महाभारतकी नारीपात्र अम्बा र नारी स्वतन्त्रताको संघर्ष

गत महिनाको अन्तिम शुक्रवार मैले महाभारत युद्धका नायक श्रीकृष्णको सम्बन्धमा केही लेखेको थिएँ। अहिले अन्तर्राष्ट्रिय नारी दिवसको सर्न्दर्भसँग जोडेर महाभारतको एउटा नारीपात्रका सम्बन्धमा केही लेख्दैछु।

अक्सर महाभारतका नारीपात्र भन्दासाथ द्रौपदी, कुन्ती वा गाँन्धारीकाबारे चर्चा हुन्छ। ‘पुराणका नारी पात्रहरु’ लेख्ने विदुषीले पनि यसै सम्बन्धमा कलम चलाएको पाइन्छ। मानिसहरु अम्बालाई बिर्सन्छन् वा उनको स्वाभिमान, इमान र संघर्षलाई कम आँक्छन्। वास्तवमा नारी अस्मिता र संघर्षकी प्रतीक हुन् यी-अम्बा।

अम्बाको पृष्ठभूमि :

काशी जसलाई हामी वनारस वा वाराणसीको नामले चिन्दछौं, महाभारतकालमा त्यो एक छुट्टै देश थियो। र, यो देश वैभवशाली पनि थियो। विद्या, उद्योग र व्यापारमा सम्पन्न। काशी देश (जनपद) को चर्चा बुद्धकालमा पनि छ। यही काशी क्षेत्रलाई कब्जा गर्न कोशल देशका राजा प्रसेनजित र मगधका राजा अजातशत्रुबीच धेरै पटक युद्ध भएको छ-शाक्य मुनि बुद्ध जीवित छँदै। बुद्धले बोधी प्राप्त गरेपछि पहिलो ज्ञानदेशना गरेको, धर्मचक्र प्रवर्तन गरेको ठाउँ ऋषिवचन मृगदाय (सारनाथ) यहीँ पर्छ। महाभारतकालदेखि बुद्धकालसम्म काशी देशको महत्ता ठूलै थियो।

काशी नरेशका तीन जना अत्यन्त सुन्दर छोरीहरु थिए-अम्बा, अम्बिका र अम्बालिका। यिनीहरुको विवाह गर्ने उमेर भएपछि काशी नरेशले एक भव्य समारोहको आयोजना गरे। यी राजकन्यासँग विवाह गर्ने हेतु देश-देशका राजा राजकुमारहरु यहाँ उपस्थित भएका थिए। त्यस समयको एउटा सुन्दर पक्ष यो रहेको थियो कि कन्याले आफूले इच्छाएको व्यक्तिलाई वरमाला पहिर्‍याएर विवाह गर्न सक्दथे। यो समारोह त्यसैको प्रयोजनले आयोजित थियो।

काशीको यो उत्सवको खबर हस्तिनापुरसम्म पुग्यो। आफ्ना सौतेनी भाइ (त्यसबेला हस्तिनापुरका राजा) विचित्रवीयको विवाह यी काशी कन्याहरुसँग गरिदिने विचारले भीष्मपितामह काशी प्रस्थान गरे, सौतेनी आमा सत्यवतीसँग सल्लाह गरेर। यहाँ यी भीष्मको विवेक हीनता प्रकट हुन आएको छ। किनभने जसको विवाह गर्नुपरेको हो ती विचित्रवीयलाई उनले काशी लगेका छैनन्। कन्याले वर रोज्न पाउने हकको, त्यो सुन्दर कन्यामैत्री व्यवस्थाको, प्रतिकूल व्यवहार गरेका छन्-भीष्मले। उनी आफूमात्रै गएका छन्-काशी।

जिन्दगीभर आवाल ब्रह्मचारी रहने ठूलो (भीष्म) प्रतिज्ञा गरेकोले नै यिनको नाम भीष्म रहेको हो। खास नाम त देवव्रत हो। यो त्यसबेलाको जगतलाई थाहा भएकै कुरा हो। त्यसैले मानिसहरु जो त्यो सभामा जम्मा भएका छन् र काशी नरेश स्वयंले पनि यिनी वैवाहिक समारोह हेर्न आएका भन्ने सोचे होलान्। तर, जब तीनै कन्याले वरमाला हातमा लिएर आफूले मन पराएकोलाई वरमाला पहिर्‍याई दिने समय नजिक आयो हठात भीष्म उठेर ती कन्याहरु अपहरण गरे। आफ्नो रथमा राख्न थाले। प्रतिरोध त गरेका थिए, अरु राजा राजकुमारले तर भीष्मको अगाडि सबै परास्त भए।

भीष्मले यी अकिञ्चन कन्याहरुलाई अपहरण गरेर रथ दौडाउँदै गर्दा एउटा युवाले आफ्नो रथ दौडाउँदै भीष्मलाई वाण हानेका छन्, टाढैसम्म पछ्याएका छन्। तर, भीष्मको अगाडि उनको केही जोर चलेन, भीष्मले घाइते बनाएर लडाइदिए। ती युवा थिए-शाल्वराजा।

हस्तिनापुरमा पुर्‍याए यी अपहरित कन्यालाई। विचित्रवीयसँग विवाह गरिदिने तयारी हुँदै गर्दा जेठी राजकुमारी अम्बाले त्रास र लज्जालाई जितेर साहस साथ भनिन्-‘पराक्रमी भीष्म, मैले पहिलेदेखि शाल्वराजालाई पति बनाउने प्रस्ताव गर्दा उहाँले पनि स्वीकार गर्नुभएको हो। तपाईसँग पछिसम्म पछ्याउँदै आएर रोक्ने प्रतिरोध गर्ने प्रयास गर्ने पनि उहाँ नै हो। मलाई छाडिदिनुहोस्। म उहाँसँग जान्छु। ’ अम्बाको यो कुराले भीष्मलाई केही पश्चात्ताप भएको हुनुपर्छ। अम्बालाई रथमा राखेर एक जना वृद्ध सज्जनसँग साथ लगाएर पठाए।

अम्बा पुगिन् शाल्वराजा कहाँ। उनले आफू हस्तिनापुरबाट कसरी आइन्, त्यो पनि बताइन्  र आफूलाई विवाह गर्न प्रस्वाव गरिन्। शाल्वले भने-‘अर्काले हरण गरेर लगेकी तिमीलाई मैले रानी बनाउन सक्दिनँ।’ यस्तो शाल्वको कठोर वचनले व्यथित भएकी अम्बा ‘घर न घाट’ को भनेझैं भइन्। उनी माइत जान पनि चाहिनन्, उनको स्वाभिमानले दिएन। फेरि हस्तिनापुर र्फकने कुरा पनि भएन। आफ्नो यो अवस्थाको लागि जिम्मेवार भीष्मलाई उचित दण्ड दिने संकल्प गरिन्।

भीष्मलाई दण्ड अर्थात् अत्याचारको प्रतिशोध :

भीष्मको अत्याचारको विरुद्ध न्यायको याचना गर्दै अम्बा ऋषि-महषिर्हरुका आश्रम-आश्रम चाहारिन्। कसैले पनि भीष्मको विरुद्ध बोल्न चाहेनन्। अक्सर हाम्रो के देखिन्छ भने ऋषिहरु राजा महाराजा वा संस्थापनपक्षका अत्याचारका विरुद्ध कमै लागेकाछन्। त्यसका अपवाद हुन् महषि दुर्वासा र उनका छोरा महषि परशुराम।

अन्तत : न्यायका लागि परशुरामकाहाँ पुगिन अम्बा। उनले आफूउपर भीष्मको अत्याचारको इतिवृत्तान्त बताइन्। अम्बाको विलौनाले द्रवीभूत भएका परशुरामले सोधे ‘छोरी तिमी के चाहन्छ्यौं भन -’  अम्बाले भनिन् ‘भगवान् या त भीष्मले मेरो पाणिग्रहण स्वीकार गरुन्, किनभने म पति विहिन हुनमा उनी नै जिम्मेवारहछन्। अन्यथा, उनलाई प्राणदण्ड दिईयोस्।’

अम्बाको माग उचित लाग्यो परशुरामलाई। यी युवतीलाई साथै लिएर परशुराम गए भीष्मकाँहा। परशुराम भीष्मका गुरु पनि हुन्, अस्त्र शस्त्रसम्बन्धी ज्ञान उनले नै दिएका थिए। भीष्मलाई परशुरामले आदेशात्मक रुपमा भने-यी युवतीको विवाह तिमीले बिगारिदिएछौं, तिमीले नै यिनीसंग विवाह गर। भीष्मभन्छन्-‘गुरु म आजीवन ब्रहमचर्य पालना गर्ने त्यत्रो प्रतिज्ञागरेको हजुरलाई थाहै छ। म विवाह गर्न असमर्थ छु।’ त्यसो भए म त्रि्रो प्राण लिन्छु, लड्न तयार होऊ।

परशुराम र भीष्मकोबीच भयानक लर्डाई भयो। अम्बा एक दर्शकको रुपमा उपस्थित छन्। महिनौ लर्डाई भयो। परशुराम, बृद्ध ऋषि थकित र गलित पनि देखिए। अन्ततः अम्बाले परशुराम संग निवेदन गरिन्। ‘मलाई न्याय दिन हजुरले ठूलो कष्ट उठाउनु भयो। थकित देखिनु पनि भयो। अब, भैगो युद्ध बन्द गर्नुस् मेरो उपर भएका अत्याचारको म आफै उपचार खोज्छु। अत्याचारी भीष्मलाई दण्ड दिन्छु।’

अम्बा परशुरामसंग विदा भईन्। परशुराम उनको दुःख देखेर भावुक त छँदै थिए। उनलाई न्याय दिलाउन नसकेकोमा लाचार पनि भए होलान्। कथामा भनिएको छ त्यसपछि अम्बाले देवाधिदेव महादेवको घोर तपस्या गरिन्। महादेव प्रकट भए- वर दिन। अम्बाले भीष्मलाई आफूले प्राणदण्ड दिनसक्ने शक्तिको याचना गरिन। भगवानले तथास्तु त भने तर यो जन्ममा होइन अको जन्ममा मार्ने छौं भने। अत्याचारीको वध गर्न आतुर अम्बाले आत्मदाह गरिन्। उनी द्रुपद राजाको छोरीको रुपमा जन्मे पनि   छोरा घोषित थिइन्, शिखण्डी नामले परिचित। महाभारत युद्धमा नौ दिनसम्म अर्जुनले मार्न नसकेका भीष्मलाई दशौं दिनका दिन यिनै अम्बा अर्थात शिखण्डीले भीष्मलाई मारिन। नारी स्वतन्त्रताका बाधक अत्याचारी भीष्मको अन्त्य भयो।

अन्त्यमा :

हो त यो एक कथा। तर यसको शिक्षा अनमोल छ। यसको सन्देश चिरसनतन पनि छ र नितनूतन  पनि छ। कथाले भन्छ- नारी स्वतन्त्रता र परतन्त्रताको द्वन्द्व तथा संघर्ष अनादिकालदेखि चल्दै आएको हो। र, यसको अनमोल शिक्षा हो- नारीको मुक्ति मूलतः आफै संगठित र शक्ति संचय गरेर गर्ने हो। अरुले दिने आरक्षण र संरक्षणको भरमा हुँदैन। अस्तु।

- तिलक पराजुली