मानव बेचविखन : समस्या र समाधान

१, पृष्ठभूमि

नेपालमा मानव बेचविखन तथा ओसारपसार एक गम्भीर तथा भयावह समस्याका रुपमा दिनानुदिन बढदै गईरहेको अवस्था छ। नेपालबाट वर्षेनी हजारौँ महिला एवं बालबालिकाहरु वैदेशिक रोजगारीको समेतको वहानामा भारत तथा अन्य खाडी मुलुकहरुमा बेचविखन तथा ओसारपसार भैरहेका छन्। नेपालमा रहेको बढदो गरीवी, जनचेतना तथा शिक्षामा कमी, लैगिंक भेदभाव, न्यून आर्थिक स्तर, भारतसँगको खुला सिमाना, महिला माथि हुने विभिन्न हिंसा, वेरोजगारी जस्ता अवस्थामा गरीवी र विवशताको फाइदा उर्ठाई सोझासाझा, महिला,र बालिकालाई बेचविखन गर्ने दलालहरु सक्रिय हुन्छन। भूकम्प र अन्य प्राकृतिक विपत्तिमा अझ यसले प्रश्रय पाउछ।

विगतमा यौन शोषण  र दासताका लागि मात्रै महिला र बालबालिकाहरुको बेचविखन तथा ओसारपसार हुने गरेकोमा अहिले आएर विभिन्न प्रयोजनका मानव बेचविखन सम्बन्धित संगठित अपराध हुदै आईरहेको छ। साथै मानव बेचविखनमा महिला तथा बालबालिका मात्रै हुने गरेकोमा ठूलो संख्या पुरुषहरु अंग प्रत्यारोपणका लागि तथा वैदेशिक रोजगारीको नाममा बेचविखन तथा मानव तस्करी भइरहेको छ। मानव अधिकारको हिसावले वैदेशिक रोजगारमा जाने महिलाको  शोषण्को अवस्था भयावह छ। भारतमा हुने बेचविखन अहिले सबै मुलुकमा हुने विशेष गरी खाडी तथा दक्षिणपूर्र्वी एसिया तथा द्वन्द्वग्रस्त क्षेत्रमा समेत हुने गरेको छ।

एकीकृत तथ्यांक प्रणालीको अभावका कारण बेचविखनका विभिन्न स्वरुपहरुको परिमाणलाई यकिन गर्न कठिन रहेको छ। बेचविखन तथा ओसारपसारको उद्योग संख्या २०७२/२०७३ मा १३ तेह्र हजार ९ सय ५ देखि १५ हजार ५ सय ६८ मा रहेको छ। बेचविखनको प्रयास गरिएकामा अधिकाँश महिलाहरु रहेको र आधाजसो बालिका रहेको पाइन्छ। बेचविखनबाट प्रभावितहरु निरक्षर रहेको वा समान्य साक्षर मात्रै रहेको र अधिकांश अविवाहित देखिएका छन्। अधिकांश प्रभावितहरुलाई झूठा वाचा गरी बेचिविखन गरिएको पाइन्छ। अधिकांश प्रभावितहरुलाई दिउँसोको समयमा नाका कर्टाई बेचविखन गरिएको पाईएको छ। बेचविखनमा नेपाल भारत र नेपाल तिब्बतको औपचारीक मार्ग प्रयोग भएको पाईएकोछ।

२.बेचविखनका चुनौति तथा मानव अधिकार उल्लघंन

बहुसंख्यक वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु जवरजस्ती काम गर्न बाध्य भएका वा श्रम शोषणका लागि बेचविखन भएको पाइन्छ। वैदेशिक रोजगारका क्रममा आप्रवासी कामदारहरुको देहायका अधिकारहरु उल्लंघन भएको पाईएको जसमा न्यायमा पहुँच, हिँडडुलको स्वतन्त्रता, समानता र विभेद बिरुद्धको अधिकार, न्यायोचित र सम्मानपूर्वक काम गर्न पाउने अधिकार, शोषण बिरुद्धको अधिकार, समयमै तलब नपाउने,  सूचनाको अधिकार समेतको उल्लंघन हुने गरेको पाइन्छ।

वैदेशिक रोजगारीका नाममा हुने बेचविखन विभिन्न आधार र प्रमाणहरुबाट देखिएका छन्। मानव बेचविखन तथा अप्रवासी सम्वन्धी ऐन कानूनको कार्यन्वयनको अवस्था सन्तोषजनक पाइँदैन। निगरानी र अनुगमन अझै प्रभावकारी हुन नसकेको पाइन्छ। नेपाल सरकारको उद्धार, स्वदेश फिर्ती जस्ता कार्यहरु अझै बढि प्रभावकारी हुन नसकेको पाइन्छ। न्यायिक सम्बोधन भने केही उत्साहजनक नै पाईएको छ।

३. मानव बेचविखनमा देखिएका नयाँ आयाम

बेचविखनका विभिन्न स्वरुपहरु देखा पर्दै आईरहेका छन्। चाइना, मकाउमा जवरजस्ती यौन धन्दाका लागि, भारतको दिल्ली हुदै  अफगानिस्तानमा  तथा विभिन्न ल्याटिन मुलुक हुदै अमेरिकामा मानव तस्करी भइरहेको, धर्मको आडमा अमेरिका पठाइदिने, वैदेशिक शिक्षाका लागि खुलेका  केही कन्सल्टेन्सी मार्फत मानव तस्करी भइरहेको तथा कोरीया र चीनमा विवाहको वहानामा हुने बेचिवखन अर्को बढ्दो प्रवृत्तिको रुपमा देखा परेको छ। नेर्टवर्क विजनेशका नाममा भारतमा मानव बेचविखन हुने गरेको छ। धेरै युवायुवतीहरु नेटवर्किग धन्दाबाट जोखिममा परेको पाइन्छ। १८ वर्ष भन्दा मुनिका बालिकाहरुलाई विहारका विभिन्न अर्केस्टामा काम लगाइएको पाइएको छ भने मनोरञ्जन उद्योग (डान्स बार, मसाज पार्लर, क्याबीन रेष्टुराँ) मा पनि धेरै संख्यामा श्रमजीवी महिलाहरु कार्यरत रहेको पाइएको छ।

ग्रामीण महिलाहरुको गन्तव्यको रुपमा र अन्तरदेशीय बेचविखनको विशेष गरी खाडी मुलुकमा हुने बेचविखनको स्रोतको रुपमा देखिएको छ। बालिका भिजिट भिसामा भेलेन्टाइन नाइटको लागि यु र्ए इ समेत लगिएको पाइएको छ।  गैरकानूनीरुपमा मानव अंग मृगौलाको बेचविखन अर्को बढ्दो समस्याको रुपमा देखा परेको छ। अध्ययन अनुसार काभ्रेका ८ ओटा गा.वि.स.हरु अति प्रभावित देखिएको छ। अध्ययन अनुसार धर्मपुत्र पुत्री ग्रहण र बेचविखन बीच सम्बन्ध देखिएको छ। हराईरहेका बालबालिकालाई प्रायशः बालबालिकाको बेचविखनसँग जोडेर हेर्ने गरेको पाईदैन  भारतको उच्च अदालतले हराईरहेका बालबालिकालाई बेचविखन भएको मानी सो विषयमा विस्तृत अनुसन्धान गर्नु पर्ने आदेश जारी भएको पाईएको छ।

४. सुझाव तथा सिफारिशहरुः

–      मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय कार्ययोजनालाई पुनरावलोकन गरी विपदका अवस्थालाई मध्यनजर गरी कार्ययोजना तयार गर्ने।

–     सबै साना नाका तथा विन्दुहरुमा सीमा निगरानी केन्द्रहरु स्थापना गर्नका लागि गैरसकारी सँस्थाहरुलाई प्रोत्साहित गरी सोही अनुसारको व्यवस्था मिलाउनु पर्ने।

–      मानब बेचविखन रोक्ने, दबाउने तथा सजाय गर्ने सम्बन्धी सँयुक्त राष्ट्र संघीय अन्तरदेशी संगठित अपराध सम्बन्धी आलेख २००० (पालेमो प्रोटोकल) लाई अनुमोदन गर्नु पर्ने।

–      आप्रवासी कामदार तथा तिनीहरुको परिवारको अधिकार संरक्षण सम्बन्धी महासन्धि सन् १९९० को अनुमोदन गर्नु पर्ने।

–      मानव बेचबिखन पीडित तथा प्रभावितहरुका न्यूनतम राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यन्वयन गर्नु पर्ने।

–      मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र वैदेशिक रोजगार ऐन २०६४ बीच समाञ्जस्यता कायम गरी पुनरावलकोन एवं शंशोधन गर्नु पर्ने।

–      वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई कम्तीमा ३ महिनाको रोजगारसँग सम्बन्धित व्यवसायिक तालिम प्रस्थान पूर्व दिने व्यवस्था मिलाउनु पर्ने।

–      उद्धार तथा स्वदेश फिर्ती कार्यलाई द्रुत गतिमा सम्पन्न गर्ने गरी व्यवस्था मिलाउनु पर्ने।

–      ७५३ स्थानीय तहमा पुनसंरचना गरिनुपर्ने र वडासम्म लैजाने पहल गर्नुपर्दछ। जिल्लाले प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्नु पर्दछ।

–      महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अर्न्गर्तत मानव बेचविखन तथा ओसार प्रशार नियन्ण गर्न विभागको गठन गर्नु उपयुक्त हुने

–      खाडी मुलकको कल सस्तो गरिनुपर्ने।

–      बाल क्लबको परिचालन गरी विद्यालय तथा समुदायमा भूमिका अभिवृद्धि गर्न अवसरहरु प्रदान गर्ने।

–      सरकारी, गैरसरकारी तथा अन्तर्राष्टिय संस्थाहरुले मानव बेचबिखन विरुद्ध तथा सुरक्षित आप्रवासनको लागि गरेका कार्यहरुको सरहाना गर्ने नागरिक उड्डयनमा रहेको इम्रि्रेशन तथा लेवर डेस्कलाई सुदृढीकरण गरी अनुगमन तथा नियमन संयन्त्रलाई मजवुत गर्ने।

–      राजदूतावास तथा महावाणिज्यदूतमा आप्रावासीको अधिकार संरक्षण गर्नका लागि कानूनी विषशेज्ञ तथा मनोसामाजिक काउन्सिलर नियुक्त गर्न उपयुक्त हुने।

(लेखक राष्ट्रिय मानव अधिकार आयोगक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक हुन्। सं.)

- दीपकजंगध्वज कार्की