राष्ट्रहरु तेस्रो विश्वयुद्ध उन्मुख ?

अहिलेको विश्वमा निकै परिवर्तनहरु भइरहेका छन्। उच्च प्रविधिको विकास सँगै आतंकवादले नयाँ नयाँ प्रयोग गरी राष्ट्रहरुलाई चुनौतीका चाङहरु थपिदिएका छन्। राजनीतिक रुपमा पनि मुलुकहरूको धु्रवीकरण हुने प्रक्रियामा समेत परिवर्तनको आभास देखा पर्दैछ। शीतयुद्धका संभावनालाई नकार्न नसक्ने स्थिति देखापर्दैछ। एक राष्ट्रले अको राष्ट्रको गतिविधिलाई नियाल्ने, चासो दिने र आवश्यक परे हस्तक्षेप गर्ने प्रचलन बढ्दो छ। वाकयुद्धमा कोही मुलुक पनि कोही भन्दा पछि नपर्ने रणनीतिहरू अख्तियारी गर्दैछन्।

धर्मको नाममा आतंकवादलाई प्रश्रय दिएको अवस्थाबाट कैयन मुस्लिम राष्ट्रहरू गृहयुद्धको चपेटामा छन्। त्यही गृहयद्धबाट लाखौं शरणार्थीहरू विकसित मुलुकमा शरण लिन उन्मुख देखिएका छन्। शरणार्थीकै रूपमा रहँदा पनि ती विकसित मुलुकहरूमा आतंकी कार्यहरू गर्न पछि परेका छैनन्। त्यसैले मानवीय दृष्टिकोणले प्रदान गरिने आफ्नो देशमा बस्न अनुमति दिने नीतिलाई धेरै विकसित मुलुकहरूले आफ्नै मुलुकको लागि चुनौती थपिएको महसुस गर्दै पुनरावलोकन गर्न लागि परेका छन्।

सबैभन्दा ठूलो संकट अहिले सिरियामा छ। बाबुपछि छोराले शासन चलाइरहेको सिरियामा पूरा तानाशाही व्यवस्था छ जसको विरुद्ध स्वतन्त्रताको लडाइ लडिरहेका थुप्रै व्रि्रोही समूहहरू सक्रिय रहेका छन्। मुस्लिम राज्य स्थापना गर्न उद्यत आतंकवादी संगठन पनि त्यत्तिकै सक्रिय रहेको छ। विभिन्न सम्प्रदायमा विभक्त मुसलमानहरू आ-आफ्नो समूह सिरियाको गृहयद्धमा संलग्न छन्। सिरियाको तानाशाहलाई हरेक प्रकारले सहायता र समर्थन इरान र रुसले गरिरहेको छ र त्यसैको आडमा सिरियाका तानाशाहले सत्ता छोड्न चाहेका छैनन्। सिरियाका छिमेकी र्टर्की, इराकमा रहेका कुदहरू पनि यो संघर्षमा संलग्न छन्। विगत ८ वर्षदेखि निरन्तर युद्धमा होमिएको सिरिया भूगोलमात्रै छ बाँकी सम्पूर्ण संरचनाहरू ध्वस्त भई मानवीय अस्तित्वको संकटसँग जुधिरहेको छ। यस्तै गतिविधि यमनमा जारी छ। जाति र संप्रदाय विभाजित छन्।

लामो समयसम्म एउटै व्यक्ति सत्तासीन भइरहँदा त्यो मुलुक साँच्चिकै उन्नतिको शिखरमा पुगेको हुन्छ वा अधोगतितर्फ उन्मुख हुन्छ यो कुरा विभिन्न मुलुकको परिवेशले देखाइरहेको छ। स्वतन्त्रताको लागि संघर्षरत व्यक्तिहरू सत्तामा पुगेपछि ऊ सदा शक्तिको आडमा रहिरहन बन्दुकको आडमा तानाशह बन्ने प्रवृत्ति बढेको पाउँछौं। एकजना स्वतन्त्रताको लागि लड्ने व्यक्ति निरन्तर सत्ताको लागि आफ्ना सहयात्री राय मत नमिल्ने साथीहरूलाई पनि विरोधी जस्तै समाप्त पार्ने, ओझेलमा पार्ने खेलमा लागिरहन्छन्।

देशको चिन्ताभन्दा आर्थिक उन्नतिककै चिन्ता भन्दा बढी कसरी आफू सत्तामा टिकिरहने, कसरी विरोधीहरूलाई पाखा लगाउनेमा ध्यान केन्द्रित गरेका हुन्छन्। राजनीतिक स्थायित्व नभई देश विकास सम्भव छैन भन्ने अवधारणालाई वषौर्ंसम्म एकजना व्यक्ति सरकारप्रमुख भइरहँदा पनि विकसित मुलुक बन्न नसक्दाको उदाहरण प्रशस्त छन्।

अहिलेसम्म सबैभन्दा लामो शासन सत्ता संभाल्ने व्यक्तिको रूपमा क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रोको नाम आउँछ। सन् १९५९ देखि २०११ सम्म झण्डै ५२ वर्ष ३ महिना निरन्तर राष्ट्रपतिको रूपमा शक्ति आफूमा केन्द्रित गरे तर क्युवा जस्तो समुद्री रमणीय देशका जनताहरू गरीवीबाट माथि उठ्न सकेनन्। लाखौं जनता देशबाट पलायन भए।

त्यस्तै उत्तरकोरियाका राष्ट्रपति किम इल सुँग (अहिलेका राष्ट्रपतिका बाजे हुन्) सन् १९४५ बाट १९९४ सम्म ४८ वर्ष ६ महिना अविछिन्न राष्ट्रध्यक्ष रहे, त्यसपछि छोरा अहिले नाति राष्ट्रपति छन्। उत्तरकोरिया परमाणुवम निर्माण गरेर अमेरिकालगायत छिमेकी देशहरूलाई तर्साएर धम्की दिन माहिर देखिएका छन् तर आम उत्तरकोरियाली नागरिक हरेक वर्ष खडेरीका कारण मभुखमरीबाट लाखौं मानिसहरू पीडित छन्।

त्यस्तै चीनका राष्टा्रध्यक्ष च्याङकाइरोउ पहिला चीनमा त्यस पछि भागेर ताइवानको राष्ट्रपतिको रूपमा झण्डै ४७ वर्ष ६ महिना सत्तामा बसे। त्यसरी नै मंगोलियाका सेडनवेल, क्यामरुनका पाउल विया, गैवनका ओमर वान्जो, लिवियाका मोहम्मद गदाफी, अल्वानियका होक्सा, सहराका मोहम्मद अवेदले भण्डै ४२ वर्षसम्म आ-आफ्ना मुलुकमा शासन गरे।

स्पेनका तानाशाह फैकोले ३९ वर्ष र रुसका तानाशाह स्टालिनले ३० वर्ष भर्खरै सत्ता छोडेका जिम्वावेका रर्वर्ट मुगावेले ३० वर्ष एकलौटी रूपमा आफ्नो मुलकुमा शासन गरे। अहिले पनि अफ्रिका, दक्षिण अमेरिकी मुलुकहरूमा लामो समयसम्म सत्तामा बसिरहेका व्यक्तिहरू छन्।

तसर्थ माथिका उदाहरणले लामो समयसम्म सत्तामा आसिन हुँदैमा सत्तामा आफ्नो कब्जा हुँदैमा मुलुकलाई अगाडि बढाउन सक्दैनन् भन्ने उदाहरण आफैमा काफी छ।

वर्तमान परिप्रेक्षमा आधुनिक राष्ट्रको रुपमा रुसका राष्ट्रपति पुटिन सर्वाधिक लामो समयसम्म सत्तासीन व्यक्तिको रुपमा रहेका छन्। २००८ मार्ग २२ मा फेरि चुनिनु भन्दा अगाडि झण्डै ६७८८ दिन पुटिनले सत्ता आफ्नो हातमा लिइसकेका छन्। रुसमा प्रतिपक्षको रुपमा कोही पनि आउन नसक्ने परिस्थिति क्रमशः बन्दै छ – आफ्ना विरोधीलाई विभिन्न आरोपमा जेलमा पठाीदिनु निर्वासनमा पठाउनु, हत्या गरिनु सामान्य देखिएको छ। हालै रुसले व्रिटनेमा रहेका एक जना रसियन जासुस र उनको छोरीलाई विषादी सुर्इ दिएर हत्या गर्ने षड्यन्त्र गरेकोमा २४ मुलुकले विरोध गर्दै सम्बन्ध चिसिएको छ।

अहिले विश्व परिवेशमा कुनै पनि मुलुक एकांकी रुपमा आत्मनिर्भर बन्दै अगाडि बढ्छ भन्ने रणनीति अंगाल्न नसक्ने स्थिति बन्दैछ। अन्तरनिर्भरता अन्तर समन्वय र सहयोगले मात्र संगसँगै अगाडि बढ्न सक्दछ। धेरै कमुलुकहरु आफ्नो देशको अर्थतन्त्रबारे बढी ध्यान केन्द्रित गर्न थालेका छन्। अर्थतन्त्रलाई अन्य देशले अंगिकार गर्ने राजनीतिक, सामाजिक, आर्थिक दृष्टिकोणले ठूलो प्रभाव राख्ने अवस्था छ। आफ्नो मुलुकको व्यापारलाई अगाडि बढाउन निकै ठूलो कुटनीतिक दक्षता साथै आफ्नो प्रतिस्पर्धात्मक क्षमतालाई विश्व सामु कौशलतापूर्वक प्रस्तुत गर्नुपर्ने अवस्था छ। सहयोग माग्नुभन्दा साझेदार बन्न आवश्यक छ।

दक्षिण अमेरिकी मुलुक भेनेजुयला विश्वमा पेट्रोलियम पदार्थ उत्पादन गर्ने दोस्रो स्थानमा थियो। विगत २० वर्ष यता पेट्रोलियम पदार्थबाट भएको आम्दानीबाट घमण्ड गर्दै छिमेकी तथा अन्य मुलुकसँगको सम्बन्धलाई चिसो बनाउँदै घर नभएका आफ्ना सबै नागरिकलाई घर बनाइदिनेदेखि काम नभएकालाई बेरोजगार भत्ता उपलब्ध गराउँदै सैनिकको सुविधा बढाउँदै सत्तामा टिकिरहने रणनीति अवलम्बन गर्‍यो।

फलस्व्रुप आज भेनेजुयलाको विषम परिस्थिति कहालीलाग्दो बनेको छ। १ लाख पैसो सम्मको नोट छापेर जनताको आँखामा छारो हाल्ने काम गर्‍यो – त्यो एक लाख पैसोले विहानको पाउरोटी र खाना पनि नपुग्ने भयो। दैनिक रूपमा चाहिने औषधी लगायत बच्चाको दूधसमेत पाउन छोड्यो – छिमेकी मुलुकबाट सामान ल्याउन पैसा अभाव भयो – आफ्नो देशको तेल विक्न छाड्यो यस्तो परिस्थितिमा पनि त्यहाँका राष्ट्रपति तानाशाहका रुपमा विरोध गर्नेहरूलाई दमन गर्दै शासन चलाइरहेका छन्। नितान्त एकलपनमा एकलकाटेको रूपमा – गृहयुद्धको परिस्थिति निर्माण भइरहेछ।

राजनीतिक दृष्टिकोणले उदारवाद देखाउन सकेन भने विश्वपरिस्थितिसँग मुलुकलाई सँगै लैजाने प्रयास गरेन भने अर्थतन्त्रलाई ख्याल नगरी सिर्फ जनताको वाहवाही लिने दुष्प्रयास गर्न थाल्यो भने मुलुकको परिस्थिति गम्भीर बन्दै जान्छ भन्ने प्रशस्त उदाहरणहरू र यथार्थहरू छन्। यसबाट सबै मुलुकले पाठ सिकिरहेका छन्।

एकातर्फ गरीवीले राष्ट्रहरूलाई चिन्ताले सताइरहेको छ भने अकोर्तर्फ सैन्यशक्तिमा ठूलो धनराशि खर्च गर्दै युद्धको हुंकार गर्ने स्थितितर्फ उन्मुख छ। सन् २०१८ को लागि विभिन्न मुलुकहरूले कुल १७०० अरव डलर सैन्य खर्चको रुपमा बजेट तर्जुमा गरेका छन्। विभिन्न मुलुकको सैन्य गतिविधिहरूलाई एकपटक नियाल्ने हो भने आक्रामक रूपमा आफूलाई उपस्थित गराइरहेका छन्। फेरि एकपटक विश्वयुद्धको स्थिति सिर्जना हुने हो भने संभवत मध्यएशियाबाट शुरुवात हुने अवस्था रहेको छ।

कुनै मुलुक विश्वयुद्धको कारक बन्न सक्ने स्थितिको मूल्याड्ढन गर्ने हो भने निम्न मुलुकहरू अत्यन्तै आक्रामक रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। पहिलो पंक्तिमा उत्तरकोरिया देखिन्छ, आफू परमाणु शक्ति सम्पन्न भएको नाताले ऊ निकै सलवलाइरहेको छ। त्यसपछि र्टर्की, इजिप्ट, इरान र साउदी अरेविया छ, जहाँका शासकहरू आफ्ना विरोधीलाई तह लगाउन अनेकन हतकण्डाहरू प्रयोग गरिरहेका छन्। र लामो समयसम्म सत्ता कब्जा गर्न उद्यत देखिन्छन्।

चीन, रुस र अमेरिका विश्वसामु शक्तिशाली राष्ट्रको रुपमा देखाउन सैन्य ताकत प्रदर्शन गर्दैछन्। अमेरिका विश्वको कुनै पनि भूभागमा आफ्नो उपस्थिति देखाउँदै विश्वको सबैभन्दा ताकतवार मुलुकको रूपमा रही आएको छ र उसको सुरक्षा छाता मुनी विश्वका कैयन मुलुकहरू आफूलाई सुरक्षित बनाउन लागि परेका छन्। विश्वमा अत्याधुनिक, उच्च प्रविधिको रक्षासामग्री उत्पादन र बिक्री गर्ने सबैभन्दा ठूलो मुलुकको रूपमा पनि अमेरिका रहेको छ।

इजरायल अको खतरनाक मुलुक हो जसलाई ११ भन्दा बढी मुस्लिम देशहरूले घेरेको छ र इजरायलको अस्तित्व समाप्त पार्न विगत ७० वर्षदेखिन लागि परेहकेा छ तर इजरायलको कौशलता, सैन्यशक्ति र पराक्रमले आफूलाई अझ विकसित, अब्बल र उन्नत सावित गर्न सफल भएको छ। र युद्धको मामलामा वरिपरिका कुनै पनि राष्ट्र इजरायलसँग लडाइ गर्नुपर्ने अवस्थामा पछि हट्ने स्थिति छ र युद्धको मामलामा वरिपरिका कुनै पनि राष्ट्र इजरायल उच्च्ा प्रविधिको सैन्यसामग्री र आधुनिक हातहतियार बेच्ने मुलुक मध्येमा अग्रपंक्तिमा आउँछ।

माथि उल्लेख भएझैँ ९ वटा राष्ट्रहरू नै भोलिका संभावित विश्वयुद्धका कारक बन्न सक्ने देखिन्छ। पलिहो विश्वयुद्ध सन् १९१४-१९१८ सम्म, दोस्रो विश्वयुद्ध १९३९-१९४५ सम्म रह्यो। ७४/७५ वर्षपछि फेरि  एकपटक विश्वयुद्धको त्रासदी देखापर्दैछ – कथंकदाचित विश्वयुद्ध भयो भने परमाणुसहित उच्च प्रविधिको युद्ध हुने सम्भावना भएकोले धेरै लामो समयसम्म युद्धको सम्भावना छैन तर कैयन राष्ट्रको लागि अस्तित्व नै समाप्त हुनेखालको युद्धको संभावना चाहिँ देखिन्छ।

तेस्रो विश्वयुद्धको संभावित खतराबाट पार पाउन कुनै पनि राष्ट्रले आफ्नो अहंकारलाई त्याग्दै तानाशाही प्रवृत्तिको शासनप्रणालीलाई तिलाञ्जली दिनु बुद्धिमत्तापूर्ण हुनेछ – यसबाट विश्वमा शान्ति कायम रहनेछ। उत्तरकोरियाले संभवतः महसुस गरेर आफ्नो नीतिलाई परिवर्तन गर्न खोजेको संकेत दिइरहेको छ।

- आनन्दराज मुल्मी