युगद्रष्टा महापुरुष श्री ५ पृथ्वीनारायण शाह

१. सिंहावलोकन

नेपालको एकीकरणको प्रयाश बेला मौकामा धेरै अघिदेखि हुँदै आएको हाम्रो इतिहासले बताएको छ। यस्ता प्रयासहरु कहिले सफल र कहिले असफल भएका पनि पाइन्छन्। विहङ्गम दृष्टिले हेर्दा सर्वप्रथम हामी लिच्छविकालतिर पुग्दछौं। त्यो समय काठमाडौं उपत्यका राजनीतिक, आर्थिक, साँस्कृतिक, दृष्टिले समृद्ध थियो। सुव्यवस्था थियो। राजा र प्रजाका बीच मेलमिलाप थियो। लिच्छविहरु पश्चिम गण्डकी प्रदेश सम्म विस्तारित थिए। अंशुवर्माको समय त तिव्वत र भारतका राजाहरु समक्ष दौत्य सम्बन्ध स्थापना भएको थियो। चीनी बौद्ध यात्रीहरुले पनि अंशुवर्माको दरबारको कलात्मक चित्रण प्रस्तुत गरेको पाइन्छ।

ब्रि्रमको बाह्रौं शताब्दीको सुरुतिर कर्णाली प्रदेशमा खशहरुको बलियो राज्य थियो। खश राजा नागराजले जुम्लाकै सिंजामा राजधानी बनाएका थिए। यिनका वंशज क्राचल्ल, अशोकचल्लले उक्त राज्यको विस्तार गरे। यसपछि यो राजवंशमा जितारी मल्लको नाम आउँछ। यिनका पुर्खाले उत्तर र पश्चिमतिर आफ्नो प्रभाव फैलाइसकेका थिए। जितारीले पूर्व विजयको अभियान चलाए। कर्णाली प्रदेश, गण्डकी प्रदेशदेखि वाग्मती प्रदेशमा पनि उनी आफ्नो प्रभाव जमाउन पुगेका थिए। यिनका छोरा आदित्य मल्ल र भतिजा रिपु मल्लले पनि राजयको एकता कायम राख्दै पश्चिम कुमाउँदेखि पूर्व त्रिशूली नुवाकोट सम्म यिनको एकछत्र राज्य मानिएको छ। चौंधौँ शताब्दी सम्म खसराजाहरुले काठमाडौं उपत्यका देखि पश्चिमका पहाडी तथा तराई क्षेत्रमा समेत आफ्नो प्रभुत्व कायम राखेका थिए।

पन्ध्रौं शताब्दीको आरम्भमा सिञ्जामा पृथ्वी मल्लको ख्याति पाइन्छ। यिनले राजनैतिक, साँस्कृतिक उत्थान पनि गरेका थिए। यिनको राज्य पूर्वमा नेपाल उपत्यका सम्म, पश्चिममा कुमाउँसम्म, उत्तरमा भोट र दक्षिणमा तराई सम्म फैलिएको थियो। पृथ्वी मल्लको दुल्लुको स्तम्भलेखले यस साम्राज्यको समृद्धि प्रकट गरेको छ। पन्ध्रौं शताब्दीको उत्तरार्ध पछि यो राज्य टुक्रिएको पाइन्छ। पन्ध्रौं शताब्दीको पहिलो चरण देखि नेपाल उपत्यकामा स्थिति मल्लको उदय भयो। यिनको दृष्टिकोण व्यापक भएपनि धेरै काल रहन सकेन। यक्ष मल्लको पालासम्म उनको राज्य विस्तारित हुँदै गएतापनि उनले आफ्ना छोराहरुलाई अंशवण्डा गरेपछि यो राज्य पनि टुक्रियो।

उपत्यकामा मल्ल राजाको शक्ति क्षीण भएपछि सोह्रौं शताब्दीको अन्तमा पाल्पाली सेन राजा मुकुन्द सेनले पूर्वतर्फका अरु राज्य विजय गर्न अभियान चलाए। उनको शेषपछि उनले विजय गरेका राज्यहरु क्रमशः विलीन हुँदै गए। वास्तवमा अव्यवस्थित राज्यहरुको अस्तित्व हराउने रहेछ। विगतको इतिहासले हामीलाई यही बताएको छ।

२. शाहवंशको उदय

सत्रौं शताब्दीको सुरुमा गोरखामा शाहवंशीय राजा द्रव्य शाहलाई गोरखाली जनताले लमजुङबाट लगेर राजाको स्थानमा अभिषेक गरेका थिए। नेपाली सेनाको इतिहास द्रव्य शाहका नाति रामशाहको नाम ‘न्याय हराए गोरखा जानू,शास्त्र हराए काशी जानु भन्ने उखान संग सम्बन्धित छ। रामशाहले आफ्नो समय चौवीसी, बाइसी राज्यका राजाहरुका बीच विवाद पर्दा न्याय गरिदिन्थे। रामशाहले आफ्नो राज्यमा स्थिति बन्दोबस्त पनि बाँधेका थिए। पृथ्वी नारायणले आफ्नो दिव्य उपदेशमा जयस्थिति मल्ल, राम शाहले बाँधेकेा स्थिति पनि हेरेको छु भनेका छन्। उक्त स्थिति बन्दोबस्त भित्र तत्कालीन समाजसंग सम्बन्धित केही विषयवस्तुको नियमहरु छन्, जस्तै-खेतमा जो पहिला पुग्छ, उसले पानी लगाउन सक्छ। पानी पधेंराका रुख र बाटाका रुख नकाट्नुझ् लेनदेन व्यवहारमा दश वर्ष सम्ममा ब्याज सामासरह हुन्छ त्यसभन्दा वढी व्याज नलिनू। अन्न भर्ने विषयमा दश मुठीको एक मानु आठ मानाको एक पाथी र वीस पाथीको एक मुरी हुन्छ भनी गोरखा बजारको मन्दिरमा मानु, पाथी र ढक झुण्ड्याएर राखेको अझैपनि देख्न सकिन्छ। यसै वंशका व्यक्ति हुन पृथ्वीनारायण शाह।

३.पृथ्वीनारायण शाह

ब्रि्रमको उन्नाइसौं शताब्दीको पहिलो चरणसम्म नेपाल राष्ट्र धेरै टुक्रामा विभाजित थियो। साना-साना राज्य भएकाले तिनीहरुको आर्थिक स्थिति नाजुक थियो। झगडा र अशान्तिले यस्ता राज्यहरु पिरोलिएका थिए। देशको धर्म र संस्कृतिमा विचलन आउन थालेको थियो। यसकारण देशको एकीकरण नितान्त आवश्यक थियो भने छिमेकी देश भारतमा इष्ट इण्डिया कम्पनी बेलायतको महारानीको हुकुम प्राप्त गरेर आफ्नो उपनिवेश स्थापना गर्दै थियो। उनी भन्ने गर्थे- “अंग्रेजहरु ‘बाइबल’ लिएर धर्म प्रचारककोरुप देखाउँछन्ँवायोनेट’ देखाएर सत्ता हात पार्छन्। यसर्थ यिनीहरुबाट सधैं होसियार रहनुपर्छ। यो हिमालयको काख पवित्र सनातनी हिन्दू र बौद्ध धर्मावलम्वीको देश हो। हाम्रो एकता भएनभने क्रिश्चियन धर्मावलम्वीका नाउँमा इसाईहरुले यो देशमा हस्तक्षेप गरेर शासन गर्नेछन्। हामीहरुले एकताबद्ध भएर तिनीहरुको मुकाविला गर्नुपर्छ।”

पृथ्वीनारायण शाहले यही मन्त्रणा राष्ट्रिय एकताको शंखनाद गर्दै नेपाली जनतालाई एक सूत्रमा उनेका थिए। त्यो अभियानको सूत्रपात सर्वप्रथम त्रिशूली नुवाकोटबाट वि.सं. १८०१ मा सुरु भएको थियो। देश विजय गरेर व्यवस्थित गर्न सकिएन भने त्यो आफूभन्दा अगाडिका राजाहरुले गरे जस्तै निर्रर्थक हुन्छ भन्ने ज्ञान उनलाई थियो। राष्ट्रिय एकताको अभियानमा स्थानीय जनतालाई हातलिएर तिनको मनोभावना अनुसार गर्ने पृथ्वीनारायणको स्वभाव थियो। विजित प्रदेशका जनताको स्थानीय, धार्मिक, सामाजिक, साँस्कृतिक रीतिरिवाजलाई प्रोत्साहन दिने गर्थे।

नुवाकोट विजयपछि अनवरत रुपमा विजय यात्रामा लागेका पृथ्वीनारायण शाहले वि.सं. १८१९ मा मकवानपुरको सेन राज्य विजय गर्न उनी सफल भए। वि.सं. १८२४ मा काठमाडौंका राजा जयप्रकाशको सहायताको लागि किन्लकको नेतृत्वमा आएको अंग्रेजी फौजलाई पृथ्वीनारायण शाहको सेनाले परास्त गरे। विदेशी विधर्मी शक्तिलाई यसरी विजय गरेपछि नेपाली जनताले उनलाई धर्मयुद्ध विजय गरेकोमा प्रशंसा गरे। यसपछि क्रमशः काठमाडौं राजधानीका साथै पाटन, भक्तपुर, चौदण्डी, विजयपुर विजय गर्ने योजना पुरा हुन सकेन। भक्तपुर विजय गरेपछि त्यहाँ इसाई धर्म प्रचार गर्न बसेका पादरीहरुलाई उनले ससम्मान हटाइदिए। अंग्रेजप्रतिको पृथ्वीनारायण शाहको धारणालई उपेक्षा गर्दै अंग्रेज इतिहासकारहरुले उनको बारेमा झुठा लाञ्छना लगाएर इतिहास लेखे। आज तिनै इसाईहरु यो देशमा आफ्नो प्रभुत्व जमाउन अथक प्रयास गर्दैछन्। पृथ्वीनारायण शाहले यो देशलाई ‘यो असल हिन्दूस्थान हो’ भनेका थिए।

वि.सं. १८३१ मा बाउन्न बर्षको उमेरमा परमधाम भएका पृथ्वीनारायण शाह युगद्रष्टा महापुरुष हुन्। नेपाल राष्ट्रको एकीकरण गर्ने उनको सत्प्रयासलाई उनको सुपुत्र बहादुर शाहको मुख्त्यारीमा उनका भाइ भारदार र वीरयोद्धाहरु, जनरल अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर आदिले नेपालको सिमाना पश्चिममा किल्ला कांगडा संतलज र पूर्वमा टिष्टा नदी सम्म पुर्‍याएका थिए। धूत अंग्रेजको चालबाजीले गर्दा सुगौली सन्धिका नाउँमा अंग्रेजहरुले विजय नेपालको तीन भागको एक भाग भूमि कटौती गरेर मेची-महाकालीको सिमाना लगाइदिएका हुन्। उक्त सन्धि अहिले सम्म पनि विवादास्पद छ।

४. दिव्य उपदेश

पृथ्वीनारायण शाहको अनुभवको सार संग्रह उनको दिव्य उपदेश हो। आफ्नो जीवनको आखिरी समय नुवाकोटको दरबारमा आफ्ना भाइ भारदार समक्ष उनले व्यक्त गरेका कुराहरुमा देशको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, साँस्कृतिक र परराष्ट्र सम्बन्धीका विषयबस्तु सूत्र रुपमा पाइन्छन्। “यो देश मेरो सानो दुःखले आर्जिएको मुलुक होइन। सवै जातको फूलवारी हो। सवैलाई चेतना भया। यसको संरक्षण गर्ने अधिकार सवैलाई छ।”

५. इतिहासकारका शब्दमा

पृथ्वीनारायण शाह निर्वाध महत्वाकांक्षी थिए। उनी ठीक निर्णय गर्नसक्ने ठूला शाहसी थिए र सर्वदा कार्यव्यस्त रहन्थे। उनको स्वभाव उदार र दयालु थियो। विदेशीहरुमा उनको विश्वास थिएन।

-हेमिल्टन

पृथ्वीनारायण शाह परिस्थितिबाट लाभ उठाउने व्यक्ति थिए। उनी महत्वकांक्षी र परिश्रमी थिए।उनको बुद्धि तीक्ष्ण थियो। निष्काम भावले कर्तव्यमा लाग्दथे।

-सिल्भाँ लेभी

श्री ५ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो। विजय उनको जीवनको लक्ष्य थियो। उनको हृदयमा देशभक्ति थियो। आफ्नो अधिकारमा आएको भूभाग संगठित होस र त्यहाँ बस्ने जनता निर्भयता पूर्वक बस्न सकून भन्ने धारणा थियो।

-डा. डिल्लीरमण रेग्मी

६. साहित्यकारका शब्दमा

मलाई ता सुन्दर लाग्छ भाइ

हिमाल सर्वोपरि मुस्कुराइ

त्रिसप्त गङ्गा बहने बलेसी

छायाँ डुलेका बन, शैली, वेसी

विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति

सहन्न भाइ म त एकरत्ति

विशाल नेपाल म रच्छु रच्छु

कहाँ छ मृत्युञ्जयलाई मृत्यु

– माधव घिमिरे/राष्ट्रनिर्माता

- भूपनिधि पन्त