मोदीको भ्रमण र नेपाल भारत सम्बन्ध

२०७५ बैशाख २८,२९ गते मोदीको नेपाल भ्रमणबाट नेपालमा तरंग पैदा भएको छ। गत निर्वाचनमा ओलीको विजय, भारतीय नाकावन्दी र हेपाहा प्रवृत्ति विरुद्धको अभियानको परीणति हो भनी मान्नु पर्ने हुन्छ। प्रधानमन्त्री ओलीले  भारत भ्रमण गरेको एक महिना वित्दा नवित्दै मोदीले नेपाल भ्रमण गरेका छन्। मोदीलाई जनकपुर काठमाण्डौ दुर्इ ठाउँमा भव्य स्वागत र अभिनन्दन गरिएको छ।

मोदीको धार्मिक भ्रमणको क्रममा जानकी मन्दिर, पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दीरमा मात्र विधिसंम्मत पूजा गरेर आफू प्रमुख धार्मिक नेताको रुपमा रहेको प्रमाणित गरेका छन्। भारत जस्तो विश्वका सवभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको कार्यकारी प्रमुखले पटक पटक नेपाल भ्रमण गर्नु राम्रो कुरा हो। दुवै देशका बीचमा भएको उच्चस्तरीय भ्रमणबाट मधेसको महत्व बढेको छ। दुवै ठाउँमा अभिनन्दनको समयमा जनताद्वारा गरिएको स्वागतबाट नेपाल र भारतको बीचमा रहेको मित्रताको गाँठो बलियो भएको देखिन्छ।

गत वर्ष नाकावन्दीका कारणले नेपालमा मोदीप्रति नकारात्मक धारणा पैदा भएको थियो। यस पटकको भ्रमणबाट नेपालसंगको सम्वन्ध मित्रतातर्फ अघि बढने अवस्था देखिएको छ। विगतमा नेपाल र भारतका बीचमा भएको बैमनस्यतापूर्ण वातावरण संग्लिएर मित्रतातर्फ अगाडि बढाउन मोदीको वर्तमान नेपाल भ्रमणबाट सम्बन्ध सोझिएको छ। मोदीले नेपालमा मित्रताको हात बढाउनु चीनतर्फ नेपालको झुकाव घटाउने प्रयास हो। चीनले अघि सारेको बेल्ट एण्ड रोडको योजनाद्वारा भारतको टाउको दुखाई भएको छ। नेपाल र चीनका बीचमा कनेक्टिभिटी बढेको हुदा भारत चिन्तित छ।

नेपाल र चीनका बीचको निकटता मित्रता अघि बढेको देखेर भारत चिन्तित भै नेपालसंगको मित्रता र भाइचाराको सम्वन्ध अघि बढाउन पटक पटक प्रधानमन्त्री मोदी नेपाल आउने गरेका हुन। यस पटकको मोदीको नेपाल भ्रमण फलदायी देखिन्छ। नेपाल  र चीनका बीचको निकटताबाट भारत चिन्तित हुनुपर्ने अवस्था आउनु हुदैन। दुवै देश भारत र चीनसंग वरावर मित्रता पूर्ण सम्वन्ध राख्नु नेपालको कर्तव्य हो भने नेपालको आवश्यकतालाई हेरेर चीन र भारतसँग निकटता बृद्धि हुनु स्वाभाविक पनि छ।

ओली र मोदीबीच भएको १६ बुदे संयुक्त वक्तव्यको सांरांश यस्तो छ, ओलीको निमन्त्रणामा मोदीको दुर्इदिने नेपाल भ्रमण सम्पन्न भएको छ। यो मोदीको तेस्रो नेपाल भ्रमण हो। यो भ्रमणबाट मित्रता समझदारी बढेको छ। पुराना सम्झौतालाई अघि बढाउने निर्णय भएको छ। रेल, कृषि, वाटर सम्वन्धी विगतको सहमति कार्यान्वयन गरिने बचनवद्धता गरिएको छ। पुराना समस्या समाधान गर्ने, द्विपक्षीय सम्वन्ध बढाउने, मिलेर काम गर्ने, द्विपक्षीय सम्वन्धहरु सुधार्ने, नेपाल भारत संयुक्त वैठक बसाउने, आर्थिक तथा विकासमा सहयोग बढाउने, व्यापारको दुर्इपक्षीय समझौताको समीक्षा गर्ने, स्थलमार्ग, रेलमार्ग, हवाईमार्ग, जलमार्ग अघि बढाउन आर्थिक विकाशको कार्य अघि बढाउने, सिंचाई डुवान समस्याबारे प्राविधिक कार्य अघि बढाउने समझदारी भएको छ।

९०० मे.वा. अरुण तेश्रो जलविद्युत योजनाको संयुक्त रुपमा दुर्इ प्रधानमन्त्रीले शिलन्यास गरेका छन्। उर्जा क्षेत्रमा सहयोग बृद्धि गर्न दुवै पक्ष सहमत भएका छन् दुर्इ मुलुक र जनता बीच धार्मिक र सांस्कृतिक सम्बन्ध कायम भएको छ। रामायणमा वणिर्त ठाउँहरुसंग सम्वन्ध जोड्ने, रामायण सर्किटको दुवै नेताहरुले उद्घाटन गरेका छन्। जनकपुर सीधा अयोध्यासम्म वस सेवा संचालन गर्न वस सेवा उद्घाटन गरेका छन्। मोदीको तेस्रो नेपाल भ्रमण सफल भएको विचार व्यक्त गरिएको छ।

यो दुवै प्रधानमन्त्रीहरुद्वारा गरिएको संयुक्त बक्तव्यद्वारा भारत र नेपाल बीचमा भएका वार्ता छलफलबाट निकालिएका निष्कर्ष उपरोक्त १६ बुँदे संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ। यस भ्रमणमा गरिएका र यो भन्दा अघिल्ला भ्रमणका गरिएका सन्धि सम्झौताहरु पनि कार्यान्वयन गरिने र पूर्णता दिने प्रतिवद्धता व्यक्त गरिएको छ। १६ बुदे संयुक्त वक्तव्य राम्रो छ। विगतका झौ कार्यान्वयन हुन गाह्रो छ।

नेपालका करिव १५० नदीनालाहरु नेपालबाट भारत तर्फ वग्दछन्। यी मध्ये ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, गण्डकी आदीमा ठूला ठूला बाँध बनाईएको र स्याना स्याना नदीमा तटबन्ध निर्माण गरिएकोले हरेक वर्ष वर्षातमा तराईका सयौ गाउहरु डुवानमा पर्ने ठूलो जन धनको क्षति हुने गरेकोले नेपाली जनतालाई ठूलो समस्या हुने गरेको छ।

डुवान समस्या सम्वन्धमा जाँच बुझ गर्ने मात्र भनिएको छ। समुचित समाधानको उपायवारे केही कुरा उल्लेख छैन।  भारत र हाम्रा बीचमा रहेको ठूलो समस्या व्यापार घाटा छ पस्मिना र गलैचा वाहेक अन्य वस्तु नेपालबाट नगन्य मात्रामा भारत तर्फ निर्यात गरिएको छ। धान चामल फलफूल तरकारी आदि खाद्य वस्तुहरु भारत आदि कैयौं देशहरुबाट अत्याधिक मात्रामा आयात गरिन्छ। नेपालको वैदेशिक व्यापार घाटा संतुलनमा ल्याउन उत्पादन प्रचुर मात्रामा बढाउनु पर्दछ। शहर बजारका जग्गाहरु घडेरी किन बेच गर्ने नाममा बाँझै छोडिएको छ। अत्यधिक युवा जनशक्ति विदेश पलायन भएकोले पहाड मधेश र हिमाली क्षेत्रका जग्गाहरु बाझै छोडिएको छ। कृषकहरुलाई विशेष अनुदान दिएर कृषि पेशा प्रति आकर्षण बढाउने र प्रचुर मात्रामा उत्पादन बढाउने हो भने खाद्य वस्तु आयात कम गर्न सकिन्छ। हाम्रो आर्थिक अवस्था सुध्रिन सक्रछ। आफैले केही नगर्ने अर्कालाई गाली गरेर मात्र हुदैन।

२२ वर्ष अघि २०५२ सालमा सम्पन्न महाकाली पंचेश्वर सम्झौता हाल सम्म खटाइमा परेको छ। पञ्चेश्वर महाकाली जल विद्युत सम्झौता गर्ने वाहेक अरु केही भएको छैन। ९०० मे.वा.बाट विद्युत उत्पादन हुनसक्ने अरुण तेश्रो जलविद्युत आयोजना अघि बढाउने भनिएको छ। यसमा पनि भारतीय हितलाई प्राथमिकता दिईएको भन्ने जनगुनासो छ। जनकपुर विकासका लागि एक अरब सहयोग दिने भनिएको छ। भारतीय सहयोग प्राप्त हुने कुरा पनि राम्रै हो।

नरेन्द्रमोदीको शासन सत्तामा छिमेकी देशहरुसंग सम्बन्ध खराव भयो भनी भारतका विपक्षी राजनैतिक पार्टीका नेताहरुले लगाउने गरेको आरोप निरस्त गर्न मोदीले चीन र नेपालको भ्रमण गरेर दुवै देशसंग सम्वन्ध सुधार गर्न प्रयास गरेका छन्।

२ नं. प्रदेशका मुख्यमन्त्रीले मोदीलाई अभिनन्दनको क्रममा नेपालको संविधान विरोधी वक्तव्य दिदा पनि उनले कुनै प्रतिक्रिया व्यक्त गरेनन्। मधेसी दलहरुलाई उक्साउने काम पनि गरेनन्। मधेसी नेताहरुलाई तपाई मधेसी पार्टीरु मिलेर अघि बढ्नोस भनी उनीहरुसंगको भेटघाटमा सुझाव दिए भन्ने कुरा समाचारमा आएको छ। नेपाल र भारतका बीचमा विगतमा रहेको तितो संवन्धका वारेमा मोदी र ओलीले एक शब्द पनि उच्चारण गरेनन्। दुवै प्रधानमन्त्रीले राम्रा मित्रतापूर्ण विषय मात्र उठाए। भविष्यमा पनि विगतमा गरिएका सन्धी सम्झौता कार्यान्वयन हुदै जाऊन र हाम्रो मित्रतापूर्ण सम्बन्ध अझै सुदृढ र सुमधुर हुदै जाओस भन्ने कामना गर्नु उचित हुन्छ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)

- तिलक आचार्य