रामघाट तीर्थको अस्तित्व संकटमा

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ र ९ मा पर्ने रामघाट तीर्थमा तीन घाटहरु पर्दछन्। ११ मा दक्षिणतर्फ रामघाट र उत्तरतर्फ तुलसीघाट नदीपूर्व पर्छन् भने पश्चिम तर्फ वडा नम्बर ९ मा दक्षिण शान्तिघाट र उत्तर तर्फ वडा नं. ९ रामघाट गरी चार घाटहरु रहेका छन्। काठमाडौँको पशुपति आर्यघाट जस्तै पोखराको रामघाट पनि एउटा प्रसिद्ध तीर्थस्थल हो। त्रेता युगमा भगवान् राम आएर सेती गण्डकीमा स्नान गरेका हुनाले यो तीर्थको नाम रामघाट नामाकरण गरिएको हो भन्ने ऐतिहासिक किंबदन्ती छ।

राम भन्नाले अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा रामचन्द्र अर्थात्र् इश्वर, भगवान् भन्ने जनाउँछ। घाट भन्नाले नदीको दायाँ बायाँको किनार, तीर्थ स्थल तथा नदी वा जलाशयको पानी भएको ठाउँसम्म पुग्न सकिने सुगम स्थान हो। यी दुर्इ शब्दको समागमबाट रामघाट शब्द बनेको छ। यसले पनि यो स्थान प्राग ऐतिहासिक कालदेखि नै यो नामले चर्चित हुँदै आएको छ।

रामघाट पवित्र सेती गण्डकीको किनारमा रहकेको घाट हो। यो घाटको पोखरा उपत्यकामा मात्र होइन नेपाल भरि र भारतबाट तीर्थयात्रा गर्न आउने तीर्थालु पनि यहाँ आउँछन्। रामघाट स्थित गीता मन्दिर वैरागी वन स्थित मुक्तिनाथ र नरनारायण आश्रममा भारतबाट आउने तीर्थ यात्रीहरु यी आश्रममा बसेर सेती गण्डकीको तट रामघाटमा स्नान गरेर यहाँबाट गलेश्वर आश्रम मुस्ताङको म्याग्दी र मुक्तिनाथ मन्दिरमा गएर मुक्तिनाथ भगवान्को दर्शन गरेर र्फकन्छन्।

रामघाटमा धार्मिक पर्वहरूमा धर्मको उद्देश्यले  स्नान गर्ने श्रद्धालु भक्तजनहरुको भीड लाग्दछ। अन्नपूर्ण दोस्रोबाट उत्पन्न भएकी सेती गण्डकी पोखरा शहरको बीच भागबाट वहन्छिन्। रामघाट धार्मिक हिसाबले पवित्र तीर्थस्थल त हुँदै हो। यहाँ दैनिक पाँच सातवटा लाश जलाउने काम पनि हुन्छ। यो घाट पश्चिमाञ्चलकै प्रख्यात घाट हो। यहाँ सेती गण्डकी गहिरो गल्छी बनाएर बगेकी छन्। पोखरा क्षेत्रमा सेती गण्डकीको किनारमा धेरै घाट छन्। जस्मा गाईघाट, नारायण स्थान घाट, तुलसीघाट, रामघाट, शान्तिघाट, सीता पाइला घाट, भर्‍याङ घाट आदि बीच बीचमा लुक्दै देखिँदै बग्ने गरेकी हुनाले देखिएर बगेका ठाउँलाई घाट भनिएको हो। यी सबै घाटमा मानिसहरू पर्व पर्वमा स्नान गर्छन् भने दैनिक जसो लाशहरू जलाइन्छन्।

पोखरा उपत्यका पूर्व काहुँ, आर्बा, सुनपँदाली, कालिका, कन्धनी डाँडा, भलाम, मौजा र पश्चिमतर्फ दोपहरे, कृस्ति, बाघमारा, फुस्रे खोला, भरतपोखरी, निर्मलपोखरी, खुदी, शिशुवा, वेगनास, पोखराका सबै वडाहरु, सराङकोट, कास्कीकोट, सबै क्षेत्रबाट रामघाटमा लाश जलाउन ल्याउँछन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, मणिपाल अस्पताल लगायत पोखराका सबै अस्पतालमा मृत्यु हुन पुगेका व्यक्तिहरुको लाश सेती गण्डकीमा जलाइन्छ। सबै भन्दा बढी लाश जलाइने मुख्य घाट रामघाट नै हो। यो घाटमा पर्यटक डेभिड भन्नेको लाश पनि जलाइएको थियो। यहाँ वषा याममा लश जलाउन अति कठीन हुन्छ। हिउँदका दिनमा पनि अव्यवस्थित रूपमा  जलाइन्छ। घाट व्यस्त नै हुन्छ। कहिले काही त कुनुपर्ने हुन्छ। दुर्इ चार वर्ष यता आएर सेती गण्डकीका प्रायः घाटहरुमा लाश जलाउने भीड हुन्छ।

यो घाट यहाँका आदिवासी थापा, तिमिल्सिना र गौतमहरुको वि.सं. १९९१ सालको नम्बरी दर्ता जग्गा हो। यिनीहरु बीच बेमेल भएकोले त्यसको परिणाम भेडाको मासु भएको छ। अर्थात् भाइ फुटे गवाँर लुटे हुन गएको छ।

पोखराको केन्द्रबिन्दुमा रहेको रामघाट ४ नं. प्रदेशको धार्मिक संस्कार संस्कृति र अन्त्येष्टि कार्यका लागि प्रसिद्ध तीर्थ हो। यो घाट २०३१ सालको नापीमा कित्ता नम्बर ११८५ क्षेत्रफल १२३ रोपनी ३ आना ३ पैसा थियो। यसमा तीन खण्ड छन् पहिलो खण्ड नदी बगरको भाग दोस्रो खण्ड भट्टेतरो र तेस्रो खण्ड खरबारी हो। यो सबै क्षेत्रको क्षेत्रफल यो हो। २०५० साल श्रावण १० गते सेती नदीमा आएको बाढीले भट्टे तरामा बसेका सुकुम्बासी खरबारीमा सरेका थिए। खरबारीका पुराना जग्गा धनीहरुले खरबारी बाहिर राख्न सहयोग गरेर सत्र परिवार बसाएका थिए।

पछि सुकुम्बासी आयोगले २ रोपनी ६ आना ३ दामको जग्गाको लालपूर्जा दिँदा कित्ता फोड भई कि.नं. ५०९२ कायम भई क्षेत्रफल १२१ रोपनी ३ आना ३ पैसा कायम भएकोमा नयाँ नापी अनुसार सर्भे सिट नम्बर ०९३-०९२०-२५ कि.नं. १ पुन समाजले चर्चेको जग्गा जुन साबिकको गौतम खत्री र कोइराला, पुरानो जग्गाधनीहरुको जग्गा हो। यो जग्गा २३६२२ वर्ग मिटर अर्थात् ४६ रोपनी नापीले देखाएको छ। भट्टेतरो र सेती बगर गरी दुवैको एउटै कित्ता कायम गरी -किनं. २) को क्षेत्रफल ३८१०० वर्ग मटिर अर्थात् ७५ रोपनी रहेको छ। तर यो क्षेत्रफल सेती नदीले नापीका बेला आफ्नो धार पश्चिमबाट पूर्व तर्फ फेरेकोले हाल ९ नम्बर वडा तर्फ पनि परेको छ।

यो लेखक बालक छँदाको स्थितिबाट आज ५० वर्षको अवधिमा ५० मिटर नै नदी भासिएको छ। पन्चायत कालदेखि हालसम्म आइपुग्दा जिल्ला पन्चायत, जिल्ला विकास समिति र हाल जिल्ला समन्वय समितिले बर्सेनी ठेक्का लगाउँदै आएको र ठेकेदारले डोजर, रोलर, एकसाभेटर, ट्रक, मिनी ट्रक जस्ता भारी मेसिन रामघाटमा पुर्‍याएर तिनै मेसिनरीहरुले खनेर ढुङगा बालुवा बेच्दै आएका छन्। अहिले पनि जिल्ला समन्वय समितिले ४ करोडमा ठेक्का लगाएको छ। त्यस्तै यो घाटमा दैनिक ढुङगा, बालुवा गिटीको ओसार पसार ढुवानी गर्ने १५ सय जति मजदुर छन्। सेती नदीका घाटहरुमा बिक्री हुने ढुङ्गा बालुवा गिटी उपभोक्ताहरुलाई सबै ठाउँको भन्दा महङ्गोमा विक्री गर्छन्। ठेक्का लगाउने संस्थाले भाउ नतोक्ता ठेकेदारको मनोमानिले गर्दा उपभोक्ता अत्यधिक महङ्गोमा परेका छन्।

यो लेखक बालक छँदा आमाले मसला पिन्ने लोहोरो ल्याउँदा बारीको एउटा ढुङ्गो रामघाटमा सोधभर्ना राखेर एउटा लोहोरो ल्याएको घटना मेरो मानसपटलमा विद्यमान हुँदा हुँदै आफ्नै अगाडि ठेक्कै लगाउने संस्थाले करोडौ रकम असुल गर्दा यो ठाउँको उचित सम्भार संरक्षण तर्फ कुनै ध्यान दिएको छैन। घाटको बालुवा, ढुङ्गा आवश्यक परेमा बारीको माटो र ढुङ्गा सोधभर्ना गरेर मात्र ल्याउने प्रचलन घाट र नदीको संरक्षण र सम्मान हो। अहिलेको जिल्ला समन्वय समिति कास्कीले सेती नदीका स्रोत साधनको दोहन मात्र गरेको छ। यसको संरक्षण तर्फ कुनै चासो खाँचो नराखेर रामघाट तीर्थलाई विलीन गराउने जिल्ला समन्वय समितिको धारणा रहेको छ।

रामघाटका उत्तर र दक्षिण तर्फ नदीका दायाँबायाँ, दुवै तिर रहेका घाटहरुमा व्यवस्थित किसिमले लाश जलाउने घाट बनाउने भनेर यज्ञ महायज्ञ, जस्ता धार्मिक कार्य गरेर सर्वसाधारणबाट करोडौ रकमको चन्दा उठाइयो। आफू मरेमा जलाउने घाट निर्माण गर्ने हो भनेर सबैले आफ्नो गच्छ्य अनुसार रकम दान दिए। सरकारी संस्थाहरुबाट पनि सहयोग उपलब्ध गराइएको थियो। घाट निर्माण गर्न गठित समितिले सेती गण्डकीको बहावलाई ध्यान नदिई उचित स्थानको छनोट नगरी मनोमानी तबरले चिता बनाएकाले चारै ठाउँमा निर्माण गरिएको चिताहरु वषाको बाढीले क्षत विक्षत् बनाएकोले करोडौँको लगानी विना उपलब्धि बालुवामा पानी समान भएको छ।

समितिहरुले आम्दानी खर्च सार्वजनिक नगरेको अवस्था पनि छ। अहिले रामघाटमा लाश जलाउन लाश लिएर आउनेहरूले धेरै समस्या भोग्न परेको छ। लाश जलाउन आउनेलाई सहयोग गर्नु त कता हो कता उल्टो पीडित पक्षबाट एका दुर्इले घाट शुल्क मागेको जनगुनासो पनि आउने गरेको छ। अर्काे तर्फ घाटको ढुङ्गा बालुवा लाने ट्रकहरुले बुद्ध चोकदेखि हस्पिटल चोकसम्मको जनताले जनसहभागिता उठाएर पिच गरेको बाटो हेवी ट्रक मिनी ट्रकबाट ढुङ्गा बालुवा गिटी ओसार्दा पिच बाटा एक वर्षमै मर्मत सम्भार गर्न पर्ने हुन्छ। यो बाटोमा रामघाटको ढुङ्गा, बालुवा र गिटीको ठेक्का लिने ठेकदार र जिल्ला समन्वय समितिले कुनै सहयेाग गरेका छैनन्।

प्राकृतिक स्रोत साधन उत्खनन गर्दा वातावरण संरक्षण बाढी नियन्त्रण, जमिन कटान नियन्त्रण त्यो ठाउँको भूबनोटलाई कुनै क्षति नहुने गरी उत्खनन् गर्नु पर्नेमा मनपरी तबरले ढुङगा बालुवा गिटी उठाएर लानाको कारणले नदी गहिरिएर गएको हुनाले लाश जलाउने कठिनाइ त छँदै छ यसका अतिरिक्त कटान गरेर ढुङगा बालुवा बगाएर लाने, पैह्रो जाने जस्ता प्राकृतिक प्रकोपको नियन्त्रणमा चासो नराखी सेती नदी रामघाट तीर्थका ढुङगा, बालुवा र गिटी ठेक्कमा लगाएर करोडौँ रुपिया सङ्कलन गर्ने संस्थाले यस बारेमा विचारै नगरी ढुङ्गा, बालुवा र गिटी दोहन गरेर लाने इजाजत दिने संस्था पनि दोषी छ। आगामी आ.व. २०७५।०७६ देखि यो घाटको ढुङ्गा बालुवा र गिटी कसैले कुनै पनि बहानामा उठाएर लान नपाउने हामी पीडितहरु यसै सूचनाबाट सम्बन्धित संस्थालाई जानकारी गराउँदछौँ।

शरहबासीहरुले आफ्नो घरबाट निस्केको फोहोर नदीमा फाल्नुका साथै आफ्नो घरको सेफ्टी टंकी, सोकपिटको विसर्जन पनि नदीमा गरेर नदीको पानी फोहोर र विषाक्त पारेका छन्। धार्मिक पर्वहरूमा स्नान गरेर पूजा आजा गर्ने पवित्र गंगा जल अपवित्र पार्ने शहरवासीहरुको यो दुष्कर्म नियन्त्रण गर्ने निकायहरु पोखरालेखनाथ महानगरपालिका र जिल्ला समन्वय समिति कास्की मौन छन्। जिल्ला समन्वय समितिले त सबै घाटहरुको ढुङ्गा बालुवा र गिटीको ठेक्का लगाएर वाषिर्क अर्बाै रुपियाँ आम्दानी गरेको छ भने यी घाटहरुको संरक्षण तर्फ कुनै चासो राखेको छैन। लाश जलाउने घाटहरुको उचित व्यवस्थापन गर्ने तर्फ पनि ध्यान नदिएकाले सबै घाटहरु फोहोरी छन्। पोखरा लेखनाथ महानगरपालिकाले व्यवस्थित तबरले लाश जलाउने घाटहरुको व्यवस्था गरेको छैन। स्थानीय निकायहरुले स्थानीय स्रोत साधनहरु दोहन गरेर आम्दानी गर्नमा मात्र तल्लिन छन्। संरक्षण तर्फ कुनै चासो नराख्दा नदी आसपासका घर वस्तीका नागरिक जोखिममा परेका छन्।

यही किसिमले रामघाटको ढुङ्गा, बालुवा र गिटीको ठेक्का लगाएर ठेकेदारबाट उत्खनन गर्दै जाने हो भने निकट भविष्यमा नै रामघाटमा स्नान र शवदहन गर्ने स्थान नरहने निश्चित छ। यसमा स्थानीयवासी सक्रिय भई यो दुष्कर्म रोक्नु अनिवार्य भइसकेको छ।

मित्र राष्ट्र चीन सरकारको सहयोगमा पोखराको जौबारी भन्ने ठाउँमा सेती नदीमा बाँध बाधेर कुँडहर फाँटका कृषकहरुको खेतमा पानी लगाई कृषि उत्पादनबढाउन त्यतिखेरको ५७ करोडको लागतमा निर्माण गरिदिएको सेती सिंचाइ योजनाको पनि बेहाल छ। कुँडहर फाँटको १०३० हेक्टर धान खेतमा सिंचाइ गर्न निर्माण गर्न बनाइएको सेती नहर पुरानो भएर मर्मतको पर्खाइमा छ। यसमा पनि सम्बन्धित निकायहरुको ध्यान गएको छैन। नहर आसपासका बासिन्दालाई फोहोर फाल्ने ठाउँ भएका छन्। सेती नदी नभएको भए पोखरा मरुभूमि हुने थियो। सेती नदी शहरको बीचबाट बग्नाले शहरबासीहरुलाई धेरै फाइदा भएको छ। फाइदा लिन स्वाभाविक हो भने यसको संरक्षण सम्भार तर्फ ध्यान नदिनु सरकारी, स्थानीय निकाय, गैह्र सरकारी सङ्घ संस्थाहरु र व्यक्तिहरु सबैको लापरवाही र हेपाहा प्रवृत्ति हो।

हाम्रा धर्म शास्त्रले नदीको पानी फोहोर गर्ने पापी हुन् भनेका छन्। पानी विना हाम्रो जीवन स्वस्थ्य र सुन्दर हुन सक्तैन। पानी जीवन हो भने घाट जीवनको विश्राम गर्ने थलो हो। अतः सबैले पानी सफा सुग्घर राख्नका साथै घाटको संरक्षण र उचित व्यवस्थापन गर्नु साझा कर्तव्य हो।

- शिव प्रसाद गौतम