मृत्यु संस्कार – आजको सर्न्दर्भमा

मृत्यु एक शाश्वत सत्य हो। यसलाई कसैले नकार्न सक्दैन। परिवारको कुनै सदस्यको देहान्त भएमा परिवारजन शोक संप्तत हुन्छन्। कुनै व्यक्ति दिवंगत भएमा उनका नातेदार, इष्टमित्र तथा शुभचिन्तकहरु मृतकका घरमा भेला भई परिवालाई सान्त्वना दिने र दिवंगत आत्माको चिर शान्तिको कामना गर्नु हामी हिन्दु धर्मावलम्वीहरुको नियमित प्रकृया भएको छ।

अजभोलि यसरी भेला भएका आफन्त तथा शुभेच्छुकहरुको चर्चा खासगरी २ वटा विषयमा केन्द्रित भएको पाइन्छ- (१) १३ दिनको काज क्रिया गर्ने प्रकृया लामो भयो र। (२) मृतकका नाममा दिइने दान केवल ब्राह्मणलाई फाइदा पुग्ने उपाय हो यसवाट मृतकलई केही फाइदा हुदैन।

विश्वमा विभिन्न धर्म प्रचलित छन्। ती प्रत्येक धर्ममा जन्म देखि मृत्यु सम्म विभिन्न संस्कारहरु सम्पन्न गरिन्छन्। ती संस्कारहरु धर्म ग्रन्थवाट निर्देशित छन्। इसाई, मुसलमान, वौध्द, हिन्दु मात्र नभई सिख, जैन, ताओ, सुमि आदि धर्मका अनुयायीहरुले आफ्नो धर्म ग्रन्थ अनुसारका पद्धतिहरु गर्दै आएका छन् र अन्य कुनै धार्मिक मतमा मृत्यु संस्कार मा संशोधन भएको पाइदैन। बरु विस्तारै परिस्कृत हंुदै आएका छन्।

नेपाल वहुधार्मिक र बहुजातीय देश भएतापनि मूलत हिन्दु बाहुल्यता भएको देश हो। यहाँ पनि प्रत्येक  धर्मावलम्वीहरुले आ-आफ्नो प्रचलन अनुसार संस्कार सम्पन्न गर्दछन्। हिन्दुहरुमा पनि जात अनुसारका संस्कारमा केही भिन्नता भएतापनि मूलत हामी वैदिक विधि विधान अनुसार नै संस्कार सम्पन्न गर्दछौ।

हालै मेरा भतिजा यज्ञप्रसाद श्रेष्ठको र्स्र्वगारोहण भयो। उत्तरार्द्ध जीवनमा उनको साधु स्वभाव थियो र परोपकार गर्नु नै धर्म हो भन्ने महषि वेदव्यासको वचनलाई उनले आत्मसात गरेका थिए। माथि भनिएझैँ मृतकका घरमा हामी दाजुभाइ इष्टमित्र र शुभेच्छुक समय समयमा भेट भयौ र विभिन्न विषयमा छलफल भयो। माथि २ विषयमा पनि गहन मन्थन भयो।

यहाँ प्रश्न के उठ्छ भने हिन्दु भनेर कसलाई भन्ने। वास्तवमा हामी कर्मले भन्दा पनि जन्मका नाताले हिन्दु भएका छौ। हिन्दु भएर पनि हिन्दु हुनुको विशेषता के हो भन्ने कुरा धेरैलाई थाहा छैन । हाम्रा शास्त्रहरुले हिन्दुका लक्षण दिएका छन्। हिन्दुले साकार वा निराकार दुवै रुपमा इश्वरको उपासना गर्दछन्। यस्तैगरी हिन्दुले आत्माको अमरत्वमा विश्वास गर्दछन् र पुनजन्ममा विश्वास राख्दछन्। हिन्दुले वेद, उपनिषद, गीता र पुराणलाई आफ्नै धर्मशास्त्र मान्दछन् र सोही अनुसारको जीवन पद्धति र संस्कारको निर्वाह गर्दछन्।

गीता, गायत्री, गौ र तुलसी को उपासना हिन्दुहरुले गर्दछन्। त्यसकारण देहवाट आत्मा अलग भएपछि पनि आत्माको अस्तित्व रहिरहन्छ भन्ने मुल सिद्धान्त हिन्दुहरुको हो। जसमा माथि लेखिएका वुदाहरुमा विस्वास छैन भने ऊ वास्तवमा हिन्दु हुन सक्दैन।

५ कमेन्द्रिय, ५ ज्ञानेन्द्रिय, ५ प्राणवायु, मन र वुद्धि मिलाएर १७ वस्तुको  सूक्ष्म  शरीर लिएर जीव षटकौशिक स्थूल शरिरमा प्रवेश गर्दछ।प्रारब्ध कर्म समाप्त भएपछि जव ती १७ वस्तुको सूक्ष्म शरीर लिएर पार्थीव शरिरवाट निस्कन्छ तव उसले वायवीय शरीर ग्रहण गर्दछ। त्यसवेला त्यस जीवलाइ प्रेत भनिन्छ। त्यो प्रेतमा हुने आफ्नो पूर्व शरीर परिवार र सम्पति प्रतिको आशक्ति छुटोस् र उ प्रेतयोनीबाट मुक्त भएर पितृलोकको वास गरोस भन्ने उद्देेश्यले मृत शरिरलाई अग्निहोमद्वारा भष्म गराउने र दशगात्रादि श्राद्ध गरिन्छ।

यसो गर्नाले मृत जीवको सम्बन्ध पूर्व शरीरसंग विच्छिन्न हुन्छ। शास्त्र विहित काज क्रिया र श्राद्धद्वारा जीवले प्रेत शरीर त्याग्छ र नूतन देह धारण गरी ऊ आफ्नो सूक्ष्म लोकको यात्रामा जान्छ। काज क्रिया पद्धतिमा हरेक दिन गरिने अनुष्ठानहरु शास्त्रमा उल्लेख गरिएका छन् र ती अनुष्ठानबाट हुने परिणाम पनि उल्लेख छ। प्रेतयोनी बाट छुटेर नूतन दहे बनी पितृसंग मिल्न १२ दिन लाग्छ र तेह्रौ दिनमा हामी स्वस्ति शान्ति गर्छाा। मृत्युसंस्कार विधानमा कुन दिनको संस्कारले शरीरको कुन अंग बन्दछ भन्ने समेत उल्लेख छ।

त्यसकारण यदी हामीले गर्नुपर्ने विधिहरु गरेनौ भने मृत जीवले प्रेत योनीबाट छुटकरा पाउँदैन। यसरी छुटकारा नपाएको प्रेतलाई वायु पनि भनिन्छ। उसले नूतन देह धारण गर्न नपाएकोले वायु वा हावा को रुपमा रहेको हुन्छ र उसले ज्यादै दुःख पाउँछ। त्यसकारण त्यस वायुले आफ्नो परिवारमा दुःख दिने रोगी बनाउने धनसम्पतिमा नोक्सान पुžयाउने आदि काम गर्छ। त्यस कारण हामीले सोच विचार नगरी शास्त्र विहित कर्मलाई नगर्ने वा छोट्याउनु भन्दा पूर्व यी कुराहरुमा गम्भीरता पूर्वक विचार गर्न आवश्यक छ।

अव यहाँ हामी दानको वारेमा चर्चा गरौं। प्राचीन काल देखिनै विभिन्न धर्मावलाम्बीहरुमा मृत देह अन्तिम संस्कार गर्दा चिहानमा नै मृत व्यक्तिलाई मन पर्ने खाद्य बस्तु, भाँडा, लुगाहरु राख्ने गरेको पाइन्छ। यो प्रचलन अरव तिर मात्र नभई हाम्रै देशको राई लिम्वु समुदायमा पनि अद्यापि छ। यस कारण यही पद्धतिलाई हिन्दु संस्कारमा दान भनिन्छ। के पनि विश्वास गरिन्छ भने ब्राह्मणलाई दान गरेमा त्यही वस्तु सूक्ष्मरुपमा पितृले प्राप्त गर्दछन् र उनलाई दुःख हुदैन। त्यसकारण गरुडपुराणको प्रेतकल्पमा दानको बारेमा बढी चर्चा गरेको पाइन्छ।  अजभोलि धर्म, संस्कृत्रि्रति विश्वासमा कमी आई भौतिकवादमा बढी आकर्षण भएकोले दान दिएर पितृले पाउछन् भन्ने विश्वास घट्दै गएको छ। यजमान र पुरोहित दुवैमा यस प्रतिको सत्य तथ्य को ज्ञान नहुनाले दैनिक जीवनमा आवश्यक पर्ने दाल, चामल, नून, तेल जस्ता आवश्यक र कम मूल्य पर्ने वस्तु पनि दान नगरी सो मूल्य बराबरको रकाम दान दिने गरेको पाइन्छ। हामीले यहाँ नपाइने अथवा वढी मूल्य पर्ने वस्तुको सट्टा पैसा दिने चलन राम्रो हो। तर ब्राह्मणले पनि वस्तुको सट्टा रकम खोज्ने प्रथाले हाम्रो संस्कृतिमा गम्भीर आघात मात्र पुगेको छैन कि पितृहरुप्रति अपमान पनि हुन गएको छ।

आजभोलि पितृ बोलाउने चलन चल्दै आएको छ। यसरी पितृ बोलाउदा पितृले आफूलाई मन पर्ने चिज वा वस्तु ब्राह्मणलाई दान गरिदिनु भनेको सुनेका पनि छौ। यस्तैगरी राम्रोसँग काज क्रिया नगरी दिंदा वायु भएर दुःख पाउनु परेको कुरा पनि पितृले भनेको भनी सुनेका छौ। त्यसकारण आफ्नो क्षमता भित्र रही श्रद्धाका साथ दान गर्नु राम्रो हो  र  पुरोहितले पनि सन्तोषका साथ ग्रहण गर्नु शास्त्रीय मर्यादा हो।

हामीले हाम्रो धर्म र संस्कृतिको जगेर्ना गर्नका लागि शास्त्रको परिपालन गर्न आवश्यक छ। पाश्चात्य  विद्धानहरु पनि वाइवल देखेपछि शिर झुकाउछन् भने  मुस्लीमहरु कुरान लाई इश्वर कै रुपमा श्रद्धा गर्छन। वाइवल र कुरान लेखिएको पनि करीव २ हजार वर्ष भैसकेको छ। तर त्यहाँ लेखिएका कुराहरु हालकै परिप्रेक्षमा असार्न्दभिक छ भनिदैन। तर हाम्रा शास्त्रहरु उपर हिन्दु धर्मावलम्वीहरुले नै प्रश्न चिन्ह खडा गरेका छन्। यस्तो प्रश्न गर्नुमा खासगरी शास्त्रको अध्ययन मनन र चिन्तन नगर्नु प्रमुख कारण हो। म्याक्समुलर लगायत विभिन्न पाश्चात्य विद्वान एवं दार्शनिकहरु समेत हाम्रो संस्कृति र संस्कारउपर सम्मान प्रकट गरेका छन्। त्यसकारण हाम्रो संस्कृति र संस्कारउपर हामी पनि गौरव महसुस गरौँ।

- विष्णु प्रसाद श्रेष्ठ