मानव समुदाय र नारी अस्मिता

मानिस विद्या, बुद्धि र विवेकको खानी हो। यिनै विशेष गुणहरूले गर्दा मानिस पशुको तहभन्दा धेरै माथि उठ्न सकेको छ। धेरै कुरा त मानिस र अन्य प्राणीका बीचमा मिल्दाजुल्दा नै देखिन्छन्। सबै प्राणीले बाँच्नका लागि खानेकुरा खानैपर्छ। न्रि्रा सबै प्राणीका लागि प्यारो हुन्छ। जन्मने र मर्ने क्रिया सम्पूर्ण प्राणीमा समान देखिन्छ। यी कुरा मानिस र पशुका बीच समान रूपले रहेका हुन्छन्। सबैको कल्याण चाहने, गर्न नहुने काम नगर्ने र ठीक बेठीक छुट्टयाउने शक्ति चाहीँ मानिसबाहेक अरु प्राणीमा पाइन्न। यही विशेष गुण भएकाले प्राणीहरूमा मानिस सबैभन्दा श्रेष्ठ मानिसएको हो।

संसारकै सर्वश्रेष्ठ प्राणी मानव समुदायका दुर्इ भिन्न रूप नर र नारी हुन्। महिला र पुरुष सृष्टिका दुर्इ आधार हुन्। दुर्इमध्ये एकको अभावमा मानव जातिले निरन्तरता पाउन सक्दैन। त्यसैले समाजका हरेक क्षेत्रमा नारी र पुरुषको सहकार्य वाञ्छनीय छ। पितृ सत्तात्मक समाजका नारीहरू पुरुषबाट अपहेलित हुनुपरेको छ। नारीहरू पुरुषभन्दा कुनै पनि आधारमा कमजोर हुँदैनन्। पुरुषले गर्ने हरेक कार्य नारीले पनि गर्न सक्छन्। पुरुषले गर्ने हरेक अनुभूतिहरू महिलाले गर्न सक्छन् तर महिलाले गर्ने धेरै अनुभूति पुरुषले गर्न सक्दैनन्। हाम्रो समाज पितृसत्तात्मक समाज भएकाले महिलाहरू पुरुषसँगै सती गएर मृतदेहसँग मर्न बाध्य पारेको, सामूहिक बलात्कारको सिकार हुनुपरेको तर पुरुषले यस्ता संवेदना भोग्न नपर्दा समाजमा नारी र पुरुषबीच विभेद उत्पन्न भएको हो। महिला र पुरुषबीचको यो विभेद प्राकृतिक नभएर समाजले नै सृजना गरेको हो।

नारी र पुरुषबीच समान अस्तित्व र क्षमता भए पनि पितृसत्ताले महिलालाई कमजोर बनाएर पछाडि पारेको छ। महिलाहरूले मासिक रजस्वला, गर्भधारण र प्रसवकालको असह्य पीडा भोग्नुपर्छ भने पुरुषले ती समस्या भोग्नुपर्दैन। पितृ सत्ताले पुरुषलाई स्वतः बाबु वा पिताको अस्तित्व प्रदान गरेको छ भने महिलाहरूले अस्तित्वका लागि जोखिम उठाउनुपरेको छ। पुरुषवादी समाजका यस्ता बागडोरले महिलाहरूलाई पछाडि पारेको छ।

आज समाजमा महिला हिंसा विरुद्धको अभियान चलिरहँदा समाजमा हिंसाका घटना हुन छाडेनन्। एकपछि अर्को गरी महिला हिंसाका घटना भइरहेका छन्। गत मङ्सिर २२ गते बर्दियाकी शिवा हसामीको जलाएर हत्या गरिएयता महिला हिंसाका घटना एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रूपमा भइरहेका छन्। महिलामाथि पारिवारिक र सामाजिक हिंसा भइरहेका छन्। बालिकादेखि वृद्धसम्म बलात्कृत भएकमा अनगिन्ती घटनाले हाम्रो समाजमा व्याप्त पितृसत्ता पापी र ज·ली उन्मादमा रुमलिएको पाइन्छ।

वैदेशिक रोजगारबाट फर्किएकी महिला आर्थिक र शारीरिक रूपमा सुरक्षाका निकायहरूद्वारा नै लुटिएको घटनाबाट पनि स्पष्ट हुन्छ कि जनताको जिउ धनको सुरक्षाका लागि तैनाथ रक्षक वर्ग नै भक्षक हुन भन्ने कुरा सावित भएजस्तो लाग्छ। गाउँ घरमा आफ्नै चिनजान र आफन्तबाट नै अबोध र अन्जान बालिकाहरू बलात्कारका सिकार भएका घटनाबाट पुरुषमा मानवत्व समाप्त भई दानवत्वको प्रसय पाएको भान हुन्छ। नेपालको तराई मधेश क्षेत्रमा कुनै महिलाको इज्जत लिनुपर्‍यो भने बोक्सीको आरोप लगाइदिए पुग्छ। बोक्सीको नाममा महिलामाथि कुटपिट गरिन्छ। मलमुत्र खुवाइन्छ, नाङ्गो पारेर गाउँ घुमाउने धम्की दिइन्छ। यस्ता हिंसा वा यातनाको घटनाले समाजमा महिला शोषित, पीडित र अधिकारविहीन छन् भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ। महिलामाथि हुने पारिवारिक एवं सामाजिक हिंसा वा यातना रोक्नका लागि देशमा कानुन नबनेका होइनन्। कानुन बन्यो तर त्यसको कार्यान्वयन फितलो र अपर्याप्त बन्न पुग्यो। महिलाका नाममा विभिन्न सङ्घसंस्था खोलिए। ती सङ्घसंस्थाको पनि प्रभावकारिता देखिँदैन।

विशेष गरी सुरक्षा, स्थानीय प्रशासन र न्यायिक निकायहरूमा महिला मैत्री वातावरण नबन्दा पीडकहरूलाई हतोत्साही र दण्डित बनाउने अवस्था बनेन। यस्ता विविध महिला हिंसाका पछाडि समाजको आर्थिक, राजनीतिक, सांस्कृतिक मूलइ, मान्यता र अन्ध परम्परा पनि हो। समाजमा व्याप्त अन्धविश्वास, कुरीति र कुसंस्कारलाई जरैदेखि उखेलेर फ्याँकी, नारीमाथि अन्याय, अत्याचार र शोषण गर्ने पशुत्त्ववादी चरित्र भएकालाई कडाभन्दा कडा सजायँ दिइ महिला हिंसा अन्त्य गरी समाजको आधा भाग ओगट्ने महिलालाई विभेद, अन्याय अत्याचारबाट मुक्त गरी समतामूलक, सुन्दर र न्यायपूर्ण समाजको निर्माणका लागि सबै जना एकजुट भई अगाडि बढ्नुपर्छ।

- रमा भण्डारी