मोदीको चौथो नेपाल भ्रमण

सदियौंकालबाटै छिमेकी देश भारतका अधिकांश भारतीय जनता र नेताहरु नेपाल र नेपालीप्रति आपसी सद्भाव, सहयोग, मित्रता र असल छिमेकीको व्यवहार र उदारभाव राख्दछन् र नेपालको चौतर्फी विकास र समृद्ध राष्ट्र बनेको देख्न चाहन्छन् । नेपाल पनि भारतको जनताको लागि पर्यटकीय र धार्मिक तीर्थस्थलको रुपमा उच्च प्राथमिकतामा रहेको बुझिन्छ । सदियौकालबाट नेपाल र नेपालका लागि पनि भारत देश सदावहार बगैचा र प्रमुख धार्मिक स्थलको रुपमा प्ररिचित रहेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चौथो पटक भ्रमण गर्दैछन् । दुर्इ पटक राजकीय भ्रमण गरेका उनी सार्क शिखर सम्मेलनका दौरान नेपाल आएका थिए । भारतका प्रधानमन्त्रीको हैशियतमा १७ वर्षपछि नेपालको राजकीय भ्रमण भएको हो । तेस्रो भ्रमण धार्मिक तीर्थस्थल दर्शनको उद्देश्यका साथ गरिएको स्वयं मोदीले भनेका थिए । विगतमा भारतका प्रधानमन्त्रीहरुमध्ये नेपालको भ्रमण बढी गर्ने नरेन्द्र मोदी नै हुन् ।

भारतको गुजरात राज्यमा सामान्य गरीब परिवारमा जन्मिएका नरेन्द्र मोदीको आफ्नो बाल्यकालमा आफ्ना बाबुआमासँग चियापसलमा चिया बेच्न सहयोग गर्दै आफ्नो पढाइ लेखाइलाई अघि चढाएका थिए । हिन्दू स्वयंसेवक संघका कार्यकर्ताको रुपमा लामो समय काम गरेर आफ्नो राजनीतिक पृष्ठभूमि अघि चलाएका थिए । उनका राजनीतिक गुरु अटलविहारी बाजपेयीको साथ र संगतले राजधर्मको पाठ सिकेका थिए ।

उनले पारिवारिक जीवन त्यागेर भारतका धेरै भागमा भ्रमण गरेर नेपालमा पनि विगतमा धेरै पैदलयात्रा गरेको जानकारी उनले गराएका हुन् । हिन्दुत्वको आदर्शको जगमा उभिएका मोदी धर्मका मामलामा निकै गम्भीर हुन् भन्ने उदाहरण उनकै क्रियाकलाप र अभिव्यक्तिले देखाउँदै आएको छ । उनले नेपालप्रतिको चासोमा भारतको प्रधानमन्त्रीका रुपमा सुरक्षा मामलाले मात्र गरेको छैन, धर्मले पनि गरेको छ । हिन्दू बाहुल्य र हिन्दू तीर्थस्थल भएकोले नेपालप्रति उनको निकटता बढ्दै गएको प्रदर्शित हुन्छ ।

मोदीले हिन्दू धर्म र आदर्शलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन भूमिका खेल्दै आएका छन् । गुरु रामदेवले गर्दै आएको योगलाई संयुक्त राष्ट्र संघले मोदीकै पहलमा विश्व योगदिवस मनाउने निर्णय गर्‍यो । उनले नेपालका धार्मिकस्थल पशुपतिनाथ, जनकपुरधाम र मुक्तिनाथ को दर्शन गरे पछि नेपालका आन्तरिक र भारतीय तीर्थयात्रुहरुको चासो र दर्शनार्थीहरुको भीड र चाप अत्यन्तै बढ्दै गएको छ । विश्वका धेरै देशहरुमा हिन्दूत्वको आदर्शलाई फैलाउन र हिन्दू मन्दिर बनाउनका लागि मोदीले चाल्दै आएका कदमका कारण उनी भारतमा मात्र नभै भारत बाहिरका हिन्दूहरु माझ पनि उनको लोकप्रियता बढ्दै गएको देखिन्छ ।

भारतीय जनता पार्टीका सत्तासीन प्रधानमन्त्री ऋृषि मन भएका नरेन्द्र मोदी त्यतिबेला ४ महिनामा २ पटक नेपाल आउँदा नेपाली संसदलाई सम्बोधनन गर्दा पहाडबाट बगेको पानी र जवानी वापस आउँदैन भनेर बुद्ध पनि नेपालमै जन्मेका हुन् । सीता पनि नेपालकै छोरी हुन् । भारतमा समुद्र र नेपालमा सगरमाथा रहेसम्म दुवै देशको सम्बन्ध अमर रहनेछ भनेर सम्बोधन गरेका थिए । नेपालमा भुइँचालो जाँदा ३ घण्टाभित्रैमा अबौर्को राहत सामग्री पठाएर सहयोग गरे । र, विदेशमन्त्री मार्फत एक खर्बको सहयोग गरेका मोदी नाका बन्दीको बेला त्यत्ति कठोर किन बने त ?

भारतको एक पक्ष कर्मचारीतन्त्र राजनीतिमा कार्यरत मिसनले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा हेपाहा मिचाहा प्रवृत्ति र नाकाबन्दी जस्ता दमनकारी नीतिको पालना गर्दैआएका छन् । त्यत्तिबेला नेपालमा आन्दोलनरत् मधेसवादी दलको गुहार र नेपालीलाई हेपाहा र दमनकारी दृष्टिकोण राख्ने कर्मचारीतन्त्र र नेपालका लागि कार्यरत भारतीय राजदूत तथा गुप्तचरको रिपोर्टिङको आधारमा मोदीज्यूले चूप्पी साधेर नेपालीको प्रमुख पर्व विजयादशमीको समेत बेवास्ता गरी मधेशवादीको गुहारको माग पूरा गराउने क्रममा संविधान संशोधन गराउनका लागि दबाब दिने नियत थियो कि ? त्यत्तिबेला जारी गरिएको धर्म निरपेक्ष संविधानमा मन नपरेर हिन्दू राष्ट्र र सनातन हिन्दू धर्म हुनुपर्ने भनेर अदृश्य नियतका कारण नाकाबन्दी गरियो कि ? त्यो रहस्य नेपाली जनताले अझै जान्न सकेका छैनन् ।

भारतीय नाकाबन्दी विरुद्ध दह्रो अडान लिएर आफ्नो राजनीतिक प्रभाव र लोकप्रियताको शिखर चढेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गत चुनावमा बामगठबन्धन गरेर दुर्इ तिहाईको हाराहारीमा बहुमत ल्याएर पुनः प्रधानमन्त्री बनेका छन् । भारतमा पनि उनै मोदी अहिले पनि प्रधानमन्त्रीमा सत्तासीन छन् । नाकाबन्दी गर्नुको कारण के थियो ? किन त्यत्ति लामो समय ६ महिनाभन्दा बढी नाकाबन्दी गरियो – त्यसको कारण र रहस्य नेपाली जनताले अझसम्म पनि पाउन सकेका छैनन् ।

महाभूकम्पले थला परेका बेला दैनिक उपभोग्यका सामान पेट्रोलियम पदार्थ आदिमा भारत निर्भर रहनुपरेको बेलामा खोक्रो अडान र खोक्रो राष्ट्रवाद लिनुभन्दा कुटनीतिक पहल गरेरै भए पनि त्यो बेलाको आवश्यकता पूरा गरिएको भए वेश हुन्थ्यो कि भन्ने एक पक्ष उपभोक्ताहरुको आशा थियो । जबकि चोरी तस्करीबाट कैयन गुणा महँगो र जोखिम लिएर त्यत्तिबेलाको दुःख कष्ट सहेर दाउरे युगमा फर्केर आफ्नो गुजारा चलाए ।

अन्त्यमा,

सन् २०१९ मा भारतमा लोकसभाको आमचुनाव हुदैछ । दोस्रो पटक प्रधानमन्त्री बन्नका लागि मोदी र उनको पार्टीभाजपा चुनावमा जानुपर्नेछ । भारतमा हुने उक्त चुनाव अगावै मोदीको लोकप्रियताको मापन गर्न थालिएको छ । केही मिडियाले मोदी अझै बढी लोकप्रिय भएको र आजसम्मका प्रधानमन्त्री मध्येका लोकप्रिय भनी प्रचार गरिएको छ । दुवै देशको युगौदेखिको भौगोलिक धर्म संस्कृति रोटीबेटीको सम्बन्ध व्यापार आदिमा दृश्य अदृश्य रुपमा आइपर्ने असमझदारी आदिमा आगामी वर्षहरुमा समझदारी मित्रता र विश्वास बढ्दै जाओस् र त्यस्ता नाकाबन्दी नदोहोरिऊन् भन्दै दुवै देशका प्रधानमन्त्री ओली र मोदीको दीर्घकालीन सन्धि र सम्झौता तथा सीमा विवाद सुस्ता, कालापानी तथा लिपुलेक लगायत विवादलाई दुवै देशका प्रधानमन्त्रीले हल गरुन् ।

- दीपकबहादुर केसी