महिमा र महत्व हराउँदै गएको शब्द ‘शहीद’

आज शहीद दिवस । महान् शहीदप्रति श्रद्धासुमन। यही सन्दर्भलाई हामीले स्मरण गर्दै गर्दा पछिल्ला घटनाक्रम, राजनीतिक अराजकताका कारण “शहीद” शब्दको सम्मान भन्दा प्रयोग बढी भएको मान्न सकिन्छ। आज नेपालमा मरेका प्रत्येक नेपालीमात्र शहीद भएका होइनन्। धेरै परिवार ज्युँदै पनि शहीद भएका छन्। जसको कुनै लेखाजोखा यहाँ छैन। फुजेल हत्याकाण्डका दोषीलाई कारवाहीको माग गर्दागर्दै शहीद भएका र शहीद हुन लागेका परिवारका दर्दर्नाक कथा हाम्रा आँखा अगाडि छन्। तर नेपालमा शहीद बनाउने मान्छे मौन छन्।

पछिल्लो समय हेर्दा दिग्दार लागेर आउँछ। साच्चैँ जो मानिस आमाको गर्भमा हुँदा बाबुको मृत्यु हुन्छ त्यो गर्भे टुहुरो पनि शहीद हो। आमाको कोखबाट जन्मेपछि बाबु वा आमा गुमाउन पुग्ने पनि शहीद। बाबुआमाबाट उचित शिक्षा वा सम्पत्ति पाउन नसक्ने सन्तान शहीद। आफ्ना दाजुभाइबीच पनि धन कमाउन नसकेर भाइबन्धु लडे पनि शहीद। श्रीमानले सौता हालेर हेलाँ भएकी श्रीमती पनि शहीद। श्रीमतीले सम्पत्तिसहित पोइला भाग्ने वा छोड्ने श्रीमान् पनि शहीद। पढ्न चाहने विद्यार्थी तर शिक्षकको उचित मार्गर्दर्शन पाउन नसक्ने विद्यार्थी पनि शहीद। सन्तानको शिक्षाका लागि खर्च गर्न सक्ने तर विद्यालय पढ्न नपाएका छोराछारी पनि शहीद। यो मात्रै होइन, आफ्ना छोराछोरी, सन्ततिका लागि उचित लगानी गरी शिक्षा प्रदान गर्न खोज्दा पनि मेहनत साथ अध्ययन नगर्ने छोराछोरीका आमाबुवा पनि शहीद। नोकरी तथा जागीरमा हाकिमद्वारा अन्यायमा पर्ने कर्मचारी शहीद। आफ्नो ज्ञान, सीप, क्षमता र योग्यता भन्दा बाहेकका क्षेत्रमा काम गर्न बाध्य मानिस पनि शहीद हो जस्तो वर्तमान सन्दर्भलाई हेर्दा लाग्छ।

यो मात्र होइन पछिल्लो समय धेरै अघोषित शहीद भएका छन्। जस्तो शिक्षकबाट प्राक्टीकल/प्रोजेक्ट रिपोर्ट वा थेसिसमा कम नम्बर पाउने विद्यार्थी शहीद। पार्टीनेताको आफन्त नपरेको र अन्य प्रक्रिया पुगेर पनि अवसर नपाएका इमान्दार कार्यकर्ता शहीद भएका छन्। सेवा आयोग वा जागीरको परीक्षामा कम नम्बर दिएर वा उत्तरपुस्तिका साटफेर भएर फेल हुन पुग्ने उम्मेदवार शहीद। देशमा राजनीतिक परिवर्तनका लागि ज्यान गुमाउने पार्टीकार्यकर्ता र उसका बाँचेका अन्य परिवारका सदस्य शहीद। जातीय, क्षेत्रीय वा वर्गीय आन्दोलनमा ज्यूज्यान गुमाउने इमान्दार कार्यकर्ताका वा तिनको परिवार शहीद। पैसा कमाउन विदेशी भूमिमा गए अकालमा मृत्युवरण गर्ने नेपाली युवायुवती र तिनका परिवार शहीद। पार्टीबाट टिकट पाउने तर अन्तरघातबाट हार्ने उम्मेदवार शहीद। श्रीमान् वा नातेदारले चुनाव जित्ने क्षेत्रबाट उठेर चुनाव हार्ने श्रीमती वा नातेदार पनि शहीद।

पछिल्लो समय धेरैथरी शहीदको उत्पादन भएको छ। यस्तो लाग्छ नेपाल एउटा शहीद उत्पादन गर्ने केन्द्र हो। पछिल्लो समयका घटना क्रम पनि यस्तै भएका छन्। चुनाव जितेर पनि सांसद हुन नपाउने नवराज सिलवाल, दीपक मना·े उर्फ राजीव गुरुङ र रेशम चौधरी पनि शहीद हुन्। छिमेकी देशको घोषित वा अघोषित नाकाबन्दीमा पर्ने देश पनि शहीद हो। छिमेकी देशले सीमा मिच्ने वा आन्तरिक मामलामा हस्तक्षेपमा पर्ने देश पनि शहीद हो।  टाठाबाठाबाट कानूनी जालझेलको फन्दामा परी धन सम्पत्ति गुमाउन पुग्ने सोझा नेपाली जनता पनि शहीद हुन्। शारीरिक रूपमा स्वस्थ तर बौद्धिक रूपमा कमजोर व्यक्ति पनि शहीद हो। त्यस्तै बौद्धिक रूपमा सक्षम भए पनि शारीरिक रूपमा कमजोर व्यक्ति पनि शहीद हो। कुनै कार्यक्रममा जानी-जानी रोलक्रममा पछि पारिने वा अपमानित गराइने व्यक्ति शहीद हो। धेरै मेहेनत र लगानी अनुसार बनाएको फिल्म फ्लप हुँदा त्यसमा लगानी गर्ने निर्माता, निर्देशक र कलाकार पनि शहीद हुन्। श्रीमान्को कमाइ खाएर बाँच्नु पर्ने श्रीमती र श्रीमतीको कमाई खाएर बाच्नु पर्ने श्रीमान् पनि शहीद हुन्। उपचारको क्रममा डाक्टरको लापरवाहीबाट ज्यान गुमाउन पुग्ने बिरामी शहीद हुन्। पैसाको अभावमा स्वास्थ्य उपचार गराउन नसक्ने व्यक्ति शहीद हो। सम्पत्ति सकिदिने बाबुआमा तथा अभिभावकका सन्तानप्रति अभिभावकले जोगाएर राखिएको सम्पत्ति सकिदिने छोरा-छोरीका अभिभावक पनि शहीद हुन्। आफूले विश्वास गरेको मानिसबाट धोका पाउने व्यक्ति पनि शहीद हो। बिक्रेताबाट ठगिने ग्राहक पनि शहीद हुन्। देशभर जनताको बारेमा सोच्ने आफ्नो र आफ्नो परिवारको बारेमा नसोच्ने गोविन्द केसी जस्ता व्यक्तिहरू पनि शहीद हुन्। देशमा गणतन्त्र ल्याउन योगदान गर्ने तर हरेक क्षेत्रका आरक्षणमा नपर्ने व्यक्ति पनि शहीद हो। छोरा बुहारी र छोरी ज्वाइँले बुढेसकालमा नहेर्ने र सम्पत्तिको अभाव वृद्धाश्रममा आश्रय लिने वृद्धवृद्धा पनि शहीद हुन्। चुनावमा पार्टीको सिफारिस भएर टिकट नपाउने पनि शहीद। विधि नपुगेर उम्मेदवारी रद्ध हुने पनि शहीद। आफ्नै नेतृत्वमा चुनाव गराएर आफ्नै पार्टीाई प्रथम बनाउन नसक्ने पनि शहीद हो भने जति सुकै राम्रो काम गरे पनि जस नपाउने नेतृत्व पनि शहीद हो। हिजोका शासक आज शासित छन् ती पनि शहीद हुन्। त्यसैले शहीद शब्दको दुरुपयोगलाई कम गर्न वर्तमान समयको आवश्यकता देखिएको छ।

देशका संरचना फेरिएका छन्। हिजोका शहीद दिवस स्थानीय जनप्रतिनिधिविहीन अवस्थामा मनाइएका थिए। अब देशले जनप्रतिनिधि पाएको छ। तीनका घैंटामा समयमै घाम लागून्। शहीदको सम्मान भनेर शहीदलाई फाल्दै पुनः गाढ्दै गर्ने संस्कारको अन्त्य होस्। हिजो हामीले जान्दाबुझ्दा देश र जनताको हितको लागि जीवन उर्त्र्सग गर्ने व्यक्ति नै वास्तविक शहीद हो। तर नेपाल यस्तो देश हो जहाँ जसरी जो मरे पनि शहीद बन्ने अवसर प्राप्त गरेका छन्। वास्तवमा अन्यायमा परेका सबै संरचना, घर परिवार, व्यक्ति र समाज एक अर्थमा आफैमा शहीद हुन्। यो शहीद दिवसले सच्चा शहीदको सम्मान गर्ने परम्पराको जग बसाल्न सकोस्। शहीदप्रति श्रद्धासुमन र शहीद बनाउनेमा सद्बुद्धी पलाओस् यही कामना।

- शिव के.सी.