यो गोज्याङ्ग्रो, त्यो मठाधीश

आदरणीय पाठक वृन्द, यो कल्पराज अत्यन्तै अल्पबुद्धिको प्राणी हो भन्ने कुरा त यहाँहरु समक्ष यस अघि नै निवेदन गरेकै हुँ। यस अतिरिक्त यो कल्पराज गोज्याङ्ग्रो पनि छ भन्नेकुरा स्वयंले यहाँहरु समक्ष अवगत गराउन पर्दा दुःख पनि लागेको छ। आखिर सत्य ढीलोचाँडो जनसमक्ष आएरै छाड्छ। यसरी पाठक वृन्दहरुसंग समय समयमा साक्षात्कार हुने मेसो जुरेपछि एक न एक दिन स्वयंले नभनेपनि यो सत्य स्वतः उद्घाटित हुन्छ भन्ने जानेर वरु प्रिय पाठकहरु समक्ष अफैले कबुल गर्नु धेर थोर बुद्धिमानी ठहर्ला।

कुरा के भने नि आज पर्यन्त एउटा अत्यन्त सामान्य सूत्र यो गोज्याङ्ग्रोको अक्कलमा नआएर आज यसरी पछुताउनु परिरहेको व्यहोरा यहाँहरु समक्ष जस्ताको तस्तै (हुवहु) राख्दा मन हल्का होला भन्ने मनशायले डोर्‍याएर यहाँसम्म ल्याइपुर्‍याएको छ।

मूल कुरा तर्फ लागौं- यो देशमा राजनीति गर्नका लागि बुद्धि, विवेक, ज्ञान, निष्ठा, इमान, धर्म, नैतिकता, र लोकलाज केही पनि नचाहिने रहेछ। यो  कल्पराज भन्दा पनि गए गुज्रेका बुद्धिजीवीहरु यो देशका हर्ताकर्ता भएका रहेछन्। हर्ताकर्ता मात्र होइन आदर्श पुरुष, राष्ट्र नायक, युगपुरुष, परिवर्तनका सम्वाहक जस्ता विभूषणबाट विभूषित भएका रहेछन्। यो गोज्याङ्ग्रोलाई ठूलो सत्य बल्ल थाहा भयो। यदि यो कुरा समयमै ज्ञात हुन्थ्यो भने आज यो कल्पराज पनि कुनै श्री ३ भन्दा कम सानको मान्छे हुने थिएन। यो कल्पराजलाई भ्रम पर्‍यो राजनीति गर्नकालागि इमान, धर्म, विवेक, निष्ठा अलिकतिसम्म भए पनि नैतिकता भन्ने गुण हुनुपर्दछ भन्ने लागेको थियो तर आज आएर बल्ला यो भ्रम टुट्यो। राजनीतिका लागि जाल, झेल, षड्यन्त्र, दुष्टता, धृष्टता, क्रूरता भए पुग्ने रहेछ। यो कुरा समय छँदै थाहा भएन। नत्र भने कहिले सत्तरी पुगिएला र पैसोको मुख देख्न पाइएला भनेर आफ्नै बृद्धावस्थाको कामना गरेर बस्नु पर्ने नै थिएन।

छन त देशमा महानायक पनि छन्, नायक पनि छन्, नायिका पनि छन्, बुद्धिजीवी पनि छन् विष्लेशक पनि छन्, सर्जक पनि छन्, समालोचक पनि छन्, घोचक पनि छन्, समीक्षक पनि छन्। सवै सवै छन् तर सवै कागजका बाध जस्तै बिना भूमिकाका छन्। देश चलाउँने बेलामा जहिले पनि खलनायकहरु कै वर्चस्व छ। यो किन छ कि सज्जन मानिस पनि कुर्सीका आसीन भएपछि खल पात्र जस्तै देखिने पो हो कि! अथवा उनीहरुले राम्रो गरिरहेछन् तर देख्ने मानिसे खल पात्र जस्तै देख्ने मात्र पो हुन् कि! यो भ्रम कायमै छ। कुरा जे सुकै भए पनि यी सव विशेषण धारी नागरिहरु आ-आफ्नो स्वार्थ अनुकूल हुने गरी आआफ्नो सुरमा ढोलक बजाइरहेछन्। यो चाँही ध्रुव सत्य हो।

अँ! कुरा, कुराकै चुरो तिर लागौँ। यदि यत्तिको गोज्याङ्ग्रो बुद्धि भएको, विवेक नभएको, लाज पचेको, अक्करे र काइते दिमाखको धनी भएको यस्तो योग्यताले पनि राजनीतिमा ठूलै भूमिका पाउँछ भन्ने थाहा भएको भए समयमै दुर्इचारओटा इटा हानिन्थ्यो, पुलिस दजुभाईको टाउको ताकेर। तर त्यसो गरिएन। सकेसम्म इमान्दार र धर्म परायण नागरिक हुन्छु भन्ने तर्फ लागेर आफ्नै भविष्यमा ठूलै भ्वाँङ पारियो। नेपाली उखान छ नि के जाति पनि गरियो, दैलो पनि देखियो भन्ने ठीक त्यस्तै भयो।

पहिला पहिला सुन्न त सुनिएको हो, देशमा कतै वेइमानहरु उत्पादन गर्ने तालीम दिइँदैछ, त्यहाँ राज्य सञ्चालनका लागि चल्तीको सवै तत्वको ज्ञाता बनाइन्छ, त्यो पनि निःशुल्क। तर विश्वास नलागेर हो वा ज्यानको माया लागेर हो त्यतातिर पनि गइएन। कुरा सत्य रहेछ, त्यति बेलाका तालीमेहरु आज आएर देश विकासका लागि आ-आफ्नो वर्गत खर्च गरिरहेछन्। प्राप्त तालीमको सही सदुपयोग, (आफ्नो पक्षमा) गरिरहेछन्। यो गोज्याङ्ग्रोको भने बुद्धि नै पछि मात्र आउँछ। मौकामा बुद्धिको ढक्कन खुल्दै खुल्दैन। त्यही बेलातिर त्यस्तो तालीममा सहभागी भएको भए अहिले ठूलै विरासतको मालिक हुने मैदानमा खेलाडीको रुपमा उभिन पाइने रहेछ। एउटा खेलाडी सम्म हुन पाएको भए पनि त्यही औकात भँज्याएर श्री ३ नभए पनि तिनको हुक्के, बैठके, द्वारेसम्म हुन पाइने रहेछ। वर्तमान हैसियत भन्दा त त्यै पनि कति हो कति विषेक हुँदो हो। त्यो मौका पनि गुम्यो।

साँच्चै भन्नु पर्दा अब त आफ्ना लागि त्यही बृद्धभत्ताको उमेर कुनु शिवाय अरु चारा रहेन। यो बृद्ध भत्ता पनि कुनै सत्ता भन्दा कम रहेन।

हाल आएर स्वाभिमानीहरुको भन्दा बेइमानीहरुको राम्रो बजार छ। मूल्यको भन्दा अवमूल्यको बढी महत्व छ। जिम्मेवार भन्दा गैह्रजिम्मेवारहरुको बोला बाला छ। सज्जनहरुको भन्दा दुर्जनहरुको बजार भाउ चर्को छ। लायकहरु भन्दा नालायकहरुकै चल्ती फिर्ती छ। सक्कली नोट भन्दा खोटा सिक्काहरु नै चल्तीमा छन्। यस्तो किन भैरहेछ कुन्नि!

एउटा जुग विति सक्यो, सतीहरुको आत्मा अझैसम्म पनि तड्पी रहेछ कि कुन्नि!  निश्चित अवधि पछि त पुनजन्म हुन्छ भन्छन्। आज पनि सती कै श्राप प्रभावी छ।

यहाँ त चल्तीको उखान पनि फेल भयो। धानको भूस अगाडि मान्छेको भूस पछाडि भन्थे त्यो भएन, मान्छेका भूस नै लोकतन्त्र, गणतन्त्रमा अगाडिका अगाडि छन्। यस्तै भूसका थैलाहरुले देश हाँकिरहेछन्, म भूसको थैलो भने किन पछि परें कुन्नि। म जस्तै भूसको थैलो भूसका थैलाहरुले निर्विध्नता पूर्वक देश हाँकिरहेछन्। दोहोर्‍याएर हाकेका छन्, तेहेर्‍याएर हाँकेका छन्, फेरि फेरि पनि पालै पालो हाँक्ने औकात सुरक्षित राखेका छन्।

विचारा बाराक ओबामा सामन्य अफ्रीकी मूलको परिवारमा जन्म्यो, हुक्यो, आफ्नो क्षमताको भरमा अमेरिका जस्तो देशको दुर्इ कार्यकाल सम्म राष्ट्रपतिको भूमिका निर्वाह गर्‍यो, त्यो मानिस आफ्नो भूमिका समाप्त हुँदाको भोलिपल्ट अत्यन्त सामान्य नागरिकको हैसियतमा आफ्ना बालबच्चा लिएर ह्वाइट हाउसबाट सिधै एउटा निजी कम्पनीको कर्मचारीका हैसियतमा जागिर सुरु गर्‍यो र सामान्य फ्ल्याटमा भाडामा बस्न थाल्यो। मानौं देशका लागि ऊ अब खोटो सिक्का हो, उसको औकात बुद्धि विवेक र क्षमताको जति प्रयोग गर्न सक्ने हो त्यो अवधिमा गर्‍यो। अव अरुको पालो भने झै ऊ देश कै राजनीतिबाट अलग भयो। यो कति राम्रो पद्दति हो।

तर, हामी कहाँ त्यस्तो पद्धति मन पराइएन र थालियो उही राजनीतिको पुरानो खेल। पटक पटक राज्यले भोगेका दुबुर्द्धिहरु दोहोर्‍याएर तेहेर्‍याएर देशको हर्ताकर्ता भएकै छन्। मानौं देशका लागि स्र्वर्गबाट पठाइएका देवदूतहरु यिनै हुन।

हामी अभागी नागरिकहरु बसोबास गर्ने मुलुकमा भने अवकाश प्राप्त गरेपछि पनि एउटा राजनीति गर्ने व्यक्तिको राज्य कोष उपर उस्तै हक प्राप्त छ। राज्यले उसको काज क्रिया पनि गरिदिनु पर्दछ र श्राद्ध पनि ।

हामी श्री ३ र श्री ५ हरुले हैकम चलाएका नागरिकहरु र नागरिकका सन्तति हौं। हामी स्वयं पनि ती हैकमहरुमा बानी परेका छौं। त्यसैले त हामी अबुझ भेडा झैँ यिनकै पछि पछि ताली पिटेर दौडिरहनुमा आनन्द मानिरहेका छौं। लोकतन्त्रका नाममा तीन या चार जना षड्यन्त्रकारीहरुले देश चलाइ रहेछन् त्योपनि हाम्रो मतको माध्यमबाट अनुमति लिएर। यो कस्तो बिडम्बना हो। त्यसैले त एउटा शासक निरंकुश तानाशाह झँै आफ्ना निर्णयहरुमा कुनै खोट देख्दैन। हामी नागरिकहरु पनि यो अकर्मण्यतालाई लोकतन्त्रको सौर्न्दर्यता भन्ने पक्ष विपक्षमा लागेर पाखुरा र्सुकन्छौं। हामी स्वयं भूसका थैला नभएर अरु के हौँ त। यो कल्पराजलाई त भूसको थैलो हुनुमा गर्व नै छ। कुनै खेद छैन। किनभने अझै पनि कुनै दिन त्यही भूसको थैलोको पालो आइहाल्छ कि भनेर।

किन यो देश म जस्तै गोज्याङ्ग्राहरुले अन्याय सहँदै र मजस्तै भूसत्रि्रेहरुले पालैपालो गरेर जनताहरुलाई उल्लु बनाउने खेल खेल्ने देश हो। जे भएको छ लोकतन्त्रका नाममा ठीकै भएको छ।

जय कल्पराज

यो गोज्याङ्ग्रो, त्यो मठाधीश जहिलेपनि।

- कल्पराज