महिला हिंसा र समाधान

नेपालमा धेरै परिवर्तन भए। नेपाली राणकालीन समाज प्रजातान्त्रिक व्यवस्थामा परिणत भयो। पञ्चायती अनि संसदीय व्यवस्था हुँदै आज गणतान्त्रिक समाजको रूप लिएको छ। आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को सरिसकेको छ। यतिसम्म कि यो पृथ्वीको विकल्प खोजिरहेको छ। वास्तवमा परिवर्तन यतिबेला मात्र भएको हुन्छ जतिबेला प्रत्यक्ष व्यवहारमा परिवर्तनको महसुस हुन्छ। कतिपय कुरामा परिवर्तनको महसुस गरिए होला तर कतिपय कुरा त्यो परिवतर्टनको महसुस विल्कुलै गर्न सकिएको छैन। हाम्रा समाजका परम्परागत संरचना र सोँचलाई त्यस्ता परिवर्तनले कुनै लखरपाटो लाउन सकेनन् भन्ने आभास भएको छ। यतिबेला विवेकशील भनिएको मानवबाट सञ्चालित छ हाम्रो समाज। तर पनि तिनै परम्परागत संरचना र सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन्। त्यसको एउटा ज्वलन्त उदाहरण हो महिला हिंसा।

महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुटिरहेको छ। त्यसैले यो एउटा जघन्य अपराध हो। चरम महिला हिंसाको नियति भोगिरहेको छ हाम्रो समाजले आज। राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय महिला हिंसाकै विरुद्धमा सडकमा छन् यतिबेला। यो एउटा प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ। त्यसैले महिला हिंसा के हो – जान्न जरूरी छ। महिला हिंसाको घटनालाई १५ स्वरूप  विभाजन गरिएको पाइन्छ। जस्तै : बलात्कार, घरेलु हिंसा, हत्या (कुटपिट), बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउनेदेखि जिस्क्याउनेसम्मका घटना यसमा पर्दछन्।

महिला मुक्तिको अन्तर्राष्ट्रिय १६ दिने अभियानकै दौरानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै महिला हिंसाका घटना डढेलो सल्किएजस्तै सल्किए। त्यसैबेला महिला अधिकारकर्मीहरू, महिला हिंसाका घटना घटिरहेका छन् भन्दै तथ्याड्ढ पेश गरिरहेका थिए। कहालीलाग्दा महिला हिंसाका घटना जब दिनानुदिन बढ्दै गए तब ती अधिकारकर्मी र राज्य प्रशासन झस· भए। पितृ सत्तात्मक सामजिक संरचना, परम्परागत रुढीवादी सोँच साथै अन्य विभेदकारी सामाजिक संरचनाले गर्दा महिलाले आफूहरूलाई सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा दोस्रो दर्जामा राखिएको, घिनलाग्दो दानवीय व्यवहार गरिएको, सम्पूर्ण अधिकारबाट वञ्चित हुनुपरेको तथा हरेक तबरले असुरक्षित रहेको महसुस गरिरहेका छन्।

आजभोलिका सबै समाचार बुलेटिन तथा पत्रकारिता महिला हिंसाका घटनाले भरिएका छन्। यसले महिला हाम्रो समाजमा कति असुरक्षित छन् भन्ने कुराको पुष्टि गरिहेको छ। महिला भएकै कारणले कतिबेला कहाँ कुन हिंसाको कालो कोठरीमा पुग्छु भन्ने कुराको सन्त्रासमा बाँचिरहेका छन् महिलाहरू। केही महिला हिंसाका घटना मात्रैले महिला हिंसाका घटनामात्रैले पनि यो प्रष्ट हुन्छ। जस्तै अध्यागमनमा विदेशबाट फर्किएकी महिलालाई अध्यागमनकै कर्मचारीहरूले लुटपाट मच्चाए र प्रहरीबाट नै बलात्कृत भइन्, भैरहवामा एक महिलाको तीन दिनसम्म बन्दी बनाइ सामूहिक बलात्कार भयो, बर्दियामा एक बालिका परिवारबाटै पेट्रोल र्छकेर जिउँदै जलिनु पर्‍यो पछि उनको मृत्यु भयो, सप्तरीमा बाह्र बर्षीया बलात्कृत भइन्, बुटवलमा बसभित्र १५ वर्षीया बालिकाको सामूहिक बलात्कार गरियो, एक श्रीमानले श्रीमतीको शरीरमा उम्लिाएको पानी खन्याइदिए, भारतमा एक विद्यार्थीको प्रेमीबाट खोसेर बलात्कार गरियो पछि उनको मृत्यु भयो।

यस्ता घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता घटना हाम्रो समाजमा हजारौं घरिरहेका छन्। महिला अधिकारकर्मीका अनुसार जम्मा १० प्रतिशत यस्ता घटना बाहिर आउने गरेका छन्। बाँकी ९० प्रतिशत घटना घरपरिवारको दबाब, इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर तथा चेतनाको अभाव आदिको कारणले बाहिर आउँदैनन्।

अर्कोतर्फ यो एक्काईसौं शताब्दीमा पनि महिलाहरू वस्तुको रूपमा रुपैयाँमा बेचिने गरेका छन्। भारतमा नेपलाीहरूबाटै सञ्चालित कोठीमा नेपाली चेलीबेटी बेचिने गरेका समाचार आइरहेका छन्। कुरा यति मात्र फरक हो कि – महिला बेचबिखनको शैली फेरिएको छ। तर बेचबिखन रोकिएको छन। यसरी हाम्रो मसाजमा महिला हृयविदारक अवस्थामा बाँच्नु परिरहेको छ। उनीहरू राज्य प्रशासनबाटै सुरक्षित छैनन्। आफ्नै घर परिवारबाट सुरक्षित छैनन्। आफन्त भन्नेबाट नै सुरक्षित छैनन्, आफ्नो घर आँगन तथा छरछिमेकमा नै सुरक्षित छैनन्।

समाज कल्याण परिषद् २०३४ देखि यता महिला मुक्तिको नारा दिएर दर्ता भएका नारी अधिकारवादी सङ्घसंस्था २ हजार पाँच सयको हाराहारीमा छन्। यसको अलवा महिला अधिकारको पक्षमा स्वयं राज्य प्रशासन छ। मानव अधिकारवादी छन्। राजनीतिक दल छन्। अन्तर्राष्ट्रिय सङ्घसंस्था छन् अनि समाजसेवी पनि छन्। के गरिरहेका थिए त यी सबैले जबकि महिला हिंसा चरम उत्कर्षमा पुगेको छ। जति परिणाममुखी पहल हुनुपर्थ्यो त्यो निश्चय पनि भएको छैन। तर पनि कानमा तेल हालेर बसिरहेका छन् भन्न मिल्दैन। आखिर धेरै थोरै पहल त भएकै हुन्। कति पहल अनौपचारिकतामा सीमित भए। कति कागजी रूपमा मात्रै बन्धक भए। केही पहल वास्तवमै परिणाममुखी भए होलान् तर त्यसको कुनै जस पाउने स्थिति रहेन।

महिला अधिकार सुरक्षित गर्न र महिला हिंसाजस्ता जघन्य अपराध रोक्न दीर्घकालीन उपाय के हुन सक्छन् त ? यो प्रश्नको जवाफ कुनै एउटा व्यक्ति, समाज वा संस्थाले मात्रै दिन सक्दैन। राज्यले अन्य निकायको तुलनामा अधिक भूमिका खेल्नु अनिवार्य छ तर राज्यले पनि सर्वपक्षीय सहयोगबिना केही गर्न सक्दैन। महिलाका समस्या सबैका साझा समस्या हुन् र यसको समाधान गर्न पनि समाजका सम्पूर्ण पक्षको सहकार्य जरूरी छ।

महिला हिंसा रोक्ने केही दीर्घकालीन उपायमा निम्न उपाय अनिवार्य छन्।

पहिलो, महिला आफै सचेत हुनु जरूरी छ। महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै हो। महिलालाई उनीहरूको अधिकार के हो ? कहाँ र कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा सिकाउनुपर्दछ। जसको लागि राज्य र अन्य सरोकारवाला सबैले परिणाममुखी योजना र कार्यक्रम ल्याउन जरूरी छ। जुन योजना र कार्यक्रम, सदरमुकाम मात्रै बजेट सिध्याउन नभइ समाजका हरेक महिला महसुस गर्ने गरी हरेक गाउँ अनि घरमा पुग्नु आवश्यक छ। जसबाट महिलालाई हिंसाविरुद्ध वैचारिक तथा भौतिक प्रतिकार गर्न सक्ने बनाउनुपर्दछ।

दोस्रो,राज्यको प्रत्यक्ष अनुभूति। महिला हिंसाविरुद्ध लड्न, महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच हुनुपर्दछ। जबकि महिलाको आवाज सुन्ने छैन भन्न नपरोस्। त्यस्तै राज्यको उपस्थिति भए पनि पूर्वाग्रह न्याय दिन सक्नुपर्दछ। होइन भने महिला राज्यबाट नै हिंसा महसुस गर्नेछन् र हिंसाको सिकार भइरहन बाध्य हुनेछन्।

तेस्रो, महिला हिंसाविरुद्धको कारबाही। महिला हिंसा गर्नेलाई हुने गरेको फितलो कारबाहीको कारण महिला हिंसाले प्रश्रय पाइरहेको छ। त्यसैले महिला हिंसा गर्ने जो कोहीलाई पनि यस्तो कारबाही हुनुपर्छ जुन कारबाहीको कारण अरु कसैले हिंसा गर्ने कुरा सोच्न पनि नसकोस्। जसको लागि राज्यल कानुनी प्रावधानलाई दोष दिनु हुँदैन। हाम्रो कानुनमा कानुनी प्रक्रिया र व्यवस्थामा जटिलता र सीमितता रहेका छन्। त्यसैले सरकारले महिला कानुन बनाइ प्रभावकारी कार्यान्वयन गर्नु अनिवार्य छ।

चौथो, महिला साझा सङ्गठन। हरेक समुदायमा महिलाको अधिकार बहाली तथा सुरक्षाको निम्ति सक्रिय रूपमा काम गर्न सक्ने गरी ‘महिलाको समस्या साझा समस्या’ भन्ने नाराका साथ अनिवार्य सा·ठनिक संरचना निर्माण गर्नु आवश्यक छ। उक्त सङ्गठनहरूले महिला सरोकारका विषयलाई सञ्चार माध्यमसम्म पुर्‍याउन भूमिका खेल्नु जरूरी छ।

पाँचौं, महिलासँग मिडिया कार्यक्रम। महिला हिंसाको विरुद्धमा सञ्चार माध्यमले सत्य, तथ्य समाचार दिइरहेका छन्। जुन राम्रो कुरा हो। सञ्चारमाध्यम, विकसित, सभ्य, सुरक्षित चेतनशील समाज निर्माण गर्ने स्तम्भ हो। सञ्चारले आफ्नो भूमिकालाई हरेक तहमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता हो। त्यसैले, अझै प्रभावकारी तरिकाले महिला सवाललाई समाज र राज्यका हेरक तहमा समन्वयात्मक भूमिका खेल्नुपर्दछ।

छैटौं, पुरुषको भूमिका। महिला र पुरुष एउटै रथका दुर्इ पाङ्ग्रा हुन्। जसरी सवारी साधन गन्तव्यमा पुर्‍याउन एउटा पाङ्ग्राले अर्को पाङ्ग्रालाई सहयोगीको भूमिका खेल्छ त्यसरी नै महिला हिंसा निर्मूलकरणमा पुरुषको भूमिकमा सहयोगी हुनु आवश्यक छ। जुन अहिलेको समाजा देखिने मौखिक सहानुभूति नभई, व्यवहारिक रूपमा रचनात्मक सहयोग गर्नुपर्दछ।

सातौं, महिलाको लागि महिला। महिलाको समस्यामा महिला रमिते बनेर हैन कि भोलि मलाई पनि पर्छ भन्ने सोची महिला हिंसा रोक्न सहयोग गर्नुपर्दछ। तर महिलाको साझा समस्या महिला नै रमिते बनिदिने र कुरा काटेर समाजमा साँघुरो सोचाइ प्रदर्शन गरिदिँदा महिला हिंसाले प्रश्रय पाइरहेको छ।

आठौं, महिला हिंसा सहभागिता तथा आत्म निर्णयको अधिकार। राज्य प्रशासन तथा समाजका अन्य तहमा महिलाको प्रतिनिधित्व वा प्रभाव प्रायः शून्य जस्तै छ। जसले गर्दा महिलाहरू समाजमा कमजोर बन्दै गइरहेका छन् र हिंसाजन्य अपराध भोग्नु परिरहेको छ। हाम्रो समाजमा महिला वास्तवमै आफैबाट सञ्चालित छैनन्। मानसिक तथा शारीरिक रूपमा महिला स्वतन्त्र हुन जरूरी छ। त्यसको लागि राज्यले दीर्घकालीन नीति तथा योजना बनाइ नतिजामुखी कार्यान्वयन आवश्यक छ।

- लोकप्रकाश पौडेल