लोकतन्त्रमा हामी कति पछाडि परेका रहेछौँ

आफ्नै अवलोकन, अध्ययन, अनुभूति र अनुसन्धानबाट लोकतन्त्र भनेको राज्य शक्ति र सार्वभौमिकताको मालिक त्यस राज्यका जनता हुन् भन्ने तथ्य मात्र होइन हरेक नागरिकको बौद्धिक प्रतिभा र क्षमतालाई विकास गर्ने राजनीतिक, सामाजिक र आर्थिक व्यवस्था र वातावरण पनि हो भन्ने मेरो बुझाइ छ। यही बुझाइ अनुसार नेपालको वर्तमान राजनैतिक, सामाजिक र आर्थिक लोकतान्त्रिक पक्षलाई बेलायतको राजनीतिक, सामाजिक र आर्थिक पक्षसँगसँगै उभ्याएर कति होचो, कति अल्को भनी हेर्ने र प्रस्तुत गर्ने जमको गर्दैछु।

मैले बेलायत बाहेक अरु देशको भ्रमण गर्ने र  बस्ने मौका पाइन। तर एउटै देशको अनुभव भएपनि एक वर्षको बेलायतको बसाइमा लोकतन्त्रको वास्तविक पाठ पढेको छु, सिकेको छु। सिकाईमा मात्र सिमित नराखी जीवनशैलीमा पनि उतारेको छु भन्ने लागेको छ। सिकेको कुरा अनुभूतिमा उत्रेपछि जीवनशैलीलाई नै प्रभाव पार्ने रहेछ।

सबभन्दा पहिले राजनीतिको कुरा गरौँ। बेलायतको राजनीति प्रोफेसनल अर्थात पेशागत रूपमा रहेको पाएँ। किनभने नेपालमा जस्ता पनि मान्छे, जस्तै कर्मचारी, वेपारी, उद्योगपति, मजदूर, किसान र बसको कण्डक्टर आदि समेत विभिन्न पार्टीका सदस्य भएर वा पार्टीत झुकाव राखेर आ-आफ्नो स्वार्थ सिद्धगर्ने देखिएका छन्। व्रिटिशहरू आफ्नो व्यवसाय प्रोफेसनमा दत्तचित्त भई लाग्ने तर राजनीतिमा लागेर आफ्नो दुनो सोझ्याउने स्वार्थ लिएको पाइन। यसो भए तापनि देशको राजनीति बारे राम्रै जानकारी राख्ने गरेको पाएँ। राजनीतिमै लाग्नेहरू पार्टीको नेता भएपनि राजनेता अर्थात देश र जनताको समस्या समाधानलाई प्राथमिक दिने र आफ्नो पार्टीकाई दोस्रो प्राथमिकतामा राख्ने प्रोफेसनल नेता र कार्यकर्ता भएको मैले पाएँ। तर नेपालका आवाजहिन भएर बस्नु परेका बाहेक, पार्टीका नेता र कार्यकर्ताहरू छलकपट, बेइमान, भ्रष्टाचार आदि, सबै किसिमका कुनीति खेलेर सत्ता र सम्पत्ति प्राप्त गर्ने धुनमा आफू र पार्टीकाई अघि बढाउनेहरू मात्र देखेँ। यसै सर्न्दर्भमा एउटा उदाहरण यस्तो छ।

२०४६/१२/२६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएको घोषणा तत्कालीन राजा वीरेन्द्रबाट भयो र बहुदलीय व्यवस्था अन्तरगत “नेपाल अधिराज्यको संविधान  २०४७” राजाबाट कार्तिक २३ गते घोषणा भयो। त्यही संविधान अनुसार २०४८ साल वैशाखमा आमचुनाव सम्पन्न भयो जसअनुसार २०५ सिटमा ११० सिट ल्याएर गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँगे्रसको एकमना सरकार गठन भयो। देश र जनताको उन्नतिभन्दा सत्ता र सम्पत्ति प्राप्त गर्न प्राथमिकता दिने पार्टीका नेता र कार्यकर्ताहरूको पुरानो प्रवृत्ति भएकोले प्र.म. गिरिजाको विरुद्ध नेता शेरबहादुर देउवाको उक्साइमा उनका समर्थक स्वार्थी संसदहरूको ग्रुपले अविश्वासको प्रस्ताव ल्याउन तयार भएको चाल पाएर, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई संवैधानिक राजाद्वारा विघटन भएको घोषणा गरेर देशलाई अनावश्यक रूपले मध्यावधि चुनावमा धकेल्यो, राष्ट्रिय समय र सम्पत्तिको दुरूपयोग गरे। संयोगको कुरा हो -त्यही समयमा बेलायतका प्रधानमन्त्री जोन मेजरलाई पनि हाउस अफ कमन्समा गिरिजालाई जस्तै ठाक्कै मिल्दो समस्या परेको थियो। तर उनी पार्टीको नेता मात्रै नभएर राजनेताको संस्कार भएको व्यक्ति हुँदा हाउस अफ कमन्स भ· गर्ने सोच नलिएर उनले उप्रति सन्तुष्ट र असन्तुष्ट संसदहरूलाई भेला गरेर आफू प्रति सन्तुष्ट र असन्तुष्ट कति छन् भनी मतदान गर्न लगाए। सन्तुष्ट हुनेहरूको मत धेरै भएपछि जोन मेजरले ५ वर्षको कार्यकाल पुरा गरे। यस्तै लोकतान्त्रिक सोच र संस्कार हाम्रा पार्टीनेता र कार्यकर्ताहरूमा नभएको हुनाले देश र जनताले बारबार तुरुन्तातुरुन्तै सरकार परिवर्तन हुने समस्या र झगडामा परेर अनावश्यक दुख पाएका छन् भने देशको समय र सम्पत्ति वरबाद गरेको उदाहरण मध्येको यो एउटा उदाहरण हो, जसले गर्दा नेपालमा लोकतन्त्रका सवल संस्कार र संस्कृति विकास हुन पाएन। यिनीहरूले सत्ता र सम्पत्ति हात लगाउने राणाशाही र राजाशाहीकै सोच र जीवनशैलीलाई निरन्तरता दिए र अझै पनि दिएकै छन्।

सामाजिक सर्न्दर्भमा पनि यस्तै सोच र व्यवहारका कुरा थुप्रै छन्। नेपालका नेता मात्र होइन साधारण नागरिकको उदाहरण पनि यस्तो छ। हाम्रो नेपालमा सार्वजनिक वसको यात्रा गर्दा यहाँका मान्छेहरूले निर्धारित बस विसौनीको मतलवै नराखी जहाँ पायो उही बस रोकेर चढ्ने र घरघरमा, दैलोदैलोमा बस रोकेर ओर्लने गर्छन्। यसो गर्दा यात्रुहरूले आफूलाई हैसियत, इज्जत भएको ठानेर गर्व गर्छन्। तर बेलायतमा यात्रुहरूले बस स्टप बाहेक अन्य ठाउँमा चढ्ने र आफ्नो घर दैलोमा रोकेर ओर्लने गर्दैनन्। यसो गर्दा उनीहरू, हाम्रो नेपाली बोलीमा “पाखे” भए जस्तै आफूलाई असभ्य भएको ठान्छन्, समाजको अगाडि लाजको अनुभव गर्छन्। यसरी लोकतान्त्रिक नेपालका नागरिक र लोकतान्त्रिक बेलायतका नागरिकहरूको सोच र जीवनशैलीमा कति फरक रहेछ भन्ने उदाहरण मध्ये एउटा उदाहरण हो।

अको उदाहरण पनि प्रस्तुत गर्छु। त्यहाँका सम्पन्न वर्ग मात्र होइन टैक्सी ड्राइवर समेत कार चलाउँदा जेब्रा क्रस आउने वित्तिकै कारको स्पीड घटाउँछ। जेब्राक्रसमा पैदलयात्री हिडेको देखेपछि गाडी रोकेर यात्रीलाई बाटो लाग्न दिन्छन्। तर नेपालमा गाडी चलाउनेहरूले जेब्राक्रसमा आइपुगे पनि स्पीड कम गर्नु र रोक्नु त कुरै छैन, पैदल यात्रीले बाटो काट्न लागिरहँदा पनि स्पीड मै हाक्छ र पैदलयात्रीले आफू रोकिएर गाडीलाई जान दिनुपर्छ। लोकतन्त्रमा हामी कति पछाडि परेका छौं। लाज लाग्दो छ।

आर्थिक सर्न्दर्भमा पनि यस्तै अनुकरणीय योग्य उदाहरण मैले पाएँ। बेलायतमा पनि धनी र गरिबहरू छन्। तर धनीहरू गरिबहरूको श्रम र सम्पत्तिको शोषण गर्दैनन्। गरिब भनेर हेय दृष्टि राख्दैनन्। श्रम गर्नेहरूको उचित पारिश्रमिक दिन्छ। मेरो एक वर्षको बसाईमा भ्रष्टाचार भएको खबर सुन्न र पढ्न पाइन। त्यसले गर्दा गरिबहरूले धनीहरूको धनकोर्र् इष्र्या-डाह गर्दैन गरिबहरूले धनीहरूलाई मानवीय व्यवहार र सम्मान दिन्छन्। धनीहरूले पनि गरिबहरूलाई त्यसरी नै मानवताको व्यवहार गर्छन् सम्मान दिन्छन्। आडम्बर भन्ने छदै छैन। तर नेपाली समाजमा यसको उल्टो छ।

हाम्रो लोकतान्त्रिक गन्तव्य नेपालका राष्ट्र सेवकहरूको उदाहरण यस्तो पनि छ। राज्य स्तरमा काम गर्ने सेवादाता कर्मचारीहरूले फरक फरक ठाउँ वा विभागमा काम गरे पनि, राज्यकै सेवा गरेको भनेर सबै सेवा जोडेर पेन्सन दिँदो रहेछ। तर नेपालमा अझै यस्तो बुझाइ र सोच आएकै छैन। पेन्सन प्राप्त गर्नलाई एउटै विभाग वा ठाउँमा २० वर्ष काम गरेकै हुनुपर्ने नीति नियम छ। यस प्रकरणमा मेरै उदाहरण प्रस्तुत गर्छु। मैले अविछिन्न रुपले २०७२ सालदेखि २०५९ सालसम्म शिक्षण पेशामा काम गरेँ। १० वर्ष बूढानीलकण्ठ स्कूल काठमाडौंमा, १ वर्ष राष्ट्रिय शिक्षा समिति केशर महलमा, २ वर्ष सिन्धुली क्याम्पस ढुङ्ग्रेवासमा र १७ वर्ष पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गरेँ। तर क्याम्पसमा काम गरेको २० वर्ष नपुगे पनि नियम अनुसार ६३ वर्ष उमेरको हदको कारणले अवकाश लिनुपर्ने वाध्यता आयो। २० वर्ष सेवा नपुगेको भनेर मलाई पेन्सन दिएन। मेरो सेवा बूढानीलकण्ठको १० वर्ष, रा.शि. समितिको १ वर्ष सिन्धुली क्याम्पसको २ र पृथ्वीनारायण क्याम्पसको १७ वर्ष जोड्दा ३० वर्ष पुग्छ। बेलायतको नीति नियमअनुसार ३० वर्षको पेन्सन पाइन्थ्यो। तर नेपालको नियमले मलाई पेन्सन दिएन। लोकतन्त्र सोच र संस्कारमा नेपाल सरकार र नीतिनिर्माताहरू कति पछाडि परेका रहे छन्, यसबाट प्रस्ट हुन्छ।

बेलायतको यस्तो राजनैतिक सामाजिक र आर्थिक वातावरण देख्न पाउँदा, बुझ्न पाउँदा मलाई बेलायतमै बसुबसु जस्तो लाग्यो। तर देश सम्झँदा कहिले नेपाल र्फकु जस्तो लाग्यो। किनभने नेपाल जस्तो प्राकृतिक रुपले सुन्दर मात्र होइन सम्पदा स्रोतले सम्पन्न देश बेलायत भएको पाइन। भौतिक उन्नति वा विकासको दृष्टिले अगाडि रहेको भए पनि नेपाल जस्तो भौगोलिक, जैविक, प्राकृतिक विविधताले भरिएको देश बेलायत वा व्रिटेनलाई पाइन। समुन्द्र बाहेक मलाई कुनै कुरा नौलो र आकर्षक लागेन। वर्षै भरि सिमसिम पानी परिरहने, जहिले पनि जाडो भइरहने, घामको मुख सम्म पनि नदेखिने, एकनासे प्रकृतिको तुलनामा नेपालको शरद, बसन्त, गृष्म, वषा, शिशिर र हेमन्त जस्ता पालैपालो आउने जाने ऋतुहरू र ती ऋतुहरूले ल्याउने प्राकृतिक छटा र छविपूर्ण वातावरण बेलायतमा कहाँ देख्न पाउनु। अलिकति गर्मी वा गृष्म ऋतु भनेको जुन, जुलाई महिना मात्र हो। त्यो पनि १०-१५ ड्रि्री भन्दा बढी ताप हुँदैन। नेपाल जस्तो आकाशलाई छुने ओजस्वी हिमाली ऋङ्खला कहाँ देख्न पाउनु ∕ सत्य, शिव र सुन्दरको भावना फुराउने तराई पहाड र हिमाली सिँढी कहाँ चढ्न पाउनु ! तर के गर्ने हाम्रो सामाजिक, राजनैतिक र आर्थिक विसमता, विसङ्गति र व्रि्रहको कारणले गर्दा नेपालीहरूको लागि नेपालको यो दिव्य सुन्दरता गौण भएर भएको छ। जताततै विरक्तमय, विभेदीकारी, शोषण, दमन, अशान्त र आडम्बरको आगोमा आफ्नो देशको अनुपम प्रकृतिको आनन्द नेपालीले अनुभूत गर्न पाएन। हामी नेपालीको यो नियती होइन, तर विडम्बनाले गर्दा, नियती भन्न विवश हुनुपरेको  छ।

हाम्रो देश जतिसुकै सुन्दर भएपनि व्रिटिश लोकतान्त्रिक समाजको जीवनशैलीको तुलनामा हाम्रो समाजका नेतादेखि नागरिक सम्म, आवाज विहिन वा चर्चामा नआएका कोही नागरिक छन् भने, तिनीहरू बाहेक सबै नेपालीहरूको लोकतान्त्रिक सोच, संस्कार र जीवनशैली लोकतान्त्रिक हुनमा कति पछि परेको रहेछ। तर उपरोक्त विडम्बनाको दोषी नेता र नागरिकहरूले आफूतिर औला नदेखाई अर्थात आफूलाई दोषी स्वीकार नगरी लोकतन्त्रतिर औला देखाएर लोकतन्त्रभन्दा बरु राणाशासन र पञ्चायती शासन नै ठीक भनी प्रतिगमनको कुरा गर्छन्। यो कस्तो खेदको कुरा।

- डा. गेहेन्द्रमान उदास "पोखरेली"