जे भने पनि यो वातावरणसित सम्बन्धित छ। विश्वमा सर्वाधिक चर्चा हुने विषय यही हो। सूर्यको तापक्रम भने एकनासको छ तर ऋतुअनुसार पृथ्वीको गति, सूर्यसँगको निकटता र दूरीका कारणले पृथ्वीको तातोपन केही घटबढ छ। यसबाहेक मानवीय गतिविधिका कारण पनि वातावरणीय सन्तुलन क्रमशः अधोगतितिर उन्मुख छ। हामीले सुन्दै आएका अप्राकृतिक वातावरणीय असन्तुलन जस्तै हरितगृह प्रभाव, अम्लीय वर्षा, ओजोनतह क्षयीकरण हुन्। यी सबै तापक्रमसँग सम्बद्ध छ।

तापक्रम तापको परिणाम हो। वातावरणमा निहीत तातोपनलाई तापक्रम भनिन्छ। यो शक्तिको स्रोत हो। हावापानीको विभिन्न तत्वमध्ये तापक्रम पनि एक हो। जीव तथा भौतिक विज्ञानमा यसको एकदमै महत्व छ। यसको प्रभाव जीवजगतदेखि भौतिक जगतसम्म प्रत्यक्ष रुपमा देखिन्छ। विश्वमा प्राणीहरुको संख्याभन्दा वनस्पतिको संख्या कयौं गुणा बढी छ। वनस्पति एक ठाउँ अडिग रहने भएकोले पनि तापक्रमको प्रभाव एकनाशले परेको हुन्छ।

जीवविज्ञानअनुसार निश्चित मात्रामा कुनै पनि जीवमा तापक्रम नहुने हो भने जीवनको अस्तित्व नै रहँदैन। यसले जीवन प्रक्रियामै असर पार्दछ। सूर्यको ताप जुनसुकै जीवजीवात्मालाई अपरिहार्य हुन्छ। वनस्पति हुकन बढ्न, फूल फुल्न, फल लाग्न, बीउ उम्रन, परागसेचन क्रियाका लागि रसायन निकाल्न तातोपनको जरुरत पर्दछ। यसबाहेक उत्सेदन, प्रकाश संस्लेषण, श्वासप्रश्वास, पौष्टिक तत्व शोषण क्रियालगायतमा पनि बोटविरुवालाई निश्चित मात्रामा तापक्रम चाहिन्छ। बढी तापक्रममा उत्सेदन तथा श्वासप्रश्वास क्रिया छिटोछिटो हुन्छ भने कम तापक्रममा यी क्रिया ढिलो हुन्छ। त्यसरी नै प्रकाश संश्लेषण क्रियाका लागि निश्चित तापक्रम आवश्यकता पर्दछ। वैशाख-जेठको खडेरीमा मकैका बोट सुकेका हुन्छन्। यस्तो हुनुको कारण जराबाट तानिएको पानी वाष्पको रुपमा उडेर जान्छ र यसले आवश्यक शारीरिक कार्य गर्न पाउँदैन्। यसको गम्भीर असर पातलगायत सम्पूर्ण बोटबिरुवामा पर्दछ। यसै कारण खडेरीमा मकैका बोटहरु सुकेर जान्छन्। पातको रुपरंग बैग्ले हुने, पहिलिदैं जाने वा हरियोको मात्रा कम भई फुस्रो हुँदै जाने, डढ्ने आदि हुन्छ। वातावरणीय तापक्रम ४० ड्रि्री बढी भएमा चौरका दुबोलगायतका अन्य झारपातहरु सुक्ने हुन्छ। यसभन्दा बढी तापक्रममा बोटबिरुवा निहीत इन्जाइम समेत प्रभावित हुन्छ।

जुनसुकै प्रकारको वनस्पतिको लागि उच्च तापक्रम हानिकारक छ। ५० ड्रि्री सेन्टिग्रेडभन्दा माथिको तापक्रमले जीवरस भनिने प्रोटोप्लाज्म नै मार्दछ भने शून्य ड्रि्रीको तापक्रमले जमाइदिन्छ। बढी तातोले बाक्लो बोक्रा बन्ने, बोटबिरुवा, फल रसिलो नहुने, काबोर्हाइडेडको मात्रा कम हुने आदि हुन्छ। आवश्यक भन्दा कम वा बढी तापक्रम भएमा बोटबिरुवाको राम्ररी वृद्धि र विकास समेत हुन सक्दैन। यतिमात्र नभई फूल फुल्न र फल पाक्न समेत यसैको भूमिका हुन्छ।

उचाइको आधारमा तापक्रम घटबढी हुन्छ। तराईमा पाइने वनस्पति र हिमाली क्षेत्रमा पाइने वनस्पति बीच निकै नै अन्तर छ। एक ठाउँमा पाइने बोटबिरुवा अको ठाउँमा पाइदैंन। नीरमसी, जटामसी मनाङ, मुस्ताङ जस्ता चिसो ठाउँमा पाइन्छ तर तराई क्षेत्रजस्ता गर्मी स्थानमा पाइँदैन। उचाइकै आधारमा उष्ण, उपोष्ण, शीताधिक, टुण्डाजस्ता क्षेत्रहरु छुट्याइएका छन्। यही अनुसार वनस्पतिका वन क्षेत्रको नामाकरण गरिएका छन्। अक्षांशअनुसार पनि वनस्पतिको वर्गीकरण गरिएको पाइन्छ। विश्वमा जति पनि स्थान छन्, ती मुलुकहरुमा फरकफरक किसिमका वनस्पति पाइनुको मुख्य कारण ती ठाउँका उचाइ नै हुन् किनकि उचाइ अनुसार वनस्पति पाइन्छन्। नेपालमा रानी र ग्रोब्रे गरी दुर्इ प्रजातिका सल्लो पाइन्छन्। यी पाइने क्षेत्र हजार मिटरभन्दा माथिका क्षेत्र हुन्। कोणधारी वनस्पति यसभन्दा उचाइमा धेरै मात्रमा फस्टाउँछ। त्यस ठाउँका पहाडको उपस्थिति, ढाल, माटोको आधारमा यी राम्ररी आउँछन्।

पोखरी, तालतलैया वा समुद्रमा देखिने विभिन्न थरीका वनस्पतिहरु गहिराई अनुसार फरकफरक हुन्छन्। पानीमा सूर्यको प्रकाश पर्ने ठाउँमा र नपर्ने ठाउँमा पनि त्यस्तै किसिमका बोटबिरुवा देखा पर्दछन्। पर्यावरणीय हिसाबले यसलाई छुट्टै तवरले वर्गीकरण गरिएको छ।

हरेक महिनाका पनि आ-आफ्नै विशेषता हुन्छन्। पुस-माघमा बढी जाडो हुन्छ भने जेठ-असारमा गर्मी हुन्छ। यस्तो हुनु पनि ऋतु परिवर्तनले निम्त्याएको तापक्रमको असर हो। सामान्यतया हामीले जेठ-असारमा धान रोपेर मंसिरमा थन्काउछौं। तर मंसिरमा रोपेर असार-साउनमा धान फलाउन सम्भव छैन। त्यसरी नै अन्य गहुँ, तोरी, मकै, कोदोलगायत जस्ता अन्नबालीहरुलाई आफ्नै मौसममा रोप्नुपर्दछ। फलफूल फुल्ने, फल्ने मौसम पनि आफ्नै हुन्छ। यी सबै तापक्रमका असर हुन्। प्रकृतिमा भएका सम्पूर्ण जीवलगायत वनस्पतिहरु पनि चक्रमा चलेका छन्, जुन आफूलाई अनुकूल हुने तापक्रममा उम्रन्छन्, फुल्छन्, फल्छन्। कुनै पनि वनस्पति आफनो अनुकूल समयमा मात्र उम्रन्छ। अनुकूल नभएको याममा उम्रन सक्दैन्। उदाहरणको लागि वर्षे र हिउँदे खेती गरिने जग्गामा बेथेसाग उम्रन्छ। यसको बीउ जेठ-असारको याममा पनि त्यहीं खेतबारी हुन्छ तर त्यतिबेला यो उम्रन्न, जब हिउँद मंसीर-पुस लाग्छ। त्यति बेलाको वातावरण यसलाई उपयुक्त हुन्छ, उम्रन थाल्छ। त्यसरी नै अन्य झारपात पनि आ-आफ्नै ऋतुमा उम्रन्छ। प्रत्येक वसन्त ऋतुमा पालुवा पलाएर आउँछ। वनजंगल हराभरा हुन्छ जब कि अन्य ऋतुमा यो सम्भव छैन। यस्तो हुनुको मूल कारण हो, तापक्रम। पतझर वनस्पतिहरु हिउँदमा झर्ने गर्दछन्। हिउँदमा बोटबिरुवाले कम मात्रामा पानी प्राप्त गर्दछन्। बढी मात्रामा उत्सेदन क्रियामार्फत् पानी वाष्पीकरण भएर जाने हुँदा बोटबिरुवाका शारीरिक क्रियाका लागि पानी जोगाउन पातहरु र्झदछन्।

बीउबिजन उम्रनको लागि पनि तापक्रमको भूमिका निकै नै हुन्छ। बिना ताप कुनै पनि बीउबिजन उम्रन सक्दैनन्। पानीमा भिजाएर चिसो बनाउनु पनि तापक्रम नै हो किनकि यस अवस्था कम तातोपन हुन्छ। कम तातोपन भन्नुको अर्थ चिसो नै हो। बीउहरु पानीमा ढाडिएपछि नै सूर्यको किरणको जरुरत पर्दछ। यसबाट ताप प्राप्त गरेपछि अंकुरण सजिलैसित लाग्दछ। ठाउँअनुसार बीउबिजन कति समयपछि उम्रने भन्ने कुरामा भर पर्दछ। उमार फुटे पश्चात पनि सूर्यमा रहेको विभिन्न खालका रंगीबिरंगी किरणमध्ये रातो किरणले बोट उम्रन मद्धत गर्दछ। सूर्य किरणमा निहित रातो, नीलो, हरियो किरणमा छुट्टाछुट्टै खालका तंरग लम्बाइ हुन्छन्। यसले नै उमार फुट्ने, हुकने, बढ्ने जस्ता कार्यमा सहयोग पुर्‍याउँदछ।

केही अन्नबाली यस्ता पनि छन्, जुन उम्रनको लागि चिसो तापक्रमको जरुरत पर्दछ। एक रसियन वैज्ञानिक क्लिपार्टले सन् १८५७ मा हिउँदे प्रजातिको गहुँलाई चिसोको प्रयोग गरेर वसन्त ऋतुमा रोपेर गृष्म ऋतुमा फुल्ने बनाए। यस्तो बनाउनुमा उनले गहुँको बीऊलाई शून्यदेखि माइनस पाँच ड्रि्री सेन्टिग्रेडका तापक्रममा राखे। पछि यसलाई खेतमा उमारेर देखाए। चिसोको प्रयोग गरेर हिउँदे गहुँलाई गृष्ममा फलाए। यो क्रियालाई वनस्पतिशास्त्रमा भर्नलाइजेसन भनिन्छ। गहुँलाई यसरी ऋतु नै परिवर्तन गरेर फलाउँदा यसको जीवनचक्र नै छोटो हुन्छ भने चीसो सहन सक्ने प्रजाति बन्दछ। यसको अको फाइदा भनेको ढुसी जातिका रोगले आक्रमण गर्न सक्दैन्।

जैविक प्रविधिमा पनि तापक्रमको अत्यन्तै ठूलो भूमिका हुन्छ। तापक्रम बिना त यो प्रविधि सम्भव नै हुँदैन। कुनै पनि बोट बिरुवाको टुप्पोको कलिलो भागलाई लिएर कृत्रिम पौष्टिक तत्त्वमा निर्मलीकरण गरेर राखेपछि इन्कुबेटरमा तापक्रम मिलाएर राख्नुपर्दछ। छ हप्तासम्म करिब २५ ड्रि्री सेल्सियसको तापक्रममा मिलाएर राख्ने हो भने सानो बिरुवा निस्कन्छ। यसलाई टिस्युकल्चर भनिन्छ। यो प्रविधिबाट धेरै बोटबिरुवा बेमौसममा पनि उमार्न सकिन्छ। प्रयोगशालामा टिस्युकल्चर, प्रोटोप्लास्ट, अर्गान कल्चर आदिबाट थुप्रै बिरुवाहरु निकालिएका छन्। तापक्रमकै प्रयोगले जैविक प्रविधिमा निकै फड्को मारिसकेको छ। यति मात्र नभई कुनै पनि प्रयोगशालामा काम गर्ने भन्ने बित्तिकै निश्चित तापक्रम कायम राखेर कार्य गर्ने गरिन्छ।

समग्रमा भन्दा तापक्रमको असर निर्जीवमा मात्र सीमित नभई सजिवमा व्यापक छ। जीवजन्तुदेखि लिएर वनस्पतिमा समेत यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै नै असर पार्दछ।

- कल्याण पन्त