मोदी भ्रमणको उपसंहार

वैशाख २८, २९ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे, मिडियाहरुमा, विद्वानहरुमा, राजनीतिज्ञ नेताहरुमा साथै जानिफकार जनताहरुमा समेत धेरै चर्चा भएको देखियो, सुनियो, पढियो। यस्ता चर्चाविचर्चाको कुरामा खासगरी सत्ता पक्षले उनको भ्रमणले नेपाल र हिन्दूस्तानको सम्बन्धमा सुधार भई सफल भएको छ भन्ने कुरा गरियो भने प्रतिपक्ष नेपाली काँग्रेसले हिन्दूस्तानसँग लम्पसार परेको भनी टीकाटिप्पणी गरेको सुनियो।

जानिफकार जनताहरुले भ्रमणको सफलताको कुरा गर्नुभन्दा हिन्दूस्तानले जनतालाई पिरोलेको नेपालको विकासको लागि अनेक काम कुरा गर्ने आशा भरोसा दिए पनि केवल केटाकेटीलाई गुलियो चाट्न दिएर फकाएको र आशैआशमा भुलाएर आफ्नो स्वार्थ मात्र सिद्ध गर्ने नियत राखेको भनेर खेद व्यक्त गरे। यी सर्न्दर्भहरुमा घोत्लिएर हेर्दा निम्न लिखित उपसंहारहरु भेटाउन सकिन्छ भन्ने मेरो ठम्याइ छ ?

वर्तमान ओली सरकारको सत्ता बचाउने कुटनीतिको सफलता?

विगतमा मोदी सरकारले नेपाली माथि लगाएको अघोषित नाकाबन्दीको मार नेपालीहरुले अझैसम्म पनि विर्सन सकेका छैनन्, मोदीको तेस्रो भ्रमणले विर्सने उद्देश्य राखेको भए पनि विर्सन सकेको छैन।

तर त्यसबेलाको ओलि(एमाले) को सरकारले मोदी सरकारको नाकाबन्दीसँग टक्कर लिएर राष्ट्रियताको नारा दिएर हिन्दूस्तान सरकारको विरोध गरेको थियो। यसरी विरोध गर्नुको प्रमुख कारण त्यो बेला एमालेको स्थिति अहिलेको जस्तो बलियो थिएन। त्यसबेला एमाले माओवादी भन्दा केही राम्रो भए पनि नेपाली कांग्रेसको तुलनामा धेरे कमजोर नै थियो। यो तथ्य दोस्रो संविधानसभाको नतिजाबाट स्पष्ट भएको थियो।

मोदी सरकारको नाकाबन्दीको विरोधमा राष्ट्रियताको कुरा जागृत गर्नु एमालेको लागि सुवर्णअवसर थियो। जसको फलस्वरुप अहिलेको ३ वटै तहको चुनावमा एमाले जनतामा सबभन्दा लोकप्रिय देखियो भने एमाओवादीसँग साँठगाँठ गरेर अत्यधिक बहुमतले सरकार पनि बनाउन सक्यो। यो मौकालाई प्रधानमन्त्री के.पी. ओलीले दक्षिणतिरको छिमेकीको खतरनाक कुटनीतिबाट आफूलाई सुरक्षित राख्न र ‘समृद्ध नेपाल बनाउने’ नारालाई टेवा पुर्‍याउन मोदीको यो तेस्रो भ्रमणलाई भव्य र सभ्य शैलीमा सम्पन्न गरे।

यस्तो शैली तत्कालिन राजा महेन्द्र समेतले अपनाएको देखिन्छ। १९ सालमा अरनिको राजमार्ग नबनाउन दवाव दिँदा “कम्युनिष्टहरु मोटर चढेर आउँदैन” भन्ने महेन्द्रले, आफ्नो पञ्चायती सत्ता टिकाउन हिन्दूस्तानलाई कालापानी दिएर खुसी बनाए। त्यसपछि यस्तो लम्पसार नीति विगतका प्रधानमन्त्रीहरु सबैले अपनाउँदै आएको परम्परालाई ओलि सरकारले पनि धानेको देखिन्छ।

मोदीको खतरनाक कुटनीतिः

असोज ३ गते नेपाल सरकारले वर्तमान संविधान घोषणा गर्दा ‘मधिसे, दलित र नारीहरुको अधिकारको संवोधन गरिएन’ भनी घोषणालाई स्वागत नगरेको मोदीले अहिलेको भ्रमणमा त्यसबारे कुरै नउठाउने, बरु एकै वर्षमा तीन तहको चुनावलाई सम्पन्न गरेकोमा बधाइ दिए। तर त्यो नियतलाई २ नं. प्रदेशका मुख्य मन्त्री लालबाबू राउत मार्फत भने संविधान संशोधन बारे कुरा राख्ने हौसला दिए, उक्साए।

पाँच विकास क्षेत्रलाई नै त्यही नामबाट ५ प्रदेशको नाम राख्ने जनआवाजलाई त्यसबेला मोदी सरकारले एमाओवादीलाई उक्साएर अस्वीकार गरायो। अन्तमा ७ प्रदेशमा सङ्घीयता बनाउने रणनीति सफल पार्‍यो। पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेशको रुप दिएर सङ्घीयतालाई कार्यान्वयन गर्नु नेपाल र नेपालीको लागि सजिलो, कम खर्चिलो, मनोवैज्ञानिक दृष्टिले स्वीकार्य पनि थियो। तर त्यसो गर्दा मधेसको छुट्टै सिमाङ्कन नहुने हुँदा तत्कालीन माओवादीलाई प्रोत्साहित गरेर पाँच विकास क्षेत्रको सङ्घीयताको जनआवाजलाई “पञ्चाती अवशेष” भनेर माओवादीले सुन्दै सुनेन

। अन्तमा ७ प्रदेश बनाइयो र २ नं. प्रदेशलाई आफ्नो अनुकुल मधेस प्रदेशको रुप दियो। यसबाट पनि मौका पर्‍यो भने भविष्यमा पूर्र्वी र मध्ये तराईलाई हिन्दूस्तानमा मिलाउने पृष्ठभूमि बनाएको देखिन्छ। पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा मधेस प्रदेश भनेर नछुट्टनिे हुँदा तत्कालीन ठूलो पार्टीभएको माओवादीले जनआवाजलाई कुल्चि दियो। यो कुरा त्यसपछिको एमाओवादीले अहिलेसम्म बुझेको छ कि छैन, अझै जानकारीमा आएको छैन्।

मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय जनता पार्टीका सांसद कीर्तिआजादले, “जनकपुर सुगौली सन्धिका कारण दुर्इ सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्रमोदीले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्छ” भनी ट्वीट मार्फत भनेको कुरा प्रत्यक्ष प्रमाण हो। स्मरणीय छ २०० वर्षको लागि दिएको भन्ने उक्त भनाई इतिहाससम्मत छैन।

आजाद र राउतको अभिव्यक्तिलाई अप्रत्यक्ष रुपले सपोर्ट गर्ने गरी जनकपुरदेखि अयोध्यासम्मको रामायण सर्किटको उद्घाटन गर्नु, जनकपुरबाट अयोध्यासम्म सिधा बस सेवा सञ्चालनको शुभारम्भको घोषणा गर्नु, जनकपुर र आसपासका क्षेत्रको विकासका निमित्त १ सय करोडको सहायता दिनु, जनकपुरमा मोदीलाई स्वागत गर्ने स्थलमा नेपालको राष्ट्रिय झण्डालाई कुरुप पारी हेला गर्नु, आदिले जनमानसमा ‘हामी हिन्दूस्तानी हौँ, नेपाली होइनौँ भन्ने भावना र मानसिकता विकास गर्ने बीउ पनि रोपिएको बुझिन्छ।

यसको दुरगामी परिणाम सिक्किमलाई हिन्दूस्तानमा मिलाए जस्तै गरी तराई प्रदेशलाई मिलाउने कुनीति हो भनेमा अत्युक्ति हुँदैन। तराई हिन्दूस्तानमा मिल्यो भने जनताले सुख र सम्मान पाउने हो कि होइन त्यो कुरा सिक्किमका जनतासँग सोध्नुपर्ने हुन्छ। नेताहरुले भने सुख त पाएकै होलान्।

जनमानसमा परेको छविः

मोदीको यो तेस्रो नेपाल भ्रमणलाई उनकै भनाइअनुसार आफ्नो भ्रमण प्रधानमन्त्रीको रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा भएको भनिएको छ, जसअनुसार उनले सर्वप्रथम जनकपुरको रामजानकी मन्दिरमा शोडषोपचार विधिबाट विशेष पूजाअर्चना गरे भने भोलिपल्ट मुक्तिनाथ मन्दिरमा पनि सम्पूर्ण विधि पुर्‍याएर शोडषोपचार पूजा गरे। त्यसपछि काठमाडौंको पशुपतिनाथको मन्दिरमा गएर भक्तिभावपूर्वक धेरै समय पूजाप्रार्थनामा विताए।

यसबाट हिन्दूस्तानका अनुदार हिन्दूहरुमा मोदीको लोकप्रियता बढ्ने त स्वाभाविक नै भयो। नेपालमा पनि धर्मनिरपेक्ष राज्यका विरोधी र नेपाल हिन्दू राष्ट्र फेरि घोषित गर्नुपर्छ भन्ने प्रतिगामी हिन्दूहरुलाई पनि प्रोत्साहित गर्‍यो होला। तर सम्पूर्ण नेपाली जनतामा ३ वर्ष अगाडिको अघोषित आर्थिक नाकाबन्दीको घाऊलाई विर्सन सकेको बुझिँदैन।

मोदीको अको महत्वपूर्ण अभिव्यक्ति, “नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकता मुताविक जस्तोसुकै सहयोग गर्न हिन्दूस्तान तयार रहेको” भनी सार्वजनिक गरेको कुरा हो। तर पुराना समस्या र वचनवद्धतालाई व्यवहारमा पूरा गर्नका लागि तत्परता देखाएको छैन।

उदाहरणका लागि गण्डक समस्याको प्रसङ्ग टड्कारो देखिन्छ। नवरपरासीको त्रिवेणीमा बनाएको बाँधका कारण नेपालको गाउँहरु प्रत्येक वर्षायाममा डुबानमा परेर लाखौ हेक्टर जमीन बरवाद हुन्छ। पीडितको आवाजलाई मोदीले अझै सुन्ने गरेका छैनन्। २०६५ सालको २१ बुँदे सहमती अनुसार किसानलाई दिने भनेको २ अर्व ९३ करोड ६० लाख क्षतिपूर्र्ति अहिलेसम्म हिन्दूस्तान सरकारले दिएको छैन। यस्ता हेपाहा र हैकमवादी क्रियाकलाप हिन्दूस्तानले गर्दै आएका सर्न्दर्भहरुको नाम मात्र उल्लेख गर्न पनि यो लेखमा सम्भव छैन।

मोदी नेपालको भ्रमण गरेर गएको ३-४ दिनमै काकडभित्तामा हप्तौंदेखि चिया लोड गरेका ट्रकहरुलाई रोकेर नेपाली व्यापारीहरुको करोडौंको नोक्सान पारेको छ भने त्यही बेला सिमानामा नेपालको जग्गा मिचेर हिन्दूस्तानले भवन बनाउँदै छ। यसबाट मोदीको “… जस्तोसुकै सहायता गर्न तयार छु” भन्ने आश्वासन कति भरपदो रहेछ भन्ने कुरा बुझ्न गाह्रो छैन। वास्तवमा मोदीको सहयोग- सहायताको आश्वान नेपालका नेताहरुको सत्ता टिकाउने वा सत्तामा पुर्‍याउनमा मात्र सिमित छ। जनताको भलाई गर्ने कार्यतिर अग्रसर देखिँदैन। मोदी भ्रमणको यो अको उपसंहार हो।

एउटा प्रमुख उदाहरण हो अरुण तेस्रो योजनालाई विश्व बैंकको आर्थिक सहयोगमा नेपालले आफै बनाउन खोज्दा एमालेले त्यसको विरुद्ध विश्व बैंकलाई पत्र लेखेकोले असफल भयो। अहिले आएर हिन्दूस्तानले बनाउने भनेर मोदी र ओलीले संयुक्त रुपमा उद्घाटन गरे। नेपालका परियोजनाहरुलाई कसरी आफ्नो पोल्टोमा पार्न सकिन्छ भन्ने रणनीति मोदीले यसरी सफल पारेको  देखिन्छ। तर पन्चेश्वर योजना जस्तै गरी कति वर्ष झुलाउने हो थाहा छैन। हजारौं भूकम्प पीडितहरु हिउँद वर्षामा च्यातिएको पालमुनी कष्टकहर सहेर जीवन बिताइरहेछन्, तर मोदी सरकारले दिन्छु भनेको सहयोग अझै सम्म पूरा गरेको छैन।

“नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको” भनी भाषण गर्ने मोदीको नीति सत्तायुक्त र सत्तामुखी नेताहरुलाई सुखसयल र सम्मान दिने, तर नेपाली जनतालाई दुख दिने, सम्मानलाई कुल्चने र पीडित पार्ने कुनीति लिएको प्रमाणित हुन्छ। अको तथ्य नेपाललाई लोलोपोतो देखाएर खेलाइराख्ने मुख्य आधार हिन्दूत्व हो भन्ने पनि देखिन्छ। मोदीले लोलोपोतोको कुरा गरेर नेपाललाई खेलाएको भनी बुझेका बुजु्रकहरुले उनीप्रति असन्तुष्टि देखाउने “मोदीको हिन्दूधर्मप्रतिको कट्टर आस्थामा शड्ढा छैन।” भने पनि फेरि हिन्दू पुराणहरुकै अलौकिक र आडम्बरी प्रसङ्ग ल्याएर उनको चर्चा गर्नुमा मोदीको कट्टरतालाई भने उत्साहित पारेको देखिन्छ।

त्यसैले आफ्नो देश धर्मनिरपेक्ष भएपनि नेपाललाई हिन्दुधर्म सापेक्ष बनाउने रणनीति प्रयोग गरेर नेपालका प्रतिगमनकारी कट्टर हिन्दूहरुलाई प्रोत्साहित गरेको  बुझिन्छ। हिन्दूस्तानको यस्तो हैकमी कुनीति र प्रवृत्तिलाई छोडाउनु, दुर्इ देश र जनताका बीच सम्मानजनक सहअस्तित्व विकास गर्नु आजको मानवीय युगको आवश्यकता हो।

यस्तो वातावरण हिन्दुस्तान र नेपालको बीच बनाउन सबै नेपालीहरुमा खास गरेर राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक नेतृत्वमा बस्नेले र मानवतावादी अधिकारकर्मीहरुले, आफ्नो लागि र देशका कर्णार-सन्ततिहरुको स्वाभिमान र सम्बृद्धिको लागि ढीलो नगरी सोच्ने समय आएको छ। मोदीको तेस्रो भ्रमणको अन्तिम उपसंहार यही हो भन्ने मलाई लागेको छ।

- डा. गेहेन्द्रमान उदास "पोखरेली"