रवर्ट मुगावे, क्याटालोनिया र रोहिंग्या तीन विषय, तीन शिक्षा

अन्तर्राष्ट्रिय जगतका अर्थात अफ्रिका, यूरोप र एशियाका तीन घटनाहरु विश्लेषण योग्य छन्। अफ्रिकी देश जिम्बाबेका राष्ट्रपति रवर्ट मुगेवेलाई सत्ताबाट हटाउन भएको सकस, युरोपियन राष्ट्र स्पेनको एउटा भू-क्षेत्र क्याटालोनियावासीले अलग स्वतन्त्र देश हुन गरेको संघर्ष र एशियाली मुलुक बर्माका अल्पसंख्यक मुश्लिम रोहिंग्यामाथि बौद्ध धर्मावलम्बीहरु र त्यहाँको सरकारले गरको नृशंस दमन २१ औं शदीमा पनि धेरै मुलुकले भोग्नुपर्ने प्रतिनिधिमूलक घटना हुन्। त्यसैले यिनका  सन्देशहरु शक्तिशाली छन् र, यिनले इतिहासको कलेवरलाई बदल्न पनि सक्छन्। त्यसैले यी घटनाका शिक्षा हाम्रै मुलुकलाई पनि काम लाग्ने प्रकृतिका छन्।

राजनीतिको मुगावे प्रवृत्ति : सत्तान्धता

एकताका रवर्ट मुगावे राष्ट्रिय मुक्ति र जनतन्त्रका प्रतीक नै थिए। अफ्रिकी मुलुक जिम्बाबे र सँगै जोडिएको जाम्बिया अंग्रेज उपनिवेश गोराहरुको जातीय शासनबाट मुक्त हुने पछिल्ला राष्ट्र हुन्। दक्षिण अफ्रिकी जनता पनि त्यहीँका गोराहरुको रंगभेदी शासनबाट अभिशप्त रहेका थिए। त्यसो त जिम्बावे र जाम्बिया पनि अफ्रिकी महादेशको दक्षिणमा नै पर्दछन्। स्वतन्त्रताको लर्डाईमा नेतृत्व गरेका रवर्ट मुगावे र जाम्बियाका केनेथ काउण्डाको सुवास नेपालसम्म पनि व्यापक थियो। नेल्सन मण्डेलाभन्दा कम थिएन उनीरुको प्रसिद्धि। राष्ट्रिय स्वाधीनता आन्दोलनका सेलेब्रिटी नै थिए उनीहरु।

सन् १९८० मा स्वतन्त्रता प्राप्त गरेपछि मुगावे र काउण्डा दुवै राष्ट्रपति बने। यसबेला हामी नेपालमा निर्दल र बहुदलको जनमतसंग्रहमा थियौं। यो शीतयुद्धको बेला पनि थियो। दुर्इ महाशक्ति अमेरिकी र सोभियत युनियन -रुस) बीच प्रभाव विस्तारको होडबाजी र सैनिक गठबन्धनले ध्रुवीकृत थियो। तेस्रो विश्वका भनिने मुलुकहरु जो यी दुर्इ गठबन्धनमा लागेनन् ती देशहरु असंलग्न राष्ट्रको रुपमा चिनिन्थे। मुगावे र काउण्डाले पनि आफ्नो देशलाई असंलग्न राखे। असंलग्न शिखर बैठकहरुमा उनीहरु आकर्षणका केन्द्र रहन्थे(प्यालेस्टेनी नेता अराफत र क्युवाका फिडेल क्याष्ट्रो झैं। म मात्रै होइन, नेपालका धेरै पठित युवाहरु त्यसबेला मुगावेका वक्तव्यहरु खोजी खोजी पढ्दथ्यौं।

स्वतन्त्रता र मुक्तिका प्रतीक, एक आइकन (आस्था केन्द्र) नै रहेका यी मुगावेले विभिन्न हत्कण्डा अपनाएर आफ्नो सत्ता लम्बाउने जब परिपञ्च गर्दै गए त्यति नै उनीप्रतिको आस्था, आकर्षण र क्रेज घट्दै गयो। बेलायतको एक प्रसिद्ध विश्वविद्यालयले महाविद्यावारिधिको सम्मानार्थ उपाधि दिएको थियो, स्वतन्त्रता र मानवताका लागि उनको योगदानको कदर गर्दै। पछि, जब वर्षहरु बित्दै गए उनको सत्तालिप्साका कुकृत्य प्रकट हुँदै पनि गए। र, त्यो उपाधि दिने संस्थाले दुःखको साथ सम्मान फिर्ता लियो।

३७ वर्ष शासन गरेका ९३ वषीय मुगावेलाई सत्ताबाट हटाउने जनताले आन्दोलन गरे, उनकै पार्टीजानु(पी एफको कार्यसमितिको बहुमतले प्रस्ताव नै पारित गरेर पद त्याग्न आग्रह गर्‍यो पद त्याग्नु त कहाँ उल्टै उपराष्ट्रपतिलाई पदच्युत गरेर सो पद्मा आफूभन्दा ४० वर्ष कम उमेरकी कान्छी श्रीमतीलाई उत्तराधिकार सुम्पने कार्य गर्न थालेपछि सेनाले उनलाई सत्ताच्युत गर्‍यो। र, राजीनामा दिन बाध्य भए। त्यो पनि आफ्नै पार्टीले पनि महभियोग प्रस्ताव गरेपछि।

मुगावेको राजीनामापछि राजधानी हरारेमात्र होइन, जाम्बियाभरि नै जनताले हर्षबर्ढाई गरेका छन्। जुन व्यक्तिलाई ३ दशक अगाडि जनताले आफ्नो भाग्यविधाता ठान्दथे तिनै व्यक्ति अहिले असीम घृणाको पात्र बनेका छन्। पद, सम्पत्ति र शक्तिमा टाँसिरहने यसलाई ठूलो ठान्ने राजनीतिक नेताले मुगावेको दुर्गतिबाट सिक्नु पर्दछ। सत्तान्धताका नेपाली धृतराष्ट्रहरुलाई पनि यो एक शिक्षा हो।

सत्तात्याग स्वेच्छाले गर्दा त्यो कति बलवान हुन्छ भन्ने नेपालकै केही घटना छन्। सम्वत् २००२ सालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले काठमाडौंको टुँडिखेलमा ठूलो जनसभालाई सम्बोधन गर्दै आफ्नो श्री ३ को श्रीपेच पद्मशमशेरलाई दिएर गेरुवस्त्र धारणा गरी कालीगण्डकीतर्फ लाग्दा काठमाडौंवासीहरु डाँको छाडेर रोएछन्। यद्यपि, जहानीया राणा एकतन्त्रीय शासनका प्रधानमन्त्री थिए उनी र उनैले गंगालाल, शुक्रराज लगायतलाई फाँसीको सजाय पनि दिएका थिए। तर, उनको सत्तात्यागलाई मानिसहरुले ठूलो सम्झे। २०४६ सालको परिवर्तनपछि राजा वीरेन्द्रले गणेशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले आफू होइन, भट्टराईलाई प्रधानमन्त्री बनाएको प्रस· सधैँ सम्झिरहिन्छ।

त्यसैले राजनीतिमा मुगावे प्रवृत्ति यद्यपि, घटि नै रहनेछन्। तथापि सम्झिनुपर्ने र सार्वभौम जस्तै तथ्य के हो भने सत्तामा मरिहत्ते गर्ने प्रवृत्ति देश, समाज र त्यो व्यक्ति स्वयंका लागि प्रतित्युत्पादक हुन्छ।

क्याटालोनिया : राष्ट्र-राज्य संकथन (न्यारेटिभ)

स्पेनको स्वशासित प्रान्त क्याटालोनियाको सरकारले स्पेनसँग अलग हुने कि नहुने भनी गराएको जनमतसंग्रहमा ९० प्रतिशत जनताले क्याटालोनिया राज्यको पक्षमा मतदान गरे। त्यहाँको सरकारले स्पेनबाट अलग हुने घोषणा गरेपछि केन्द्रीय सरकारले प्रान्तको संसद र सरकार भ· गरी शासन आफ्नो हातमा लिएको छ। यसअघि स्पेनको अदालतले जनमतसंग्रहलाई गैरकानुनी घोषणा गरेको पनि हो।

तर, लाखाँैको संख्यामा क्याटालोनियाली जनता स्वतन्त्र राज्यको माग गर्दै सडकमा उत्रेका छन्। हजारौलाई सरकारले धरपकड गरेको छ र केही नेता अर्को देशमा शरण लिएर पनि स्वतन्त्रताको आन्दोलनलाई नेतृत्व गरेका छन्। नयाँ प्रान्तीय चुनावको घोषणा त भएको छ तर जनता भने स्वतन्त्र राज्यको पक्षमा छन्।

बार्सिलोना जस्तो प्रसिद्ध शहरसमेत रहेको क्याटालोनियालाई कुनै पनि हालतमा अलग राज्य हुन नदिने संकल्प स्पेनी सरकारले गरेको छ। यो द्वन्द्वले राष्ट्र-राज्यको नयाँ बहस भने युरोपमा नयाँ रुपमा चलेको छ। युरोप जस्ता विकसित देशहरुमा पनि जातीय राज्यको मागले तीव्रता लिँदै गरेको यो थप उदाहरण हो। क्याटालानहरु अल्पसंख्यक हुन् र आफ्नो उचित संरक्षण राज्यबाट भएन भन्ने गुनासो क्याटालान राष्ट्रियतासँग जोडिएकाहरुको छ। उता सरकार भने अखण्ड स्पेनको पक्षमा जुनसुकै मूल्य चुकाउन दृढ छ।

विश्वका शक्ति मुलुकहरुमा राष्ट्रवाद पुनरुत्थान भएको परिप्रेक्ष्यमा क्याटालोनिया एउटा चुनौतीको आन्दोलन हो। ढिलो चाँडो जर्मनी, बेलायत लगायतले यस्तै समस्या भोग्नुपर्ने छ भने पश्चिमा विश्लेषकहरुको भविष्यवाणी छ। उनीहरुको भनाइ यो रहेछ कि अमेरिका प्रथम भन्ने ट्रम्प नीति, विदेशी आप्रवासीलाई ठाउँ नदिन यूरोपियन यूनियनबाट अलग हुने बेलायत, हिन्दू राष्ट्रवादका प्रतीक भारतीय मोदी, विश्व नेतृत्व गर्ने महत्वाकांक्षा राख्ने सि जीन पि· लगायतका प्रभृतिहरुका लागि स्पेनको क्याटालोनिया जस्ता आन्दोलन चुनौती हुनेछन्। आफ्नो देशका विशिष्ट जातिका आशा, आकांक्षा र पहिचानको सम्मान राज्यले भरपूर रुपमा गर्नुपर्छ। राष्ट्रिय एकताको लागि भन्ने सन्देश हो-स्पेनको क्याटालोनियाली जनताको संघर्ष। यसबाट नेपालले पनि सिक्नुपर्ने कुरा छन्।

रोहिंग्या माथिको दमन : मानवीयताको कलंक

म्यानमार (बर्मा) का अल्पसंख्यक रोहिंग्या मुसलमानमाथि त्यहाँको सेना र बौद्ध धर्मावलम्बीहरुले गरेको दमनचक्र विश्वव्यापी चर्चाको विषय रहेको छ। राखिने प्रान्तका निवासी रोहिंग्याहरु त्यहाँ बसेको शताब्दीयौं भएको छ। तर, म्यान्मारको सरकार भन्छ यी विदेशी भगौडा हुन्। उनीहरुलाई नागरिकता पनि दिइएको छैन, नागरिक एवं राजनीतिक अधिकारबाट पूरै वञ्चित गरिएको छ। सैनिकको दमनचक्रले गर्दा झण्डै सात लाख रोहिंग्या विदेश शरण लिन बाध्य भएका छन्। र, यस समुदायका महिलामाथि बलात्कार र यौनहिंसा भएको छ भन्ने संयुक्त राष्ट्रसंघ महिला आयोगको आरोप पनि छ।

मानवअधिकार र प्रजातान्त्रिक आन्दोलनकी प्रतिमूर्ति मानिएकी आङ सान सुकी सत्तामा छन्। उनको शासनमा यी निरीह रोहिंग्याले भोग्नुपरेको अकथनीय दमन मानवमात्रको कलंकको रुपमा लिइएको छ। विवेकशील मानिसले प्रश्न उठाएका छन्-सुकीले पाएको मानवअधिकारको लागि नोवेल पुरस्कारको मूल्य के हो –

बौर्द्धधर्म आफैमा मानवता, प्रेम र करुणाको धर्म हो। यस्तो धर्म मान्ने व्यक्तिहरु बहुल रहेको मुलुकमा मानवताको मूल्य र मान्यता सम्झाउने भेटिकन सिटीका पोप फ्रान्सिस म्यान्मार पुगेका छन्। यो पनि एउटा लाजमदो कुरा हो। हुन त म्यान्मार सरकारका वास्तविक नायक सुकी र बंगलादेशका विदेश मन्त्रीबीच रोंहिग्याको देशवापसी र पुनःस्थापना सम्बन्धमा सम्झौता भएको छ भन्ने समाचार सुनिएको, पढिएको छ। तर यो मानवअधिकार उल्लंघन र दमनको कलंकको कालो टीका भने मेटिने छैन। यो पनि सबैले मनन गर्नुपर्ने शिक्षा हो।

- तिलक पराजुली