मानवशास्त्रको क्षेत्र र महत्व

हरेक वर्ष अङ्ग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनाको तेस्रो वृहस्पतिवारलाई आधार मानी यस वर्ष फेब्रुअरी १५ तारिख अर्थात फाल्गुण ३ गते विश्व मानवशास्त्र दिवस परेको छ। सन् २०१५ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो। मानवशास्त्रीहरूले यस विधाको प्रचार-प्रसार गर्नुका साथै विश्व मानवजगतले भोग्नुपरेका समस्या उजागर गर्दै स्वस्थ, समृद्ध जीवनयापन गर्नका लागि  शिक्षा, वातावरणीय संरक्षण, भाषा एवम् सांस्कृतिक सम्पदाको संरक्षण, प्राकृतिक प्रकोप नियन्त्रण, महामारी रोगको नियन्त्रण तथा विषयगत उत्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्न व्यापक रूपले जनशक्ति परिचालन गर्दछन्।

दिवस मनाउने क्रममा विज्ञहरूद्वारा प्रवचन, अन्तक्रिर्या, संवाद, गोष्ठी, सेमिनार, फोटो प्रदर्शनी, डकुमेन्ट्री शो, साँस्कृतिक उपकरण तथा औजार प्रदर्शनी, फिल्म शो, स्लाइड शो, संग्राहालय प्रदर्शनी जस्ता कार्यक्रमहरू सम्पन्न गरी विषयगत पहिचान गराइन्छ। सदा झैँ यस वर्ष दिवस मनाउने क्रममा अमेरिकी मानवशास्त्रीहरूको संघले विश्वभरका मानवसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका समाचारहरू आईरहेका छन्। नेपाल स्थित त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पस तथा समुदाय स्तरका कलेजहरूले विभिन्न कार्यक्रम सहित यो दिवस मनाइरहेका छन्।

अध्ययनका क्रममा मानवशास्त्र विषयले समेट्ने मोटामोटी क्षेत्रहरूमा सांस्कृतिक मानवशास्त्र, पुरातात्विक मानवशास्त्र, जैविक तथा शारीरिक मानवशास्त्र, भाषिक मानवशास्त्र, चिकित्सा मानवशास्त्र, फरेन्सीक एन्थ्रोपोलोजी (जिवावशेषको परीक्षणबाट मृत्युको कारण पत्ता लगाउने विधि), व्यवसायिक मानवशास्त्र, श्रव्य-दृष्य मानवशास्त्र, वातावरणीय मानवशास्त्र, सङ्ग्रहालय मानवशास्त्र, प्राकृतिक प्रकोप नियन्त्रण तथा जलवायु परिवर्तन सम्बन्धी मानव शास्त्र आदि रहेका छन्। आवश्यकता अनुसार समय समयमा पाठ्यक्रम संशोधन र परिमार्जन समेत गरिन्छ।

अमेरिकी मानवशास्त्रका पिता फ्रेञ्ज बोसले मानवशास्त्रका मूलभूत चार शाखाबारे चर्चा गरेका छन्। -१) जैविक वा शारीरिक मानवशास्त्र (२) सामाजिक तथा साँस्कृतिक मानवशास्त्र (३) पुरातात्विक मानवशास्त्र (४) भाषा विज्ञान सम्बन्धी मानवशास्त्र। यी विषय अन्तर्गत मानवसँग सम्बन्धित समग्र पक्षमा अध्ययन हुन्छ। अर्को महत्वपूर्ण विषय ब्उउष्भिम ब्लतजचयउययिनथ व्यवहारपरक मानवशास्त्र जसले व्यवहारिक ज्ञान प्रदान गर्दछ।

मानवशास्त्र विकास क्रमको आधारभूमिलाई कोट्याउँदा हामी इशाको अघिल्लो समयसम्म पुग्न सक्दछौं। इशापूर्व (४८४-४२५) को हिरोडोटसको मानवशास्त्रीय योगदान अविस्मरणीय मानिन्छ। ग्रीसेली औपनिवेशिक शहर हेलिकार्नेसस जो वर्तमानमा र्टर्कीको दक्षिण पश्चिम किनारामा पर्दछ, उनको जन्म त्यहीँ भएको थियो। उनले पश्चिम एशिया र इजिप्टको भ्रमणबाट लामो यात्रा विवरण प्रस्तुत गरेका थिए। उनको निचोड यस्तो छ कि मानिस नैतिक रूपले अशक्त नभई भिन्न वातावरण वा परिवेशमा मानिसमा विभिन्न चिन्तन, मूल्यमान्यता विकास भएको हुन्छ। उनले भाषा, पोशाक, राजनीतिक एवम् कानूनी संस्था, कला सृजना तथा अर्थशास्त्रका बारेमा कलम चलाएका थिए, जुन मानवशास्त्रीय विषयका रूपमा यद्यपि सान्दर्भिक मानिन्छ। तत्कालीन  एथेन्सवासी सोफिस्टहरूले सापेक्षतावाद सम्बन्धी दर्शनको विकास गरेका थिए।

एशियाली सर्न्दर्भमा हाम्रा प्राचीन हिन्दू दर्शन र बुद्ध दर्शनको मानवसमाज तथा सभ्यताको उत्थानको लागि ठूलो योगदान रहेको पाइन्छ। यसै क्रममा कन्फुसियश, लाओत्जे, प्लेटो, अरिष्टोटलको योगदान अविस्मरणीय मानिन्छ। त्यस्तै मध्ययुगतिर ट्युनिशियाका इतिहासविद तथा दार्शनिक इब्न खाल्दुम तथा युरोपेली यात्रु माकोर्पोलोको यात्रा विवरण तथा इशाई धर्मगुरुहरूको यात्रा विवरण मानवशास्त्र विकासको क्रममा कोसेढुङ्गा सावित भएको मानिन्छ।

तत्कालीन यूरोपमा वाणिज्यवादी आर्थिक प्रणाली तथा पूँजीवादको विकासको क्रममा उपनिवेशको खोजी भएको थियो। एशिया, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रमा उपनिवेश विस्तारको क्रममा भएको सामुद्रिक यात्राले विश्वव्यापकताको आधार खडा भयो। त्यसले मानवशास्त्रको इतिहास निर्माणमा ठूलो योगदान पुर्‍याएको मानिन्छ।

प्रथम र द्वितीय विश्वयुद्धका समयमा यूरोपेली साम्राज्यले रैथाने भाषा, कला र संस्कृति अध्ययनको क्रममा व्यापक रूपमा मानवशास्त्रीहरूको परिचालन गरेको पाइन्छ। यस आधारमा मानवशास्त्रको प्रस्थान विन्दु औपनिवेशिक काललाई मानिन्छ। यो विषयलाई उपनिवेशको गाथा कोलोनीयल लिगेसी पनि भनिन्छ। यसप्रकार यूरोपेली चिन्तकका विचारले एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकी रैथाने समुदायका रीतिरिवाजमा ठूलो उथलपुथल ल्याउने काम गर्‍यो।

मानवशास्त्र मानव र उसले सिर्जना गरेको संस्कृति अध्ययन गर्ने विज्ञान हो। कतिपय विचारकहरूले मानवशास्त्रको शास्त्रीय मत अनुसारको विकासको इतिहासलाई १८ औं शताब्दीको यूरोपेली बौद्धिक जागरणसँग जोडेका छन् भने अर्काथरी विद्वानहरूले प्रथम विश्वयुद्धपछि मात्र मानवशास्त्रले अनुसन्धानका क्षेत्रमा फड्को मारेको दावी गरेका छन्।

यसप्रकार मानवशास्त्रको सैद्धान्तिक एवम् वैचारिक विकासको दुर्इवटा पाटा शास्त्रीय र आधुनिक मानिएको छ। सामान्यतया १९ औं शताब्दीसम्मको मतलाई शास्त्रीय र २० औं शताब्दीदेखिको मतलाई आधुनिक मानिन्छ। विशेषत तत्कालीन यूरोपेली साम्राज्य, फ्रान्स, व्रिटेन, जर्मनी तथा पछि अमेरिकी भूमिबाट मानवशास्त्रबारे व्यापक अध्ययन र अनुसन्धानको जग बसाल्ने काम भएको थियो।

मानवशास्त्रलाई संस्कृत भाषामा ‘नृतत्व शास्त्र’ भनिन्छ। सामाजिक विज्ञानका विविध विधामध्ये मानवशास्त्र महत्वपूर्ण मानिन्छ। वर्तमान विश्वमा यसको लोकप्रियता बढ्दै गएको छ। त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा विभिन्न तहका पाठ्यक्रममा मानवलाई केन्द्रविन्दुमा राखी तिनको दैनिक जीवनसँग सरोकार राख्ने व्यवहारिक विषय समावेश गरिएको छ।

मानवशास्त्र मानिस र उसले सिर्जना गरेका संस्कृतिलाई अध्ययन गर्ने विज्ञान मानिन्छ। व्रिटेनी मानवशास्त्री इ.वि. टाइलरले संस्कृतिको वैज्ञानिक परिभाषा दिएका छन्। प्रसिद्ध मानवशास्त्री मार्विन हृयारिस सांस्कृतिक भौतिकवादका व्याख्याता हुन्। उनले संस्कृतिलाई भौतिकपदार्थ परिचालन गर्ने मानवजीवनको साध्यको रूपमा लिएका छन्। अर्का मानवशास्त्री ब्रोनिस्ल क्यास्पर मेलिनोस्कीले संस्कृतिलाई मानिसको आधारभूत आवश्यकता जस्तैः मनोरञ्जन, आवास, सुरक्षा, स्वास्थ्य एवम् प्राविधिक विकासको माध्यम मानेका छन्। टायलर महोदयले त संस्कृतिको निर्माण गर्ने पुर्खालाई दार्शनिकको श्रेणीमा राखेका छन्। प्राचीन समयमा जीवन निर्वाह गर्ने कला र क्षमताको विकास तिनै पुर्खाले गरेका थिए। आधुनिक सभ्यताको विकासको जग तिनैले बसालेका थिए।

कुनै समयमा मानवशास्त्र र समाजशास्त्रलाई जुम्ल्याहा दिदी बहिनीको रूपमा लिइन्थ्यो। तर विषयगत विशिष्टीकरणका सर्न्दर्भमा यी दुर्इ विषयबीच तात्विक भिन्नता विकसित भएको छ। समाजशास्त्रलाई अमूर्त विज्ञान अर्थात् आब्सट्रयाक्ट साइन्स को रूपमा लिइन्छ भने मानवशास्त्रलाई मूर्त विज्ञान कङक्रीट साइन्सको रूपमा लिइन्छ। किनकि समाजशास्त्रले समकालीन समाज, मानव मानव बीचको अन्तरक्रिया, अन्तरसम्बन्ध तथा सामाजिक संस्था बारेमा अध्ययन गर्दछ। मानवशास्त्र मूर्त विषय हो। यस अर्थमा कि यसले संस्कृतिको अध्ययन गर्दछ।

संस्कृति यस्तो विषय हो जसले मानिसका दिनचर्या, चिन्तन र पहिचानको प्रतिनिधित्व गर्दछ। मानिसका दैनिक क्रियाकलाप, लवाईखवाई, शैली, धर्म, संस्कार, रहनसहन, आचरण प्रत्यक्ष रूपमा संस्कृतिसँग जोडिएका हुन्छन्। जसको अध्ययनले मानवलाई पूर्ण रूपमा बुझ्न सकिन्छ। यस अर्थमा मानवशास्त्र बहुपक्षीय एवम् समग्र विज्ञान होलिष्टिक साइन्स हो। संस्कृति मानिसको धरोहर हो, समग्र पहिचान हो। मानवीय आवश्यकता परिपूर्तिको माध्यम हो। मानिस र संस्कृतिलाई अलग राखेर हेर्न सकिँदैन। संस्कृतिले मानवीय क्रियाकलाप र चिन्तनलाई दिशा निर्देश गर्दछ।

मानवशास्त्रको अर्को सवल पक्ष अनुसन्धान हो। गुणस्तरीय अनुसन्धान यसको मूल आधार हो। यसमा परिकल्पनाले स्थान पाउँदैन। यसका सूचकाड्ढहरू वस्तुनिष्ठ, वैज्ञानिक र पारदर्शी हुन्छन्। यसले मानिसका अनुभव, धारणालाई आत्मसात गर्दछ। यसमा सूचनादाता अनुसन्धान क्षेत्रका मानिसहरू हुन्छन्। सभेक्षण, केश स्टडी, मुख्य सूचनादातासँगको प्रत्यक्ष भेटघाट, सोसल म्यापिङ्, सहभागितात्मक पद्धति, प्राथमिक आँकडा, अनुभव तथा प्रमाणका आधारमा सूचना संकलन गरिन्छ। विज्ञान सम्मत तथ्यका आधारमा अनुसन्धान गरिने भएकोले बढी भरपदो हुन्छ।

मानवशास्त्रको अर्को पक्ष पहिचानलाई उजागर गर्नु हो। अहिले विश्वमा पहिचानको सवाल  जल्दोबल्दो रूपमा उठाउने गरिन्छ। राजनीति तथा विकासलाई अघि बढाउने मूल पक्ष पहिचान हो। यसले भिन्न भिन्न भौगोलिक क्षेत्रमा बस्ने मानिसहरूको समस्यालाई ठम्याउने काम गर्दछ। जसबाट राष्ट्रिय एकीकरण तथा मेलमिलापको भावना जागृत गराउँछ। अझै अगाडि बढेर भन्न सकिन्छ कि मानवशास्त्र प्राचीन एवम् परम्परावादी जीवनशैलीमा हुर्केका, जसको आफ्नै रैथाने थातथलो छ, संस्कृति र पहिचान छ ती समुदायको समस्यालाई उजागर गर्ने र सम्बोधन गर्ने  विषय हो। पछाडि परेका आवाजविहीन समूह अर्थात् सवार्ल्र्टन ग्रुपको समस्या पहिचान गरी राज्य, स्थानीय निकाय, समुदायले विकासका कार्यक्रम अगाडि बढाएमा मात्र मुलुकको सन्तुलित विकास सम्भव हुन्छ। अन्यथा, राज्य विखण्डनतिर धकेलिन्छ।

हाम्रो मुलुक संघीय ढाँचामा प्रवेश गरेको बेलामा मानवशास्त्रको महत्व अझ बढेको छ। केही वर्षयता नेपाल सरकारले मानवशास्त्रको महत्वलाई बुझी योजना आयोग, स्थानीय विकास मन्त्रालय, वन, कृषि, सिंचाइ, खानेपानी, स्वास्थ्य, पर्यटन, सडक आदि क्षेत्रमा क्रमिक रूपमा मानवशास्त्रीहरूको दरबन्दी सृजना गरेको छ। यसप्रकार विशेषज्ञ भित्र्याउने कामको थालनी भएको छ। त्यतिमात्र होइन शैक्षिक संस्था, वित्तीय संस्था, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, स्वतन्त्र अनुसन्धानका क्षेत्रमा पनि मानवशास्त्रीहरूको आकर्षण छदैँछ।

नेपालमा सन् १९८१ मा मानवशास्त्र तथा समाजशास्त्र विषयको संयुक्त विभाग केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्थापना भएकोमा विशिष्टीकरणतर्फ उन्मुख गराउने उद्देश्यले विगत २०७२ भाद्र २५ गतेको प्राज्ञिक परिषदको निर्णयले त्रिभुवन विश्वविद्यालयले मानवशास्त्र विषय र समाजशास्त्र विषयका छुट्टाछुट्टै विभागलाई स्वतन्त्र अस्तित्व प्रदान गरेको छ। त्रि.वि.का सबै तहमा छुट्टाछुट्टै पाठ्यक्रम निर्माण भएका छन्। यसै सिलसिलामा संयुक्त विभागहरू छुट्याइएका छन्। नेपालको भौगोलिक एवम् सांस्कृतिक विविधताको पहिचान र तदनुरूपको विकासको लागि व्यापक रूपमा मानवशास्त्रीहरू मुलुकभर परिचालन गर्नुपर्ने आजको आवश्यकता हो। यसबाट मुलुकको उत्थान हुने अपेक्षा गर्न सकिन्छ।

(सिग्देल, पृथ्वीनारायण क्याम्पस मानवशास्त्र विभागका प्रमुखको रूपमा कार्यरत छन्। सं.)

- सूर्यभक्त सिग्देल